बितेका ६ महिनामा हिन्दी तथा अन्य क्षेत्रीय भाषाका फिल्मले राम्रै व्यापार गरेको देखिन्छ । पञ्जाबी फिल्म ‘क्यारी अन जट ३’, मराठीको ‘बैपान भारी देवा’देखि पोहोर सालको ‘कान्तारा’ र ‘७७७ चार्ली’ फिल्मको सफलताले भारतभरिका मल्टिप्लेक्समा राम्रै भिड बटुल्न सफल भयो ।

भारतीय बक्स अफिस व्यापार नियाल्ने कम्पनी ओरम्याक्स मिडियाले हिन्दी फिल्मको व्यापार ३७ प्रतिशत रहेको देखाउँछ । मलयालम, तमिल, तेलुगू, पञ्जाबी र अन्य क्षेत्रीय भाषाका फिल्मको व्यापार ५१ प्रतिशत रहेको देखाउँछ । हलिउडको व्यापार भने १२ प्रतिशत देखिन्छ ।

पाँच वर्षअघि अंग्रेजी फिल्मको व्यापार २० प्रतिशत देखिन्थ्यो । त्यस्तै २० प्रतिशत व्यापार क्षेत्रीय भाषाका र हिन्दी फिल्मको व्यापार ६० प्रतिशत थियो । बलिउडले निर्माण गर्ने फिल्मको व्यापार ५० प्रतिशतमा खुम्चिएको छ भने क्षेत्रीय भाषाका फिल्मको व्यापार बढेर २५ प्रतिशतमा चुलिएको मल्टिप्लेक्सको व्यापार हेर्ने कम्पनी सिनेपोलिस इन्डियाका प्रमुख कार्यकारी देवंग सम्पत बताउँछन् ।

कोभिड १९ को कहरयता दर्शकहरु ओटिटी प्लेटफर्मतर्फ आकर्षित भएपछि हिन्दी फिल्मको व्यापार ओरालो लागेको लाग्यै छ । सोही अवधिमा दक्षिण भारतीय फिलमहरुको व्यापार भने उकालो चढेको चढ्यै छ । सन् २०२३ को मे यता सिनेमा हलको व्यापार भने चम्किन पुगेको छ ।

हलिउडका पछिलला ‘फास्ट एक्स’, ‘स्पाइडर म्यानः एक्रस द स्पाइडर भर्स’, ‘ट्रान्सफर्मर्सः राइज अफ द बिस्ट्स’, ‘द फ्लास’, ‘इन्साइडियसः द रेड डोर’, ‘मिसनः इम्पसिबल– डेड रेकनिङ पार्ट वन’, ‘ओपेनहाइमर’ र ‘बार्बी’जस्ता फिल्मले भारतभरि निकै राम्रो व्यापार गर्न सफल भए । जुलाई यता रिलिज भएका ‘मिसन इम्पोसिबल’, ‘बार्बी’ र ‘ओपनहाइमर’ले २६५ करोड भारुको व्यापार गरेर सिनेमा हललाई उत्साहित बनाए ।

यसबीच भारतीय स्वतन्त्रता दिवसको अवसर पारी रिलिज भएका तीन फिल्मले अझ कमालको व्यापार गरे । रजनीकान्तको ‘जेलर’, सनी देओलको ‘गदर २’ र अक्षयकुमारको ‘ओएमजी २’ ले निकै ठूलो फाइदा दिए । त्यसको ठीकअघि क्षेत्रीय फिल्महरुले पनि धमालै मच्चाएका थिए । मलयाली फिल्म ‘२०१८’ ले ९२ करोड कमायो । मराठी फिल्म ‘बैपान भारी देवा’ले ७२ करोड उठायो । पञ्जाबी फिल्म ‘क्यारी अन जट ३’ ले ४५ करोड बनायो । त्यस्तै तेलुगू ‘बेबी’को व्यापार ६३ करोड थियो ।

‘क्षेत्रीय र हलिउड फिल्मले निकै ठूलो फड्को मारेका छन्,’ भारतको नागपुरका फिल्म वितरक तथा प्रदर्शक अक्षय राठी भन्छन्, ‘पहिला हलिउड र क्षेत्रीय फिल्मको व्यापार सीमित थियो । क्षेत्रीय भाषाको बाहुल्य क्षेत्रमा मात्र तिनको आकर्षक व्यापार हुन्थ्यो । अहिले त तिनले हिन्दीको मुख्य दर्शकहरु पनि चोर्न थालेका छन् ।’

अघिल्लो वर्ष मराठी फिल्म ‘वेद’ले ६१ करोड कमायो । ‘७७७ चार्ली’ले ८४ करोडभन्दा बढी हात पा¥यो । ‘कान्तारा’ले भने ३०० करोडभन्दा बढी बटुल्यो । यसले क्षेत्रीय भाषाका सुन्दर फिल्महरुप्रति दर्शकको भोक बढाएको फिल्म वितरक ढिसूम सिनेमाका प्रमुख कार्यकारी तुसार ढिंग्रा बताउँछन् ।

केहीले भने हिन्दीको भाग तिनले नखोसेको, बरु पूरै फिल्मको व्यापार ह्वात्तै बढेको बताइरहेका छन् । हिन्दी फिल्म ‘पठान’ र ‘गदर २’ र अहिले आएर ‘जवान’ ले जसरी सर्वकालीक बम्पर व्यापार गरे, त्यसले हिन्दी भेगको फिल्म हेर्ने संख्या अघिल्ला वर्षहरुको तुलनामा ह्वात्तै बढेको देखिने विज्ञहरु बताउँछन् । जुन वर्ग कोरोनाकालमा चुप लागेर ओटिटीमा रमाइरहेको थियो, त्यो वर्ग पनि हलसम्म तानिएकाले यत्रो व्यापार सम्भव भएको उनीहरुको तर्क छ ।

ओटिटी क्रान्तिका कारण भारतभरिका दर्शकहरुले विभिन्न क्षेत्रीय तथा विदेशी भाषाका सुन्दर कन्टेन्टहरु हेरेको र सिनेमा हलमा त्यसको स्वाद मेट्न दर्शकहरु ओइरिएको भनाइ राठीको छ । उनी भन्छन्, ‘जब तपाईंले एउटा गोलो रोटीलाई भाग लगाउनु हुन्छ र त्यसलाई १०० मान्नुहुन्छ, त्यो सयमध्ये क्षेत्रीय र हलिउडले आफ्नो क्षेत्र फराकिलो बनाउँदै गएको देखिन्छ । तर व्यापक रुपमा हेर्ने हो भने पहिलेको रोटी थोरै थियो र त्यसमा बढी भाग हिन्दीको थियो भने अहिलेको रोटीको आकार बढेर निकै ठूलो भएको छ र त्यसमा हलिउड र क्षेत्रीय भाषाका फिल्महरुले पनि व्यापारमा आफ्नो भाग बढी लगेका छन् । यस हिसाबले हिन्दीको भाग घटेको पाइँदैन ।’

के उसो भए राठीले भनेजस्तो समग्रमा मनोरञ्जनको मात्रा बढेको हो त ? हेरौं है त !

२०२३ को अन्त्यसम्मको व्यापारलाई दुई भाग लगाऔँ । २०२३ को जनवरीदेखि जुन महिनासम्मको व्यापारमा भारत भरिको सिनेमा व्यापार ४,८६८ करोड भारु रहेको देखिन्छ । सन् २०२२ मा भने सोही अवधिमा १५ प्रतिशतले कम व्यापार भएको देखिन्छ । सन् २०२३ को जनवरीदेखि जुनको ६ महिनामा ८,७३६ करोड समग्रमा कमाएको देखिन्छ । २०२३ को दोस्रो आधा समयमा भने गज्जबका फिल्महरुको कारण व्यापार चमत्कारी रुपमा बढ्ने देखिन्छ । २०२३ सकिउञ्जेलसम्म ‘सालार’, ‘टाइगर ३’ जस्ता फिल्म रिलिज हुने छन्, जसको अपेक्षा निकै ठूलो छ । शाहरुख खानको ‘जवान’को बम्पर व्यापारले पनि वर्षभरिको व्यापार बढ्ने संकेत देखाइसकेको छ ।

कोरोनाकालभन्दा अघिको सबैभन्दा राम्रो व्यापार हुने वर्ष २०१९ मानिन्छ । त्यो बेला साराका सारा फिल्महरुको व्यापार १० हजार ९ सय ४८ करोड भारु भएको थियो । लकडाउनपछि सिनेमा हलको व्यापार स्वाभाविक रुपमा खुम्चिन पुग्यो । २०२२ मा भने व्यापार १० हजार ६ सय ३७ करोड पुगेको थियो ।

सन् २०२३ सकिउञ्जेलसम्म समग्र भारतीय फिल्महरुको व्यापार ११ हजार करोड पुग्ने अपेक्षा गरिएको छ । जनवरीदेखि जुनसम्मि जति व्यापार भयो, त्यसको दोब्बर थपिने अपेक्षा ट्रेड पण्डितहरुको छ । सिनेपोलिसको दाबीअनुसार समग्रमा २०२३ सकिँदा भारतीय फिल्म उद्योगले १२ हजार करोडको व्यापार गर्ने देखिएको छ ।

(बिजनेस टुडेको रिपोर्ट)