भारतको चर्चित खबरपत्रिका इन्डिया टुडेले निकाल्ने शक्तिशाली व्यक्तिहरूको वार्षिक सूचीमा यस पटक दुई नयाँ महिला थपिएका छन् । नेटफ्लिक्स र अमेजन इन्डियाको नेतृत्व गरिरहेका दुई जना महिला शक्तिशाली भारतीयहरूको सूचीमा परेका हुन् ।

त्यसो त मनोरञ्जन उद्योगका पुराना खेलाडीहरू पनि सूचीमा छँदैछन् तर यी दुई नयाँ थपिनुको बेग्लै अर्थ लगाइँदैछ ।

ती दुई महिलाका बारेमा पछि तर एक नम्बर शक्तिशाली भने ६४ वर्षे मुकेश अम्बानी नै रहेका छन् । एसिया महादेशकै सबैभन्दा धनी समेत रहेका मुकेशको नेटवर्थ ९२ बिलियन डलर रहेको छ ।

अमिताभ बच्चन

मनोरञ्जन उद्योगका सबैभन्दा शक्तिशाली व्यक्ति ७९ वर्षे अमिताभ बच्चन नै रहेका छन् । उनी ११ औँ नम्बरमा छन् । टेलिभिजनको लोकप्रिय कार्यक्रम कौन बनेगा करोडपतिदेखि सिनेमासम्मलाई उनले समय दिएका छन् । उनी आउँदा दिनमा मेडे फिल्ममा अजय देवगनसँग देखिदैछन् भने ब्रह्मास्त्रमा रनवीर कपुरसँग । त्यस्तै प्रभाससँग नाम नखुलाइएको फिल्म र दीपिका पादुकोनेसँग हलिउड फिल्म द इन्टर्नको रिमेकमा देखिदैछन् ।

कोभिडका बेला उनले अस्पताललाई दान गरेका भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर तथा अन्य मेडिकल सामग्रीका कारण उनको कद अझ बढाएको थियो ।

उनको आवाज अमेजनको एलेक्सा डिभाइसमा सुन्न सकिन्छ । एलेक्सामा अमितजी भनेर बोलायो भने तत्काल आफ्ना बा हरिवंश राय बच्चनका कविता सुनाउँछन्, ठट्टा पनि गरिदिन्छन् ।

यस्तै १७ औँ नम्बरमा ५४ वर्षे अक्षयकुमार छन् । उनको ब्रान्ड भ्यालु ११८.९ मिलियन डलर (८९३ करोड भारू) रहेको छ । सन् २०२२ मा उनका पृथ्वीराज, बच्चन पान्डे, रक्षा बन्धन, रामसेतु, ओएमजीको दोस्रो शृंखलासँगै अन्य दुई फिल्म पनि बजारमा आउँदैछन् ।

उनी कमाउँदैनन् मात्र, लगानी पनि गर्छन् । उनले गोकी नामक कम्पनीमा ठूलो लगानी गरेका छन् । यसले लगाउन मिल्ने हेल्थ केयर डिभाइस बनाउने गरेको छ ।

मोनिका शेरगिल

यसपछि शक्तिशाली व्यक्तिमा परेकी छन् ३५ औँ नम्बरमा ४७ वर्षीया मोनिका सेरगिल । नेटफ्लिक्स इन्डियाकी यी कन्टेन्ट उपाध्यक्षको हातमा २०१९ र २०२० मा ३ हजार करोड भारू खर्च गर्ने भार थियो । आउँदो वर्ष अझ यो थपिँदैछ । पछिल्लो समय डकुमेन्ट्री, रियालिटी सोदेखि अनेकन् नयाँ नयाँ फिल्म नेटफ्लिक्सले ल्याउँदैछ ।

उनैले मणिरत्नमसँग मिलेर नवरस, सञ्जयलीला भन्सालीसँग मिलेर हीरामन्डी, विशाल भारद्वाजसँग मिलेर खुफियाँ, कार्तिक आर्यनसँग मिलेर धमाका, माधुरी दीक्षित नेनेसँग मिलेर फाइन्डिङ अमेरिका बनाइसकेकी छन् । नयाँ नयाँ चिज हेर्न पाइने हुनाले नेटफ्लिक्स इन्डियाले आफूलाई दोस्रो दर्जाको कम्पनीका रूपमा परिचित हुनु परेको छैन ।

भारतमा फिल्म हेर्ने जमात निकै ठूलो छ । २०२० मा हरेक साता फिल्म रिलिज गरिएको थियो । यहाँको बजार हेरेर नै नेटफ्लिक्सले अमेरिका, बेलायत, कोरियाजस्तै यहीँ स्टुडियो बनाई काम थालेको छ । यो स्टुडियोमा सन् २०२२ बाट काम थालिनेछ ।

आफूलाई प्रतिस्पर्धी बनाइराख्न उनले आफ्नी किशोरी छोरीसँग राम्रो दोस्ती गर्ने गर्छिन् । किनभने अहिले उनको ओटिटी चलाउने अधिकांशमा उनकी छोरीजस्तै टिनएजर नै छन् । तिनको रूचि, अरूचिले धेरै अर्थ राख्छ ।

अपर्णा पुरोहित

यस्तै शक्तिशाली नम्बर ३७ छिन्, ४२ वर्षीया अर्पना पुरोहित । उनी अमेजन प्राइम भिडियोको भारत प्रमुख हुन् । भारतमा बन्ने मनोरञ्जक शृंखला, फिल्महरूको अगुवाई गर्नु उनको भागमा छ ।

उनको अगुवाईमा बनेका पाताल लोक, मिर्जापुर २ तथा फ्यामिली म्यान २ ले दर्शकको मन चोरिसकेको छ । उनको उपस्थितिसँगै भारतमा अमेजन प्राइम भिडियो हेर्नेको संख्या तीन गुणाा बढेको छ । उनी छिर्नेबित्तिकै मिर्जापुर र फ्यामिली म्यान सबैभन्दा बढी हेरिएका शृंखला बन्न पुगेका छन् ।

उनको अगुवाईमा ७० वटा फिल्म तथा शृंखला बनिरहेका छन् । २०२२ मा अमेजनले नै निर्माण गरेका फिल्म तथा शृंखलाको बाढी आउनेछ । २०२२ का लागि भनेर बनाइएका इन्डसाइड एज, मेड इन हेभेन, फोर मोर सट्स प्लिज तथा पञ्चायतले दर्शक संख्या अझ बढाउनेमा उनी विश्वस्त छिन् ।

सलमान खान भने यो सूचीमा ४० औँ नम्बरमा छन् । राधे फ्लप भए पनि उनको खातामा २०२२ का लागि टाइगर ३ तयार छ । ३०० करोडको लागतमा बनिरहेको टाइगर ३ ले दोब्बर कमाउने अपेक्षा गरिएको छ । उनका अन्तिमः द फाइनल ट्रुथ, किक २, कभी इद, कभी दिवालीजस्ता फिल्म पनि आउँदैछन् । टेलिभजनमा उनको बिग बोस निकै लोकप्रिय छ । प्रत्येक भागका लागि उनले २५ करोड रूपैयाँ लिन्छन् । सिजन १५ को २८ भागका लागि उनले ३५० करोड भारू लिने बताइएको छ ।

सलमान खान

उनको जिमखानाको चेन एसके २७ छ भने हाइजिन खान्की कम्पनी फ्रेस चालु अवस्थामा छ । उनले बलिक्वाइन नामक क्रिप्टोकरेन्सीमा पनि लगानी गरेका छन् ।

सबैभन्दा रोचक चाहिँ शक्तिशालीको सूचीमा ४४ वर्षे पङ्कज त्रिपाठी पनि छन् । उनलाई स्ट्रिमिङ जगतका स्टार मानिन्छ । मिर्जापुरका दुई सिजन, क्रिमिनल जस्टिसः बिहाइन्ड क्लोज्ड डोर्स (डिज्ने) मात्र होइन, गुन्जन सक्सेना, लुँडो तथा मिमीजस्ता फिल्ममा समेत देखापरेका थिए ।

उनले हिन्दी फिल्मका हिरोलाई नै परिवर्तन गरिरहेका छन् । उनको शैलीलाई दर्शक तथा समीक्षक दुवैले रूचाइरहेका छन् ।

र, ५० औँ नम्बरमा एक जना युट्युबर पनि परेका छन् । २२ वर्षे केरी मिनाटी एसियाकै सबैभन्दा बढी सब्सक्राइबर भएका अजय नागर आफूलाई केरी मिनाटीका रूपमा चिनाउँछन् । उनलाई ३ करोड २० लाखले युट्युबमा पछ्याएका छन् । उनले प्रायः टेलिभिजन सोको रिभ्युहरू गर्ने गरेका छन् भने विभिन्न मानिसहरूसँग कुराकानी पनि गरिरहेका हुन्छन् । गएका १२ महिनामा उनलाई ६० लाखले पछ्याए । उनी चाँडै नै अजय देवगनको मेडे फिल्ममा देखिदैछन् ।

अब तपाईंको नजरमा चाहिँ मनोरञ्जन उद्योगको सबैभन्दा शक्तिशाली व्यक्ति को होला त ?