बि. जय मोहन

मणि रत्नमद्वारा निर्देशित ऐतिहासिक फिल्म पोनियन सेल्भनको पहिलो भाग ब्लक बस्टर हिट भएको थियो । दोस्रो भाग भने अपेक्षानुरूप व्यापार गर्न सफल भएन । पहिलो भागले ३०० करोडको व्यापार गरेको थियो । दोस्रो भागले त्यो भन्दा दोब्बर व्यापार गर्ने अपेक्षा गरिएको भए पनि बल्ल तल्ल ३०० करोड भारूको व्यापार गरेको छ । तर निर्माणका हिसाबले भने यो एउटा निकै सुन्दर ऐतिहासिक फिल्म बन्न पुगेको छ ।

फिल्म पोनियन सेल्भन हिट हुनुपछाडि चर्चित लेखकको हात छ र ती लेखक तपाईं हामीले चिनेका लेखक पक्कै होइनन् । यी लेखक दक्षिण भारतका चर्चित लेखक हुन् । उनका कयौँ कथाहरू दक्षिणमा फिल्मी रूपान्तर भएका छन् । उनको नाम हो, बि. जय मोहन ।

सन् २०११ मा आएको अराम कथा संग्रह स्टोरिज् अफ द ट्रु नाममा बजारमा आएको छ । सन् २००३ मा लेखेको उपन्यास द अबिस नाममा गत महिना बजारमा आइसकेको छ ।

उनी मणि रत्नमका प्रिय लेखक त हुँदैहुन्, दक्षिणका अर्का सुपरहिट फिल्म निर्देशक शंकर र बालाका पनि प्रिय लेखक हुन् । उनका कथा फिल्ममा उपयोग भएनन् भए पनि उनीद्वारा फिल्म लेखाउन उनीहरू मरिहत्ते गर्छन् । अर्का फिल्म निर्देशक भत्रिमारनले यही वर्ष ‘विद्युथलाई’को पहिलो भाग बजारमा ल्याएका छन् । यसको कथा यिनै कथाकार जयमोहनकै ‘थुनैभन’बाट प्रेरित थियो ।

फिल्म उद्योगका प्रिय साहित्यकार भएका कारण नै मणि रत्नमले उनलाई कल्की आर. कृष्णमूर्तिले १९५४ मा बजारमा ल्याएको उपन्यास पोनियन सेल्भनको पटकथा लेख्ने जिम्मेवारी दिएका थिए ।

उनी स्वयं साहित्यकार त हुन् तर फिल्म लेखन अलि बेग्लै चिज हो भन्नेमा उनी विश्वस्त छन् । त्यसैले पोनियन सेल्भन उपन्यासका कयौँ चिजहरू उनले सम्पादन गरेका छन् । उनी भन्छन्, ‘लेखक कल्की पश्चिमा लेखकहरू अलेक्जेन्डर डुमास र जर्ज डब्लु.एम. रेनल्डबाट बढी नै प्रभावित देखिन्छन् । उनले उपन्यासमा आकस्मिकतालाई बढी जोड दिएका छन् । अहिलेको समयमा त्यस्तो संयोग र आकस्मिकता काम लाग्दैन । दर्शक तथा पाठकले पत्याउँदैनन् । त्यसैले फिल्म लेख्दाताका हामीले विश्वासिलो आधार बनाउनुपर्छ भनेर कयौँ कुरा छाँटकाँट गर्यौं । साथै, यु्द्धका कुराहरू उपन्यासमा नभए पनि हामीले महत्त्वपूर्ण ठाउँ दियौँ । यिनै कामका लागि एउटा फिल्म लेखकले आफ्नो कल्पनाशिलता उपयोग गर्ने हो ।’

उपन्यासमा भाव पक्षलाई संवादमार्फत अभिव्यक्त गरेको कुरा उनलाई चित्त बुझेको थिएन । त्यसैले कयौँ दृश्यहरू आफैँ सिर्जना गरेर ती संवादलाई मूर्त रूप दिइएको छ । खासगरी पोनियन सेल्भनको दोस्रो भागमा यी कुरालाई ध्यान दिइएको छ ।

केहीले यो फिल्मलाई ‘बाहुबली’को निम्नकोटीको नक्कल भनेर आलोचना गरेका छन् । सो कुरामा भने एउटा लेखकका रूपमा उनी प्रतिवाद गर्छन् । एक त ऐतिहासिक उपन्यास, त्यसमाथि हावादारी कुरा देखाउन पनि मिलेन । एउटा सिपाही वा सेनापतिले एक साथ दर्जनौँ मान्छे उडाउन सक्दैन । त्यो हाँसोउठ्दो मात्र देखिन्छ । जो पाठकले उपन्यास पढेको छ, उसले फिल्म हेर्दा उपन्यास र फिल्ममा तादात्म्य फेला पार्न जरूरी छ भन्ने जयमोहनलाई लाग्छ । त्यसैले पनि यो बाहुबली थिएन र हुन सक्दैन भन्ने उनको तर्क छ ।

पाठक र दर्शक दुवैलाई सन्तुलनमा राखेर बनाइएको हुनाले यो सन्तुलित फिल्म भएको जयमोहन बताउँछन् । पछिल्लो समय हावादारी फिल्म रूचाइन थालेको भन्दै केहीले आलोचना गरिरहेको भए पनि यसलाई उनी यसलाई त्यति महत्त्व दिँदैनन् । उनी भन्छन्, ‘संसारभर नै मन्नी फार्बरको चर्चित सिद्धान्त टर्माइट आर्ट भर्सेस ह्वाइट एलिफेन्टको निकै उध्दृत गरिन्छ । खासगरी हलिउडको प्रख्यात फिल्म गन विद द विन्ड फिल्मका रूपमा क्लासिक गनिए पनि उपन्यास भने खासै गतिलो मानिदैन । फिल्मका कारण उपन्यास चर्चित भएको ठानिन्छ । पोनियन सेल्भन पनि क्लासिक उपन्यास त होइन तर फिल्मले यसलाई बनाउन सके झन् गज्जब हुन्छ ।’