ज्याकी श्राफ बलिउडका एक अनौठा र रोचक पात्र हुन् । मुम्बईको ज्यादै गरिब परिवारबाट बलिउडका प्रख्यात कलाकार बन्नु र टपोरी शैलीमै पूरा जीवन बिताउनु उनको एउटा रोचक पक्ष छ । पछिल्लो समय ठूलो पर्दाका फिल्ममा उनी देखिएका छैनन् । खासगरी भन्ने हो भने भूत अंकलभूत एन्ड फ्रेन्ड्सजस्ता फिल्ममा सामान्य भूमिकामा देखिनुबाहेक उनी अचेल केही रियालिटी सोहरूमा निर्णायक र टिप्पणीकारका रूपमा उनी देखिने गरेका छन् ।

पछिल्लो पटक भने जि फाइभ ओटिटी प्लेटफर्मका लागि बनाइएको रोमान्टिक कमेडी फिल्म अतिथि भूतो भवः मा उनी देखा परेका छन् । ओटिटीका कारण अनुहार बिक्ने पुराना नायक नायिकाहरू पनि व्यस्त रहने गरेका छन् । यस्तोमा ज्याकी श्राफ फुर्सदिलो रहने कुरै भएन । त्यसैले त उनले जब ओटिटी प्लेटफर्मका लागि बनाइएका सस्ता फिल्महरूको प्रस्ताव आउनेबित्तिकै काम नपाएर घरैमा बसेका अन्य अभिनेताझैँ आफ्नो अनुहार झुल्काउन देखा परिहाले ।

इन्डिया टुडे म्यागेजिनले अतिथि भूतो भवः बजारमा देखा पर्न थालेपछि त्यसैमा केन्द्रित रहेर सोधेको प्रश्नको जवाफः

तपाईंले भूत अंकल, भूत एन्ड फ्रेन्ड्सपछि फेरि अतिथि भूतो भवः फिल्म नै खेल्नु भयो नि ? भूतमा निकै विश्वास गर्नुहुन्छ कि क्या हो ?
[embedyt] https://www.youtube.com/watch?v=ji63yfuXUFg[/embedyt]

म विश्वास गर्छु पनि र गर्दिनँ पनि । बच्चैदेखि हामीले भूतका बारेमा यति धेरै सुनेका हुन्छौँ कि कहिलेकाहीँ हाम्रो मस्तिष्कले हामीमाथि नै ट्रिक खेल्ने गर्छ ।

बच्चा बेलामा म मुख्य शहरबाट हाम्रो घर भएको मेथेरन भन्ने ठाउँमा एकान्तजस्तो ठाउँमा जानु पर्थ्यो । रेल स्टेसनबाट मेरो घर पुग्न सात किलोमिटर लामो बाटो थियो । राति एकान्त हुनाले त्यो बाटोमा कसैले सुनाउँथ्यो, कहिलेकाहीँ घुंगुरू बजेको, कसैले बोलाएको । मलाई पनि भ्रमजस्तो केही हुन्थ्यो । वातावरणमा एक किसिमको मगमगी बास्नाझैँ आउँछ, झल्याकझुल्लुक सारीहरू पनि देखिन्छ भन्थे ।

हामीलाई कसैले यस्ता कुरा सुनाउने गर्थ्यो र शायद त्यसैको भ्रममा म ती कुराहरू देखापर्ला भनेर डराउँथे । त्यस्ता कुराको उपस्थिति नै भूत हो भन्ने सिकाइएकाले त्यस्ता झल्को पाउनेबित्तिकै म तिनलाई भूत मान्थेँ कि !

आश्चर्य चाहिँ, भूतले सारी किन लगाउँदो हो भन्ने लाग्छ । किन सुटबुटमा देखिँदैन भूत भन्ने मलाई सधैँ लागिरहन्थ्यो ।

अतिथि भूतो भवःमा तपाईं रोमान्टिक हृदय भएको भूत बन्नु भएको छ क्यार ! तपाईं वास्तवमै रोमान्टिक व्यक्ति हो र ?

म वास्तवमा सामान्य व्यक्ति हुँ । बच्चा बेलामा हामी कागज काट्थ्यौं, त्यसलाई हृदयको आकारमा ढाल्थ्यौँ । अनि, त्यसमा रातो पोतेर खाममा हाल्थ्यौँ । मनपरेको व्यक्तिलाई आँखामा आँखा गाढेर ती कुरा दिन्थ्यौँ । कुनै युवतीले त्यसलाई स्वीकारेको दिन हाम्रो संसारै प्रेमिल बन्थ्यो । अचेल त यी सारा कुरालाई अनलाइन र इमोजीले ओगटेका छन् ।

अहिले पनि कसैप्रति प्रेम दर्शाउन, कागज र कलम चाहिन्छ मलाई । म साथीभाइलाई सानो सानो नोट लेख्छु, फूलहरू तिनलाई पठाउँछु । मेरा नजिकका मानिसलाई त्यसो गर्नु मन पराउँछु । कसैको ध्यानाकृष्ट गर्न यो सबैभन्दा राम्रो कुरा पनि हो ।

तपाईं र अनिल कपुरबीच निकै रोचक प्रतिस्पर्धा हुने गर्थ्यो कुनैबेला । एक पटक अनिल कपुरले भनेका पनि थिए, तपाईंबाट उनी ज्यादै असुरक्षा महसुस गर्थें भनेर । तपाईंलाई चाहिँ अन्य कलाकारबाट असुरक्षा महसुस हुन्थ्यो कि ?
अहँ । मलाई सधैँ लागिरहन्थ्यो कि वास्तवमा हरेक व्यक्तिको आफ्नै मूल्य र खाली ठाउँ छ । वास्तवमा भन्ने हो भने मैले मेरा सारा सहकलाकारहरूसँग सिकेँ । अनिलले मसँग असुरक्षित महसुस गर्थ्यो होला तर हामीले सँगै नौ वटा फिल्महरूमा काम गर्यौं । मेरो करियरकै सबैभन्दा राम्रा फिल्महरू राम लखन र परिन्दा ऊसँगै छन् ।
करिश्मा उपाध्याय