इन्डिया टुडे म्यागेजिनले आफ्नो ४७ औँ स्थापना दिवसको अवसरमा पत्रिकाले बेस्ट अफ इन्डिया शीर्षकमा सिनेमा उद्योगका सर्वोत्कृष्ट १० सर्जकको सूची सार्वजनिक गरेको छ ।

प्रख्यात फिल्म समीक्षक, निर्देशक, लेखक तथा फिल्म फेयर म्यागेजिनका पूर्व सम्पादक खालिद मोहम्मदले द बेस्ट अफ इन्डियाका लागि उम्दा फिल्म निर्देशकहरू छनोट गरेका हुन् ।

उनले आफ्नो टिप्पणीमा लेखेका छन्ः यहाँ छनोट गरिएका नामहरूमध्ये केही नाम अवश्य छुटेका छन् किनभने पूरा फिल्म उद्योगका सर्वोत्कृष्ट छान्नु निश्चय नै कठिन कुरा हो । यसका लागि मलाई लछारपछार पारिनेछ तर यसका लागि म तयार छु । साथै, यो सूचीमा यश चोपडा, विजय आनन्द, राज खोस्ला, शक्ति सामन्थ, दुलाल गुहा, असित सेन, बासु चटर्जी, श्याम बेनेगल र सई पराजपेजस्ता अनुहारहरू नपरेकामा दुःखी छु । यद्यपि, ती पनि सूचीमा पर्नैपर्ने नाउँहरू हुन् । यहाँ मेरा छनोटका केही विशिष्ट नामहरू छन्ः

महेबुब खान (१९०७-१९६४):
उनका मदर इन्डिया (१९५७), औरत (१९४०), अन्दाज (१९४९), अमर (१९५४) जस्ता फिल्मका लागि उनी वास्तवमै अमर छन् । हिन्दी सिनेमामा आधुनिकता ल्याउने उनी एक्लो महारथि हुन् ।

भी. शान्ताराम (१९०१-१९९०)
ऐतिहासिक तथा मिथकीय कथालाई उनेर मेलोड्रामा बनाउने उनी भारतीय फिल्मका बिर्सिनसक्नुका निर्देशक हुन् । भारतीय फिल्मका प्रथम फिल्मकार दादासाहब फाल्केको हुब्ली थिएटरमा सानातिना काम गर्ने शान्तारामले उद्योगलाई नै निर्देश गर्ने फिल्महरू बनाए, जसमा मनहूस (१९३९), डा. कोटनीस की अमर कहानी (१९४९), दहेज (१९५०), दो आँखे बारह हाथ (१९५७) । यसका अतिरिक्त उनका झनक झनक पायल बाजे (१९५५) र नवरङ्ग (१९५९) जस्ता फिल्म त फिल्मकलाका उम्दा नमुना नै हुन् ।

कमल अमरोही (१९१८-१९९३)
हिन्दी सिनेमालाई महल (१९४९) जस्तो प्रथम हरर फिल्म दिने यी फिल्मकारले मधुबालालाई अमर बनाइदिए । दायरा (१९५३) र पाकिजा (१९७२) जस्ता कालजयी सिनेमा बनाएका उनले रजिया सुल्तान (१९८३) कमतर देखिए पनि उनको ड्रिम प्रोजेक्ट आखरी मुगल नामक फिल्म कहिल्यै बनाउन सकेनन् । यद्यपि, उनले दिएका फिल्महरूले तिनको काव्यत्मकताका लागि उनलाई सधैँ सम्झाइरहने छ ।

विमल रोय (१९०९-१९६६)
हिन्दी सिनेमामा नियो-रियालिज्मलाई स्थापित गर्ने फिल्मकारका रूपमा उनलाई चिनिन्छ । भित्तोरियो डि सिकाको द बाइसाइकल थिभ्स (१९४८) ले स्थापित गरेको सो विधालाई उनले हिन्दी सिनेमामा दो बिघा जमिन र परीणिता (१९५३), देवदास (१९५५), मधुमती (१९५८), सुजाता (१९५९), परख (१९६०), काबुलीवाला (१९६१) र बन्दिनी (१९६३) मार्फत स्थापित गरेका थिए । उनले हिन्दी फिल्मी गीतलाई पनि शलील चौधरी र एसडी बर्मनजस्ता संगीतकारलाई स्थापित मात्र गरेनन्, बंगालको अकाल र विवेकानन्दलाई डकुमेन्ट्रीमार्फत स्थापित गर्ने श्रेय जान्छ ।

राज कपुर (१९२४-१९८८)
पृथ्वीराज कपुरका छोरा भएर जन्मिएकाले जन्मदै उनी फिल्म उद्योगका लागि परिचित थिए । २४ वर्षको उमेरमा आग (१९४८) बाट आफूलाई कलाकार, निर्देशकका रूपमा स्थापित गरेका उनले बरसात (१९४९), आवारा (१९५१), श्री ४२० (१९५५) जस्ता मनोरञ्जक सिनेमा दिए । उनका फिल्ममा नेहरूवादका केही झलकहरू पाउन सकिन्छ । लोकप्रिय सिनेमा कस्तो हुनुपर्छ, बनाइनुपर्छ भन्ने उनले उदाहरण छोडेर गएका छन् ।

के. आसिफ (१९२२-१९७१)
फूल (१९४५) मा कलाकारका रूपमा स्थापित भएका के. आसिफको सबैभन्दा ठूलो उपलब्धि मुगल-ए-आजम (१९६०) रह्यो । फिल्म निर्माणमा १२ वर्ष लागे पनि मधुबाला र दिलिपकुमारका लागि मात्र होइन, हिन्दी फिल्मका लागि यो एउटा मानक बन्न पुग्यो ।

गुरू दत्त (१९२५-१९६४)
३९ वर्षको उमेरमा आत्महत्या गरेका यी फिल्मकार हिन्दी सिनेमाका महानतममध्येमा गनिन्छन् । उनका बाजी (१९५१), जाल (१९५२) ले उनलाई स्थापित गरे पनि आर पार, मि. एन्ड मिसेज ५५ जस्ता कमेडीमा पनि उनी देखापरे । उनका प्यासा (१९५७), कागज के फूल (१९५९), साहीब, बिबी और गुलाम (१९६२) जस्ता फिल्महरू अभिनेता तथा निर्देशकका रूपमा उनलाई अमर बनाउन पर्याप्त छन् । उनी अभिनीत लभ एन्ड गड सुटिङकै अवधिमा आत्महत्या गरेकाले त्यो फिल्म कहिल्यै नबन्ने गरी थन्किएको थियो, जसलाई के. आसिफले निर्देशन गरेका थिए ।

रमेश सिप्पी (१९४७)
जीपी सिप्पीले निर्माण गरेको तथा उनका छोरा रमेशले निर्देशन गरेको शोले (१९७५) का कारण रमेश अमर बनेका छन् । जापानी फिल्म निर्देशक अकिरा कुरोसावाको सेभेन समुराई मात्र होइन एन्थोनी क्विन अभिनीत गन्स फर सन सेबास्टियन लगायत दर्जनौं सिनेमाबाट प्रेरित शोलेले मनोरञ्जनको नमूना पेश गरेको थियो । शोलेका कारण मात्र उनलाई सम्झने नभई शक्ति (१९८२), सागर (१९८५) तथा बुनियाद (१९८७) का निर्देशकका रूपमा पनि स्मरण गरिनेछ ।

ऋषिकेश मुखर्जी (१९२२-२००६)
फिल्म निर्देशक विमल रोयका मनपर्ने सहायक निर्देशकका रूपमा उद्योगमा छिरेका ऋषिकेश मुखर्जीले मानिसहरूका साना सपना, साना दिनचर्यालाई रोचक कथामा उनेर दर्शकहरूलाई मज्जैले हँसाए । जुन बेला शोलेजस्ता ठूला बजेटका फिल्महरू बन्दै थिए, उनले साना बजेटका फिल्महरूमार्फत दर्शकलाई बाँध्न सफल भएका थिए ।

अनाडी (१९५९), अनुराधा (१९६०), अनुपमा (१९६६), सत्यकाम (१९६९), गुड्डी, आनन्द (१९७१), अभिमान (१९७३) जस्ता फिल्महरू फिल्म मात्र नरही साहित्यिक टचका लागि पनि उत्तिकै चिनिन्छन् । उनका चुपके चुपके (१९७५) तथा गोल माल (१९७९) कमेडी विधाका सर्वोत्कृष्ट सिनेमाका रूपमा प्रख्यात छन् ।

मनमोहन देसाई (१९३७-१००४)
सिनेमामा चमत्कार भित्र्याउने निर्देशकका रूपमा मनमोहन देसाईलाई चिनिन्छ । वैज्ञानिक तथा व्यवहारिक रूपमा वाहियात दृश्य खिचेर पर्दामा वाहवाही बटुल्न उनले जति कसैले पनि जानेन । एकताका फिल्म समीक्षकहरूलाई उनले भन्ने गर्थे- तिमीहरू मेरो फिल्मलाई उडाउन सक्छौ तर कुनै दिन मलाई भारतको स्टिभन स्पिलबर्गका रूपमा सम्झने छौ ।
छैला (१९६०) बाट करियर शुरू गरेर अमर अकबर एन्थोनी लगायतका दर्जनौं हिट फिल्म दिएका उनीबिना बलिउडका हिट फिल्महरूको सूची अधुरो नै लाग्छन् ।

यसैगरी इन्डिया टुडेमा लेखिका नसरीन मुन्नी कबिरले आफ्नो दृष्टिमा प्रख्यात फिल्महरूको सूची तयार पारेकी छन् । उनले हिन्दी लोकप्रिय सिनेमाले हलसम्म दर्शक डोर्याउन सफल भएकाहरूको सूची तयार पारेकी हुन् ।

आवारा (१९५१)
अमर अकबर एन्थोनी (१९७७)
दिवार (१९७३)
देवदास (१९५५)
दिलवाले दुल्हनियाँ ले जाएँगे (१९९५)
शोले (१९७५)
जंगली (१९६१)
मदर इन्डिया (१९५७)
मुगल-ए-आजम (१९६०)
प्यासा (१९५७)