सन् २०१८ मा रिलिज भएको भारतीय फिल्म स्त्रीको कथानक के थियो भने, मध्य प्रदेशस्थित चन्देरी भन्ने ठाउँका पुरूषहरू हराउन थाल्छन् । त्यसको खलनायक थिई, स्त्री नामक भूत । यो शहरको सबैजसो ठूला पूजाको अवसरमा राति हुँदी यो स्त्री डुल्दै हिँड्छे भन्ने हामीलाई सुनाइन्थ्यो । स्त्रीले पुरूषहरूलाई रातिहुँदी अपहरण गर्छे, तिनको लुगा चाहिँ छाडिदिन्छे ताकि कसलाई अपहरण गरिएको हो, तिनका परिवारले चिनून् । पूजाका बेला चन्देरीका पुरूषहरू डरको वातावरणमा बिताउने गर्थे । उनीहरू पुरूषको लुगामा भन्दा स्त्रीका सारीमा लपेटिन रूचाउँथे र चूराहरू बजाउँदै हिँड्थे ताकि स्त्री भूतनीले पुरूष भनेर नचिनोस् । पुरूषहरू राति हिँड्न असुरक्षित हुन्थ्यो । त्यसैले एक्लै हिँड्दैनथे ।

२०२४ मा स्त्री फिल्मका निर्माताहरूले चन्देरी शहरलाई फेरि नियन्त्रणमा लिएका छन् । स्त्री २: सरकटेका आतंक फिल्ममा चन्देरी फेरि पनि खतरामा परेको छ । यस पटक स्त्रीहरू हराउन थालेका छन् र टाउको काटिएको भूत मुख्य खलनायक बन्न पुगेको छ । सरकटा नाक त्यो भूत वास्तवमा आधुनिक बन्न पुगेको छ । उसको मुख्य लक्ष्य तेक्वान्दो च्याम्पियन भएका स्त्रीहरू छन्, उसको लक्ष्यमा बेग्लै जातिमा बिहे गर्नेहरू र चूरोट पिउनेहरू परेका छन् ।

अहिले सिनेमाका पर्दामा स्त्री २ को निकै चर्चामा छ । त्यसो त यसको पहिलो भाग स्त्री पनि सन् २०१८ मा अनपेक्षित रूपमा हिट भएको थियो । स्त्री २ पनि छोटो अवधिमै ५०० करोड भारू कमाएर चर्चा चुलिएको छ । राजकुमार राव, अभिषेक बनर्जी, अपारशक्ति खुराना, पंकज त्रिपाठी र श्रद्धा कपुरजस्ता कलाकारले फिल्मलाई चार चाँद लगाएका छन् ।

स्त्री २ सफल हुनुका अनेक कारण खोतलिन थालेका छन् । यसलाई हरर कमेडी विधाको फिल्म मानिए पनि यसले उति डराउँदैन । यसले एक लाइनमा जुन पन्च हान्छ, त्यो निकै रूचाइएको छ । सिनेमाका संवाद लेखक निरेन भट्ट भन्छन्, ‘धेरैले यसलाई फेमिनिस्ट फिल्म भन्छन् तर यो एउटा मनोरञ्जनका लागि बनाइएको फिल्म हो तर सँगैमा दर्शकले सन्देश फेला पारे भने झन् राम्रो । किशोर किशोरीहरूले यसमा ठट्टा मन पराउलान्, युवाहरूले यसका संवाद रूचाउलान् तर पाकाहरूले यसमा अन्तर्निहित सन्देश मनमा बसाउलान् । दर्शकअनुसार लिन सक्ने कुराहरू फिल्ममा भएकाले सबैले रूचाइएको हुनसक्छ ।’

मुन्ज्या

स्त्री फिल्मको सफलतापछि यसका निर्माता कम्पनी म्याडक फिल्म्स र दिनेश विजनले सारा ध्यान भूतप्रेतमा केन्द्रित गरेका छन् । केही समयअघि मात्र यो कम्पनीले मुन्ज्या रिलिज गरेको थियो । गत जुन महिनामा बजारमा सो फिल्मले भारती बक्स अफिसमा एक सय करोड कमाएको थियो । मुन्ज्या भारतको महाराष्ट्रको कोनकण क्षेत्रमा चर्चित भूताहा कथा हो । यस्ता कथामा बाबा, तान्त्रिक, चुँडेल्नी, डायनहरू हुन्छन् ।

फिल्म मात्र होइन, युट्युबमा त अचेल यस्ता विषयका किस्साहरू पनि निकै लोकप्रिय हुन थालेका छन् । दिवय अग्रवालले युट्युब च्यानल खूनी मन्डेमा यस्तै कथाहरू पस्कने गरेका छन् । उनको च्यानलमा ४८ लाख सब्सक्राइबर छन् । त्यहाँ खाली हरर फिल्म, भूताहा कथा, षडयन्त्रका सिद्धान्तका कुरा मात्र हुन्छ । अग्रवाल भन्छन्, भारतभरि यस्ता कथा निकै सुनिन्छन् । त्यसैले यस्ता कथाका दर्शक भारतभरि छन् । नभन्दै सरकटाजस्तै कथा भएको एउटा पश्चिम बंगाल क्षेत्रको स्कोडोकटाको कथाले एक झमटमै २ करोड भ्युज पाएको थियो ।

स्त्री फिल्मको पहिलो कथा राज निडिमोरू र कृष्ण डिकेले कर्नाटका क्षेत्रको कथा टिपेका थिए । ‘नाले बा’ शीर्षकको सो कथाको अर्थ भोलि आउनू नै हुन्छ । यस्तो कथामा उनीहरूले फेमिनिस्ट कोण घुसारेर पहिलो फिल्म बनाइएको थियो ।

पहिलेका भूतनीहरूको कथा बेग्लै हुन्थ्यो । उनीहरूलाई तिनका पतिले नराम्रोसँग मारेका हुन्थे र बदला लिन उनीहरू भूतनी हुन्थे । अर्को कथामा चाहिँ प्रायः प्रेमी प्रेमिका हुन्थे, जसलाई गाउँलेहरूले हत्या गरेर छुट्याइदिएका हुन्थे र त्यसको बदला उनीहरूले छानी छानी लिन्थे । तिनले त्यो बेला पनि दर्शक बटुलेका थिए नै । सन् १९७० र ८० को दशकमा बलिउडले भूताहा फिल्म बनाउँथ्यो र तिनले मूलधारका सिनेमा हलमा राम्रै दर्शक बटुल्थे । ९० को दशकपछि भने त्यस्ता फिल्म बन्न छाडे । तिनको साटो अश्लील भूताहा फिल्मले लिन थाले ।

सन् २००७ मा जब भूलभुलैया भन्ने भूतप्रेत विषयको फिल्म रिलिज भयो, बलिउडमा तत्काल त्यो हिट भयो । मन्जुलिका चरित्रमा विद्या बालन निकै चर्चित भइन् । यो फिल्मको सफलतापछि भूलभुलैया २ पनि चर्चित बन्यो । यसपाला तब्बु अन्जुलिकाका रूपमा देखा परिन् । यो फिल्म रिलिज हुँदा उति धेरै हिट नभए पनि निर्मातालाई घाटा नभएकाले अहिले भूलभुलैयाको तेस्रो भाग बनेर तयार भएको छ र यसै वर्षको अन्त्यमा रिलिज हुने तयारीमा छ । यस पटक भने विद्या बालन पुनः मन्जुलिका बनेर आउँदै छिन् ।

भूलभुलैयाको कथामा नारी सशक्तीकरण छैन । बदलाको भावना मात्र छ ।

सन् २०२० मा अर्को एउटा भूताहा फिल्म निस्क्यो, लक्ष्मी । हरर कमेडी यो फिल्ममा अक्षय कुमार देखिएका थिए । त्यस्तै रूही फिल्म पनि बजारमा आएको थियो । तर यी दुवै फिल्म फ्लप भए । फिल्मलाई बढी सन्देशमूलक बनाउन खोज्दा चिप्लिएको हुनसक्ने केहीको धारणा छ ।

तर अहिले स्त्री २ को सफलतासँगै आउँदा वर्षमा यस विधाका फिल्महरूको ओइरो लाग्ने सम्भावना बढेर गएको छ ।

ओपन म्यागेजिनमा महिमा चौधरीको रिपोर्ट