
रेयोनोसुके अकूतागावा टोक्योमा जन्मेका थिए ।
सन् १८८२ को मार्च महिना थियो र दिन थियो महिनाको पहिलो । पिता थिए दूधका ठूला व्यापारी । एकदम क्रूर स्वभाव थियो । आमा थिई फुफु । सहज, सरल र एकदम शान्त प्रवृत्तिकी ।
फेरि आयो सन् १९१८, महिना थियो फेब्रुअरी । एउटी केटी थिई फुमी । अकूतागावाले उनीसित विवाह रचे । यसरी शुरु भयो गृहस्थ जीवन ।
प्रेम विवाह थियो त्यो ।
…थाह छैन के केले उनलाई यति दबायो अन्ततः उनले हार माने । राति बरनलका धेरै गोलीहरू खाइदिए । बिहान मान्छेहरूले सुने कि अकूतागावाले सदासदाका लागि छुटकारा लिए । यो सन् १९२७ को कुरा हो ।
अकूतागावाको आत्महत्या र उनले लेखेको विश्वप्रसिद्ध फिल्म ‘रशोमोन’ कसैले बिर्सन सक्दैन । वा, विश्वको सिनेमाको अपरिचित भूभाग एशियाई भूखण्डबाट पहिलो पटक चर्चामा आएको फिल्म ‘रशोमोन’को विषय पनि आत्महत्या नै थियो ।
आत्महत्यालाई लिएर नायिकाको मृत्युपछि बहस चलाइएको यो फिल्मले अन्तर्राष्ट्रिय बजारमा जापानलाई मात्र होइन, एशियाई सिनेमाको परिचय पहिलो पटक पाएको थियो ।
‘रशोमोन’लाई आकिरा कुरोसावाले निर्देशन गरेका थिए र उनले यही सिनेमामा मार्फत् संसारभर आफ्नो र एशियाई जातिको नाम राखे । हत्या, आत्महत्या वा बलात्कार यी तीन विषयमा खुल्ला बहस गर्न अदालतमा आत्मालाई बोलाएर गरिएको यो बहस नै चर्चाको विषय बन्यो तर अकूतागावाजस्ता विश्वप्रसिद्ध लेखकको आत्महत्या प्रश्नकै विषय बन्यो ।
‘रशोमोन’का लेखकले आत्महत्या गरे ।
‘रशोमोन’का निर्देशकले फिल्मको सफलतापछि नब्बे वर्ष भन्दा लामो शानदार जीवन बाँचे ।
दुवैका निम्ति सफलताले फरक फरक अर्थ लाग्यो ।
जापानी साहित्यमा अकूतागावाको आत्महत्या सदैव विवादको विषय बन्यो ।
आत्महत्याले साहित्य, सिनेमा र ग्ल्यामर जगतमा सदैव रातो घेराको दाग लागेको छ ।
हलिऊडकी प्रसिद्ध अभिनेत्री एवम् गायिका व्हिट्नी हस्टनले भ्यालेन्टाइन डेको दुई दिन अगि सन् २०१४ मा गरेको आत्महत्याले संसारलाई धुरुधुरु रुवाएको थियो । जीवनभर प्रेम, शान्ति र सद्भावको गीत गर्वले गाउने ती अश्वेत नायिकाले सफलता, सम्पत्ति र सुखसयलको जिन्दगीमा संसारलाई लोभ्याएकी थिइन्, एउटी परी वा रानीको जस्तो जिन्दगी थियो तिनको तर एक शब्द नबोली तिनले आफ्नो सारा स्वीमीत्वलाई क्षणभरमै अन्त्य गरेर गइन् ।
व्हिट्नी हस्टन त मात्र एक उदाहरण थिइन् , हलिऊडले त कुनै समय स्वप्नसुन्दरी भनेर चिनिने श्वेतवस्त्रधारी नायिका मार्लिन मुनरोको आत्महत्यालाई कहिले बिर्सन सकेन ।
हलिऊड र अमेरिकाको राष्ट्रपतिको श्वेत भवनसितको सम्बन्ध जोड्ने शक्तिशाली पहिचान थिइन्, मार्लिन मुनरो । मुनरोको आत्महत्याको खबरले संसारलाई कति त्रसित र भयावह बनायो । अमेरिकाका राष्ट्रपतिदेखि ठूलाठूला समाचार एजेन्सीले वर्षौँसम्म त्यो दुःखद् इतिहास बिर्सन सकेनन् ।
निकारागुआका महाकवि एर्नेस्तो कार्दिनालले मुनरोको आत्महत्यामाथि कविता नै लेखे, संसारमा धेरै पढिने कवितामध्ये एउटा कविता हो त्यो ।
सफलताले मात्र स्टारको जीवनमा चमक नल्याउने रहेछ, नेपथ्यमा त्यसका दुःखद् पक्ष कति हुँदा रहेछन् । यही दुःखद् कथा बोकेर आए हलिउडका अर्का उम्दा कलाकार जिम्मी हेयडेन । उनले सन् १९८३ को नोभेम्बर ८ मा आत्महत्या गरेको खबर आजसम्म हलिऊडका लागि धक्काको विषय बनेको छ । उनका सहकर्मी अल पचिनो, रोबर्ट डी निरो अहिलेसम्म पनि यो सन्दर्भ उठ्यो कि निस्तब्ध हुन्छन् ।
घाउ कहाँ दुखेको छ, कसैलाई थाहै हुँदैन ।
नाम, दाम, ख्याति र अपार आनन्दका बीच पनि मान्छेमा एउटा मृगतृष्णा सधैँ रहन्छ जसका निम्ति ऊ आफ्नो जीवनलाई एउटा निरर्थक विषय ठान्न पुग्छ ।
हलिऊडमा मात्र होइन, बलिऊड फिल्म उद्योग पनि सर्वथा आत्महत्याको जंगलभित्र घरिघरि फँसेको छ । चर्चा, चमकदमकको चक्काचौँधभित्र रहेर पनि कहिलेकाहीँ बलिऊड फिल्म जगतभित्र आत्महत्या विषयले अनावश्यक सन्दर्भमा पर्दा हालेको छ । उच्चकोटिका फिल्म निर्देशक गुरुदत्त होस् वा सफल गीतकार, कवि शैलेन्द्रको आत्महत्याले त्यो रंगीन संसारलाई रातो घेराभित्र पारेको छ । दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिताको आत्महत्यामाथि पछि चर्चा योग्य सिनेमा ‘डर्टी पिक्चर’ नै बन्यो ।
आज पनि बलिऊडको इतिहास हेर्ने हो भने बृज सदानाह जस्ता सफल अनि व्यावसायिक सिनेमाका निर्माताले आफ्ना सम्पूर्ण परिवारको हत्या गरेर आफूले किन आत्महत्या गरे, खोजको विषय नै भयो ।
‘प्यासा’, ‘कागज के फूल’, ‘साहिब, बीबी और गुलाम’जस्ता अन्तर्राष्ट्रिय स्तरका फिल्म बनाएर सिने उद्योगलाई सम्मानको स्थान दिने गुरुदत्त पाडुकोणजस्ता निर्देशकले किन आत्महत्याको कठिन बाटो अपनाए अहिलेसम्म बलिऊड यसबारे मौन र निस्तब्ध नै छ ।
कवि साहिर, संगीतकार एसडी बर्मन, गायिका गीता दत्त, नायिका वाहिदा रहमान, क्यामेराम्यान् वीके मूर्ति जस्ता स्रष्टा साधकका प्रिय फिल्ममेकर गुरुदत्तले सफलताको शिखरमा हुँदाहुँदै निर्माणाधीन चलचित्रको काम छोडेर एक मध्यरातममा किन आफ्नो एकाकी जीवनलाई निर्ममतापूर्वक जडतामा बदले, भन्न सक्ने आज कोही छैनन् । गुरुदत्त केका निम्ति हारे ? आत्महत्यापछि उनी के कुरालाई जित्न चाहन्थे, कसैले यसको व्याख्या गर्न सकेका छैनन् ।
उनका समकालीन देव आनन्द, दिलीप कुमार, राजकपूर त त्यसपछि पनि सक्रिय नै रहे ।
गुरुदत्तको जीवनको एकाकीको खोज के थियो ? आज पनि बलिऊड यस कुरामा मौन छ ।
गुरुदत्तको आत्महत्यापछि बलिऊडले बुझेको एउटै कुरा थियो, उनी आफ्ना निम्ति बाँचेका थिएनन् तर उनी कसका लागि मरे त ? यो पनि प्रश्न नै रह्यो ।
मृत्यु वा आत्महत्यालाई अहंसित जोडेर व्याख्या गर्ने चिन्तक भगवान् रमण महर्षिले भनेका छन् ,
अहंको शुद्धतालाई अनुभवका आधारमा जीवनको मध्यान्तरमा बुझ्ने हो भने दुई स्थिति वा दुई विचारको द्वन्द्वमा यो निहित छ । जब वस्तु वा पदार्थसित तिम्रो निकटता वा सम्बन्ध टुट्छ त्यसपछि अहम् स्वतः बढ्छ, यो अपरिवर्तनीय यथार्थ हो बुझ्नु पर्ने । तिम्रो साँचो बँचाईलाई तीन चीजले वा त्यसको अध्ययनले विश्वसनीय बनाउँछ, ती हुन्‑ जाग्रत, स्वप्न र सुषुप्ति ।
रमण महर्षिले भनेका यी तीन चीज नै बलिऊडको आर्क लाइटबाट गायब छ ।
बलिऊड एउटा ठूलो परिवार हो तर यहाँ कसैको कोहीसित कुनै नाता छैन । यहाँ शक्ति र सौर्य हुन्जेल धूपबत्ती बाल्नेको भीड हुन्छ, जब दिन ढल्दै गएपछि कुनै समय भगवान् मानिएका स्टार पनि गल्लीको कुकुरजस्तै महत्त्वहीन हुन्छ र उसले एकदिन गुमनाम मृत्यु मर्दा आरआइपी लेख्नेको ताँती हुन्छ । यो इतिहास बलिऊडको पहिलो सुपरस्टार राजेश खन्ना वा जुबिली स्टार राजेन्द्र कुमारले भोगिसकेका छन् ।
हालैका दिनमा बलिऊडका एक चम्किला तारा सुशान्त सिंह राजपूतको आत्महत्याले त्यही कुरा पुष्टि गरेको छ । आत्महत्या गर्नु अगि उनले नलेखेको सुसाइड नोट धेरैले खोजेर हेरे, त्यहाँ एउटै कुरा फेला पर्यो बलिऊडको नेपोटिज्म् ।
बलिऊड स्थापनाकालदेखि नै नेपोटिज्म्ले ग्रस्त छ, यो उद्योगको शुरुवात गोविन्द साहब फाल्केले गरेको भए पनि पछि यसको विस्तारमा विशाल हिन्दुस्तानको लाहोरको अकल्पनीय भूमिका छ । ब्रिटीश साम्राज्यको समय इस्ट इन्डिया कम्पनीले राजधानी तुल्य बनाएको कोलकत्ता शहरको वैभव हुँदाहुँदै पनि लाहौरले यसको तन्तु खोसेर लग्यो ।
ब्रिटीश अधीन छुटेपछि भारत पाकिस्तान अलग देश बनेपछि लाहोरबाट एक्कासि सिने उद्योग महाराष्ट्रको बम्बैमा सर्यो । बेलायतले शासन शुरु गरेको बेला नै अमेरिकाको फाल्कन उपत्यकामा रहेको डेढ लाख जनसंख्या भएको बम्बैको नामको नक्कल गरेर यसको नाम मुम्बईबाट बम्बै राखेका थिए । शब्दकोशमा कुनै अस्तित्व नभएको बम्बे शब्दबाट मुम्बई फिल्म उद्योगको नाउँ बलिऊड बन्न पुग्यो जसको आजसम्म कुनै आधिकारिक अर्थ छैन तर भनिन्छ, बलिऊड नै ।
भारतका प्रधानमन्त्री पं जवाहरलाल नेहरुले बलिऊडका तीन नायक देव आनन्द, दिलीपकुमार र राजकपूरलाई थ्री बीग को नाम दिएपछि बलिऊड बिस्तारै दिल्लीको तीन किल्लासित निकट भयो ।
पं नेहरुपछि उनकी छोरी इन्दिरा गान्धीले प्रधानमन्त्रीत्वकाल सम्हालेपछि झन् बलिऊड प्रत्यक्षतः राजनीतिको नजिक पुग्यो । बलिऊड राजनीतिको तराजूमा झुन्डिएपछि बिस्तारै भूमिगत माफियाले यसमा प्रवेश पाउन थाल्यो जसलाई अहिलेको भाषामा अन्डरवर्ल्ड भनेर चिनिन थाल्यो ।
लगानीको हिसाबले अदृश्य शक्तिको पैसा आउन थालेपछि बलिऊडमा मुसलमान समुदायका नायक नायिका अनि संगीतकर्मीहरूको हालीमुहाली बढ्न थाल्यो ।
अहिले देखिएका नायकहरू खान भए पनि त्यतिबेला खानभाइहरू कुमार भएर फिल्म उद्योगमा प्रवेश गरे ।
बलिऊड एउटा मुठ्ठी वा ईशारामा चलिरहेको छ भन्ने धेरैलाई थाह भए पनि सबै चूपचाप थिए ।
एक समय एकसेएक हिट फिल्म दिएर एँग्री यँग म्यानको पगरी पाएका अमिताभ बच्चन छुट्टीमा आफ्नो पुरानो घर इलाहावाद जाँदा उनले आफ्ना पितालाई भनेका थिए, ‘बाबूजी । ख्वै के गर्ने हो ? जति कोशिश गरे पनि म बलिऊड भित्र हुन सकिनँ । घरिघरि मैले जति बल गरे पनि मलाई बलिऊडले किनारमा हुत्याइदिन्छ ।’
उनको यो अपशोच, उनको यो पीडा उनले ‘जञ्जीर’ जस्तो हिट फिल्म दिइसकेपछिको हो । उनको यो आत्मबोध सुनेर उनका कवि पिता डा हरिवंश राय बच्चनले भनेका थिए,
‘तँ मात्र के कुरा गर्छस् ? बलराज (साहनी) जी पनि घरि घरि यो पीडा पोख्नु हुन्थ्यो । बलिऊड चाहेर पनि मेरो परिवार हुन सकेन भन्नु हुन्थ्यो उहाँ ? त्यहाँ त्यस्तै छ चूपो लागेर काम गर्नु ।’
त्यसपछि अभिनेता बच्चनले यो कुरा कहिल्यै कसैलाई पोखेनन् । बरु उनले बलिऊडका माध्यमबाट राजनीति, चुनाव, समाजसेवा, अन्तर्राष्ट्रिय पुरस्कार आइफासित नाता जोडे र आफूलाई अभिभावकको रुपमा स्थापित गर्दै लगे । आज उनको छवि बलिऊडमा गडफादरको जस्तै छ । तर उनले बलिऊड भित्रको कमी, कमजोरी वा दुर्गुणको कुरा गर्न छोडिसके, उनले आफ्ना पितालाई भनेका कुरा पनि शायद बिर्सिसके ।
करीव पचास वर्षअगि उनी सिनेमामा पहिलो पटक आउँदा मौका दिने निर्देशक मुस्लिम समुदायका ख्यातिप्राप्त लेखक ख्वाजा अहमद अब्बास थिए भने उनलाई क्रुद्धयुवा नायकको छवि नामांकित गर्ने लेखकद्वय सलीम खान र जावेद अख्तर दुवै गैर हिन्दु थिए ।
बच्चन मात्र होइन, धेरै निर्माता, निर्देशक, कलाकार अहिले मौन सहमतिमा बाँचेका छन् ।
बलिऊड सिने उद्योगले एउटै कुरा भन्ने गरेको छ, यो इन्डस्ट्रीमा आउँदा जात, धर्म र जुत्ता ढोका बाहिर छोडेर आउनू । यसो भनिए पनि वा भनिएको देखिए पनि विशाल भारतको फिल्म उद्योग अहिले तीन खान (शाहरुख खान, अमिर खान र सलमान खान) को अधीनमा भएजस्तो देखिन्छ । र, त्यो सही पनि हो ।
खान र खानदानको जालोमा फँसेको बलिऊड उद्योगमा खानदानको वर्चस्व (नेपोटिज्म्) छ भन्ने कुरा स्वीकार गर्दै स्मल टाउन गर्ल कंगना रनौटले इँगित गरेको औँला कपूर, खन्ना र चोपडा परिवारतिर तेर्सिएको छ ।
बलिऊड फिल्म उद्योग पञ्जाबी, मुस्लिम, सिन्धी, गुजराती, बंगाली परिवारबाट संरक्षित भए पनि यो उद्योगमा विहार, यूपी वा गुजरातका भाइभतिजाको उपस्थिति कमै देखिन्छ ।
विहारी मूलका शत्रुध्न सिन्हापछि विहार राजीवपुरका एक निम्न मध्यमवर्गीय परिवारका युवा सुशान्त सिंह राजपूतको सफलताले बलिऊडलाई अलि अलि तर्साएको जस्तो देखिएपछि उनीमाथि केही चलचित्र निर्माता, निर्देशक, प्रदर्शकले आफ्नो शासकीय स्वभाव देखाउन थाल्यो र उनी बिस्तारै एक्लो र बेग्लो हुँदै गए ।
पुरस्कारको प्रपञ्चबाट उनलाई टाढा बनाउँदै लग्यो, उनले आफूमाथि हुँदै गएको षडयन्त्रको पर्दाफास गर्नुअगि नै उनीमाथि डिप्रेशनको रोगी भन्ने लेबल लाग्न शुरु भयो ।
बलिऊडले नाम, इज्जत, धन दौलत सबै दिन सक्छ तर एक्लो र बेग्लो हुँदै गएपछि कसैलाई साथ र स्नेह दिन सक्दैन । त्यो यसअगिको इतिहासमा परवीन बबीजस्तो स्टारले पनि भोगिसकेकी थिइन् । विश्वप्रसिद्ध टाइम पत्रिकाको आमुख कथामा आउन सफल पहिलो एशियाई नायिका परवीन बबीलाई बलिऊडले मरेको चार दिनपछि मात्र थाह पाए । बलिऊडमा कैय्यन कलाकारले यस्तै नियति भोगेका छन्, मीनाकुमारी होस् वा मधुवाला, जीएम दुर्रानी होस् वा जगदीश राज ।
कवि साहिरले लेखेका छन् ,
इज्जतें, शोहरतें, चाहतें, उल्फतें
कोई भी चीज दुनिया में रहती नहीं
आज मैं जहाँ हूं कल कोइ और था
ये भी एक दौर है वह भी एक दौर था
बलिऊडको फिल्म उद्योग घोडा दौडजस्तै हो, यहाँ नम्बर लगाइन्छ घोडालाई जस्तै नम्बर वन नम्बर टू … यो क्रम धेरै पहिलेदेखि चल्दै आएको छ ।
अहिले यो रेसकोर्स अर्को जुवा खेलमा बदलिएको छ, जसलाई करोड क्लब भनिएको छ । आफ्नो फिल्मले करोड नकमाए ऊ मैदानबाट फ्याँकिन्छ ।
सफलताको मापदण्ड यही मानिन्छ ।
सफलता एउटा अस्थायी चीज हो । सफलताको चुचुरोमा लामो टिकिरहन संयम चाहिन्छ । संयम भएन भने अरु विकल्प छैन, या त आत्महत्या या त पलायनको बाटो ।
पलायनको बाटो अपनाएर विनोद खन्ना, राजकिरण, कुमार गौरव, अनु अग्रवाल, राहुल राय बाहिरिसके । को कहाँ कस्तो अवस्थामा छन्, त्यसको जानकारीसम्म कसैलाई छैन । जो छिटो हार्छन् वा हारेपछि आत्महत्या गर्छन् तिनका निम्ति कुनै एपीग्राफ लेखिएको छैन ।
अर्जेन्टाइन कवि होर्खे लुई बोर्खेसले लेखेको एउटा कविता छ,
आत्महत्या …
यो रात आज ताराहरूले बिल्कुल खाली हुनेछन्
रात पनि बँच्ने छैन
म नरहने बित्तिकै मेरो साथ नै जानेछन्
सृष्टिको असह्य बोझ ।
मेटेर जानेछु यो पिरामिड, यो स्मारक ,
यो महाद्विप अनि यो अनुहार ।
यो थुप्रिएको अतीत ढालेर जानेछु
मुठ्ठीभर धूलोमा बदलिदिनेछु इतिहासलाई ।
अब यो अन्तिम सूर्यास्त हुनेछ मेरो ।
पक्षीको अन्तिम बोल सुन्दैछु ।
म पछि मेरै धरोहर एउटा शून्य जो कसैको लागि पनि होइन ।
००



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

