सन् २०२२ को अन्त्य नजिकिँदै जाँदा बलिउडमा कस्ता फिल्म चले र कस्ता चलेनन् भन्ने चर्चाले व्यापकता पाउने गरेका छन् ।
त्यसो त चलेका फिल्म जति सबै राम्रा र नचल्ने फिल्म सबै खराब भन्ने हुँदैन । फिल्म चल्नु वा नचल्नुका अनेकन् आयाम हुने गर्छन् ।
तापनि वर्षान्तमा जहिले पनि कमाउने फिल्म र गुमाउने फिल्मको चर्चा हुनु पत्रकारिताको एउटा वार्षिक श्राद्धजस्तै हो । त्यसैले आउनुस्, यसपाला पनि हामी यस्तै एउटा श्राद्ध गरौंः
हिन्दी फिल्म भारतसँगै नेपालमा पनि रिलिज भएका कारण यहाँ पनि ती फिल्मबारे चर्चा र चासो चल्छ नै । नेपालका फिल्म वितरकहरूले फिल्म कतिमा किनियो र त्यसले कति व्यापार गर्यो भन्ने प्रायः खुलाउँदैनन् । यहाँ चाहिँ भारतीय मिडियाका अनुसार कमाईका कुरा राखिएका छन् ।
सबैभन्दा बढी चल्ने फिल्म यस प्रकार छन्ः
१. केजिएफ च्याप्टर २
दक्षिण भारतका तीन फिल्म उद्योगहरूमध्ये कर्नाटक राज्यको फिल्म उद्योग व्यापारमा कमजोर ठानिन्छ तर कर्नाटक राज्यले यस पटक सबैलाई चकित पार्न सफल पारेको छ । यसले उत्पादन गरेको केजिएफ च्याप्टर २ ले २०२२ मा सबैभन्दा बढी व्यापार गर्ने भारतीय फिल्मको कीर्तिमान बनाएको छ । यसले संसारभरबाट १२०० करोड भारू सङ्कलन गरेको छ । भारतमा एकै दिन २१ लाख टिकट बिक्री गर्ने नयाँ कीर्तिमानसमेत बनाएको थियो । कन्नड भाषामा मूल रूपमा बनाइएको भए पनि हिन्दी, तेलुगू, तमिल र मलयालममा स्वराङ्कन गरी १४ अप्रिलमा रिलिज गरिएको थियो ।
२. आरआरआर
एसएस राजामौलीको ऐतिहासिक घटनामा आधारित यो फिल्म रिलिज हुनुअघि नै निकै चर्चा बटुलेका कारण यसको व्यापार आकर्षक हुने अनुमान सबैको थियो । बाहुबली निर्देशकको यो फिल्मले हलिउडमा समेत हलचल मच्चायो । यसले अहिलेसम्म संसारभरबाट ११४० करोड भारू कमाइसकेकत्र छ । २५ मार्चमा रिलिज भएको यो फिल्मले हलिउडको प्रतिष्ठित पुरस्कारहरूमा नामाङ्कनसमेत परेको छ भने अस्कर पुरस्कारको दौडमा पनि निकै अगाडि बढिसकेको छ ।
३. कन्तारा
सबैलाई चमत्कृत पार्ने फिल्म चाहिँ कन्तारा बन्न पुगेको छ । केजिएफ निर्माण गर्ने समूहले नै लगानी गरेको यो फिल्मको जम्मा बजेट १६ करोड रूपैयाँ मात्र रहेको बताइन्छ । हालसम्म यसले ४१० करोड भारूको व्यापार गरिसकेको छ । ३० सेप्टेम्बरमा रिलिज भएको यो फिल्म कन्नड फिल्म उद्योगको सर्वकालीक सबैभन्दा बढी कमाउने सूचीमा तेस्रो नम्बरमा परेको छ । केजिएफ र दोस्रो भागको केजिएफ च्याप्टर २ पछि यो फिल्म नै कन्नड फिल्म उद्योगको सबैभन्दा बढी कमाउने फिल्म बन्न पुगेको हो ।
४. कश्मीर फाइल्स
माथिका तीन फिल्म बलिउडका फिल्म होइनन् । वास्तविक बलिउड फिल्म अर्थात् हिन्दी फिल्म चाहिँ कश्मिर फाइल्स हो । विवेक अग्निहोत्रीले निर्देशन गरेको यो फिल्म जम्मा २० करोड बजेटमा बनाइएको थियो । संसारभरबाट यसले ३३५ करोड रूपैयाँभन्दा बढी कमाइसकेको छ । यो फिल्म मार्च १७ मा रिलिज भएको थियो । कश्मीर फाइल्सको टिकट मूल्य कम भए पनि अन्य चलेका फिल्महरूको तुलनामा यसको टिकट निकै बढी बिक्री भएकाले यो सूचीमा माथि आउन सफल भएको हो ।
५. पिएस‑ १
मणि रत्नमको निर्देशनमा बनेको अर्को ऐतिहासिक फिल्म पोन्नियिन सेल्वनको भाग १ले पनि राम्रो व्यापार गरेको छ । टिकट बिक्री र कमाईको आधारमा यो पाँचौं नम्बरमा छ । ३० सेप्टेम्बरमा रिलिज भएको यो फिल्मका अधिकांश कलाकार दक्षिण भारतीय नै छन् । फिल्मले विश्वभरबाट ४९० करोड कमाएको छ । १० औँ शताब्दीका बेला दक्षिण भारतीय चोल राजवंशको शासकको सत्ता संघर्षमाथि यो फिल्म बनाइएको छ ।
६. ब्रह्मास्त्र १: शिव
सुपरहिरो फिल्म विधामा पर्ने यो फिल्मले संसारभरबाट ५०० करोड रूपैयाँको व्यापार गरेको छ । भारतमा भने कश्मीर फाइल्सभन्दा पछि नै रहेको छ । यो फिल्मको टिकट दर बढी भएकाले फिल्मको व्यापार बढे पनि बढी मानिसले हेरेको आधारमा कश्मीर फाइल्स अगाडि परेको हो ।
७. विक्रम
लोकेश कनगराजको निर्देशन रहेको कमल हसनको फिल्म विक्रमले पनि आकर्षक व्यापार गर्न सफल भयो । १५० करोडको बजेटमा बनेको यो फिल्मले संसारभरबाट ४१४ करोड कमाएको थियो । अनलाइन टिकट बिक्रीका आधारमा यो सातौं स्थानमा परेको हो । यो पनि दक्षिण भारतीय फिल्म हो ।
८. भूलभुलैया २
अनीस बज्मीद्वारा निर्देशित भूल भुलैया २ हरर कमेडी फिल्म हो । २० मे मा रिलिज भएको यो फिल्मको बजेट ७० करोड रूपैयाँ भए पनि यसले २६६ करोडभन्दा बढी कमाएको थियो । बढी कमाउने सूचीमा यो आठौं स्थानमा पर्न सफल भएको छ ।
९. दृश्यम २
टिकट बिक्रीको हिसाबले यो फिल्म वर्षभरि बढी व्यापार गर्ने सूचीमा ९ स्थानमा पर्न सफल भएको हो । अहिले पनि यो सिनेमा हलमा चलिरहेको छ । ५० करोड भारूमा बनेको यो फिल्मले अहिलेसम्म ३१५ करोडभन्दा बढी व्यापार गरिसकेको छ । अभिषेक पाठकले निर्देशन गरेको यो फिल्म मलयालम सोही नामको फिल्मको रिमेक हो ।
१०. डाक्टर स्ट्रेन्ज २
साम रायमीको निर्देशन रहेको मार्वल स्टुडियोको फिल्म डक्टर स्ट्रेन्जको दोस्रो भाग हो । २० करोड अमेरिकी डलर बजेट रहेको यो फिल्मलाई हिन्दी, तमिल, तेलुगू, कन्नड, मलयालम भाषाहरूमा एक साथ रिलिज गरिएको थियो । भारतभरबाट यसले १३२ करोड भारू कमाएको छ । यो कमाई हलिउडका लागि निकै आकर्षक हो ।
अवतारः द वे अफ वाटरले भने पछिल्ला दिनमा भारतमा पनि तहल्का मच्चाएको छ । यसले रिलिज भएको तीन दिनमा नै भारतबाट १६० करोड कमाएको थियो । दोस्रो हप्ता कट्दै गर्दा यसले २३५ करोड व्यापार गर्न सफल भएको छ । संसारभर भने यसले ६०९.७ मिलियन डलरको व्यापार गरेको छ । यो फिल्मबाट नाफा निकाल्न डिज्ने कम्पनीले २ अर्ब डलरको व्यापार गर्नुपर्ने हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।