आनन्द बक्सी

हिन्दी फिल्ममा मनोरञ्जक स्क्रिप्ट लेखकका रूपमा चिनिने रूमी जाफरी उनले लेखेका कुली नं. १, हिरो नं. १, बिबी नं. १ का लेखकका रूपमा चर्चित छन् । डेभिड धवनसँग मिलेर काम गरेका उनले ५० भन्दा बढी फिल्मको स्क्रिप्ट लेखेका भए पनि गोविन्दा र डेभिड धवनसँग मिलेर लेखेका फिल्महरू ज्यादै चर्चा बटुले ।

जब सफल लेखक भएँ भन्ने उनलाई लाग्यो, त्यसपछि उनले केही फिल्म पनि निर्देशन गरे । तीमध्ये गड तुस्सी ग्रेट हो, लाइफ पार्टनर, गली गली चोर है तथा चेहरे तीमध्ये केही हुन् ।

भोपालमा जन्मिएका उनी १० वर्षको उमेरदेखि नै नाटककर्ममा भिजेका थिए । उनको पहिलो फिल्म १९९२ मा रिलिज भएको थियो, पायल ।

उनी जुन बेला फिल्म लेखकका रूपमा काम गरिरहेका थिए, त्यसबेला उनी म्युजिक सिटिङका बेला पुग्ने गर्थे । एक पटक गीतकार आनन्द बक्सीसँग भेट गर्नु थियो । लेखक रूमी जाफरी र गीतकार आनन्द बक्सीले सात वटा फिल्ममा सँगै काम गरे । राम्रा गीतकारसँग संगत गर्न उनलाई मन पर्थ्यो ।

रूमी जाफरी

जाफरी र बक्सी सँगै बस्दा जहिले पनि नजलाइएको चुरोट हातमा राख्थे र बरोबर कस तान्ने गर्थे । जाफरीले भन्थे, ‘तपाईं यस्तो नगर्नुस्, यति चुरोट पिउनुभन्दा खतरनाक हो ।’

जवाफमा बक्सी भन्थे, ‘चुरोट पिउनु पनि त खतरनाक हो । मेरो उमेर त भइसक्यो, तिम्रो उमेर अझै छ छोड्ने ।’

बक्सीले यति धेरै चुरोट छाड भने कि पछि जाफरीले चुरोट नै पिउन छाडिदिए ।

बक्सीको गीत लेख्ने तरिका अनौठो छ भन्दै उनले एक ठाउँ सम्झेका छन् । उनले भनेका छन्, ‘बक्सीले मलाई छोराजस्तै माया गर्थे । उनको गीत लेख्ने तौरतरिका गज्जबको थियो । उनले लेख्ने बेलामा आफ्नो आँखीभौँका रौँ चलाइरहन्थे । उनको आँखीभौँको रौँ लामा थिए र ती लामा रौँलाई कुनै बेला गुजुल्ट्याउने, सिधा पार्ने क्रम गरिरहन्थे । खासमा गम्भीर सोचमा परेका बेला उनी यस्तो गरिरहन्थे ।

बक्सीले कहिलेकाहीँ चर्चित गीतका स्थायी केही मिनेटमै लेख्थे र प्रायः रदिफ र काफिया मिलाइरहेका हुन्थे ।

उदाहरणका रूपमा आपकी कसम फिल्मको चर्चित गीत जिन्दगी के सफर में गुजर जाते हैं जो मुकाम, वो फिर नहीँ आते गीतमा मुकाम रदिफ भयो र वो फिर नहीँ आते काफिया भयो । अब मुकामलाई नै पक्डिएर जति पनि शब्द छन्, शाम, सलाम, नाम उनले लेखे । अब कति मजाले तिनको प्रयोग अन्तिम पंक्तिमा त्यसको स्थायी जोडिरहन्छ । यस्तो प्रयोग माझिएको कविले मात्र गर्न सक्छ ।

उनको अर्को विशेषता भनेको फिल्मका गीतमा उनले फिल्मको कथा मज्जाले घुसउने गर्थे । त्यस्तो काम विरलै गीतकारले गर्थे । कयौँ निर्देशकले त के सम्म भन्थे भने बक्सज्यूले गीतमा हाम्रो स्क्रिप्टको गल्ती पनि सच्याइदिन्छन् ।

दुई अन्तरा लेख्नुस् भनेको ठाउँमा उनले दस वटा अन्तरा लेखेर दिन्थे । ताकि संगीतकारले छनोट गर्न पाओस् ।

बक्सी आफ्नो कामप्रति ज्यादै प्रतिबद्ध थिए । एक पटक रूमी जाफरीले लेखेको फिल्म हम किसी से कम नहीँको काम हुँदैथियो । ३१ मे सन् २००२ को बेलामा फिल्म रिलिज हुँदै थियो । तर फिल्मको एउटा गीतमा अझै काम हुन बाँकी थियो । फिल्ममा अजय देवगन र ऐश्वर्या रायलाई खिच्नु पर्ने थियो । यसका लागि कोरियोग्राफर सरोज खान पनि तयार थिइन् । गीतको स्थायी आनन्द बक्सीले लेखिसकेका थिए । बाँकी अन्तराहरू बाँकी थियो ।

त्यसै बेला गीतकार आनन्द बक्सीको स्वास्थ्य बिग्रियो । उनलाई तत्काल मुम्बईको नानावटी अस्पतालमा भर्ना गर्नुपर्यो । अब के गर्ने, सबैलाई तनाव थियो । बाँकीको अन्तरा कहाँबाट ल्याउने ?

हम किसी से कम नहीँ फिल्मको एक दृश्य

फिल्मका निर्माता अफजल खान बक्सीको स्वास्थ्यस्थिति बुझ्न अस्पताल गए । त्यहीँ बक्सीले भनेछन्, तपाईंको अन्तरा लेख्न भ्याएको थिइनँ, अस्पताल बसेर त्यो पनि पूरा भयो ।

यसको केही दिनमा ३० मार्च २००२ मा नानावटी अस्पतालमा उनको निधन भयो ।

गीत रेकर्ड भइसकेको थियो तर त्यो गीत सुनाउन कसैले पनि पाएनन् । उनको अन्तिम संस्कारमा फिल्म उद्योगका धेरै नामचीनहरू भेला भएका थिए ।

सोही बेला ऋषि कपुरले जाफरीलाई भने, ‘मेरो जीवनको पहिलो सुपरहिट गीत लेख्ने व्यक्ति अब रहेनन् ।’

अस्पतालमा हुँदा जाफरीका लागि लेखेको गीतको बोल थियोः
ओ सपनों के सौदागर, एक सपना देदेँ
सपना लेना है तो दिल अपना दे देँ…