साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

देशभक्ति जगाउने फिल्म ‘८३’


अनुहारमा आत्मविश्वास र जोशले भरिएको वेस्ट इन्डिजको महान् क्रिकेटर सर विभियन रिचर्डसले आकाशी सट लगाउँदा बल भुइँमा झरेको सिन नदेखाई स्क्रिनमा आउँछ ‘83’। अँ म कुरा गर्दैछु २४ मार्च, २०२१ मा वर्ल्ड वाइड रिजिल भएको फिल्म ‘83’ को। म क्रिकेट एवं बलिउडप्रेमी हुने भएर सत्य घटनामा आधारित चलचित्र हेर्न लालायित थिएँ। क्रिस्मसको दिन गएँ हेर्न, ‘83’। फिल्मले मलाई निकै प्रभावित पार्यो। समीक्षा यो नहोला तर मनका कुरा नलेखी रहन सकिनँ।

दुई वर्षयतादेखि चर्चामा आएको यस फिल्मका मुख्य भूमिकामा छन्, रणवीर सिंह। फिल्म ‘83’ २०२० मै रिजिल हुने योजना थियो तर कोभिड १९ रोगले निम्त्याएको परिस्थिति तथा लकडाउनले सार्वजनिक प्रदर्शनी हुन सकिरहेको थिएन । १२५ करोडको बिग बजेट मुभी हुनाले तत्काललाई यो ओ.टी.टी. प्लेटफर्ममा रिजिल नहुने भएपछि यसप्रति मेरो चासो बढेको थियो ।

यो फिल्मका निर्देशक कबीर खानले यसअघि बजरंगी भाइजान तथा एक था टाइगर जस्ता ब्लकबस्टर निर्देशन गरेकाले पनि म यसलाई हेर्न उत्सुक थिएँ । बलिउडकी सुपरस्टार अभिनेत्री दीपिका पादुकोण यस फिल्ममा कपिल देवकी पत्नीको भूमिकामा छिन् भने उनी फिल्मकी प्रड्यूसर पनि हुन्।

bahulako diary small and inside post

‘83’ मुभीमा सन् १९८३ मा भारतले वेस्ट इन्डिजविरुद्ध खेलिएको विश्वकप क्रिकेट जितेको ऐतिहासिक घटनालाई जीवन्त राख्ने प्रयास गरेको छ। भारतलाई विश्वकप जिताउनमा मुख्य भूमिका निभाउने भारतीय कप्तान कपिल देवको पात्रलाई अभिनेता रणवीर सिंहले हुबहु कपिलदेवको अनुहार र भूमिकामा निभाएका छन्। फिल्मका अरू किरदारमा भारतका महान् क्रिकेटर सुनिल गावस्करको भूमिकामा ताहिर भसिन, उपकप्तान मोहिन्दर अमरनाथको भूमिकामा साकिब सलीम, कृष्णमचारी श्रीकांतको भूमिका जिभाले, बलवीन्दर सन्धूको अम्मी विर्क, रवि शास्त्रीको धैर्य करवा, संदीप पाटिलको चिराग पाटिलले भूमिका खेलेका छन् भने टीम म्यानेजर मान सिंहको किरदारमा बहुप्रतिभाशाली अभिनेता पंकज त्रिपाठीले निभाएका छन्।

फिल्मको कथा सादा छ, सरल छ। कथामा न प्रेम छ, न मसला छ, न नै लस्करै गानाको तड्का। कतिसम्म भने, कथाको अन्त्यमा भारतले विश्वकप जित्ने पनि थाहा नभएको कुरा होइन। कथा सीधा एवं प्लेन भए तापनि कसिलो, रोचक, एवं दर्शकलाई सास रोकिदिन सक्ने पटकथा रचिएको छ। २ घण्टा ३२ मिनेटमा राखिएको यो कथामा भारतीय क्रिकेट टिम बेलायत गएर म्याच खेलेदेखि वर्ल्डकप जितेको यात्रा मात्र छ। यही छोटो सफरलाई पारिवारिक, सामाजिक घटनाको गहिराईलाई नदेखाई क्रिकेट मैच, मैदान अनि खेलाडीहरूसम्म सीमित राखेर पनि अढाई घण्टा कति बेला बित्छ थाहा नै हुँदैन।

मुभीको पहिलो सेसनमा भारतीय टिम एवं क्रिकेट दर्शकमा निराशा एवं हरेश खाएको भावनालाई मजाले दर्शाएको छ। फिल्मका दर्शक पनि मुभीका क्रिकेट दर्शक समान हरेश खाएर नोस्टाल्जियामा पुग्छन् । जब इन्डिया टिम वर्ल्डकप खेल्न बेलायत पुग्छ, एयरपोर्टमा भारतीयले सम्मान नपाएको, प्रायः सबैले एक म्याच पनि जित्तैनौ भनेर हियाएको, सेमी फाइलअघि भारतीय क्रिकेटरको फर्कने प्लेन टिकट काटिदिनु, टिम म्यानेजरको स्टेडियम एन्ट्री कार्ड पनि शुरुका म्याचका लागि मात्र बनाइदिनु जस्ता दृश्यले दर्शकलाई नमिठो गरी चिमोट्छ ।

यसैगरी अर्को आकर्षक दृश्य त, जब तीन चोटि वर्ल्डकप विजेता वेस्ट इन्डिजको टोली आत्मविश्वासका साथ छिर्दा भारतीय टोलीले ‘सर सर’ भनेर इज्जत गरेको देखिन्छ। दर्शक पनि ८० को दशकमा पुगेर दृश्यसँगै निराश हुन पुग्छन् । फिल्मको पहिलो भागपछि घातक बल्लेबाज एवं दुनियाँका फास्ट बलरको चपेटामा घाइते भएका भारतीय टोलीले जितको मजा चाख्छन् तब निराशादेखि आशामा पुर्याइदिन फिल्म निर्देशक सफल भएको लाग्छ।

अभिनयः अभिनयतिर दृष्टि हाल्दा सबैको प्रदर्शन उम्दा नै देखिन्छ । रणवीर सिंहको अभिनय त सबैले देखेकै हुन् । उनका गुन्डे, रामलीला, बाजीराव मस्तानी अनि पद्मावत जस्ता फिल्ममा प्रत्येक चरित्रको न्याय गरेकाबाट पनि यस फिल्ममा उनको चरित्र कालजयी बन्न पुगेको अनुमान गर्न सकिन्छ तर वास्तवमै उनले पर्दामा कपिलदेव बाँचेका छन् ।

पंकज त्रिपाठी माझिएका जनप्रिय अभिनेता हुन्। फिल्ममा गम्भीर अभिनयदेखि दर्शकलाई हँसाउन पनि उनी पछि परेका छैनन् । दीपिकाको भूमिका सानो भए पनि असरदार छ। जतिन शर्मा, साकिब सलिम र जीभाले वाहवाही लुटेका छन्।

फिल्मको विशेषताः फिल्ममा प्रेम, कुटपिट नभए पनि दर्शकलाई भावविभोर बनाइदिन्छ। क्रिकेटप्रेमी एवं देशप्रति प्रेम हुने दर्शकका आँखामा त आँसु पनि झारिदिन्छ। आफ्नो देशले विदेशी भूमिमा वर्ल्डकप जितेको पल देख्दा पुनः भर्खरै वर्ल्डकप जितेको प्रतित हुन्छ। हलमै ताली बजाउन हात स्वतः तत्पर हुन्छन्। वर्ल्ड कप जितेको घटनाले मात्र कप लिएर आएको दृश्यमा जोर नदिएर देशलाई कसरी एक जुट पारेको थियो, त्यसलाई पनि देखाउन निर्देशक कबीर खान चुकेका छैनन् ।

दुई घटनालाई जोडेर फिल्म मजेदार भएको छ। पहिलोः इन्डियाको म्याच हुँदा कश्मीर बोर्डरमा बमबारी हुनु अनि सेनाले स्कोर सुन्न नपाउनु। अनि फानइल म्याचमा स्वयं पाकिस्तानी फौजले सन्देश दिनु कि हामी आज बमबारी गर्दैनौँ, फाइनल म्याच आनन्दले सुने हुन्छ । दोस्रोः क्रिकेट वर्ल्ड कपको बखत भारतका विभिन्न ठाउँमा दंगा हुनु अनि सरकारले दूरदर्शन च्यानलमा क्रिकेट म्याच प्रसारण गरेर क्रिकेटलाई पर्व बनाइ दिनु। दुवै घटनाले समाजमा, जातिमा एकजुटता गराएको फिल्मा हेर्दा ‘अनेकतामा एकता भारत की विशेषता’ उद्दरण आँखाको अघि हेर्न पाइन्छ। क्रिकेटप्रति रूचि नभए पनि यस खेलको नियम बुझ्नेलाई रोचकता दिन एवं देशप्रेमको भावना जगाउन फिल्म १०० प्रतिशत सफल छ ।

संगीतः महशूर संगीत निर्देशक प्रितमले यस फिल्ममा सङ्गीत दिएका छन्। वर्तमानका लोकप्रिय गायक अरिजित सिंहले गाएको ‘लहरा दो’ गीत मनमा पसेर देशभक्तिको चेतना, जोश एवं जुनून रगतको कण-कणमा पुर्याउँछ। फिल्ममा राखिएका साउन्ड, दृश्यको प्रत्येक पाटामा सटीक बसेर थप ऊर्जा एवं भाव प्रवल बनाइदिन्छ।

‘83’ मुभी हेर्न मन बनाउनु भएको छ भने केही नसोची जाँदा हुन्छ। जसको क्रिकेटमा रूचि छैन, क्रिकेटबारे सुन्न चाहँदैन, उसका लागि यो फिल्म हैन। जो दर्शक डाकुमेन्ट्री मुभी हेर्न मन गर्दैन, प्रेम पटकथा मन पराउँछ, मारधाड मन पराउँछ उसका लागि पनि यो फिल्म विपरीत हुनेछ। यो फिल्म क्रिकेटर, क्रिकेटप्रेमी एवं भारतीय देशभक्तका लागि मात्र हो।

कोभिड १९ को कारक भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको भयका बाबजुद पनि यो फिल्म हेर्न नयाँ दिल्लीका सिनेमा हलमा भिड देख्दा फिल्मले सर्वसाधारणमा पारेको प्रभाव महसुस गर्न सकिन्छ ।

हर्कबहादुर लामगादे ‘रोहित ‘

प्रतिक्रिया
Loading...