अहिले संसारभर ज्याकी चाङ रोएको एउटा भिडियो भाइरल भएको छ । सो भिडियोमा एक जना भर्खरकी युवती ज्याकी चाङसँगै बसेर पुराना फिल्मका क्लिपहरू हेरिरहेका देखिन्छन् । भिडियोमा अप्ठेरा दृश्यहरू, कहालीलाग्दा फाइटहरू, रक्ताम्य भएका दृश्यहरू देखिन्छन् ।

भिडियो अघि बढ्दै जाँदा युवतीले ज्याकीको हात समाउँदै भन्छिन्, दुख्यो होला है ?

जवाफमा ज्याकी भावुक भएर बोल्नै सक्दैनन् र आँखाबाट आँशु झार्छन् । भिडियोमा यत्ति मात्र दृश्य छ । सो भिडियो सार्वजनिक भएलगत्तै इन्टरनेटमा यो भाइरल भएको थियो । हालसम्म सो भिडियो ७ करोड पटक हेरिएको बताइएको छ ।

भिडियोमा पापा भनेर बोलाएकी युवती ज्याकीको आफ्नै छोरी नभई अरू नै कोही कलाकार भएको खुलासा भएको छ ।

एउटा नयाँ फिल्ममा ज्याकी चाङले फिल्मको स्टन्टम्यानका रूपमा काम गरेको र ती दृश्यहरू फिल्मका लागि खिचिएको बुझिएको छ । जसमा छोरी बनेकी युवतीले उनलाई ‘पापा तपाईंलाई यत्रोदुर्घटना हुँदा दुखेन ?’ भनेर सोधेको देखिन्छ ।

सो नयाँ फिल्म ‘राइड अन’ रहेको बुझिएको छ । ज्याकीकी छोरीका रूपमा देखिएकी युवती अभिनेत्री लिउ हाओकुन हुन् ।

उता ज्याकीकी वास्तविक छोरीको परिचय भने खुलाइएको छैन । उनको पहिलो पत्नी एलिनले सन् १९९९ मा छोरी एट्टालाई जन्माएकी थिइन् । उनीसँग अहिलेसम्म पनि ज्याकीले नभेटेको बताइएको छ । एट्टाको जन्मपछि हुर्काउने जिम्मेवारी एलिनले लिएको भन्दै उनले छोरीप्रतिको जिम्मेवारी पूरा नगरेको ज्याकीले बताउने गरेका छन् ।

सन् २००४ मा आएको एउटा अन्तरवार्तामा उनले एलिन एउटा गज्जबकी आमा भएका कारण उनले छोरी एट्टाको समुचित हेरचाह गरिरहेको र उनीप्रति आफू ऋणी रहेको बताएका थिए । उनले भनेका छन्, ‘जुन बेला छोरी जन्मिई, त्यो बेला एउटा पिताका रूपमा म आफ्नो भूमिकाका बारेमा प्रस्ट थिइनँ । त्यसैले मैले उनलाई अँगाल्न सकिनँ । एलिनले मेरो जिम्मेवारीसमेत लिइन् ।’

तर पछि सन् २०१५ मा एलिनले ज्याकी धनी व्यक्ति भए पनि आफू र छोरीको लागि सुको खर्च नगरेको बताएकी थिइन् । लगत्तै उनलाई प्रहरीले ज्याकी र एलिनकी १५ वर्षीया छोरी एट्टाको उचित हेरचाह नगरेको, रक्सी र लागू औषधमा मग्न भएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको थियो ।