बेलायतको टाइम्स पत्रिकाको भित्री पृष्ठमा एउटा पेन्टिङ छापिएको छ। म त्यसलाई उठाउँछु र समाचार पढ्छु। हो, यही तस्बिर जुन तपाईंले हेरिरहनु भएको छ। यो नेदरल्यान्डको बहुचर्चित पेन्टिङमध्ये एक हो। त्यो बेलाका चर्चित कलाकार जोहानेस भर्मीरले बनाएको एउटा साधारण युवतीको चित्र!

म पेन्टिङ बुझ्दिनँ तर बुझ्नेहरू भन्छन्, एउटी साधारण युवतीको अनुपम सौन्दर्य पेन्टिङमा प्रकट भएका कारण यो सुन्दरतम मध्येको पेन्टिङ हो। तस्बिरलाई म फेरि घोरिएर हेर्छु, एउटी साधारण युवती छे- जसले टाउकामा स्कार्फ, कानमा एउटा मोतीको कुन्डल लगाएकी छ। उसको ओठ लालिमाले रंगिएको छ।

अँ त म अखबारमा पढिरहेको थिएँ कि सन् १६६५ ताका अर्थात् ३ सय ५५ वर्षअघि बनाइएको यो चित्रमा प्रयुक्त ओठमा लगाइएको लालीको रङ दक्षिण अमेरिकाबाट झिकाइएको थियो। त्यो रङ त्यहाँ पाइने एक किसिमको क्याक्टसमा बस्ने एक किसिमको कीराबाट बनाइएको हो ।

कानमा लगाइएको श्वेत रिङ उत्तरी बेलायतको पिक डिस्ट्रिक्टमा पहिलेदेखि बनाइन्थ्यो र त्यो त्यहीँबाट ल्याइएको हुनुपर्छ ।
टाउकोमा बाँधेको नीलो स्कार्फ हालको अफगानिस्तानमा बुन्ने गरिन्छ र त्यो यसरी नै लगाइन्छ।

यसरी यो चित्र हेरेर पछिल्लो समय यसका अध्येताहरूले एउटा चित्रले कसरी त्यो बेलाको भूमण्डलीकरणलाई इंगित गरिरहेको छ र एउटा चित्रले कसरी संसारलाई प्रतिनिधित्व गरिरहेको छ भनी विद्वानहरूले बताइरहेका थिए।

यसका अतिरिक्त नेदरल्यान्डका चर्चित चित्रकार जोहानेस भर्मीरको ‘द गर्ल विद अ पर्ल इयरिङ्’ १७ औँ शताब्दीमा बनाइएको भए पनि यसमा प्रयुक्त सामग्रीहरू विश्वभरबाट ल्याइएको र प्रयोग भएकाले त्यो बेला नै संसार भूमण्डलीकरणको त्यो तहमा थियो भनी अर्थ लगाएका छन् ।

यो तस्बिरलाई नेदरल्यान्डकी मोनालिसाका रूपमा पनि चिनिन्छ ।

यो चित्र कति प्रख्यात छ भने साहित्यकार ट्रासी चेभलिएरले यसमा आधारित उपन्यास मात्र लेखिनन्, यसमाथि बनाइएको फिल्म पनि चर्चित बन्न पुग्यो ।

यस अध्ययनलाई द गर्ल इन स्पटलाइट शीर्षकमा एबी भेन्डिभरले अध्ययनको विषय बनाएकी थिइन् । उनले भनिन्, ‘१७ औँ शताब्दीमा डचहरू कति सशक्त भूमण्डलीकरणमा बाँचिरहेका रहेछन् त!’

समाचार पढिसकेपछि मलाई यो चित्रमाथि लेखिएको उपन्यास खोज्न खुल्दुली भयो तर भन्नेबित्तिकै कहाँ पाइन्छ र ? बरू पाइयो, सोही उपन्यासमाथि बनाइएको फिल्म।
केही दिनको प्रयत्नपछि मैले फिल्म हेरेँ र देखेँ, एउटी सामान्य युवती जो अन्धो बाबु, दीनहीन आमा र भाइलाई छाडेर चर्चित चित्रकारको घरमा मजदुरी गर्न पुग्छे। देशकै प्रख्यात चित्रकारको घरमा नोकर्नी रहेकी उसको सौन्दर्यबाट मुग्ध जोहानेसले चित्र शुरू गर्नुअघि, गर्दै रहँदा र गरिसकेपछिका घटना चलचित्रमा समावेश गरेका रहेछन्।

जब जोहानेसकी पत्नीले नोकर्नीलाई पेन्टिङमा उतारिएको पाउँछे, कसरी उसलाई घर निकाला गर्छे, कसरी जोहानेसकी सासूले ज्वाइँले पेन्टिङ पूरा गर्न सकोस् भनेर नोकर्नीलाई सहयोग गर्छे र बेमनका साथ मोतीको कुन्डल फिर्ता दिन्छे, फिल्मका यस्ता केही दृश्यले भावुक बनाइदिन्छ।
फिल्ममा एउटा कुरा चाहिँ मलाई मन परेन। जब चित्रवाली नोकर्नीलाई घर निकाला गरिन्छ, अन्तकतै ऊ काममा रमाइरहेका बेला कसैले उसलाई मोतीको कुन्डल पठाइदिन्छ। आफ्नो मन बसेको कुन्डल पाएपछि नोकर्नी खुसी र चकित एकसाथ हुन्छे। सायद यो उपन्यास या फिल्मलाई सकारात्मक मोड दिन यस्तो दृश्य राखिएको होला तर १७ औँ शताब्दीमा नोकरहरू नोकर नै हुन्थे, चाहे तिनबाट जतिसुकै कृपा किन ग्रहण नगरिएको होस्, तिनलाई कसैले पनि यति दया गर्दैनथ्यो।

तर फिल्म हेरिसकेपछि मलाई अखबारमा छापिएको त्यो समाचार पुनः सम्झायो र एउटा पेन्टिङले कसरी संसार एकअर्कासँग जोडिएको हुँदोरहेछ भनी बुझायो।

झन् कोविद १९ रोगले त संसार कति र कसरी एकअर्कामा जोडिएको छ भन्ने छर्लङ्गै पारिदिएको छ। चीनको रोग संसार डुलेर नेपाल आइपुग्दा हामी कति र कसरी यसबाट बच्ने उपाय रचिरहेका छौँ र फेरि यसको उपाय र उपचार फेला पर्ला कि भनेर फेरि पनि संसारतिरै चिहाइरहेका छौँ।
अहो!

गर्ल विद अ पर्ल इयरिङ चलचित्रमा स्कारलेट जोहान्सन र कोलिन फिर्थ