कुनै समय फ्रान्सको राजधानी पेरिसमा उभ्याइएको एफिल टावर संसारकै अग्लो मानव निर्मित टावर थियो । ३२४ मिटर अग्लो यो टावर ८१ तल्ले भवन बन्न सक्छ । यो बनाइएपछि संसारभरिकै एउटा सांस्कृतिक प्रतीकका रुपमा यो रहिरह्यो । अहिलेसम्म यो टावरमा तीन सय मिलियन मानिस चढिसकेका छन् । अग्लो मानव निर्मित भवनका रुपमा अहिले बुर्ज खलिफाको पोल्टामा छ । त्यसअघि मलेसियाको पेट्रोनास टावर थियो । यो टावरलाई सन् १९९१ मा युनेस्कोले विश्व सांस्कृतिक क्षेत्रको मान्यता दिएको थियो ।
एफिल टावरले नै हो, सारा अप्ठेराका बाबजुद पनि अग्ला संरचनाहरु उभ्याउन सकिन्छ भन्ने विश्वास दिलाएको । र, यो टावर बनाउनुअघि जब बेलायतीसँगको युद्धमा अमेरिकीहरुले शानदार विजय प्राप्त गरे, फ्रान्सेलीहरुले तिनलाई उपहारस्वरुप स्वतन्त्रताकी देवी उपहार दिए, जुन अहिले पनि न्युयोर्कमा ठिङ्ग उभिएर मशाल जलाइरहेकी छन् । त्यो मूर्तिलाई अमेरिकामा लगेर स्थापित गर्ने श्रेय उनै गुस्ताभ एफिल र उनको कम्पनीलाई जान्छ । अमेरिकालाई स्वतन्त्रताकी देवी उपहार दिन सक्ने फ्रान्ससँग चाहिँ त्यस्तै केही आधुनिकताको सन्देश दिने चिज किन छैन ? केही बनाउन सकिँदैन भन्ने प्रश्नका बीच यो एफिल टावर उभ्याइएको थियो ।
एफिल टावरलाई आइरन लेडी पनि भनिन्छ । यसलाई उभ्याउन सन् १८८९ मा आयोजित व्यापार मेलामा प्रतियोगिता गरिएको थियो । मेलामा सर्वोत्कृष्ट नमुनाका रुपमा गुस्ताभ एफिलको ‘आइरन लेडी’ छनोट गरिएको थियो ।
यो टावर बनेको १३२ वर्ष पूरा हुन लागेको छ । आउँदो १५ मार्चमा यो टावर १३३ वर्षको लाग्नेछ ।
यो टावर अंग्रेजी अक्षर ‘ए’ आकारमा निर्माण भएको छ र यसको निर्माणका पछाडि एउटा संघर्षशील गाधा छ भन्ने कुरा सम्झाउन गएको वर्ष फ्रान्सेली फिल्म निर्देशक मार्टिन बरबलनले यो फिल्म बनाएका थिए । फिल्म फ्रान्सेली हलमा अक्टोबर १३, २०२१ मा रिलिज गरिएको थियो ।
फिल्ममा प्रेमिल पाटाहरु भने फिल्मलाई रोचक बनाउन प्रयोग गरिएको बताइएको छ तर यही प्रेमको गाथाले भने दर्शकलाई हुरुक्क बनाउँछ ।
२७ वर्षे गुस्ताभ एफिल युवा इन्जिनियर हो । उसले फ्रान्सले कब्जा गरेको इन्डोचाइना क्षेत्रमा सेवा गरेर भर्खर घर फर्किएको छ र उसको भागमा गारोन नदीमा पुल बनाउने जिम्मा पाउँछ । यो पुल बनाउँदा नै उसले एड्रियानालाई देख्छ । त्यो बेला ऊ जम्मा १७ वर्षकी हुन्छे ।
एड्रियाना गुस्ताभको सहयोगी भाव मन पर्छ र आकर्षित हुन्छे । एड्रियानाको परिवार राजनीतिक हुन्छ र उनीहरुका नजरमा एड्रियाना र गुस्ताभको प्रेमको कुनै मूल्य हुँदैन । जब पुल बनिसक्छ, एड्रियानाको परिवार त्यो ठाउँ छाडेर अन्तै जान्छ । भागेर बिहे गर्ने सोचमा रहेकी एड्रियाना दुर्घटनामा परेर अस्पताल भर्ती हुनुपर्छ । यता एड्रियानालाई कुरिरहेको गुस्ताभ कुरेको कु-यै हुन्छ ।
वर्षौंपछि जब गुस्ताभले एफिल टावर बनाउने सम्झौता पाउँछ, उसलाई त्यही पुरानो प्रेमले सताउँछ । झन् एउटा पार्टीमा अर्कै पुरुषसँग देख्दा त उसलाई औधि पीडा हुन्छ । यहीँ खुल्छ, एड्रियाना कसरी भाग्ने क्रममा घाइते भएर ऊसित बिछोडिन पुग्छे र नियतिले यतिबेला भेट गराएको छ ।
एड्रियना बिरामी भएर अस्पतालमा मर्न छाडिएका बेला भेट भएको पुरुषसँग ऊ यतिबेला विवाहित छे र विवाहिता भए पनि ऊ वर्जित प्रेमका लागि भड्किरहेको देखिन्छ । अन्त्यमा गुस्ताभले सयौँ अप्ठेराका बाबजुद पनि कसरी नजानिदो तरिकाले आफ्नी प्रेमिकालाई अमर बनाउने आइरन लेडी उभ्याउँछ र एड्रियाना कसरी अमर भई भन्ने कुरा फिल्मले देखाएको छ ।
फिल्म हेर्दा लाग्छ, एफिल टावर बनाउन प्रेरणा दिने एड्रियानालाई अमर बनाउने गुस्ताभको चाहनास्वरुप यो अझै ठिङ्ग उभिएको छ ।
मूल कथा चाहिँ कसरी एफिल टावर बन्न पुग्यो भन्ने देखाउन खोजे पनि बीचमा आउने प्रेमकथा र प्रेमकथासँगै सुहाउँदिला सम्वादले दर्शकलाई हुरुक्क बनाउने सामथ्र्य बोकेको छ ।
युरोपेली अन्य फिल्मझैँ यसमा सम्वाद कम छन् तर कलाकारका हाउभाउ बढी बोल्छन् । तिनै हाउभाउले भाषा नबुझिए पनि गहिरो प्रभाव छाडेर जान्छन् ।
युरोपेली फिल्म मेकिङको अर्को एउटा लोभलाग्दो पक्ष भनेको चाहिँ, यिनले कुनै सन्दर्भ पारेर फिल्म बनाउँछन् र त्यसलाई सक्दो रोचक बनाउने प्रयास गर्छन् । यसअघि प्रथम विश्वयुद्धको सय वर्ष पूरा भएको अवसरमा बनाइएको फिल्ममा पनि युद्धको विभीषिका, फ्रान्स र जर्मनीको तिक्तताबीच पनि कसरी एउटा रोचक प्रेममार्फत व्यक्त हुनसक्छ भन्ने कथा ‘फ्रान्क’ फिल्मले पस्किएको थियो ।
कथालाई रोचक मोड दिने तिनको लोभलाग्दो शैली, कम संवाद तर धेरै बोल्ने कलाकारका हाउभाउ तथा फिल्मको प्रस्तुतिले नै तिनलाई विश्व रंगमञ्चमा दह्रो गरी उभ्याएको छ ।
त्यसो त ‘एफिल’ फिल्म कलात्मकताको हिसाबले त्यति धेरै मौलिक फिल्म मान्न नसकिएला तर पनि यसले दर्शकलाई प्रेमिल कथाले भुतुक्कै बनाउँछ ।
उसो भए यो फिल्म कहाँ हेर्ने त ?
टोरेन्टबाट अवैधानिक रुपमा डाउनलोड गरी हेर्ने किनभने वैधानिक रुपमा नेटफ्लिक्स या युट्युबमा यसलाई राखिएको छैन ।
फिल्मका केही दृश्यमा भने नग्नता र यौन मिसिएको छ ।
[embedyt] https://www.youtube.com/watch?v=STXwmr01J0o[/embedyt]
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।