प्रख्यात भारतीय एथलेट मिल्खा सिंहको गएको साता १८ जुनमा ९१ वर्षको उमेरमा निधन भयो । उनलाई कोभिड १९ का कारण उत्पन्न परिस्थितिका कारण अस्पताल लगिएको थियो । त्यहीँ चिकित्सकहरूले उनको मृत्यु भएको जानकारी गराए ।

उनलाई सन् २०१३ भन्दा पहिले सर्वसाधारणले चिन्दैनथे तर उनको जीवनमा आधारित फिल्म भाग मिल्खा भाग रिलिज भएपछि भने उनी सर्वत्र चासो र सम्मानका पात्र बन्न पुगेका थिए ।

फिल्मी पोस्टरका मिल्खा फरहानतर्फ औँला उठाउँदै वास्तविक मिल्खा

उनलाई कतिपयले ‘उड्ता शिख’ अर्थात् उड्ने शिख पनि भन्थे । सन् १९५८ मा भएको कमनवेल्थ गेममा भारतलाई एथलेटिक्समा स्वर्ण जिताएका थिए । त्यस्तै उनले इटालीको रोममा भएको ओलम्पिकमा पदक जित्न नसके पनि बनाएको कीर्तिमानलाई त्यसपछिका ४० वर्षसम्म कसैले पनि भत्काउन सकेका थिएनन् ।

उनलाई कसरी चिनियोस् भन्ने पत्रकारहरूको प्रश्नमा सधैँ उत्तर हुन्थ्यो, ‘प्रत्येक मान्छेमा मिल्खा बन्ने क्षमता हुन्छ, त्यो चिनून् । कडा परिश्रम र मिहिनेतले मिल्खा बनेको हो, त्यो महसुस गरिदिए पुग्छ ।’

उनी जीवनमा जम्मा तीन पटक रोएका थिए । अन्तिम पटक भने उनले आफ्नै जीवनीमा आधारित फिल्म भाग मिल्खा भाग हेरेर रोएका थिए ।

उनले आफ्नी छोरी सोनिया साँवल्कासँग मिलेर द रेस अफ माई लाइफ लेखेका थिए । सोही किताब पढेर प्रभावित अनेकन् फिल्म निर्देशकमध्ये चार जनाले उनीमाथि फिल्म बनाउने इच्छा व्यक्त गरेका थिए ।

उनको जीवनीलाई न्याय गर्न सक्ने एक मात्र निर्देशक राकेश ओम प्रकाश मेहरा देखेपछि उनले १ रुपैयाँ ६० पैसामा (भारु १) यसको अधिकार दिएका थिए ।

फिल्म हिट भएको खण्डमा आउने १० प्रतिशत रकम नाफा मिल्खा सिंहको नाउँमा स्थापित सामाजिक संस्थाले रकम पाउने सहमति गरिएको थियो ।

उनले जीवनमा अन्तिम पटक सन् १९६० मा सुरैया अभिनित फिल्म हेरेका थिए । त्यसयता कुनै पनि फिल्म नहेरेका उनले आफ्नै जीवनीमा आधारित फिल्म हेर्दा आँशु बरर्र खसालेका थिए ।

‘भारत पाकिस्तान विभाजनका बेला अवस्था यति गएगुज्रेको थियो कि त्यो दृश्य आउँदा मैले खान नपाउँदाका दिन सम्झेँ । फिल्मको दृश्यमा त्यो यति सजीव देखेँ कि मलाई त्यतिबेला त्यस्तै भोक लागेको महसुस भएर आँखाबाट आँशु खसे,’ उनले फिल्मको दृश्यका बारेमा बताउँदै टाइम्स अफ इन्डिया पत्रिकालाई भनेका थिए ।

जीवनमा यसअघि आफ्नै आँखाअगाडि आफ्ना बाबुआमाको हत्या भएको क्षण पहिलो पटक उनी रोएका थिए । त्यस्तै रोममा भएको खेलमा एक निमेषको फरकले कास्य पदक विजेता हुनबाट चुकेका दिन उनी दोस्रो पटक रोएका थिए । त्यसपछि जीवनमा उनले कहिल्यै पनि चित्त दुख्दा वा जे सुकै हुँदा पनि आँशु नखसालेको दाबी गरेका थिए ।

फिल्म निर्देशक राकेश ओम प्रकाश मेहरा (दायाँ) र अभिनेता फरहान अख्तर (बायाँ)सँग मिल्खा सिंह (बीचमा)

उनले आफ्नो जीवनी लेख्नु र त्यसमाथि फिल्म बनाउन दिनुको एक मात्र उद्देश्य आफूजस्तै खेलाडीहरु प्रभावित होऊन्, अप्ठेराबाट कहिल्यै नहारुन् भन्ने रहेको बताएका थिए ।

मिल्खाको निधन खबर सार्वजनिक हुनेबित्तिकै फिल्मका अभिनेता फरहान अख्तरले ट्विट गर्दै भनेका थिएः मलाई अझै पनि उहाँको निधन भएको पत्यार लागिरहेको छैन । फिल्मका कयौँ सन्दर्भमा उहाँले देखाउनु भएको सद्भाव र सिकाउनु भएका पाठ कानमा गुञ्जिरहेका छन् ।

[embedyt] https://www.youtube.com/watch?v=fbnHyZxlnYI[/embedyt]

[embedyt] https://www.youtube.com/watch?v=vn6NgN5kkAI[/embedyt]