रमण जैसेरी

चलचित्रहरू फरक-फरक किसिमका हुन्छन् । केही चलचित्रका कथा विशेष हुन्छन् । केही चलचित्रका कथा विशेष त हुन्छन् नै, त्यसमा उप्काइएका वा छोइएका पाटाहरू झन् विशेष हुन्छन् । दोस्रो किसिमका चलचित्रले चलचित्र हेराइमा नै तपाईंलाई सीमित राख्दैन । त्यसले चलचित्रमा उप्काइएका विषयका बारेमा समेत तपाईंलाई थप कुरा जान्ने लालसा थपिदिन्छ ।

मुराकामीको कथामा बनेको ‘ड्राइभ माइ कार’ पनि त्यस्तै चलचित्र थियो । त्यसले दोस्रो विश्वयुद्धले ध्वस्त हिरोसिमा नजानिंदो किसिमले पर्दामा उताऱ्यो । कसैलाई आरोप लगाउने किसिमले भन्दा पनि अस्तित्वको जानकारी गराउने किसिमले हिरोसिमा कथाले देखायो । अनि त्यसै चलचित्रले हो, चेखबको ‘अंकल भान्या’लाई फेरि जीवन्त तुल्याएको । चलचित्र नसकिँदै ‘अंकल भान्या’ खोजेर पढ्नका लागि तयार पारेको थिएँ । त्यसका बारेमा थप कुनै अर्को दिनमा लेखौंला । यसपालि एउटा दक्षिण भारतीय चलचित्रको चर्चा गर्न मन छ, जसले कथा र त्यसमा प्रयुक्त संकेतहरूले थप धेरै कथाहरू उधिनेको छ ।

राहुल संकृत्यानद्वारा निर्देशित तेलुगु भाषाको आवधिक चलचित्र श्याम सिंह रोय एक नवनिर्देशक वासुको कथा हो, जसले बनाएका कथाहरू दिवंगत भइसकेका प्रगतिशील लेखक श्याम सिंह रोयका कथासँग मिल्न पुग्दा बौद्धिक चोरीको आरोपमा उनी अदालतमा तानिन्छन् । त्यही बौद्धिक चोरीको मुद्दा छिनोफानो गर्ने क्रममा श्याम सिंह रोयको कथा पनि खुल्दै जान्छ ।

श्यामसिंह रोयलाई ७० को दशकका पश्चिम वंगालबाट उदाएका लेखकको रुपमा देखाइएको छ । नक्सलवादीहरूसँगको पनि सम्पर्क भएका तर “एक गोलीले एक जनालाई मार्छ भने एक कलमले लाखौँलाई बिउँझाउन सक्छ” भन्दै लेखनमा सक्रिय तिनका केही घटनाहरू मज्जाले देखाइएको छ ।

एक दृश्य छ, जहाँ एक दलित इनारछेउ पानी कुरेर बसेका हुन्छन् । रोयले बुझ्दा उनी आफूले इनार छुन नमिल्ने हुँदा पानी दिने मान्छे पर्खेर बसेको भनेर बुझाउँछन् । यो दृश्य ठ्याक्कै आजसम्मकै नेपाली समाजको ग्रामीण अवस्थासँग मिल्छ । ६ वर्ष अघिको साझा सवालको ४०४ अंकमा [embedyt] https://www.youtube.com/watch?v=VZB4aifCUeU[/embedyt] दीपक मल्लिक यस्तै विभेदका शिकार हुँदै थिए । रोयको जस्तै परिस्थिति पर्दाका नायक राजेश हमालले पनि बेहोरेका थिए । त्यो विवादको स्थितिमा भएका संवादहरू केही घतलाग्दा छन् । जस्तोः इनार छोइन्छ भनेर पानी माग्न बसेका दलितको बचाउमा “उसले छोएको नचल्ने भए उसले फेर्ने हावामा सास पनि नफेर” भन्दै रोयले हस्तक्षेप गर्छन् । ती दलित आफैँ सुरक्षाको डरले पानी तान्न नमान्दा रोयले उनलाई इनारमा खसाली दिन्छन् र भन्छन् “छोएको पानी नखाने भए अब तिर्खाएरै मर !” राजेश हमालले यति गर्न त सकेनन् तर पर्दामै भए पनि यति देखेपछि एक किसिमको शान्ति मिल्दोरहेछ । दीपक मल्लिक पनि त्यो इनारमा पसिदिएका भए त्यो गाउँका बासिन्दा के गर्थे होलान् ?

अर्को दृश्यमा उनी आफ्नी प्रेमिकासँग हुन्छन् । उनको प्रेम देवदासी बनेकी साई पल्लवीसँग हुन्छ । सुदूरपश्चिमका देउकी, काठमाडौँका कुमारी, प्राचीन रोमका भेस्टल्स अफ भर्जिनका कुमारीहरू आदि सम्झाउने देवदासी परम्पराका बारेमा पनि यो चलचित्रमा धेरथोर कुरा आएका छन् । देवदासी बन्नका लागि एक बोरा चामलमा बेचिएकी मैत्रेयी उर्फ साई पल्लवीको कथाबाट कसरी महन्तहरूले देवदासीलाई बलात्कार गर्थे र तिनको विरोधसम्म कसरी असम्भव थियो भन्ने देखाएको छ । रोयले सो दृश्यमा देवदासी पछिको जीवन सम्भव छ भनेर देवदासी आमाकी छोरी एमएस सुब्बुलक्ष्मीको प्रसङ्ग झिकेका छन् । देवदासी पुत्री एमएस सुब्बुलक्ष्मी भारतरत्न प्राप्त गर्ने पहिलो सङ्गीतकर्मी हुन् (विकिपिडिया) ।

श्याम सिंह रोयको कथामा बारम्बार नक्सलवारी किताब देखाइएको छ । रोयका किताबहरू देखाउने क्रममा यो किताब बढी दोहोऱ्याइएको छ । यो त्यही नक्सलबारी हो, जहाँको सशस्त्र कम्युनिष्ट आन्दोलनले झापाको २८ साले किसान आन्दोलन वा मुर्कट्टा आन्दोलन प्रभावित पारेको मानिन्छ । सो आन्दोलनमा बुटन चौधरी, विष्णुप्रसाद विमली, ईश्वरी चुडाल, कर्णबहादुर गौतम, धनबहादुर बस्नेत, धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानु ढकाल, ज्ञानबहादुर कार्की, उद्रकान्त राजवंशीजस्ता सामन्ती भनिएकाहरूको क्रूर हत्या भएको थियो । बञ्चराले घाँटी काटिएको भनेर पनि भनिन्छ । ढकाल बाबुछोरा त भात खाँदै गर्दा बर्बरताको शिकार भएका भनेर भनिन्छ । ढकाल बाबुछोराको कथा छद्म रुपमा विप्लव प्रतीकको उपन्यास ‘अविजित’मा पनि आएको छ । (‘अविजित’ नेपालको कम्युनिष्ट आन्दोलनको नाट्य रुपान्तरण भएर पनि त्यस खाले चर्चा त्यसले पाउन सकेन ।) कामदारले कुरा लाएकै भरमा निर्दोष बाबुछोरा मारिएको भनेर भनिन्छ । टाउको काटेर मारिएका हुनाले टाउको कटुवा या मुर्कट्टा आन्दोलन पनि भनेर चिनिने यसै आन्दोलनका दोषी करार गरेर रामनाथ दाहाल लगायतका पाँच जनालाई सुखनीमा जाली मुठभेड बनाएर मारिएको घटनालाई सुखनी काण्ड भनिन्छ । दाहालको घरमा काम गर्न बसेका खड्गप्रसाद ओली त्यसबेला त उम्किए, पछि नैनीतालबाट उखु गोडेर आएपछि रौतहटमा माधवकुमार नेपालकै शरणमा रहँदा समातिए । करिब १४ वर्ष जेल परे । त्यसैका बापत उनी दुई पटक प्रधानमन्त्रीसम्म भए ।

एकातिर कम्युनिष्ट आन्दोलनको हिंसात्मक पाटो देख्दा नराम्रो त लाग्छ नै तर फेरि समाजमा विद्रोह भएको पनि तिनै विचार बोक्ने पात्रहरूबाटै भएकोछ । यसअघिको दक्षिण भारतीय फिल्म ‘जय भीम’को कथामा देखाइएका ९६ हजार मुद्दा किनारा लगाउने न्यायमूर्ति के चन्द्रु पनि कम्युनिस्ट पृष्ठभूमिकै थिए । सत्ता र हिंसा अलग गरिदिने हो भने कम्युनिस्टहरू गीतामा भनिएको पाप बढ्दा अवतरित हुने देउतैजस्ता हुन्छन् । यस्तो विद्रोह गर्नसक्नुका पछाडि नास्तिकताको पनि भूमिका हुन्छ । कारण देउता मानेर र धर्म मानेर जातीय विभेद, लैंगिक विभेद, आदिको विरोध सम्भव हुँदैन । ती सबैको आधार धर्म नै हुने गर्छ ।

साई पल्लवीको देवदासीको भूमिका गज्जब लाग्छ । त्यस्तो सशक्त त हैन तर प्रायः पुरुषप्रधान कथामा आवश्यक पर्ने समस्यागत सुन्दरी उनी राम्रै गरी बनेकी छन् । कुनै एउटा वस्तु जसले पुरुषको पौरुष झल्काउन मद्दत सम्म गरोस् तर आफैँ आफ्नो समस्या समाधानमा तत्पर नहोस् । यस्तै कथाहरूले पनि हो पुरुषलाई जता पनि नायकै बन्न मन हुने । महिलाका कुरा पनि महिलाकै अघि भाले व्याख्या गर्न उद्दत गराउने । उसले देखेकै र जानेकै त्यही छ । चेतन दिमागले नगर भन्दा पनि अवचेतनमा त हरेक पुरुष श्याम सिंह रोय नै हो जसले एक समस्याग्रस्त सुन्दरी खोज्नु छ र उसको उद्धार गरेर महान् हुनु छ ।

समाज सुधारमा बाधा हुने समाजको जडताको कथा पनि यो चलचित्रले गज्जब रुपमा प्रस्तुत गरेको छ । जस्तो जात व्यवस्थाको माथिल्लो तहमा राखिएको ब्राह्मण परिवारको एक सदस्यले दलितको वकालत गरेको भनेर त्यो परिवार नै दलितको जस्तै विभेद खप्न बाध्य बनाइएको छ । जब जन्मसिद्ध उच्चता पाइरहेको कोही छ भने उसले अन्तरआत्माको आवाज सुनेर विभेदको विरुद्धमा आवाज उठाएर समाज र परिवारकै शत्रु कसरी बनोस् ? समाजको दबाब उसले त थेग्ला तर उसको परिवारले त्यसका अघि घुँडा टेक्यो भने के हुन्छ भन्ने पनि चलचित्रमा देखाइएको छ । समाज सुधार्न भन्दा जटिल परिवार सुधार्न छ । परिवारविरुद्ध त फेरि मुर्कट्टै आन्दोलन गर्न पनि गाह्रो हुन्छ ।

परिवर्तन सहरमा सहज छ । कारण समाज छैन । कारण परिवार छैन । अभिभावकविहीन एकल परिवारमा नयाँ कुरा अँगाल्नमा समस्या हुँदैन । हुन त रुपा सुनारमाथि विभेदको घटना सहरकै हो । त्यस्तै कोठाकै लागि जनगणनाका बेलासमेत जात लुकाउनुपर्ने घटना पनि सहरकै हो । तर पनि सहरमा जडता तुलनात्मक रुपमा कम हुन्छ । जस्तो म बसेको ठाउँमा छेउको छिमेकीसँग विरलै कुरा हु्छ । विरलै भनेको वर्षमा एकआध पटक । आवश्यकता नै हुँदैन । मलामी न जन्ती ! अनि त्यस्तो अवस्थामा मलाई पुराना कुसंस्कार त्याग्न सजिलो हुन्छ । जातीय विभेददेखि छाउपडीजस्ता संस्कार नमान्दा समाजको बहिष्करणमा पर्ने डर हुन्न । समाज नै हुन्न, केको बहिष्करण ? यही सब अभिभावकसहित र समाजसहित अभ्यास गर्दा उति सहज हुन्थेन । त्यसैले मलाई त परिवर्तनको बाधक समाजको संरचना पनि लाग्छ । समाज जतिजति व्यक्तिवादी हुँदै गयो परिवर्तन पनि उति उति सहज हुँदै जान्छ ।

चलचित्रले यस्तै यस्तै सोचहरू सोच्न बाध्य बनाउँछ । कथामै सबै नभनेर पनि कथामा संकेत गरिएका कुराबाट दुई चार दिनसम्म मन उथलपुथल हुन्छ भने त्यो पनि राम्रो हो । एसएसआर फिल्मले त्यति गर्न सफल छ । त्यसैले यो एक हेर्नुपर्ने चलचित्र हो । हेरेपछि गुन्नुपर्ने चलचित्र हो । अनि मनमा यस्तै यस्तै कुराहरु खेलाउनुपर्ने चलचित्र हो । यो फिल्म नेटफ्लिक्समा हेर्न सकिन्छ ।

[embedyt] https://www.youtube.com/watch?v=ZBeyKoYfj5M[/embedyt]