विश्वभरि छरिएर रहनुभएका प्रिय नेपाली मन, फ्रान्सबाट तपाईंका लागि यो सानो लेख लेख्दैछु । यसकारण लेख्दैछु, तपाईंको स्वाभिमानलाई चोट दिने काम एकजना फ्रान्सेली सिनेकर्मीले गरेका छन् । यदि उक्त अपमानलाई बाहिर ल्याइएन भने नेपालीमा स्वाभिमान भन्ने कुरा छैन भन्ने सन्देश जान सक्छ । त्यो भन्दा ठूलो कुरा, नेपालका बारेमा जे लेखे पनि, जस्तो दृश्य देखाए पनि फरक पर्दैन भन्ने आत्मबल आउन सक्छ । जसले गर्दा बेलाबेलामा हुँदै आएको नेपालका बारेमा दुष्प्रचार अझ व्यापक बन्न सक्छ ।
कुरा, नेपालका बारेमा बनेको फ्रान्सेली सिनेमाको हो । गएको सेप्टेम्बर १३ का दिन फ्रान्ससहित अन्तर्राष्ट्रिय च्यानलहरूमा प्रदर्शन भएको ‘काईजेन’ नामक उक्त चलचित्र नेपाल र नेपालीको कथामा बनेको थियो । यो कुरा थाहा पाउनेबित्तिकै म उत्साहित थिएँ । फ्रान्सलगायत फ्रान्सेली भाषा बोलिने धेरै देशका राष्ट्रिय टेलिभिजनमा प्रसारण भएको उक्त सिनेमा मैले तीन पटक हेरेँ । मन परेर होइन, अत्यधिक अपमानित भएर ।
पहिलो पटक उत्साहित भएर हेरें । दोस्रो पटक अपमानित हुँदै हेरें । तेस्रो पटक आक्रोशित हुँदै हेरें ।
नेपाली भूमि, पहाडी भूगोल अनि शेर्पा जातिको ठाउँ ठाउँमा सिनेमाले हुनसम्मको बेइज्जत गरेको छ । सिनेमा हेरिरहँदा यस्तो लाग्छ, सगरमाथा चढ्नु मानौं, केटाकेटी खेल हो । सिनेमाभर कतै पनि शेर्पाको योगदान, नेपालको सौन्दर्य र सगरमाथाको प्रशंसा गरिएको छैन । बरु कुनै लहडी युवाले चाह्यो भने सजिलै सगरमाथा चढ्नसक्छ भन्ने देखाइएको छ ।
सिनेमाभरि नेपालको अस्तव्यस्तता, अविकसित अवस्था र यहाँको संस्कृतिको अपमान गरिएको छ । नेपाली राष्ट्रिय जनवार गाईलाई हामीले गरेको श्रद्धाको पनि उपहास गरिएको छ ।
यो सिनेमा हेरेपछि मैले फ्रेन्च पत्रिकामा एउटा लेख लेखेको थिएँ । त्यसमा नेपाललाई माया गर्ने धेरै फ्रेन्चहरूले मेरो लेखको प्रशंसा गर्दै प्रतिक्रिया दिएका थिए । यसबाट लाग्यो, धेरै फ्रेन्चहरूलाई नेपालका बारेमा देखाइएको उपहासजनक दृश्य मन परेको छैन । उनीहरूले जनाउने त यस्तै प्रतिक्रिया हो । आवाज त आफैँले उठाउनु पर्छ ।
तपाईं पनि तल दिएको लिंकमा गएर उक्त सिनेमा हेर्नुहोस् । त्यहाँ देखाइएका दृश्यहरूमा तपाईं सहमत हुन सक्नुहुन्छ ? सहमत हुन सक्नुभएन भने केही लेख्नुहोस् । नेपाल सरकार, पर्यटन मन्त्रालय, परराष्ट्र मन्त्रालयलाई बताउनुहोस्, हाम्रो स्वाभिमान त्यति तल छैन । नेपालका तर्फबाट फ्रेन्च कूटनीतिज्ञलाई उनीहरूको राष्ट्रिय टेलिभिजनबाट, उनीहरूका चलचित्रकर्मीहरूबाट हाम्रो बेइज्जत गर्न पाइँदैन भनेर कूटनीतिक नोट लेख्न दबाब दिनुहोस् ।
हामीले नबोले कसले बोल्ने ? कसैले त यो गलत भन्नै पर्छ ।
तलको लिंकमा हेर्नुहोस्, नेपालको अपमान गर्ने फ्रान्सेली सिनेमा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










