इन्टरनेट थिएन एक दिन
अर्को दिन पनि थिएन
आज पनि छैन
साच्चिकै छैन !
फोन अन…
नेट अफ…
छटपटी अन…
दिमाग क्य्रास, सर्भर डाउन,
विश्वकै स्पीड स्लो मोसनजस्तो !
बच्चा
भात खान्छ कि भोकै बस्छ ?
कि मोबाइल खोज्छ ?
कार्टुन नहेरी निद्रा पाउँछ होला ?
प्रेमी
म्यासेन्जरको ब्लु टिक नपाउँदा
प्रियसीको सपना देख्छ
कि हेरिरहन्छ–क्षितिज ?
के परेवा…
फर्किन्छन् फेरि
प्रेम र शान्तिको सन्देश लिएर ?
के ती फर्किन्छन् बिहानीको चिठीमा सुवास भरेर अथवा
“आई मिस यू” को मौनता बोकेर?
स्नातक नतिजा
को बनाउँछ “पब्लिक” ?
वेबसाइट डाउन…
रिजल्ट कहाँ पोस्ट होला ?
टिकटकर
रोडपति हुन्छ त्यो दिन !
फ्यानहरू “अफलाइन ”
गाउँ झर्छन् खोज्न
स्टारहरू फेरि चौतारीमा फर्किन्छन्
राजेश हमाल स्टाइलमा:
“तपाईंको मनको नायक म हुँ ?”
हवाई टिकट
कहाँ काटिन्छ ?
कुन काउन्टरमा लाइन लाग्छ ?
“सार्जन, अनलाइन छैन !” भन्दै
बुर्जुग कर्मचारी खोल्छ पुरानो डायरी…
तलब
मोबाइल बैंकिङ छैन !
“खातामा ट्रान्सफर गरिदिनुस्” होइन
“थैला बोकेर आउनुस् !”
“आमा जोन” आउट,
आमाको बारी इन !
सन्तान फर्किन्छन् बाली खोज्न
क्यु-आर कोड होइन
कोदालो बोकेर !
श्रद्धाञ्जली दिन
फेसबुक छैन !
“हार्दिक समवेदना” टाइप गर्न खोज्दा
कर्सर हल्लिंदैन !
अब…
घाट जान्छन् कि जादैनन् आफन्त ?
पत्र मन्जुषा…
फेरि आउँछ गेट अगाडि,
“यो हो तिमीलाई लेखिएको माया !”
लाहुरेको हाँसोसहित
बाँधिएको धागो…
र इन्टरनेट
लोप भयो रे!
“इन्टरनेट लोप भयो रे डाइनोसरजस्तै ”
भन्ने हेडलाइन…
कसरी आउँछ होला ?
केमा आउँछ होला ?
गोर्खापत्र, कान्तिपुर.. तपाईं हाम्रा कविता, गीत पुरिएलान् कुन गर्तमा
र, इतिहासमा इन्टरनेट कहाँ गाभिन्छ होला ?
डिजिटल मुर्दाघर
कि कोठाको कुनामा राखिएको
वाईफाईको राउटरको समाधिमा ?
📢 बोल्ने कविता, सुनिने पीडा
इन्टरनेट नभएको दिन… हाम्रो यथार्थको अविश्वास
कठै !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










