बुद्ध भन्नु हुन्थ्यो, “संसारमा दुःख छ, दुःखको कारण छ र दुःखको निवारण पनि छ । अनि निवारणका लागि अष्टांगिक मार्ग छन् ।”
मानिसको जीवनमा उसले कति दुःख भोग्यो, त्यसले माने राख्दैन रहेछ । भोगेका दुःखका कुरा थाहा पाउन ऊ कहलिनु पर्छ , होइन भने यहाँ भुइँमान्छेहरूको जीवन धेरै कष्टकर छ । झन बढी उल्झनमा बाँधिएको छ ।
मानिस दुःखबाट मुक्ति पाउने आशमा झनै दुःखतर्फ अग्रसर हुन्छ । मान्छेलाई कर्म गर्नलाई आशाको सानो किरण भए नि हुन्छ । मैले सानो छँदैदेखि चिनेको, उसले कसैको अगाडि हात फैलाएको थाहा छैन । जहिल्यै दुःखको आहालबाट निस्कन झिनो आशाका साथ सङ्घर्षको मैदानमा आफुलाई होमिरहिन । छैठीमा भावीले निदारमा नलेखिदिएको भाग्य-कर्मको जोडतोडले मात्र कहाँ प्राप्तो हुने हो र ? न सन्तान छन् उसका, जन्मिएको पनि थियो- सानामै बितिगयो । तथपश्चात् किन अरू सन्तानको रहर गरिरनन् ? त्यो ऊनैलाई थाहा होला । जीवनको उत्तरार्धमा आएर उसले मलाई यो ओत लाग्ने झुपडीमा आफ्नो प्यारो मान्छे सम्झी सुनाउदै छे, वेदनाहरू ।
अब जीवनमा पाउन बाँकी दुःख के छ ? मृत्यु !
मृत्युलाई के दुःख भन्ने ! मर्नुमा त एकचोटि फ्याट्ट सास गएसी ढुक्क, तर संघर्ष गरिरहन गाह्रो, बारबार हथौडाले ढुङ्गामा हानेको जस्तो पीडा !
अहिल्या कुनै कथाकार होइन, आफ्नो कथा भन्न । ऊ त स्यंवम कथा हो, जिन्दगी हो । जिन्दगी भनेको के हो ?
जिन्दगी भनेको अनुभव हो । सुख र दुःखको समिश्रण हो । तर अहिल्याको लागि जिन्दगी भनेको एक गाँस खानको लागि गर्नुपर्ने संघर्ष हो। दुःखको भेल हो । ऊ यो भेलमा बग्दैबग्दै यहाँसम्म आइपुगी, सायद यो भेलले एकदिन सुखको किनारमा छोड्देला कि भन्ने आशाले ।
ऊ जन्मेको सात वर्ष नहुँदै ऊसकी आमा एक महिना थला परेर आँखै अगाडि अन्तिम सास फेरिन । आमा बितेको एक वर्ष नहुँदै बहिनी र दाइ पनि बिते । घरमा बुवा र ऊ मात्र बाँकी रहे । सानैमा चुलोचौको, घाँस दाउरा सबै उसको थाप्लोमा आइपुग्यो । सामान्य मान्छेले भोग्ने, देख्ने कयौँ कुरा नदेखी उसका जीवनका पन्ध्र बसन्त बिते । एकदिन घट्टबाट फर्किदै गर्दा उसले घरमा दुई चार मान्छे देखी । घरमा पस्न नपाई बुवाले छोरीको जात सधैं घरमा बसेर वृद्धि हुँदैन भन्दै उसलाई भर्खरै आएका नौलो मानिसलाई जिम्मा लगाइदिए । उसले मनमनै सोची, “हरे, यो कस्तो परम बिसङ्गती ! जस्ले जन्मायो ऊसँग छोटो समय बिताउने अनि आजसम्म कहिल्यै नदेखेको मान्छेसँग यति लामो जिन्दगी कटाउनु पर्ने ? नयाँ सम्बन्ध बनाउनु, विश्वासको संचार गर्नु, प्रेम गर्नु र फेरि एउटा नयाँ जीवनलाई मूर्त रूप दिनु, तर सङ्गती त यस्मै छ कि उसले यो सब स्वीकार्नु पर्नेछ र जति चाँडो स्वीकार गर्यो जीवन त्यति सहज हुन्छ ।”
उसले भनिरहँदा मेरो मनमा लाग्यो, हामी कहिलेकाहीँ स्थितिहरू स्वीकार्दैनौँ । विद्रोह गरिरहन्छौँ । सत्यलाई भ्रम ठानी बस्छौँ । र कहीँ पुग्दैनौँ ।
अहिल्याले न कुनै दर्शन पढी न कुनै गुरूलाई सुनी, तर पनि उसको चेतस्थर गज्जब को छ । विवाहको पहिलो रातमा उसले देखी उसको दुलहाको घरमा सुत्नलाई ओछ्यान छैन । खानको लागि अन्न छैन र मनको वह पोख्नलाई वरपर आफ्नो मान्छे नि कोही छैन । तर उसले आफ्नो भाग्यलाई स्वीकार गरी र जसोतसो रात कटाई । भोलिपल्ट उसको लोग्नेले अन्जान मान्छेको बीचमा उसलाई घरमा छोडेर निस्कियो । घर छोडेको सत्र वर्षपछि उसको लोग्ने फर्केर आयो उही हात भरी गरिबी र निराशा बोकेर ।
उसले जीवनको सत्रौँ बसन्त कसका लागि भनेर बाँची ? केको आशामा बाँची ? त्यो प्रेम थियो, विश्वास थियो या मजबुरी ? ऊ आफैँ पनि यकिनका साथ भन्न सक्दिन । ऊ यसो भनिरहँदा म आजकलको जोडी सम्झिरहेको छु, जो एकआपसमा दुई चारदिन कुरा नहुँदा दुःखी हुन्छन् । शंका गर्छन् । प्रेमको कसम खुवाइरहन्छन् ।
ती सत्र वर्षसम्म न कुनै चिट्ठी आयो न कुनै खबर । सत्र वर्षको अन्तरालमा उसले सब भोगी । घरभित्रका र समाजका वचन, उत्पिडनलाई प्रतिवाद गरेर बाँचीरही । घाँस काट्न जादा भीरबाट हाम्फालौहाम्फालौ सोच नआएको हैन, अति भएसी गएर भोटेकोशीमा दुःखसँगै आफूलाई पनि बगाउने सोच नआएको पनि हैन, तर मन मानेन । उसलाई लाग्यो- एकदिन यो सब ठीक हुनेछ, र यो समय पनि बितेर जानेछ । हो, समय बितेर गयो तर नियति गएन ।
उसले दुःख छ थाहा पाई, तर दुःखको कारण पत्ता लगाउन सकिन । के दुई गाँस खान आश गर्नु, एकसरो लुगा लगाउन पाउने चाहा राख्नु दुःखको कारण हो ? यदि यो दुःखको कारण हो भने संसारमा कोही सुखी छैन । सब दुःखमै रुमलिरहेका छन् फरक फरक ढङ्गले ।
उसले यी सब दुःखको निवारणदेखि मधेस । ऊसलाई लाग्यो यो बंजर पहाडमा बसेर पानी को निम्ति दुई घन्टा हिँड्नुभन्दा मधेशमा सजिलो होला । हात चलाए दुई गाँसको लागि सोच्न नपर्ला ! यसो सोचेर ऊ मधेस झरी । ठाउँले अलिअलि भूमिका खेल्छ बाँकी सब त कर्मको भरोसा !
दुःखहरू ऊसँग रमाइसकेका छन् । ऊसलाई छोडेर अन्त जान मान्दैनन् । जसको निम्ति जिन्दगी अर्पिइ ऊ त कामै लागेन । मन बुझाऊने बाटो पनि हुँदो हो, तर लोग्ने सधैं रक्सी,गाँजामा लठ्ठ । त्यसैले ऊ आफ्नो लोग्ने आफैँ बनेकी छ । सुत्केरी हुँदा उसलाई कसैले पाँच रूपियाँ नपत्याएको कारणले आफ्नो छोरोलाई सामान्य झाडापखला लाग्दा गुमाई । ऊ यति चरम गरिबीमा बाँची कि आठ वर्षसम्म एउटै फरिया टाल्दै लगार्इ ।
मानिसलाई आफ्नै दुःख ठूलो लाग्छ, उसले भन्दा बढी दुःख पाउने मानिस नभएको हैन । उसले आफ्नो वरपर नदेखेकी मात्र हो । आफू जस्तो दुःख अरूले नपाएको देखेसी मानिस झन् दुःखी हुन्छ ।
उसले सुन्नलाई राणाकाल सुनी, पन्चायतदेखि र गणतन्त्र पनि भोगी । बरु मन्त्रले काम गरे होलान्, तर तन्त्रले भुइँ मान्छेलाई छुँदैन रहेछ । ऊसलाई अब देशकालसँग मतलब छैन । मात्र छ त आफ्नै पेटको “पेटकाल” सँग । तर उसले गुनासो गर्न छोडिसकेकी छे । यत्रो दुःख दिने जिन्दगीदेखि त गुनासो छैन, नाथे अरूसँग के गुनासो ?
उसले गुनासो गर्न छोडेको धेरै भएको चाहिँ छैन । एकदिन मन्दिरमा बसिरहँदा एउटा सम्पन्न घरको स्त्रीलाई भेटी र उसका कुरा सुनेपस्चात् थाहा पाई दुःख भौतिक मात्र हुँदैन रहेछ । भावनात्मक र आध्यात्मिक पनि हुँदो रहेछ । स्वतन्त्र नहुनु, स्वचिन्तन गर्न नसक्नु पनि त दुःखै रहेछ । कसैलाई प्रेम गरेर उसले प्रेम नफर्काएको पनि नि त दुःखै त रहेछ । तर यो सब दुःख पाउनको निम्ति पहिला भौतिक दुःखबाट पार पाउनु त पर्छ । पेट भर्नका लागि मरिहत्ते गर्न परेपछि केको भावना ? केको प्रेम ? ऊसले भनी, तर कम्तिमा गुनासो गर्न त छोड्न सकिन्छ । र त्यही दिनबाट गुनासो गर्न छोडिदिई । गुनासो गर्न छोडेपछि आधा दुःख त्यसै हराएर जाँदा रहेछन् । पूजा गर्न जानूअगाडि भित्रबाट अस्ति वृद्ध भत्ताबाट आएको पैसाले किनेको बिस्कुट मेरो हातमा राख्दै उसले भनी- “अब बूढी भएँ , सब रंग गयो । अनि आगंन भयो परदेशी ।”
म सोचिरहेको छु- मैले के भोगेको छु र ? के देखेको छु र ?
उसलाई नि मनमनै लागेको हो- नाथे फुच्चे केटोलाई भनेर के हुन्छ र ?
तर म बुझ्छु, कसैले सुनिदिए मात्र नि आनन्द आउछ । सुनाउने धेरै भइसके, सुन्नेहरूको कमी छ । सायद म त्यही कमि पूरा गरिदिन्छु र त मलाई एकदम औधी प्रेम गर्छे अहिल्या ….
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।