हेर्ने कथाको पात्र ‘प्रकाश तामाङ’को कथा सुनेर देश पूरै रोयो । नेता रोए, जनता रोए, कलाकार रोए , प्रधानमन्त्रीले ठूलो कदम चाले । देश विदेशबाट सहयोग ओइरियो । नागरिकता पाए त्यो पनि घरमा नै । कथा बनाउनेले ठूलै स्याबासी बटुले । सिङ्गो देश नै प्रकाशको पीडामा रोयो । भिडिओको माध्यम प्रयोग गरेर पत्रकारिताको एउटा धार सामाजिक विषयवस्तुलाई निक्कै रोमाञ्चक ढङ्गले प्रस्तुत गरेको छ । सबैको मन छुने खालको छ । यसमा दुई मत नै छैन । प्रकाशलाई उन्नयन गरेर मिडियाले कहाँसम्म पुर्‍याउँछ हेर्न बाँकी छ ।

मिडियामा काम गर्ने धेरै जस्तो व्यक्तिहरूले यसको फाइदा लिएको देखिन्छ । विगतमा रवि लामिछाने, रवीन्द्र मिश्र यसका ज्वलन्त उदाहरण हुन् । त्यसैले यो हाईहाईलाई पनि साधारण रूपमा नै लिनुपर्छ । जसरी मिडियाबाट आएका मान्छेहरूको क्रेज बढी नै हुन्छ । तर यथार्थमा हेर्ने हो भने दैनिक जीवनमा अझ राजनीतिमा यसको नतिजा चाहिं स्पष्ट  देख्न सकिन्छ । जुन चर्चा भन्दा फरक छ । रवीन्द्र मिश्रको राजनीतिक यात्राबाट बुझ्न सकिन्छ । मिडियाभित्र काम गर्दाको जीवन र साधारण जीवनमा आकाश पाताल फरक छ ।

हेर्ने कथाले देशभित्र नै हराएका नागरिक हरूको कथा बोकेको छ । दश वर्षे सशस्त्र युद्धले ज्यान जोगाउन देश छोडेका नागरिक धेरै छन् । अङ्गभङ्ग भएका घाइते धेरै छन् देशभित्र वा बाहिर । देशमा रोजगारी नपाउने अनि आफ्नो भविष्य जोगाउन देश छोड्ने युवाहरू लाखौं छन् । तेश्रो मुलुकमा शरणार्थी हुन बाध्य भएका छन् । न घर फर्किन सक्छन् न त्यो देशमा कानूनी रूपमा बस्न नै सक्छन् । न कुनै पहिचान नै छ । न कुनै लाभ । दशकौं विदेश बसेर पनि स्वदेश फर्कन नसक्नेहरूको कथा चाहिं  कम पीडादायी होला त ? न भाषा मिल्छ न संस्कृति मिल्छ न रहनसहन नै ।

बिरानो मुलुकमा गैरकानूनी रूपमा लुकेर आफ्नो जवानी नै कोठाको कोठा भित्रै दशक बिताउने कथा हेर्ने, नहेर्ने, देख्ने, नदेख्ने कुन कथाले देखाउला ? बिरामी हुँदा पैसा नभएर सिटामोल किन्न नसकेको पीडा अनि डस्टबिनमा फालेको खाना खानु पर्दाको अवस्था कुन आँखाले देख्ला  ? वैधानिक कागज पत्र नहुँदा काम गर्न नपाउँदा नेपाल छोड्नु साहुसँग लिएको ऋण फिर्ता गर्न नसक्दाको अवस्थामा सडक गल्लीमा सुत्नु परेको अवस्था विदेशी टेलिभिजनले देखाउला कि हेर्ने कथाले देखाउला ? दशकै देखि घाम नदेखेका परदेशीले सूर्य हुन्छ भन्ने नै बिर्से होला कि बिर्सेका छैनन् होला ? देशमा भर्खर जन्मेको सन्तान छोडेर विदेशिएका बाऊ आमा नेपाल फर्किदा सन्तानले बाऊ आमा नचिन्दाको पीडा के शब्दमा वर्णन गर्न सकिएला ?

दशकौं मुलुक बाहिर बसेकालाई प्रकाश तामाङलाई जस्तै व्यवहार सरकारले देखाउँछ कि देखाउँदैन होला ? विदेशबाट रित्तो हात घर फर्केका हजारौं नेपालीलाई कसले घर बनाइदेला ? दशकपछि विदेश बस्ने लाई सरकारले दिने भनिएको गैर आवासीय नागरिकता देलान् कि प्रकाश तामाङलाई जस्तो वंशजको नागरिकता देला सरकारले ? दलालका माध्यमबाट विदेश हिंडेका आफ्नो आफ्नो परिचय साट्न बाध्य भएका नेपालीलाई आफ्नै नेपाली राजदूतावासले नचिन्दा कस्तो अनुभव होला ?

अनि जवानीमा विदेशिएर एकल आमा बनेका नेपाली चेलीका सन्तानलाई सहजै नागरिक स्वीकार्ला ? कुन आधारको नागरिकता देला ? आफ्नो आमाबाउ जन्मेको देशमा उनीहरूलाई शरणार्थीको रूपमा बाँच्नु पर्ला कि नपर्ला ? सशस्त्र युद्धबाट पीडित भएर घरबार बमले उडेर ज्यान जोगाउन मुगलान पसेकाहरूको घर कसले बनाइदेला ? ओली सरकारले कि प्रचण्ड सरकारले ?

भाषागत समस्याले बोल्न नसक्दा बिनाकसुर आजीवन  विदेशी जेलमा सडेका नेपालीको वेदना कसले बुझ्ला ? उनीहरूको उद्धार अनि देश फर्काउन अभियान कसले चलाउला ? सन्तानको सम्झनामा दिनहुँ आँसुको भेल बगाउने आमाको भोगाइ कुन क्यामराले कैद गर्ला ? स्वदेशमा बा आमाको निधन हुँदा देश फर्कन नसक्नुको पीडाको अनुभव देख्दा कसको मन नरोला । कि विदेशिएका नेपालीका पीडा, पीडा होइन ?

हेर्ने कथाले देशभित्र मात्रै हराएका नागरिकलाई खोज्ला कि देशबाहिर हराइरहेका नागरिकको पनि कथा देखाउला ।

हेर्न बाँकी छ हेर्ने कथामा ।