तिम्रो नै माया लाउदछ साइली

सम्झन्छु छिन् छिन …….

तिमीले माया नगरे पनि गर्छु म दिन् दिन …..

नेपथ्यमा झलकमान गन्दर्वको कालजयी गीत मन्द आवाजमा गुनगुनाइरहेको छ |

संगीतले मानिसको भावना बोकिदिन्छ,  भन्न नसकेका कुरा सुनाइदिन्छ, र त मलाई संगीत तिमी जत्तिकै प्रिय लाग्छन् । यतिखेर म तिमीलाई सम्झिरहेछु । हुन त मैले तिमीलाई नसम्झिएको पल नै हुँदैन | तिमी जस्तो देखिने हरेक आकृतिमा म तिमीलाई सम्झिरहेको हुन्छु |

प्रशान्त-उप्रेती-'सुरुवात'

प्रशान्त उप्रेती ‘सुरुवात’

तर आज विशेष याद आइरहेको छ | किनकि म यतिखेर तिमीलाई मन पर्ने स्थानमा आइपुगेको छु | तिमी भन्थ्यौ, “म यहाँ आएसी सबै कुराहरू भुल्छु |” तर म भने तिमीलाई सम्झिरहेको छु | सबैभन्दा कठिन कार्य भनेकै आफूले प्रेम गर्ने मान्छेलाई भुल्नु हो ।

धमिलो पानीमा बगेको समय सम्झिरहेको छु | खोला आफ्नै गतिमा बगिरहेको छ, आफूमा समेटिन आएकोहरूलाई समेट्दै, तिमीले मलाई एकदिन भनेको थियौ, “हामी जिन्दगीमा आएका सबै कुरा सहर्ष स्वीकार गर्दैनौँ र दुखी हुन्छौं  | नदी त्यस्तो गर्दैन, आफूतर्फ आएका सबथोक सहर्ष स्वीकार्दै अघि बढ्छ, कहीँ रोकिदैन, र त गन्तब्य मा पुग्छ ।”

ठुलो ढुङ्गोमा पल्टेर आकाशतर्फ हेरिरहेको छु । बादलहरू मडारिदै अघि बढिरहेका छन् | रोक्किएको त म मात्र छु, तिम्रो यादमा । अँ, फेरि यो गुनासोचाहिँ हैन है ! गुनासो गर्न सजिलो छ, तर धन्यवाद भन्नलाई गार्हो | तिमीलाई पाएदेखि गार्‍हो गार्‍हो काम मन पर्न थालेको छ । आज एक्लै बसेर गार्‍हो काम गरूँ गरूँ लागेको छ |

म तिमीलाई सुरुमा भेट्दाका दिनहरू सम्झिरहेको छु | पहिलोपल्ट भेट्दा तिमी मलाई “ओहो अपुरो जिन्दगी पूरा भयो”, भन्ने जस्ता फिल्मी ख्याल आएको चाहिँ हैन, तिम्रो सुन्दरताले आकर्षण गरेको हो | तर बोल्दै गएपछि तिम्रो चिन्तनहरूले झनै लोभ्यायो | म कहिलेकाही तिमीसँग बोल्दा जानाजान गल्ती गरिदिन्छु | उल्टा कुरा भनिरहन्छु | ताकि तिमी मलाई सच्याऊ, आफ्नो विचार म समक्ष राख | यसो गर्दा मलाई असिम आनन्द आउँछ |

हेर त, म कति स्वार्थी छु । मानिसहरू स्वार्थसहितको प्रेम नि के प्रेम भन्छन्, तर होइन रहेछ | निस्वार्थ प्रेमले मानिसलाई कही पुर्याउदैन ।

तिमीलाई भेट्नु पहिले लाग्थ्यो, मलाई धेरै कुरा थाहा छ | तर आजकल तिम्रो प्रश्नहरूले मलाई निशब्द बनाएसी लाग्छ, मलाई केही थाहा छैन । मलाई आफू चिनाउन नि तिमीले सहयोग गरेको छौ |

मोबाइल गीत फेरिएर देव आनन्द साहेबको, “याद किया दिल ने कहाँ हो तुम”, बजिरहेको छ |

दिलले तिमीलाई याद गरेको सत्य हो | तर तिमी कहाँ छौ भन्ने चाहिँ मलाई थाहा छ | मडारिएर अघि बढिरहेका बादलहरू रोकिएर वर्षिन थाले, वरपर ओत लाग्ने ठाउँ छैन | एक्लै भौतारिएर हिँड्दा त तिमीले दिलमा ओत लाग्न दिएको थियौ | तर यो किनार निष्ठुरी छ | यी छिट्टाहरू तिम्रो प्रेम झैँ ममाथि वर्षिरहेका छन् |

मानिसहरू प्रेमले चोट दिन्छ भनिरहन्छन्, तर प्रेमले चोट दिन्छ भन्नेहरूले प्रेमलाई अन्तरमनबाट नियालेका छैनन् | प्रेम गर्न जानेका छैनन्| महसुस गरेका छैनन् |

“प्रेम वास्तवमै सुन्दर चिज हो | जसले जीवनका मार्ग सरल बनाइदिन्छन् | भन्नलाई हामी माया गर्छु नभनेरै माया गरिरहनेहरू, जीवनभरि साथ दिन्छु भनेर कसम नखाएरै साथ दिइरहनेहरू गज्जब हुन् भनेर भन्छौं, तर त्यस्तो हैन | प्रेम गरेपछि प्रेम गर्छु भनेर भावनाहरू सुनाउनु पर्छ | प्रेम पाउनेले नि अनुभव गर्न सकोस् र थाहा पावोस् कि ऊसम्म त्यत्रो प्रेम कहाँबाट आइराखेको छ |”, तिमीले एकदिन आफ्नो टाउको मेरो कुममा राख्दै गर्दा यसो भनेदेखि मलाई नि आँट आएको हो, भन्नलाई कि म तिमीलाई भव्य प्रेम गर्छु |

त्योभन्दा अगाडि प्रेम नगरेको हैन, भन्न मात्र नसकेको | आफूलाई प्रेम गर्छ भन्ने थाहा पाएसी मानिसमा विश्वास पैदा हुदो रहेछ | त्यसपछिका दिनहरू सम्झिरहेको छु, माघको मुटु ठियाउने जाडोमा तिम्रो आवाज सुन्न पाउने लोभले मैले तय गरेका यात्राहरू, त्यसपछि मेरो मोबाइलमा आएका तिम्रा प्रेमिल पत्रहरू | प्रिय मिमी ! मलाई प्रेम गर्न नआउँदा मलाई सहेर प्रेम गर्न सिकाएकोमा धेरै धन्यवाद ! नजिक हुन्थ्यौ भने तिमीलाई गज्जब मन पर्ने न्युरोडको छोयला खुवाएर धन्यवाद भन्थें !

बाहिर जाने एकदिन अगाडि तिम्ले मलाई फोन गरेर भेट्न आउभन्दा मन खिन्न भएको थियो | लाग्यो, यस्तो प्रिय मान्छेलाई कसरी बिदा गरुला| तिमीसँग बस्दा एक शब्द बोल्न सकिनं | लाग्यो, बोल्न त म तिमीबाहिर गए नि पाउछु | तर यति नजिकबाट फेरि तिमीलाई हेर्न पाउँदिन | तिमीसँग अर्कोपटक भेट नभैइन्जेलको लागि तिम्रो तस्विर राख्नुथियो | तेसैले हेरिमात्र रहे | तिमीलाई केही भन्नू थियो होला ! मैले त्यो नि सुन्न चाहिनँ | त्यसको लागि माफ गर है !

तिमीलाई जाने बेला कस्सिएर अँगालो हाल्न मन थियो | मेरो हृदयको आवाज सुनाउन मन थियो, तर आटै आएन | सायद मलाई त्यसको पछुतो हाम्रो अर्को भेट नभएसम्म भैइरहनेछ | सम्झिदा सम्झिदै सम्झिरहेछु, तिम्रो पाइतलाले तय गरेका दुरीहरू |  भौतिक दूरी मात्र नाप्न मिल्दो रहेछ , भावनात्मक दूरी नाप्न मिल्दैन रहेछ |

मानिसहरू ठूलाठूला कुरामा खुसी खोजेर हिंड्छन्, तर खुसीहरू सासाना कुराले दिन्छन् | जस्तो कि हरेक बिहान आउने तिम्रो म्यासेज, साँझ परेसि आउने तिम्रो कल र कलसँगै थुप्रै कहानीहरू | मिमी ! मलाई सधै यत्तिकै खुसी बनाइराख है !

मेरो के छ र

म त सम्झिरहने मान्छे

तिमीलाई सम्झिरहन्छु ।

 

तिम्रो ओठको हाँसो सम्झन्छु ।

सम्झन्छु –

प्रेम पत्रहरू

सम्झन्छु –

वाचा कसम र असंख्य भेट्घाटहरू |

 

तिम्रो उपस्थितिको रोमाञ्च सम्झन्छु |

तिम्रो अनुपस्थितिको उदासी सम्झन्छु ।

तिम्रो प्रेममा लेखेका कविताहरू सम्झन्छु ।

तिमीले सुधारेका मेरा बानी सम्झन्छु ।

तिम्रो मप्रतिको प्रेम सम्झन्छु ।

प्रिय मान्छे –

तिमीलाई म यसरी नि सम्झन्छु |