भोक सधैँ आहारको  मात्रै हुँदैन — कहिलेकाहीँ त्यो आत्माको हुन्छ । नेपालबाट आउने हरेक पुस्तक मेरा लागि त्यही भोकको आहार बन्छ ।

गजलकार बाबु त्रिपाठीको सुझावपछि उपन्यास ‘तोरकीन’  प्रतिको लोभ झन् चुलियो । केही प्रति पठाइदिन आग्रह गरेँ, र सोचेकै भन्दा चाँडो पुस्तक हातमा आइपुग्यो ।

नेपालमा चुलिँदै गएको चर्चाले मन पहिले नै तोरकीनतर्फ मोडिइसकेको थियो । तर, पाठकको हैसियतले एउटा सानो असन्तोष पनि मनमा उब्जियो । पुस्तकमा प्रयोग भएका केही शब्दहरूको अर्थ (शब्दार्थ) यदि शुरूवाती पानामै समेटिएको भए, कथामा पस्नुअघि नै भाषिक संसारसँग पाठक अझ नजिकिन सकिन्थ्यो । शब्दार्थ अन्त्यतिर  छ भन्ने सूचना कतै उल्लेख नभएकाले, पुस्तक सकिएपछि मात्रै त्यहाँ पुग्दा त्यो लगनपछि पोते पाएजस्तो अनुभूति हुन्छ । यो लेखकप्रति आलोचना भन्दा पनि भावी पाठकका लागि एक स्नेहपूर्ण सुझाव हो ।

कथाले पाठकलाई केवल कथाभित्र होइन, भूगोलभित्रै लैजान्छ — हिमालपारिको जिल्ला मुस्ताङ । अझ स्पष्ट रूपमा भन्नुपर्दा,  चराङ सभ्यताको जरा खोज्न बाध्य बनाउँछ । पाना पल्टिँदै जाँदा छेवाङ र पेम्बा बीचको सम्बन्ध नङ र मासु जस्तै अटुट देखिन्छ । मित्रताको मूल्य, त्याग, समर्पण, साथ र सहयोग यहाँ उपदेशका रूपमा होइन, जीवनकै लयमा बग्दै आएका छन् । तर यो उपन्यास केवल सम्बन्धको कथा मात्रै होइन, यो हिमालपारिको बेथाको दस्ताबेज पनि हो ।
किन सुखको वर्षा त्यहाँ कहिल्यै हुँदैन ? किन विकासको बाढी उचाइमा पुगेर सुक्छ ? किन यार्सागुम्बा आशा बनेर उम्रिन सक्दैन ? राज्यको शून्य उपस्थिति उपन्यासको सबैभन्दा चर्को मौन आवाज हो ।

सामान्य सरकारी कामका लागि जोमसोम धाउनुपर्ने बाध्यता — जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता ! अझ विडम्बना त के भने, दर्ता नै नहुने जीवन र मृत्यु पनि छन् त्यहाँ । राज्य नभएको नागरिकता कस्तो हुन्छ, यस उपन्यासले प्रश्न मात्र होइन, पीडा पनि दिन्छ ।

भोटसँगको सांस्कृतिक र व्यापारिक सम्बन्ध, अनि त्यसकै बीच फक्रिएको प्रेम — लेखकले प्रेमलाई भूगोल र नागरिकताभन्दा पर राखिदिएका छन् । प्रेम कहाँ नक्सामा अडिन्छ र ? कहाँ कागज खोज्छ र ? प्रेम त दुई मुटुबिचको मौन सम्झौता रहेछ ।

बुद्ध धर्मका पवित्र स्थलहरू, त्यससँग गाँसिएका किम्बदन्तीहरू, जन्मदेखि मृत्यु सम्मका संस्कार, रहनसहन, विवाह, संस्कृति र परम्पराको चित्रण लेखकले

यति सहज र सचित्र गरेका छन् कि पाठक स्वयं ती बस्तीमा हिँडिरहेको अनुभूति गर्छ ।

पुस्तक गहिरो पर्यावरणीय चेतले भरिएको छ — रित्तिँदै गएका बस्ती, पग्लँदै गरेका हिमाल, सुक्दै गरेका ताल र मरुभूमी बन्दै गएका बारीका कान्लाहरू । यी दृश्यहरू केवल वर्णन होइनन्, चेतावनी हुन् ।

सबैभन्दा व्यङ्ग्यात्मक र सोच्न बाध्य बनाउने अध्याय भनेको बन्द कारागारमा खुशी मान्छे हो ।  खुला आकाशमुनि मानिस दुःखी छ, तर बन्द कारागारभित्र अत्यन्त खुशी । कारण के हो ? भौतिक स्वतन्त्रता ठूलो कि मानसिक शान्ति ?  लेखकले यहाँ गहिरो प्रश्न छाडिदिन्छन् ।

अन्ततः प्रश्न हृदयको खुशीको हो । किन वर्षौँपछि छेवाङलाई एक्लै छोडेर अर्कैसँग विवाह गर्छे ?
छेवाङले जीवनभर पारिवारिक सुख खोज्दै मेलापात, पोखरा, बनारस, बेनियाबाग र कोम्तारसम्म भौँतारिनु के नियति थियो ? आफ्ना पुर्खाको कदचाप पछ्याउनु उनको भूल थियो कि बाध्यता ? हिमालको चिसोमा एउटै पछ्यौरीभित्र न्यानोपन महसूस गरेको त्यस जोडीको सम्बन्ध अन्ततः के ले चिस्यायो ?

तोरकीन’ उत्तर दिन हतारिँदैन । बरु प्रश्नहरू छाड्छ — मनभित्र लामो समयसम्म गुञ्जिरहने प्रश्नहरू । यही नै यस उपन्यासको सबैभन्दा ठूलो शक्ति हो ।

समग्रमा, तोरकीन’ भूगोल, संस्कृति, राजनीति, पर्यावरण र मानवीय सम्बन्धलाई एकै कथात्मक संरचनाभित्र समेट्न सफल उपन्यास हो । यसले हिमालपारिको जीवनलाई केन्द्रमा राख्दै नेपाली उपन्यास परम्परामा एक महत्त्वपूर्ण थप प्रस्तुत गरेको छ ।

समकालीन नेपाली साहित्यमा दीर्घकालीन विमर्शको आधार निर्माण गर्ने सामर्थ्य राख्दछ । नेपाली साहित्यमा उनको कलम चलिरहोस्—ब्रह्माण्डझैँ, अन्तहीन ।

लेखकको कृतिले ब्रह्माण्ड घुमोस् । नेपाली साहित्यको जय होस् ।