सम्पादकज्यू,
साहित्यपोस्ट ।
सबैभन्दा पहिले त भाषा र साहित्यलाई मात्र केन्द्रमा राखेर पनि पत्रिका निकाल्न सकिन्छ भन्ने सोच राख्नु भएकोमा तपाईं एवं तपाईंको सम्पूर्ण टिमलाई बधाइ दिन चाहन्छु । यो नाफाखोर दुनियाँमा नाफा नहुने यो क्षेत्रमा लाग्ने हिम्मत देखेर म नतमस्तक भएकी छु । म सामान्य लेख्न रुचाउने तर साहित्यकी पाठक हुँ । एक महिना यता म तपाईंकी पाठक भएकी छु । राजनीति र अनेक भाइरल सामग्री छाडेर केही समय भए पनि तपाईंहरुको फरक दुनियामा नियमित पस्न थालेकी छु ।

सम्पादक ज्यू,
म त्यही साहित्य प्रेमी हुँ जसले बाह«खरी बुक्सले आयोजना गरेको कथा प्रतियोगितामा भाग लिएकी थिई र उत्कृष्ट २५ को ५ हजार रुपैँया थाप्न अस्वीकार गरेकी थिई । यसरी अस्वीकार गर्दा मैले तपाईंहरु मध्ये कसैसँग सम्पर्क राखेर यो खबर सुनाएकी थिएँ र त्यो तपाईंहरुका लागि समाचार भएछ । म जस्ती सामान्य लेखिका पनि समाचार हुने यो ठाउँले मलाई खुसी तुल्यायो । सञ्चारमाध्यम त्यही हो, जसले आवाजविहीनको आवाज बोल्छ । नेताका पखाला लागेको समाचार छाप्ने सञ्चारमाध्यम भन्दा साहित्यकारका पक्षमा उभिने तपाईंको सञ्चारमाध्यम मलाई निको लाग्यो र केही लेख्दैछु ।

खासमा जब त्यो समाचार छापियो, साथीभाइहरुबाट विभिन्न किसिमका कुरा आए । कतिले पैसा फिर्ता गर्ने भए प्रतिपर्धामा भाग लिएको भने । कतिले यस्तो जोमिखयुक्त कुरामा किन हात हालेको भने । साहित्यपोस्टको समाचार र मेरो फेसबुक स्टाटसले जे जति प्रश्न उब्जायो, त्यसले मलाई यो पत्र लेख्न बाध्य बनायो ।

कल्पना श्रेष्ठ कल्पपुञ्ज

कल्पना श्रेष्ठ कल्पपुञ्ज

सम्पादक ज्यू, स्मरण रहोस्, बाह्रखरी प्रतियोगिताको पहिलो संस्करणमा पनि नियम विपरीत पूर्व प्रकाशित सृजना पुरस्कृत भएको सर्वविविदै छ । जसमा साहित्यकार अनुपम रोशीले आफूले सम्पादनसहित अनलाइनमा छापेको कथा तथा वार्तालापका स्क्रिनसटलार्ई सप्रमाण पेश गर्दा पनि पुनः विचार भएको थिएन । अघिल्लोपटक नै आयोजक बोलिदिएको भए आज यी सब दोहोरिने थिएनन् । अघिल्लोपटक न लेखक न आयोजक कोही बोलेनन् । पहिलो पटक भएर वा निच मार्ने आम प्रवृत्तिका कारण यो प्रकरण त्यत्तिकै सेलाएर गयो ।

यति ठूलो प्रतियोगिता गरेपछि यसखाले प्रवृतिलाई हतोत्साहित गरिनुुपथ्र्यो । लेखकले आफ्नो असावधानी वा लापरबाहीका कारण प्रतियोगिताको मर्ममाथि हुन पुगेको आघातका लागि आयोजक तथा पाठकसँग क्षमा माग्नुपथ्र्यो सार्वजनिक रूपमा । लेखकको यही माफीनामामा टेकेर आयोजकले एक पटकलाई माफी पनि दिनुपथ्र्यो सार्वजनिक रूपमा । यो भयो पनि होला तर सार्वजनिक गरिएन । सार्वजनिक नभएकै कारण यसमा थिति बस्न सकेन र फेरि बेथिति दोहोरिएर आइदियो ।

माफी माग्नु, आत्मआलोचना गर्नु भनेको त असाध्यै ठूलो साहस हो जो सबैसँग हुँदैन । शायद हाम्रा लेखक÷आयोजकसँग पनि यो साहस थिएन । सानो हुन कसैलाई मन हुँदैन र माफीले सानो बनाउने थिएन भन्ने कुरा हामीले बुझ्नै सकेनौं ।
प्रतियोगिताका नियम बन्धनकारी हुन्छन्, हुनैपर्छ । यसलाई उत्तिकै शर्तसहित पालना पनि गरिनु पर्दछ । नियम राखेर पालना नगर्ने हो भने प्रतियोगिता भनिनु पनि हुँदैन । नत्र किन सम्पूर्ण लेखकहरूलाई भ्रम सृजना गरी खुल्ला कथा प्रतियोगिता भन्ने ? किन नियमका बुँदाहरूराख्ने ? मेरो जिज्ञासा ।

र, यो पटकको बाह्रखरीले आयोजना गरेको दोस्रो संस्करणको प्रतियोगितामा पनि आयोजक आफैले बनाएको नियम उल्लङ्घन गरी पूर्व प्रकाशित भएको सृजनालाई पुरस्कृत गरियो । अब यहीँनेर मलाई सोध्न मन लागेको कुरा चाहिँ प्रतियोगिताका शर्त तथा नियममाथिको यसप्रकारको लापरबाही तथा मजाक प्रकृति कि प्रवृति ?

यिनै कारणले नै मैले आफूले प्राप्त गरेको १२ खरी कथा प्रतियोगिता २०७७ मा समावेश २२ उत्कृष्ट कथामध्येको मेरो कथा ‘हल्कावेद २०९५’ ले प्राप्त गरेको पुरस्कार अस्वीकार गरेकी हुँ ।

योग, ध्यानको सामान्य साधक पनि भएकोले म शालिनतामा विश्वास गर्छु । यो मेरो कुनै व्यक्ति,संस्थासँगको अहम्को लडाइँ होइन । मात्र सचेत नागरिकको हैसियतले नेपाली साहित्यको मानक बचाउनको निम्ति गरेको प्रयास मात्र हो । यसलाई सकारात्मक नकारात्मक जे सोच्नु हुन्छ तपार्इंको अन्तरमनलाई साक्षी राखेर सोचिदिनुहुन अनुरोध गर्दछु । यो कसैको हारजितको खेल होइन ।
मेरो ब्रह्मले पनि भन्छ, आयोजकले नेपाली कथाका निम्ति त्यति धेरै प्रायोजक जुटाएर, प्रचार गरेको यो प्रतियोगिता वास्तवमै प्रशंसा गर्न योग्य छ । साहित्यमा यस किसिमको काम हुनु खुसीको कुरा हो । हामी कहीँ कतै चुकेका छौं भने प्रतियोगिताका मानकलाई, मापदण्डलाई स्थिर राख्न चुकेका छौं । र, यो सुधार्न नसकिने भूल पनि होइन । यति ठूलो सर्जाम जुराएर नेपाली कथाको श्रीवृद्धिका निम्ति गरेको कार्य सराहनीय छ । यस्ता कार्यक्रम हुनु जरुरी छ । साहित्यका अन्य विधामा पनि यसप्रकारका निजी स्तरका प्रतिस्पर्धा हुन आवश्यक छ । यसले नेपाली साहित्य, नेपाली वाङ्मयलाई नै उकास्ने हो । तसर्थः आयोजक यी कुराबाट बिचलित हुनेछैन भन्ने मैले पूर्ण विश्वास लिएकी छु ।

मेरो व्यक्तिगत रूपमा प्रथम भएको कथा र त्यसकी लेखिकासँग कुनै वैरभाव छैन । न कथाको विषय वा स्तरका नाममा टिप्पणी गर्ने हैसियत राख्छु । यो विवादसँग सम्बन्धित विभिन्न लेखमै प्रतिकृया दिएकै छु कि “लेखकले त्यो कथा लेख्नु नै गलत झै उहाँमाथि खनिनु सर्जकको दायित्व होइन । यसरी भविष्यमा उहाँको सृजनालाई समाप्त पार्ने खेल पनि नरचिओस् ।” तसर्थः मेरो प्रतिस्पर्धा म आफैसँग हो अरूसँग होइन ।

त्यसो भए प्रश्न उठ्छ, किन पुरस्कार अस्वीकार ?
म प्रतियोगिता नै बहिस्कारको पक्षधर होइन । केवल उठेका प्रश्नहरुको जबाफ किन दिइदैन ? किन यो मौनता ? यी कुराहरु आउँदै गर्दा निम्न प्रश्नहरु उठेका छन् ।

— विषयगत रुचिको विषयमा अझ कार्यरत बैंकमै पनि म परीक्षा÷प्रतियोगितामा सहभागी भएकै छु । जसले मेरो लेखन र योग्यताको मापन गरी नै रहेको छ । स्वच्छ प्रतिस्पर्धाले नयाँ सृजनाहरूको खोजी गर्छ । यो हुनु जरुरी पनि छ ।
— उहाँहरू जस्तै अग्रजबाट हामीजस्ता सिक्दै गरेका सिकारु कलमधारीहरूले के सिक्ने ?
— यस्तो बलमिचाइ नै समस्याको समाधान हो त ?
— भविष्यमा हाम्रो उर्जावान सन्ततिले के सिक्दै जान्छन् त ?
— गल्ती हुन्छ तर त्यो दोहोरिनु प्रवृत्ति होइन र ?

अहिलेको परिस्थितिमा लाग्ला कि राजनीतिक शासकहरूको सत्ताको बागडोर परिवर्तनको खेल चरम उत्कर्षमा पुग्दै गरेको समयमा यो विषय पनि लुप्त हुनेछ । यी कुरा हावाले बडारेर लग्नेछ । त्यसपछि तंै चुप मैं चुप । बिस्कुन सुक्दै जान्छ, घामपनि अस्ताउँदै जान्छ ।

यस्तै हुँदै गए, अन्तमा बौद्धिक क्षेत्र नै अनिर्णयको बन्दी हुनुपर्ने अवस्था रहेन र ? अरूले बोल्दै जाउन् र हामी हेर्दै जान्छौं भन्ने आशयले उत्तरदायित्व वहन कहाँ रह्यो र?

सामाजिक, राजनैतिक तथा अन्य धेरै विसंगति र बेथितिबारे खबरदारी गर्ने मनोबल भएको बौद्धिक वर्गबाटै जवाफदेही नहुने हो भने हरेकको मनमा वितृष्णा त रहने नै भयो ।

यही नै सर्वोपरि भए पनि इतिहासमा बसेको खिलले मात्र समय समयमा घोचिरहनु सिवाय केही हुने छैन ।

हाम्रै सन्ततिले हामीलाई प्रश्न गर्ने छैनन् र ? हामीलाई नैतिक आचरण सिकाउने ओ अभिभावकहरू ! पहिले आफू निष्ठावान भएर देखाउनुहोस् र हामीलाई नैतिक शिक्षा दिनुहोस् ।

हामीले हस्तीसँग होइन प्रवृतिसँग प्रश्न चिन्ह खडा गरिरहेका हौं ।

इतिहासको गर्तमा बिलाउने यी पलको स्मरण हुँदा सम्बन्धित पक्षको अन्तरआत्माले आफैलाई चित्त बुझाउन सकिएला र ?
सम्पादक ज्यू, सम्बन्धित पक्षसँग मैले यही विषयमा पटक पटक प्रश्न गरेकी थिएँ । इमेल लेखेर, फेसबुक स्टाटस लेखेर र सम्बन्धित निर्णयकहरुलाई कुरा गरे । तर कसैले मेरो कुरा सुनेन । प्रश्नको जबाफ दिन आवश्यक ठानिएन ।

साहित्यका राम्रो कामको प्रसंसा र गलत कुराको विरोध गरिएन भने अहिले उठ्दै गरेको यो क्षेत्र पुनः सुस्ताउन थाल्नेछ । यहि कारण स्थापित हुन पुगेको नजिर परिवर्तन गरेर पुनः थिति बसाउने जिम्मेवारी हाम्रै काँधमा छ । तसर्थः त्यही जिम्मेवारीबोधले नै मलाई यो कार्य गर्न पे्ररित गरेको हो ।

आन्तरिक रूपमा आयोजकबाट मलाई प्राप्त मेलको केही अंशसहित यसैमा मैले जिज्ञासा उठाएको छु–

‘यही असार ८ गते उत्कृष्ट २५ कथा २०७७ को डिजिटल तथा अडियो भर्सन भर्चुअल रूपमा सार्वजनिक गर्दैगर्दा पनि बाह्रखरी बुक्सले असहज परिस्थितिका कारण उत्कृष्ट हुन सफल २५ कथाकारलाई समयमै जानकारी गराउन नसकेको हुँदा वैशाख १२ पछिको अवस्थामा केही शर्तमा आँखा चिम्लिनुपरेको र शर्त खुकुलो बनाइएको उल्लेख गरेका थियौँ । तसर्थः यस परिस्थितिमा निर्णायक समूहको निर्णय सर्वोपरी मान्दै प्रथम, द्वितीय र तृतीयसहित उत्कृष्ट २५ कथा हामीले घोषणा गरेका हौँ ।’

बाह«खरीले सार्वजनिक रुपमा दिएको उल्लेखित विषयमा ध्यान आकृष्ट भएको छ । निर्णायक समूहको समझदारी एवं केही शर्तमा आँखा चिम्लिनुपरेको र शर्त खुकुलो बनाइएको उल्लेख गर्नुभएको विषय पुरस्कार घोषणा गरेको दिनमा मात्रै लाइभमा जानकारी गराइएको थियो ।

सो पूर्व आधिकारिक बाह्रखरी कथा प्रतियोगिताको बाह्रखरी मिडियामा तथा अन्य कतै पनि सार्वजनिक सूचनामा प्रकाशित नगरिएकोले यी उल्लेखित कुरालाई आधिकारिक मान्ने कुनै आधार रहेन ।

डिश होम बाह्रखरी कथा प्रतियोगिता– २०७७ को सर्त तथा नियमको तेस्रो र चौथो बँुदामा उल्लेख गरिएका छ— ‘पुरस्कारका लागि पठाइएका कथा अप्रकाशित र अप्रसारित हुन पर्नेछ । एवम् प्रतियोगिताको नतिजा सार्वजनिक नहुन्जेल कथा कतै प्रकाशन तथा प्रसारण गर्न पाइने छैन । छनोट परेको कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।’
पुनः स्मरण रहोस् ‘प्रतियोगिताको नतिजा सार्वजनिक नहुन्जेल’ भन्ने वाक्यले प्रतियोगिताको नियमलाई स्पष्ट बाँधेको छ ।

मेरो जिज्ञासा सो प्रकाशित नियमलाई आन्तरिक सल्लाहले अदलबदल गर्न मिल्ने भए खुल्ला प्रतियोगिताको नियम भनेर सार्वजनिक सूचनामा किन निकालिएको होला ? त्यसैले यी विषय कति नियमसंगत हुन प्रश्न उठ्नु त स्वाभाविकै रह्यो ।

अझै पनि हामी आशावादी छौं कि आयोजकमार्फत आएको मेलको अर्को एक अंशलाई कोट गर्न चाहें– ‘सार्वजनिक रूपमा जवाफ दिन कति जरुरी छ वा छैन भन्ने विषयमा हामी छलफलमै भएकाले सार्वजनिक प्रस्टीकरण नआएको हो ।’

यी आधारलाई सकारात्मक मान्दै प्रतियोगिता आयोजक तथा निर्णायक पक्षद्वारा सम्पूर्ण सर्जकहरूलाई जवाफदेहीका साथ निर्णायक सम्बोधन हुनेछ भन्ने आशा राख्दछु ।

अन्यथा,
मैले पुरस्कार अस्वीकार गरेको सार्वजनिक गरेपछि मलाई विविध आरोप तथा लाञ्छना लगाउने काम भएको छ । मलाई अधैर्य, आफ्नै सृजनालाई विश्वास गर्न नसक्ने, आफैं आफ्नो इज्जतको धज्जी उडाएको, भोलि मिडिया बहिस्करणमा पार्ने जस्ता अघोषित धम्की दिँदै मानसिक रूपमा दबाब दिने किसिमले आन्तरिक म्यासेज आइरहेको छ ।

(ती कुनै दिन काम लाग्छ भनेर सम्हालेर राखेको सम्पादक ज्यूलाई जानकारी गराउन चाहन्छु ।)

नत्र मैले आफ्नो आचरण स्पष्ट पार्न पनि आयोजक एंव निर्णायक बीच भएको प्रतियोगी छनोट हुनु पूर्व आन्तरिक असहमतिको बहसबारे नामै इंकित गरिएका ती गोप्य सूचनाको स्कृनसर्ट सार्वजनिक गर्न बाध्य हुनेछु । जसले निर्णायक समूहको निर्णय सर्वाेपरी हो भन्ने जिकिरलाई स्वतःखण्डन गरिदिन्छ ।

तपाईंको पाठक
कल्पना श्रेष्ठ कल्पपुञ्ज