नयाँ वर्ष
यसपटक
तिमी आउँदा
देश विकासको
उत्कृष्ट सीप
र दृष्टिकोण लिएर आऊ
घात
र प्रतिघातले थिल्थिलो
नेपाल निर्माणको
दृढ अठोट बोकेर आऊ
भेटेका छौ
तिमीले देशमा
बोक्सा
बोक्सीको आरोपमा
कुटिएका
हेपिएका
थिचिएका
र मिचिएका
दाइजोको अभावमा
दबाइएका
जलाइएका
जातपातको आरोपमा
सामाजिक
अपहेलना खेपिरहेका
विपन्नताको शिखर बोकेर
कष्टकर जीवन घिसारिरहेका
उपचारको अभावमा
मृत्युलाई पर्खिरहेका
बलात्कारको शिकारमा परेका
अबोध बालिका
तड्पिइरहेका
वा जीवनलीला नै
समाप्त गरिने गरेका
व्यभिचारयुक्त कार्यहरू
मध्ययुगीन
सामाजिक पछौटेपन
अशिक्षाको कालो पर्दा
ती सबै अभाव
र अमानवीयपन च्यातेर
अन्याय
अत्याचार
र व्यभिचारविरुद्ध
न्याय
र समानताका लागि
आधुनिक
एवम् निष्ठापूर्ण
जीवनको स्रोत बनेर आऊ
थाहै छ
तिमीलाई यहाँ
मुलुक
जीवनले
विप्रेषण साटेर चलिरहेछ
वृद्ध
आमाबुवाको सहारा
नवदुलहीको सपना
लाला
र बालाको भविष्य
सबै सबै
बन्द बाकसमा
आउने गरेका छन्
तिमी
यस पटक आउँदा
उद्यानको लक्ष्य लिएर
देशको चौतर्फी
विकाससहित
रोजीरोटी बोकेर आऊ
निसहाय
बुवाआमाको सहारा
निष्पृहता
यौवनाको भविष्य
र नाबालकका
सुन्दर सपना
सबै सँगै लिएर आऊ
तिमीले देखेकै छौ
हाम्रा उर्वर धरती
बाँझो परेर रोइरहेका छन्
पौरखी युवा
र युवती
आफ्नो अमूल्य
रगतपसिना
विदेशी धरतीमा पोखाइरहेछन्
कृषिप्रधान देश हाम्रो
खर्बौंको खाद्यान्न आयात
र बन्द निर्यातले
शोधान्तर घाटाको
जीवन चलाइरहेछ
तिमी आउँदा
यसपटक
नवप्रविधिले
सुसञ्जित
सृजना बोकेर आऊ
सबल
स्वतन्त्र
राष्ट्रिय
अर्थतन्त्र निर्माणको
आधारशीला खडा गर्न
तिमी
आयात प्रतिस्थापनको
दक्षतासहित
प्रतिबद्ध बनेर आऊ
हामीले
भोगिरहेका छौ
पहिले पहिले
तल्ला घरेले मात्र
हाम्रो खेतको
सीमा मिच्थ्ये
अहिले
भिन्नै उद्देश्य बोकेर
पल्ला घरेहरू पनि
थपिएका छन्
हाम्रा सद्भाव
र मित्रताका मानकलाई
धारिलो हतियारले
रेटिरहेका छन्
हाम्रा कोठेबारीका
राम्रा फलफूलहरू
उनले आफ्नो
पेवा बनाउँदै छन्
हाम्रा गाईबस्तु चर्ने
जौवारी
र रानी वनमा
उनका साँढेले
सखाप पारिरहेका छन्
हाम्रा
रीतिरिवाज
मान्यता
र परम्परामा
उनले विषाक्त
फर्मान चलाउँदै छन्
अझ भनुँ
अनुदान
र मानको नाममा
हाम्रो राष्ट्रिय स्वाभिमान
खोक्रो बन्दैछ
आऊ तिमी
यस पटक
अस्तित्व रक्षाको
शक्तिशाली
कवच बनेर आऊ
संसारका
ठूला साना
धनी-गरिब बीच रहेको
असमानताको पर्खाल तोडेर
समानताको अमिट निधि
र विधि बनेर आऊ
बुझेकै छौ तिमीले
अपार जलसम्पदाको
धनी हाम्रो देश
सिंचन नभएर
बाँझो परेको
हाम्रो बारी
अनि खेत
ऊर्जा नै उत्पादन
र विकासको
मूल आधार
झलमल्ल
बत्तिको अभावमा
अँधेरोमा बितेको
हाम्रो परिवेश
झोलामा खोला अटाउने
हाम्रो चलन
अर्काको स्रोत
कब्जामा रमाउने
छिमेकी मन
कसरी भनुँ
म तिमीलाई
यो कुरा
अनि नभनूँ कसरी ?
तिमी आउँदा
यसपटक निष्ठापूर्वक
राष्ट्रियता बोकेर आऊ
सबै विकृति
र विसंगति हटाउने
औजार पनि
साथमै लिएर आऊ।
कोटेश्वर, काठमाडौँ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।