आफ्नो सामर्थ्य नहुँदा
अरुको अस्तित्वले नछुँदा
मानिस बलबलाहटमा बर्बराउँछ
र त भन्छ…देश डुब्नै लाग्यो
लौन आइदेऊ न माझीदाइ
देश बचाउनलाई

जिन्दगीका अप्ठ्यारा बाटाहरूमा
हिम्मत गर्दैन ऊ
पहाड चड्न
आइपर्ने अस्मेल जङ्घारहरूमा
आँट भर्दैन ऊ
भेल छिचोल्न
अर्को मसिहा आउँछ
खाली ठाउँमा
बोक्छ उकालोमा भारी अजंगको
तार्छ अस्मेल बाडीमा
आकाङ्क्षा सबैको
त्यति नै खेर
फुत्त दुलाबाट एउटा छुचुन्द्रो
निस्कन्छ चोसो पसार्दै
चुँ..चुँ..र.. च्याँ..च्याँ गर्दै
देख्दैन सामर्थ्य र बल अरुको
आँखा चिम्लेर कराउँछ
लौन माझी दाइ
डुब्नै लाग्यो नौका देशको
आइदेऊ न नाउ बचाउनलाई

मन नै यस्तो लोभी छ उस्को
मन नै यस्तो पापी छ उस्को
बाटाभरि बत्ती बलेको छ
झलमल्ल उज्यालो छ
लोभी र पापी मनको अँध्यारोमा
ऊ केही देख्दैन कतै केही भएको
लाठी टेक्दछ सहारा परालको
कराउँछ एउटा अबुझ स्वाँठ
भन्छ ऊ उज्यालो दिनमा
अँध्यारो भयो लौ न निष्पट्ट
आँखाले अगाडि केही देखेन
लाठीले पनि केही टेकेन
अभीष्ट मेरो मैमत्तको
पाइन ठाउँ कहीँ बिसाउन
डुब्न नै लाग्यो मेरो
मनोकाङ्क्षाको जहाज
सकिनँ मैले धान्न लोकको लाज…
लौ न माझी दाइ !
आइदेऊ न उतार्न मलाई
मेरो आफ्नै स्वार्थको
डुङ्गा बचाउनलाई ।

कोटेश्वर, काठमाडौँ