अवसर आएको छ
मस्तले खाऊ रमाऊ
खोजी गर्दैन कसैले
तिमी कस्का खेताला हौ
आज यता खाऊ
भोलि उता खाऊ
खान जन्मिएका हौ तिमीहरू
अघाउन्जेली खाऊ

मानिसले जरा खोज्दैन अचेल
डाँठ देखेपछि पुगिहाल्छ उसलाई
अझ कतिलाई त
हाँगा र पातले नै काम चल्छ
छोपिएका छन् तिम्रा
विगत बोकेका जरा
चिन्दैन कसैले
ढुक्क साथ खाऊ
कहिले यता जाऊ, यतै खाऊ
कहिले उता जाऊ, उतै खाऊ
आनन्दले खाऊ, मस्तले अघाऊ

स्तुति सबैलाई प्यारो हुन्छ
अझ ठूला ठूला पदका मानिसलाई
स्तुति निकै प्यारो हुन्छ
पदाशिन मानिस जहिल्यै
स्तुत्यको लोभमा बसेको हुन्छ
तिमी स्तुति गाऊ
स्तुत्यकै भेटी चढाऊ
तिम्रा विगतका दस खत माफ हुन्छन्
को थियौ हिजो तिमी
तिम्रा दोषहरू सबै मेटिन्छन्
तिमी गणेशले झैँ स्तुति गाऊ
महादेव पार्वती खुशी हुन्छन्
आज्ञा पालक कुमार कार्तिक्यको के हैसियत र!
ऊ त आज्ञापालक न हो !
आज्ञा पालन गरिरहन्छ
विद्रोह गर्दैन, कतै भँडास भर्दैन
उसलाई केही पनि चाहिँदैन
न झस्क ! उसलाई केही पनि दिनु पर्दैन

यति सम्झ आफ्नै सामर्थ्य साथ
आफ्नै विवेकको आदेश पालन गरेर
जटिल मार्ग पार गरेर
कतै तिम्रा ठाउँमा आइपुगे
कुमार कार्तिकेयहरू भने
लखेट ख्वामितको आड लिएर
साथ दिन्छन् ख्वामितले तिमीलाई
अनि बस, सेवा गर, रिझाऊ, खाऊ
खान जन्मिएका हौ खाऊ
कहिले यता खाऊ, कहिले उता खाऊ
मस्तले खाऊ, टन्न अघाऊ
जहिल्यै भोको भुँडी देखाऊ
चोरेर खाऊ, ढाँटेर खाऊ, खोसेर खाऊ, लुटेर खाऊ
गणेशकोझैँ ठूलो पेट तिम्रो
भरपूर अघाऊ

देश रोइरहेको छ
तिम्रो असीमित दुर्भावनाको भारले
जनता भोकले छटपटाइरहेका छन्
उपचार नपाएर
दीन दुःखीहरू
आर्तनादमा छन्
तिमी देश बनाउने संकल्पको
झूटो कुरा अलापेर खाऊ
दीन दुःखीको दुःख हरिदिने भन्दै
झुक्याएर खाऊ
खाऊ ! खान जन्मिएकाहरू हो खाऊ
यता आऊ, यतै खाऊ
कहिले उता जाऊ, उतै खाऊ
गर्न होइन, खान जन्मिएका हौ
मोजमस्ती गरेर खाऊ ।

कोटेश्वर, काठमाडौँ