वानीरा गिरीले कविता सिर्जनामा जैवनिक पाशविकताका अप्रत्यक्ष र सूक्ष्म प्रवाहसम्म खोतल्ने जुन कलात्मक प्रयास गरेकी छिन् त्यसले नेपाली साहित्यको कविता विधामा अर्काे एउटा विशेषता थपेको आभास हुन्छ । सबै जिजीविषाभित्रका सग्ला धमिला मानसिकताका चपेटा सबैमा पर्न सक्छन् ।

सामाजिक पाशविकताको विद्रोहमा आवाजको अपेक्षा सदैव साहित्याकाशले राख्दछ । साहित्यिकको साहित्यिकता पनि असीमित भएकाले काव्य वार्तुल्यको सामीप्य अति ब्रह्माण्डीय छ, जुन कल्पनाको संसारजस्तै ठूलो छ । त्यसभित्र द्विपाक्षिक रेखाङ्कन त रहनै सक्छ र पर्छ । भएका उज्यालालाई अझ प्रज्वलता प्रदान गर्न सुस्पष्ट मार्गदर्शन पनि यसको मुटु हो भने नभएको कुरामा मानवतालाई ठीक बेठीकको निर्णय गर्न सक्ने चैतन्य प्रदान गर्नेहेतु नै साहित्यिकताको माध्यम रहेको हुन्छ । सही साल्विकताको खोजी गर्ने परिवेशमा कविले कलमलाई छोडिदिनुपर्छ र भावनात्मक केन्द्रस्थताका पोखिइने धेरैथोरै रेखा नै त्यस समाजका यस्ता कार्यमा उत्प्रेरकको रूपमा रहन सक्छन् । विद्या–विषमतामा कविता, उपन्यास वा कथा जेसुकै लेखिउन्, वास्तविकता र गन्तव्य एउटै हुन्छ । भलै कि मार्ग रोजाइमा पृथकता पाइयोस् । त्यसमा पनि सामाजिक जनजिब्रोले छिट्टै टिप्ने र हार्दिकसंवेद्य र विदीर्णता अनि शैली वा चेत प्रदान गर्ने काममा भने कविको मूल्य उच्च छ । त्यसैले वैदिक र सांस्कारिक कालदेखि नै काव्यिक आन्दोलन–विकास–परिवर्तनजस्ता कुरा भएका छन् । त्यही शाब्दिकताको सुयोजन हो तर मर्मज्ञता प्रदान गर्न कविताको माध्यम रसिलो वा स्मरणिलो भएकोले नै हुन सक्छ यसको उच्चता बढ्न गएको । नेपाली साहित्यको फाँटमा पनि देखिएका साहित्यिक काव्यकार (कवि) को नाम मुक्तकण्ठले गाइएको हामीलाई स्पष्टतः थाहा छ, तर विकासका काँचुली फेराइका साथ साहित्यिक मूल्यमा पनि समानता पाउँदै जान्छ र त्यसप्रतिको मूल्याङ्कन प्रक्रियामा पनि परिवर्तनको कारण नै यसको मूल कारण बन्न जान्छ । उदाहरणतः पश्चिमेली जगत्मा कवि र अन्य विधाका साहित्यकारहरूको मान्यता समानता पाइन्छ । हाम्रो संस्कारमा पनि विकासवादको क्रमिक नियम त्यति लागू हुन नसकेकै कारण साहित्यमा दृष्टि छैन । हेतु, प्रयोजन र आश्वासनको सबै कुराले साहित्यका सबै पाटा उही वसन्तमा उम्रिसके, फलिसके, तर जाला समानतामा अब पनि केही पार्छ ।

डा. वानीरा गिरी

नेपाली साहित्यले नारीलाई पनि प्रश्रय दिँदै आएको छ र यसमा निकै प्रयोग हामी साथ छन् । केही अघिमात्र नेपाली साहित्यमा महिला प्रायः छँदै थिएनन् । आधुनिक कालमा सुश्री पारिजातको उद्गमनका साथ यसले विशिष्ट प्रतिभाको पहिलो पटक नै उपलब्ध गर्यो र नारी वेदनाका अनुभूतहरू नारीहृदयको कोमलताबाट प्रस्फुटित हुन थाले । त्यो हाम्रो नारी स्वतन्त्रताको पक्षमा लगाइएको बन्देजको कारण हुन सक्छ किनकि वैदिककालमा पनि गार्गी र मैत्रेयीजस्ता विदुषी थिए भने बीसौँ शताब्दीको अन्ततिर आएर पनि नारी साहित्यकार नपाउनु । पारिजातको कथानक कलमले चरमता पाएको छ भने मन्जु काँचुलीको ‘किरणका छालहरू’ले यस दिशालाई दार्शनिकता प्रदान गरिसकेको छ । कथामा अनिता तुलाधर, माया ठकुरीजस्ता हस्ताक्षर पनि साफल्यताका यहाँ उदाहरण छन्, तर कवि मञ्जु काँचुलीको जीवनपक्षको यथार्थव्यक्तिका पक्षमा देखिएका पाशविकी र पाषाणिकी व्यवहार र ती व्यवहारको भण्डाफोर विद्रोह गर्ने पाठ समाज र समाज अधिकृतको बीचको दूरता, व्यवहार र भावनामा पृथकता र पृथकताका कारण विद्वेलित मानवताका अणुहरूको स्वमान्यिक पजुंल्याइ साथै मानवीयताको प्रतिनिधित्व अति नै सफलीभूत उत्कर्षता हो । औपयिकता र जीवन सापेक्ष्य पक्षको वैज्ञानिक विश्लेषणमा विश्व भातृत्वको पाठ, आध्यात्मिकता र भौतिकताको द्वन्द्व र द्वन्दिकताको फेरोमा मानवीयताको पक्षलाई अध्यायी वकालतको अल्पनाले भौतिकवादीताको बाहुल्यमा अच्छयू–आच्छयू पारेको वर्तमान विश्वको नै दर्पण निर्माण हो– किरणका छालहरू । चरमोत्कर्षता त्यति निश्चय नै पाएकी छैनन् वानीरा गिरीले तर प्रयास हो – जीवन यामहरू । ‘जीवन यामहरू’ नै जीवनपक्षको असीमित विश्लेषणात्मक भावना प्रतिभावना र तात्कालिक चर्याका यथार्थचित्रण हुन् । प्रत्येक चित्रणभित्र पनि विचित्रण र मानवताको र भौतिकी मानवीयताको अमानवीय प्रवृत्ति नै शाश्वत छ आजको विश्वमा भने तिनीहरूको हलुका पातला चित्रण हो यो । दानव भएर मानव भएको मान्छे– मावन भएर दानव भएको मान्छे वा एकअर्काको उछिनाइमा पर्यवेक्षक बनेको मान्छे । पर्यवेक्षक मान्छे हो– वानीरा गिरी, न दुवै पक्षमा पुग्न सक्छ, न एकैमा रहन्छ । मानवीयतालाई उतार्ने यथार्थताको नाममा विसङ्गतिको फुस्काइ त उनले ख्यालै नराखेको कुरा हो । मान्छे, मान्छेः जुनको अनुहार र हुल मान्छेको विस्कुन केवल मान्छेको दोहोरोपाराको शब्दचित्र भएका छन् भने मान्छेमा विसङ्गति र अस्पष्टता उनकै दोहोरो अभिव्यक्तिले बोध गराउँछ । मानव र उसका आदर्श पक्षहरू विकरालताको झेलाइले विपरीततामा पनि पुगेका छन्, पुग्नुमा मान्छेको दोष र प्रकृति दोष, त्यही दोषको दुई परिवेश छ मान्छेमा । मान्छे आत्मसङ्घर्षमा मरेको छ, प्रतिस्पर्धामा पिरोलित छ र ईष्र्यामा ईर्षित छ, तर पनि मान्छे सबैको कारण भौतिकी विश्वको प्रवृत्तिलाई प्रदक्षिणा गर्दछ र उसका हालतको नग्नतालाई पनि मौन इङ्गित गर्छिन् वानीरा । वानीराको विश्लेषणात्मकता दोहोरा छन् तर नपुगे झैँ पातला र तुवाँलिएका छन्, तर मानवीय परिहलमा उसका प्रवृत्ति भनिदिन्छन् –

उनी एक अर्थमा

भिडाइ–जुधाइ, लडाइ, घाउ र मृत्यु

आशङ्का, प्राप्ति, सङ्घर्ष, चोट र जिजीविषा

इत्यादि– इत्यादिको कोलाज हो मान्छे

अझ नढाँटी भन्ने हो भने

ऊ मान्छे नाम गरेको शहीद हो आफैंमा

ऊ मान्छे नाम गरेको शहीद आफैंमा

मान्छेको परिभाषिकता हो कवितात्मक अभिव्यक्ति (मान्छे) मान्छेको सङ्कीर्णता पनि परिभाषा । उसका एकाङ्कीय परिधिलाई मात्र खोलिदिने प्रयास हो कविता भने ओझात्मक हिसाबमा वानीरा कृष्णभक्त श्रेष्ठको शिथिलताबाट विकासिएकी हुन् र पनि मञ्जु काँचुली र गोविन्द भट्टको अभिव्यक्तिमा वैशिष्ट्यता रहन्छ । अत्याधुनिक प्रवृत्तिमा भने स्वच्छान्दिक प्रवृत्तिको पनि दिन परदिन बढ्दो क्रम चलिरहेछ । क्रम र उपक्रमका बीचमा सफलताको नाममा बेअर्थी प्रवृत्ति र बेओझता पनि गद्यात्मकताले ल्याएको नकारात्मक पक्ष हो, तर वानीरामा यो नकारात्मकता ठ्याक्कै छैन भन्न खोजिएको पनि हैन र धेरै छ पनि हैन । दोहोरो भावनाका बीचमा छिन् वानीरा ठीक हो – युगीन प्रवाहमा । प्रवाहात्मक दूषितताबाट उम्कने बाटो वानीरामा छैन, केवल निर्णय पाठकमा छोडिदिएको छ भने दर्पण हो यो युगको प्रवृत्तिको मान्छे जुनको अनुहारको अभिव्यञ्जना यथार्थ छन् र युगीनतालाई बोक्ने पङ्क्ति–पङ्क्तिले साहित्यिकतालाई सफलता दिएको छ किनकि मान्छे हामी एकतिरको हो तर जूनजस्तै ऊ पनि अँध्यारो र उज्यालोमा विभक्त छ, अघिल्तिर उज्यालो पछिल्तिर अन्धकारित शत्रुहरूको लाम हुन्छ । ती लाममा आफू पनि मान्छे त्यस्तै भएको हुन्छ, जस्तो अँध्यारामा खरानी भएकी हुन्छे किचकन्ने । उसको आन्तरिकता पनि त्यस्तै हुन्छ । त्यसैले भनाइ अक्षरशः

 मान्छेको सम्पूर्णतालाई पनि नखोतल

मान्छेको सुन्दर अनुहारलाई पनि नछाम

कहीँ कतै तिमीलाई

किच्कन्नीको बीभत्स कुरूपताजस्तै

ऊसित पनि साक्ष्यात्वर हुनु नपरोस्

किनकि मान्छे

जूनको अनुहार

अघिल्तिर प्रकाश र उज्यालो

पछिल्तिर ??

कुरूपता र अनन्त अन्धकार !

नियति र विडम्बनाले मान्छे जूनका नकरात्मक रूपमा पुगिसकेका छन् । अघिल्तिरका आदर्शतालाई पछिल्तिरका नीचताले धाक परिदिन्छ । यही हो – जूनको विशेषताको मान्छे । मान्छे मान्छेको बिस्कुनको व्यवहार जुन मान्छे असन  र इन्द्रचोकमा गल्ली गल्ली, सुल्टा र उल्टा क्रम उपक्रममा फिर्दछ – केवल बिस्कुन बनेर । चोट पनि वानीराको आफ्नै चोट हो । अस्ताल्लित छरिएका भावनाका गुत्थाहरूलाई सम्हाल्ने क्रममा कविता देखा पर्छ चोटमा । आजका युगकहरूको छराइमा कविता छरिएको छ छरिनसम्म । युगको छिप्याइकै साथ सामद्वताले विश्वस्तता पाउने युगभित्र ती चोटहरूलाई जुनले वास्तविकी चोट दिन्थ्यो । हामी डराउथ्यौँ तर चोट यहाँको आजको फगत चोट बनेको छ । जुन प्रत्येक उपक्रियासँग सम्वद्ध छ । अन्योन्याश्रित छ, नङमासु छ, त्यसैले त उनलाई बलात्कारको नमीठो चोट –

तर आजभोलि

तिम्रो हरेक प्रहार यौटा स्पर्श बनेको छ

म स्वयम्

आगो बाल्ने चूल्हो बनेकी छु

काँडा उमार्ने ड्याङ बनेकी छु

खुकुरी राख्ने दाप बनेकी छु

आँैशीको अँध्यारो रात बनेकी छु ।

वानीरा गिरी युगको नकरात्मकतालाई ठूलो रूपमा कोट्याइदिएर त्यसको विद्रोहका लागि आक्रमण गर्छिन् । उनको आक्रमण बौद्धिक र वास्तविकी साँचो छ । भौतिक पक्षको उत्खनन हो यो र अध्यात्मिकताको पातलो माग छ ।

कवि मञ्जु तिवारी ‘काँचुली’को स्वच्छनीय प्रवृत्तिले अत्याधुनिक काव्यको गद्य जगत्लाई जति उकास्न सफल छ । अझ जो कुनैको अभियान त्यति चर्को छैन । बरु साहित्यिकताको नाममा शाब्दिक कठोरताको प्रयोग र जीवनलाई आणविकशक्ति शत्रुहरूसँग लड्ने सामर्थ्य प्रदान गर्नुको साटो बढी निराशाका झोक्का र अणु परमाणुमा विभक्त गरिएको छ वा गर्ने प्रयत्न निराशाका ती फ्रेमिकता पाइन्छ । अभिशप्त आँखालाई च्यातेर तथा ‘आकाश पानीमा ओर्लन्छ’बाहेक कृष्णभक्त श्रेष्ठका कविताहरूमा यही कुराको बोध गराउँछ । द्वारिका श्रेष्ठको चिन्तन प्रक्रिया पनि पातलो र खल्लो छ । बरु गद्यात्मकतालाई शाश्वत सत्यतामा प्रयोग सिक्किमतिरबाट भएको छ । प्रवासी जीवनमा रहेका जीवन थिङमा रहेको गद्यात्मक साहित्यिकता काँचुलीको जतिकै वेदनात्मक, दाशर्निक र हुनुपर्ने जस्तो भएको छ । उनको एक टुक्रा जहाँ उनी दुई दिनको पर्खाइमा धैर्य छन्, भन्छन् –

कुनै आँखा यस्तो छैन

जसले बुझ्न सकोस्

सबै परिभाषाहरू स्थायी छैनन्

सबै अधुरा छन्

सबै बेसुरा छन् ।

…………………………..

हिजो अँध्यारो रात थियो

तर पनि म खण्डहर छेउमा गएर धेरै बेर उभिएँ

धेरै बेर पछि राम्ररी नियाल्दा

चिसो खण्डहरमा एक धर्का काँचो रगत उम्लिरहेको थियो

मैले आकाश नियालेँ

आकाश झन् अँध्यारो लाग्यो

सम्झेँ अझै पर्खनुपर्छ

अझै दुई दिन पर्खनुपर्छ

अझै दुई दिन पर्खनुपर्छ (रूपरेखा २११)

जीवन थिङका प्रवासी भावधारा अति नै रसिला मर्मज्ञ तथा जीवनबोधित छन् र जीवनका उन्मुक्त परिकाल्पनिक प्रतिकृतिलाई बोक्नु उनको विशेषता हो । गद्यात्मकताभित्र ओसिलोपनाको सशक्त रूपी काँचुलीजस्तै जीवन हुन् भने गिरीको कलम दृश्यविम्बमा आफैं बिलाउँछ, पातलो र फितलो बन्छ । परिपक्वता र प्रौढताका छनक तथा उल्लेखनीय वैशिष्ट्यता उनीमा छैन र पनि जीवन थायमरुको वृद्धि यौटा उपहार हुन सक्थ्यो हामीमा । यसो भन्दैमा सम्पूर्णतः वानीराको कलम प्रतिभा अशक्त छ भन्न खोजिएको चाहीँ हैन । ‘तरखर’ कविताजस्ता जीवनका बाध्यता र विवशता बोक्ने गिरीका कवितालाई अकविता भन्न खोजिएको होइन, तर जीवनको मार्ग प्रदेशनमा किन शिथिलता छ उनको कमजोरी या फितलता यही रहन्छ । हो मान्छे, विवशताको स्वाद र विवशताको जिउने अभिनयमा अभिनित छ, रिक्त र विलुप्त छ । उन्मुक्तताका परिधानहरू उसका जैवनिक सँघार घच्घच्याउन आउँदैनन्– खाली खाली चिल उड्ने आकाशभरि चिलका बाटा छन् । वायुमण्डलभरि, अन्तरिक्षभरि, आकाश पनि निराशाको अवकाशबन्न सक्दैनन् । विवशताको आकाशमा न मधुरताको कोइली नै कुर्लन्छ त्यही गिद्ध र बाजको शिकारमा पर्न खोजेका मलेवा र गौँथली आच्छु आच्छुमा लखेटिएका धीमा प्रतिविम्ब धरतीमुनि आकाशले फेंक्छ । फेंकाइमा परिणत भएका छन् । जीवन पाश्र्वित भएका छन् । सार्थकताका पाठ र रिक्त विरही भएका छन् जिजीविषाका परिध्येयहरू, तर पनि गौँथली मार्ने जमर्कोमा पौथ्यित गिद्ध र चिलको निर्मम युद्ध भाचिन्छ र गौँथली बाँच्छ गिद्ध, चिल खस्छ वा बाँडचुँड सम्झौता चल्छ, गौँथली लुटिन्छ । त्यसैले वानीराका सृष्टिका सारा लय र तरङ्ग चुडिन्छ तर वानीराको लाक्षणिकता भने निकै माथिल्लो छ । लक्षणिकीवादमा सम्पूर्णजसो कविता प्रवाहित भएका छन् र सम्पूर्णताको आत्मा उन्मुक्तताको खोजीमा चल्छ । के जड, के चेतन, के उत्कृष्ट, के अपकृष्ट वा निकृष्ट सबैतिर चैतन्यताका उन्मुक्ति,भावबाट सृष्टिका चुँडिएका लय र तरङ्ग स्थापना गर्ने धैर्य पनि गिरीमा छ, तर नैसर्गिकता उत्रिएको छ, वानीरा उत्रिएकी छिन् आफ्नै कवितामा आफैं यो स्पष्ट छ । हुन त प्रभाव पर्छ, उसलाई उसका जवानी उन्मुक्तता र विदीर्णताले तर पनि विदीर्णताको पक्षमा आंशिक छ कविता । न प्रकृतिमा वा भावनात्मकता भित्र तर थोरै प्रकृति गुन्थीहरूसमेत उत्रिएका छन् भने जीवनको निकृष्ट पक्षप्रति गरेको आध्यात– प्रतिधानलाई ठूलो सफलता दिन नसके पनि सफलताका चिह्न हुन भनिइनुपर्छ । सम्पूर्ण क्रिया पूर्वको सोचाइमा मात्र कार्य कुशलता र साफल्यता मिल्दछ । भाग्यमा विलाप्ने परम्परामा थिग्रिएका यौवन– यौवनामा सुनगाभालाई सन्देश छ उनको ।

सुनगाभा

एकपल्ट सुन

सारा फल फूलदायी

पूर्ण सौन्दर्य र यौवन प्राप्त तरुहरूबाट मुठो फर्काइ

बञ्जर बाँझको काया नै रोज्नु

धरमर धरमर गर्ने

राले सिँगाने भाग्य नाम गरेको बुढासित

लगनगाँठो गाँस्नु

खस्रो खास तिम्रो मूर्खता होइन त?

वानीरा घोच्छिन् युगलाई र घोचिन्छिन् युगवाट । हो लुटिन सक्छ पोखिएका अनुरक्तित आमाका उन्मुक्त सुस्केराहरू कसैको हात बीचैमा परेर । धमाधम स्वतन्त्रताको विनियम चल्न सक्छ । सारा विपरीतार्थक मानवताका लागि चल्ने प्रतिक्रियाले पुरानो टकमा खिया लाग्नाले प्रतिस्पर्धा गर्न नयाँ चहकिला चिल्ला टकसित नसकेजस्तै पारम्परिकताका प्रगाढतम विपरीतताहरूले पूर्णित ती भावनाहरूको ठूलो विकासमा मानवीय करुणा कारुणिक प्रहल– विहलमा छ । प्रतिभाका ढिक्केदार व्यक्तिभरि पनि मानवता पलाउन थाल्छ र उसको केन्द्रस्थ भावना त्यसैको खोजीमा बन्छ । मानवीय सुख, शान्तिको खोजीमा बाटाहरू बनिदिन्छन्् तर इतिहासले लछारपछार पार्छ । तिनीहरूलाई र आलोचना विक्रीका वानीराभित्र चित्र कोरिइन थाल्छ

कहाँ ती चाँपका फूलहरू

कहाँ ती आँखाका सुगन्धहरू

दुइटा सुरुङ बन्दछन् आँखाहरू

फगत दुइटा सुरुङ

अश्लीलता  र पाशविकता

ओहोर–दोहोर गर्ने सुरुङहरू

नग्नता र बर्बरता

पेलापेल गर्ने सुरुङहरू

काम र भोगहरू

सगबगाउने सुरुङहरू

रोग पीप र रगतहरू

बगिरहने सुरुङहरू

अभिशाप र आत्मघातका तलवारहरू

आपस्तमा जुधिरहने व्यस्त र अभ्यस्त सुरुङहरू

हो, व्यङ्ग्यात्मकताभित्र समाजको आर्तनादलाई दरिलो पारामा उतारिएको हुन्छ । त्यही उतराइ एक अर्थमा केवल विनोद हो । व्यङ्ग्यको अर्कोमा त्यो त्यही हो समाजको विकारलाई चुनौती र विकराकलाई चुनौती । चुनौती पनि समाजको साफल्सरेखा कोर्ने काममा प्रत्युक्त गर्न सकिन्छ । उपादेयताका लागि रटाउन सकिन्छ । युवा नवोदित मञ्जु काँचुलीजस्तै चित्रण पक्रियामा कतै कतै लेखिका वानीरा देखा पर्छिन् । जीवनप्रतिको सापेक्ष्यता र निरपेक्ष्यतालाई परिगेल्ने काममा अति नै निपुण देखिएकी वानीरा शैल्पिकता कलाकारिताको दृष्टिमा गद्यबाट पर पृथकिएकी छन् । त्यही नै हो वानीराको विशेषता । विशेषतात्मक परिधिभित्र वानीरालाई अठ्याउन खोज्दा युगको भयावरता उतार्न कवि मञ्जु काँचुलीको जस्तै उन्मुखतामा देखा परेकी पाउन सकिन्छ । शैलीमा मौलिकता वानीरामा पाइन्छ । भलै कि शैलीकारिकता प्रत्युक्त शैली नहोस् भने विचारमा वानीरा झैँ काँचुलीको एकात्म्यता छ, तर वानीरा अस्पष्ट अँध्यारो र शाब्दिक सुयोजनमा छन् भने त्यै हुँदाहुँदै पनि काँचुलीको यो प्रवलतामा वैशिष्ट्यताको पृथक् प्रयुक्तता छ ।

वास्तवमा आजको विश्व अन्धाधुन्दमा रुमल्लिएको छ । रुमल्याइँबाट उकास्नु पनि त हो कर्तव्य कविको जसरी थिङ र काँचुलीको कलमले धैर्य र चिन्तन देखाउँछ तर गिरीमा चिन्तन अति थोरै छ, विचार पनि धमिला छन् । लाग्छ साहित्य साहित्यका लागि लेखिन गयो वा कर प्रलोभन वा ईष्र्याले ।

काइँलाको पाइलाले विशाल सडकमा कुल्चन पाउनुपर्छ भने झैँ वानीरा पनि धरतीका पाइला आकाशभरी ओच्छिइन सकुन् भन्ने पक्षमा टड्कारिएकी छिन् । व्यक्तिले जिउने अधिकार माग्छ त तिनै अधिकारको उपभोगमा जीवन जिइन्छ । त्यही नै जैवनिक आनन्द प्राप्त हुन्छ । प्राप्तमा हार हुनु युगीन विशेषता भएको हो जुन गिरीले देखाएकी छिन् र आउने दिनहरूमा वाग्मतीको पवित्रतालाई त्यसै त्यसै पवित्रतामा राख्न यौटा मञ्जुश्रीको माग गर्छिन् जसले वरदा र मोक्षताको प्रयोगमा आणविकी खुस्बुको रागहरू पखाल्दै नव सिर्जना फैलाउन सकोस् वा शान्तिका उच्छालहरू तरङ्गाउने वानीराको मुक्तकण्ठ कलवर राग हो । वानीरा शान्तिप्रति आकृष्ट तर उन्मुक्तताकी स्वच्छान्दिक धावक हुन् । जुन धावनमार्गको वेग विनोद अश्रुमालीमा पनि आएको छ । विनोद अश्रुमालीको काव्यिक प्रक्रिया र शैल्पिकता वानीराको भन्दा पृथकतामा पाइन्छ र पनि सारगर्भ यौटै बोकेको छ, बरु काँचुलीको विचारको भने आंशिकता केवल पाइन्छ वानीरामा । काँचुलीको अत्याधुनिकता त नेपाली कविताका लागि नै पुरानो आध्यात्मिकता र प्रयोजनको विरुद्ध लाइएको युद्धको उपज हो । जुन दार्शनिकतामा पनि प्रवेष्टित छ, तर वानीराको भावना अत्याधुनिक विम्ब विधानको अनुभूतिपछि उनी आफैंले गरेको हिजो र पर्सिको युद्ध र युद्धमा हार जितको सवाल नभै केवल युद्धपोस्ट नै विहीन र सैनिक ढिहितामा रहेको उपज हो । जुन उराठिलो र बेउत्तेजक हुन्छ, नमीठो र छोक्रे हुन्छ, मह नभएको घारजस्तै ।

कसरी जन्म शताब्दीको चिहानबाट उम्रिन्छ

कसरी हिँड्दाहिँड्दै जोडेको बाटो फाट्छ

कसरी आकाशमा अपरिचित्र आला बिउहरू

काला रातको राक्षसी दाह्राले चपाइन्छन् ।

गनेको समय पनि गन्दागन्दै औंलामा बिलाउँछन् जस्ता काँचुलीका गद्य प्रवाहको क्षणिकता भने जीवन थायमक नामक कविता टुक्राले दिन्छ । यस सङ्ग्रहकै यो उत्कृष्ट कविता हो र जैवनिकता कोट्याउने काममा धुरन्धारित छ । बुद्धको मार्गमा कविताको मुटु छ । हो जतासुकै आदर्शता र नीचताको युद्ध छ, दानवता र मानवताको । मातृत्वका पाठहरू छैनन् । तिनै पाठहरूलाई वानीराको कलमले उतारेको छ । सीप हिप्पी बनी सके बुद्धको शक्ति छैन, र विनामियाको दाइँलाई हामीले सहारा दिन नसक्ने परिहलमा छौँ– त्यसैले त जीवनका उराठलाग्दा गीतहरू भनिदिन्छिन् गिरी–

यो मान्छे नाम भएको जन्तुलाई

पहाडले आकाशको नीलिमासित

आफ्नो शुष्कतालाई साटेको छ

नदीले रहरलाग्दा लहरहरूसित

फर्मोलाग्दो गतिमयतालाई साटेको छ

कुक्कुले बनेको जङ्गली आकर्षणसित

आफ्नो मोहनी आवाज साटेकी छ

पतर्नीले रूपमा र पैसासित

आफ्ना बासी यौनाङ्गहरू साटेकी छ

वाटर एक्सचेन्जबाट सुरु भएको यो साटासाट

सामाजिक चक्रको अनन्त प्रकृया

यसको विच्छेदमा

बीभत्स मृत्यु भएर

कुरूप मृत्यु भएर

उजाड विधवा भएर

कहाली लाग्दो भीर भएर

यौटा सत्य पसारिन्छ, फैलिन्छ, तन्किन्छ र बरालिन्छ

+     +     +     +

भोग्नुपर्ने यौटा ओहोरी दोहोरी

विश्रामगृहको पूर्वस्मृति

बाालजु डाँडा स्थित त्यही पूर्वस्मृतिको

भित्ता भित्तामा कोरिएका

अल्लारे प्रेमी प्रेमिकाका

किरिङ मिरिङ हस्ताक्षरमध्ये

कोरिन लागेको यौटा धमिलो धमिलो हस्ताक्षर

प्रथम प्रेमपत्रको अच्कल्चो झझल्को

+     +     +     +     +

छोपिनुपर्ने अङग नछोपिएका भागहरूसितको बलात्कार ।

कविता जीवनदेखि टाढा रहनुहुँदैन । वानीराका सबैजसो अपरिपक्क भावनाहरू सामाजिक विधि विधानताका बाध्यता उच्छेल्ने खालका छन् । जीवनलाई आधार बनाई कारुणिकताको प्रस्रवण सञ्चार गराउने हेतुको यो कवितासङग्रह सम्पूर्णतः समस्याको गुठुल्की– बाध्यताको व्याख्या हो । लेखकीयताको अधकल्चा परिवेशहरूको कवितालाई गुणात्मक कोटीमा प्रवेश गराउन सकिँदैन । सामाजिक कुरीतिहरू स्पष्टतः नबताइएको छैन, सोको सन्मार्गमा नदेखाइनु वा देखाउन नसक्नु काव्यकारीको असफलता हो र आलोचनात्मक दृष्टिमा तल्लीनता लेखनीमा रहेमा वानीराका कवितात्मक अनुभूतिले बेगल मोड र बेगल परिवेश पाउन सक्ने । यदि समाधानलाई नपछ्याउने हो भने आजको बीसौँ शताब्दीको अन्त्यमा हाम्रो कवितेयुग कता अल्झिने, यो काव्यकारीलाई प्रश्नात्मक चिह्न । जेहोस् शैल्पिक अश्लीलता र अस्पष्टताको काव्यमा ठाउँ ओगट्न सकेको छैन भने भावनात्मक संरचना अनुसारको प्रवाहात्मकता पनि पाइन्छ बरु भावनामै अल्पकता रह्यो । कलाकारिता पूर्ण लेखकीयता नभए पनि जुन साधारणमा अप्रियतम नै ठहर्छ यी विसङ्गतिका धर्साहरू भने कविताले कुनै पनि नौलो वैशिष्ट्यता ओगट्न सकेको छैन । जसले विकासवादको नियमलाई वास्तै गरेको छैन । साहित्यकार पोषण पाण्डेमा जस्तै भावनात्मकता वानीरामा पाइन्छ भने अर्को विशेषता यौनात्मकता पनि गिरीको काव्यात्मकता हो । अन्ततः नवोदित अशेष मल्ल, दिनेश अधिकारी, केशव आचार्य तथा दोषी सिवाकोटीलाई वानीराको लेखकीयताले उछिन्न सफल छ, नौलो रसास्वादन नभए पनि । साथै परिवर्तनशील जीवनचक्र र जसमा भेटिइने विसङ्गति विडम्बना सुख, दुःख, आतुरी, चार्ययिकता प्रगतिका सूक्ष्माणु सूक्ष्म भावनासम्म भने यसमा भेटिन्छ ।

वानीरा गिरीले कविता सिर्जनामा जैवनिक पाशविकताका अप्रत्यक्ष र सूक्ष्म प्रवाहसम्म खोतल्ने जुन कलात्मक प्रयास गरेकी छिन् त्यसले नेपाली साहित्यको कविता विधामा अर्काे एउटा विशेषता थपेको आभास हुन्छ । सबै जिजीविषाभित्रका सग्ला धमिला मानसिकताका चपेटा सबैमा पर्न सक्छन् । वानीरामा जस्तै उन्मुक्तिका स्वरहरू कला-कविताबाट नै निस्कन्छन् भने त्यसले सफल कलाको रूप ग्रहण गर्दछ । यो एउटा अभियान थियो र सफल अभियान, त्यसैले त वानीरा गिरीलाई जैवनिक पाशविकताको विद्रोहको कविको रूपमा अमर हुनेगरी चिनायो  ।