गुरुप्रसाद मैनालीले प्रारम्भ गरेको आधुनिक नेपाली सामाजिक कथा लेखन परम्परामा विश्वेश्वरप्रसाद कोइरालाको मनोवैज्ञानिकता, पुष्कर शमशेरको तार्किकता, समको दार्शनिकताजस्ता कथाका विविध प्रकृति र प्रवृत्तिले प्रथम प्रहरमै कथाले आफ्नो सुन्दर स्वरूप प्रस्तुत गर्यो ।
तत्पश्चात् भवानी भिक्षुजस्ता प्रखर बौद्धिक कथाकार बिपीको मनोवैज्ञानिक धारमा सशक्त रूपमा उभिए । गोविन्द गोठाले र विजय मल्लका नेवारी समाज र संस्कृतिका सुन्दर विश्लेषणले कथा अरू विकसित हुँदै गयो ।
रमेश विकल गरिब, दुखी शोषित, पीडितका व्यथालाई कथात्मक बान्की दिंदै शोषक, सामन्ती, मुखिया, ठालुहरूका विरुद्धमा उभिएर सङ्ख्यात्मक र गुणात्मकतामा बेजोड देखिए । ध्रुवचन्द्र गौतम प्रयोगमा रमाए ।
पारिजात, प्रेमा शाहहरू शून्यवादी दर्शन लिंदै कथा सिर्जनामा देखा परे । परशु प्रधान, नरेन्द्रराज पौडेल, सनत रेग्मी, भाउपन्थी, माया ठकुरी, विजय चालिसे र सरुभक्तहरू कथामा निरन्तर लागिरहे ।
आज कथाले विभिन्न डङ्ग र ढाँचामा विविध स्वरूप देखाउँदै गएको छ । कथामा विभिन्न उत्साही स्वरहरू लिएर थुप्रै कथाकारहरू आएका छन् । यसै परम्परामा शेखर ढुंगेल पनि उभिन आइपुग्छन्
विद्यालय अध्ययन क्रममै साहित्य सिर्जनामा रमाएका शेखर ढुंगेल बहुविधाका सर्जकका रूपमा परिचित छन् । सन् २००८ मा शेखरका ‘सय कविता’ उनको प्रथम प्रकाशित कृति हो । संस्मरण, गीत, नियात्रा र समसामयिक लेखहरूमा समेत उनी सक्रिय रहेका छन् ।

जात
वि.सं. २०७९ मा उनी ‘जात’ कथासङ्ग्रह लिएर पाठक सामु उपस्थित भएका छन् । यसपूर्व उनको ‘क्षितिजपारिको सपना’ कथाकृति प्रकाशित भैसकेको हो । पहिलो कथाकै मूल्य, मान्यता, परम्परा र प्रवृत्तिलाई यस कथासङ्ग्रहमा निरन्तरता दिएका छन् उनले । कथाकारले समाज, परिवेश र समयका घटना, परिघटनालाई कलात्मक स्वरूप दिएर कथा सिर्जना गर्नुपर्ने हुन्छ । कोरा कल्पना र घटना वर्णनले मात्र कथाले स्वरूप ग्रहण गर्न सक्दैन । यसमा कथाकार अत्यन्त सचेत रहनु पर्ने आवश्यकता रहन्छ ।
‘जात’ भित्र समाविष्ट कथाहरू समाजका विविध विषयमा उभिएका देखिन्छन् । यसको पहिलो कथा ‘शर्तविहीन एउटा सम्बन्ध’ रहेको छ । आधुनिक शहरिया उच्च खान्दानीया परिवारकी महिला र अर्को एउटा पुरुष पात्रलाई उभ्याएर महिला र पुरुषमा देखिएको स्वतन्त्रताका नाममा स्वच्छन्द प्रवृत्ति यसमा देखाइएको छ । किरण र रिमा दुवै विवाहित छन् । सामाजिक, पारिवारिक र नैतिक लक्ष्मणरेखालाई पार गर्दै उनीहरू विभिन्न होटेल, रेस्टुरेन्टहरू चहार्छन् । आफ्ना मनका कुराहरू आपसमा बताउँछन् र मन हलुका बनाउने प्रयत्न गर्छन् । उनीहरू एक अर्कालाई मन पराउँछन्, गोप्य रूपमा समर्पण गर्न पुग्छन् । कथामा आजको शहरिया जीवनको यथार्थ बिम्ब उतारिएको छ ।
‘अर्लम’ अमेरिकी जीवनको कथा हो । मिसिनसरि काममा व्यस्त रहनु पर्ने मानिसको व्यथा पनि हो । आनन्दसित निन्द्रामा रमाउन पनि नपाउने समाजको चित्रण हो । सपनाको देश अमेरिकाको वास्तविक जीवन कथा पनि हो । सपनामा लाखौं डलर चिट्ठा परेको पात्र त्यो पैसा के गर्ने कसो गर्ने भन्ने योजना बनाउँछ । नेपाललाई विश्वकै विकसित देश बनाउने योजना बनाउँछ । नेपालमा दल खोल्ने सारा चमत्कार देखाउने बिचार गर्दा गर्दै ऊ ब्युँझन्छ । ब्युँझँदा अफिस जान ढिला भएको, सबैतिर बुझाउनु पर्ने रकमले उसलाई पिरोल्छ । कथाको पात्र किरण नेपाली हो । आधुनिकतामा रमाउन ऊ अमेरिका भासिएको छ । तै पनि उसलाई स्वदेशप्रति अगाध माया छ । देश बिग्रँदै गएकोमा अत्यन्त चिन्ता छ । छिमेकीहरूले नेपाललाई हेपेकोप्रति आक्रोश छ । यसमा विदेशमा पिल्सिएको परदेशी मनको चित्रण गरिएको छ । अमेरिकाको र नेपालको वास्तविकतालाई देखाउँदै देश कतातिर गैरहेको छ ? भन्ने भावनालाई देखाउने प्रयत्न गरिएको छ ।
‘मेसी’ मा जनावरप्रेम देखाइएको छ । पशु अधिकारवादीका रूपमा कथाकार यहाँ उभिएका छन् । अमेरिकामा मुसो, बिरालो, कुकुर जस्ता पशुहरूलाई परिवारका सदस्य जस्तै अत्यन्त माया गर्ने परम्परालाई देखाउनु नै यस कथाको मूल उद्देश्य हो । मेसी अर्थात् मुसो परिवारका सदस्य जस्तै छ । नेपालमा भने मुसालाई लखेट्ने मार्ने र दुस्मन जस्तै रूपमा हेरिन्छ भनेर नेपालमा पशुहरू प्रति गरिने व्यवहारको विरोध पनि गरिएको छ । दुई वर्ष दुई महिना परिवारका सदस्य जस्तै भएको मुसा मर्दा कथाकार अत्यन्त भावुक बनेका छन् । कथामा मानिसहरूमा हुने तेरो, मेरो, धर्म, भाषा, देश, आफन्त दुस्मन भन्ने नजिक र टाढा देख्ने प्रवृत्तिमा कथाले विरोध जनाएको छ । सृष्टिकर्ताले जात, धर्म र देश भनेर नछुट्याएको यो मानिसको स्वार्थमा आएका मात्र हुन् भन्ने उनको भनाइ रहेको छ । त्यस्तै मानिसभन्दा ठूलो संख्यामा रहेको जीव जन्तु र चराचरको अस्तित्व छायामा पार्न नहुने कुरामा कथाले जोडदार आवाज उठाएको देखिन्छ ।
नेपाली समाजमा जातीय विभेद शदियौंदेखि जरो गाडेर रहेको छ । दलितहरूलाई काम लगाउने उनीहरूका कर्मले सिर्जित कपडा, हतियार, ज्यावल र जुत्ताहरू शुद्ध हुने तर उनीहरू सँधै अछुत रहने परम्पराको विरोध गर्दै मानिसले मानिसलाई यसरी विभेद गर्न हुँदैन भन्ने भाव कथामा रहेको छ । सिद्धान्त र व्यवहारमा आकाश जमिन फरक छ । अरूलाई आदर्शका गफ छाँट्ने, मानवताको पाठ पढाउने र जातीय विभेदको विरोध गर्ने नै आफूलाई परेपछि कसरी आत्तिन्छन् भन्ने सन्दर्भ कथामा देखाइएको छ । बीस वर्षसम्म शिक्षक भएर सबैलाई जातीय विभेदको अन्त्य हुनुपर्छ भन्ने पण्डित जगन्नाथ आफ्नी एक मात्र छोरीले विदेशमा गाउँकै रोहित विश्वकर्माको शिक्षित छोरासँग प्रेममा परेपछि पण्डितले आत्महत्या गर्न खोजेको प्रसङ्ग ल्याएर उनी र उनकी पत्नी कल्याणीदेवीलाई गाउँलेले सम्झाएर धुमधामासित विवाह सम्पन्न गरेको प्रसङ्ग रोचक छ । समाजमा जातीय विभेद अन्त्य समेत कथामा गराइएको छ । दमै, कामी, सार्की, तामाङ, सबै मिलेर विवाह सुसम्पन्न गर्नु सामाजिक सद्भाव हो, प्रगतिशील बिचार हो । कथामा यही कुरा देखाइएको छ । यही कथालाई प्राथमिकता दिएर पुस्तकको शीर्षक नै राखिएको छ ।
धेरैको इच्छा सपनाको देश अमेरिका रहेको छ । अनेक उपायबाट अमेरिका जाने र उतै भास्सिने परम्परा छ । शेखर ढुंगेल पनि जीवन वृत्तिका लागि सत्य सेवा संरक्षणको सेवामा समर्पित थिए । उनले पनि अमेरिकाको सपना देखे । उतै बसोबास गरे । अमेरिकी जीवनमा उनले देखेका, भोगेका अनुभव र अनुभूतिलाई सिर्जनामा उतारे । ‘जुनेलीलाई डी.भी’ यस्तै कथा हो । डी. भी परेर अमेरिकामा बस्नु पर्दाको व्यथा र छटपटी हो । यो मार्मिक कथा हो । नेपाली समाजमा डी.भी परेपछि भुइँमा खुट्टा नरहने र उता गएपछि घण्टौं काममा जोतिनु पर्ने, यसबाट पनि सन्तुष्टि नहुने यथार्थलाई यसमा देखाइएको छ । नेपालमा सजिलैसित जीवन चलाइरहेका जुनेली र बिख्र्रेको डी.भी.परेपछिको समस्या नै यो कथा हो । यो, यी र यस्तै पात्रहरूको जीवन भोगाइ हो । जति सपना सजाएर गएपनि अमेरिकन जीवनमा अभ्यस्त भएपछिको कथा पनि यहाँ पाइन्छ । मान्छेको परिवर्तित चरित्रको चिरण पनि स्पष्ट गरी झल्केको छ यस कथामा ।
‘स्वतन्त्रताको आँसु’ व्यङ्ग्यात्मक कथा हो । स्वतन्त्रताका नाममा देखिएका विकृति, विसङ्गति नै कथाको मूल भाव हो । स्वतन्त्रताका नाममा स्वच्छन्द भएर हिंड्ने परम्पराको यहाँ व्यङ्ग्य गरिएको छ । माई बडी माइ राइटले समस्यै समस्या देखिएको घरमा समाजमा यसले विकृति देखिएको सन्दर्भ ल्याउँदै यसबाट बच्न स्वतन्त्रताको नाममा पारिवारिक सामाजिक लक्ष्मणरेखा नाघ्न हुँदैन भन्ने कथाकारको भनाइ रहेको छ ।
‘कालो छाया’ बिदेसिने नेपालीहरूको कथा हो । नेपालका सुन्दर गाउँका घर वृद्धाश्रममा परिणत भएका छन् । खेतबारी सबै बाँझो छन् । गाउँमा लास उठाउन मलामी समेत पाइँदैन । नेपालका शैक्षिक प्रतिष्ठानहरू समेत विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । बिदेसिने प्रवृत्तिले पारिवारिक विचलन समेत विकराल भएर उभिएको छ । बिदेसिने समस्याले नेपाली समाज पहिलेको जस्तो सहयोगी र सद्भावमा नरहेको, नेपालीको सामाजिक अस्तित्व नै खतरामा पर्न सक्ने कथाकारको भनाइ रहेको छ ।
‘दोश्री आमा’ समाजमा विद्यमान वेश्या परम्परामा उभिएको कथा हो । वेश्यालाई समाजमा हेप्ने, दपेट्ने र उपेक्षा गर्ने परम्पराको कथाकारले जोडदार विरोध गरेका छन् । देवताका पालादेखि नै चल्दै आएको वेश्या प्रथा आजको आवश्यकता हो भन्ने भनाइ उनको छ । पुरुष विना नारी एक्लै वेश्या हुन नसक्ने हुँदा वेश्यालाई नकारात्मक रूपमा हेर्न नहुने तर्क उनको छ । विकसित देशहरूले समेत मान्यता दिइसकेको वेश्याहरूले धेरैलाई आत्महत्याबाट बचाएको र रोजगारीको माध्यम समेत भएकाले अब समयसँगै महिला मात्र होइन पुरुष वेश्या पनि बन्दै गएको विश्वमा महिलाभन्दा पुरुष कम भएकोले भविष्यमा पुरुष वेश्या समेत रहन्छ भन्ने सन्दर्भ ल्याउँदै वेश्यालाई अर्की आमा भनेर वेश्याप्रथाको पक्षधरका रूपमा आफूलाई उभ्याएका छन् कथाकारले ।
‘हाम्रो मुखिया’ मा लोकतान्त्रिक स्थानीय सरकार प्रमुख गफाडी, अयोग्य र तीन कौडीका भएको कुरा उल्लेख गरिएको छ । सबैसित गफले ठीकठाक पार्ने व्यक्ति नै गाउँका हर्ताकर्ता भएको सन्दर्भ रोचक लाग्छ । महिलासित, युवासित, वालकसित र वृद्धसित समेत गफ गर्ने, काम नगर्ने प्रवृत्ति भएका व्यक्ति गाउँका प्रमुख भएपछि त्यहाँको अवस्था कस्तो होला ? कथामा चिन्ता व्यक्त गरिएको छ ।
‘मृत्यु संवाद’ रमाइलो कथा हो । मृतक ब्युँझिएको कुरा यसमा छ । गाउँले र परिवार समेत सबै जम्मा भएर मृतकको वरिपरि बस्दा मृतक ब्युँझिएको अवधि नपुग्दै आफू मृत्यु अवस्थामा पुगेको तथा यमराजको कृपाले पुनः संसारमा फर्किएको प्रसङ्ग निकै रमाइलो लाग्छ । म्याद नसकिंदै यमलोक पुगेकोमा पुनः जीवन पाएको कथा यहाँ वर्णित छ । नेपालमा वातावरण प्रदूषण र अनेक अखाद्य विषादीले अकालमै अनेक रोगले मानिसले ज्यान गुमाउनु परेको यथार्थ कथाले उजागर गरेको छ ।
‘पर्खी बस् आमा’ मा बिदेसिएको एक युवकको अन्तर मर्म छ । बिदेसिएका मानिसहरूको पीडा, दुःख, मर्म र व्यथा नै यसको कथा हो । गरिबीले, द्वन्द्वले र देखासिकीले बिदेसिनु परेको, विदेशमा पनि सुख नभएको सन्दर्भ कथामा छ । यसमा कल्पनाको उडान छैन । यथार्थको धरातल देखिन्छ । आमाको एक्लोपन, बिदेसिएकाहरूको विदेशी रमझम र रमाइलोमा पनि रम्न असमर्थ मनको यथार्थ चित्रण छ ।
‘वैराग’ पनि मार्मिक कथा हो । शिक्षित भएर योग्य बन्दा पनि रोजगारी पाउन नसकेको युवकको मर्म र व्यथा नै कथाको मूल भाव हो । केवल योग्यताको प्रमाणपत्र थियो, काम थिएन । कुनै व्यवसाय सञ्चालन गर्न आफूसित आर्थिक अवस्था थिएन । आफन्तहरूलाई अनुनय विनय गर्दा कसैबाट पनि सहयोग नमिलेपछि यहाँको पात्र किरणमा वैराग्य उत्पन्न हुन्छ । आफ्नी ममतामयी आमा, प्रेयसी र आफ्ना मुटुका टुक्रा बालकहरूलाई छोडेर ऊ लगाम लगाइएको घोडा झैँ गन्तव्यहीन यात्रामा गयो । किरण एउटा प्रतिनिधि पात्र हो ।
नेपाली समाज यसरी दैनिक जसो बिदेसिएका युवकहरूको यथार्थ चित्रण हो । अदृश्य पीडा पनि अमेरिका गएका नेपाली महिलाले भोग्नुपरेको दुःख पीडा र समस्यामा देखिएको छ । कोही कागजी विवाह गरेर जाने उहाँ पुगेपछि भाषाको समस्याले भनेजस्तो काम नपाउने, आफूले विश्वास गरेको व्यक्तिबाट नै आफू प्रताडित हुनुपर्ने र ऋणको समस्याले थिचिने, उता नेपालबाट परिवारले यो महिना कति पैसा पठाउने भनेर प्रश्न गर्ने तर यता कस्तो छ ? दुःख समस्या के छ ? भनेर नसोध्ने जस्ता परिस्थिति अमेरिकामा रहेका कागजी विवाह गरेर गएका महिलाको समस्या एकातिर छ भने अर्कातिर अमेरिका जाने लोभमा तुरुन्तै मन्दिरमा गएर वैवाहिक सम्बन्धमा गाँसिने र भोलिपल्टै अमेरिका उड्ने, उता गएपछि पतिले पतिको जिम्मेवारी पूरा नगर्ने, अर्कै केटीसित रासलीला गर्ने, बच्चा पेटमा आउँदा पनि भ्रूणहत्या गराएर महिलाको आमा बन्ने अधिकारको हनन गर्ने कुरा यहाँ उजागर गरिएको छ । तुलसी र सुभद्रा यिनै अमेरिका गएका पीडित महिलाका प्रतिनिधि पात्र हुन् ।
‘जय होस् भ्रष्टाचारीको’ व्यङ्ग्य चेतले भरिएको कथा हो । भ्रष्टाचारले व्यापकता लिएपछि मात्र प्रहरी–प्रशासन, कानुन व्यवसायी, कालाबजारी, उद्योगी, व्यापारी, बिचौलिया एन.जी.ओ. आइ.एन.जी.ओ. सबैले काम पाउने कुरामा कथाकारको भनाइ रहेको छ । नेपालमा व्याप्त भ्रष्टाचारीप्रति कडा व्यङ्ग्य गरिएको छ । यसमा व्यक्तिका नामै किटेर उल्लेख गर्दा कथाको स्तरमा कमी हुन पुगेको देखिन्छ । कथाको मर्म र धर्मको सीमावार कायम हुन सकेको देखिंदैन ।
‘माटो’ मा माटो प्रेम देखाइएको छ । शरीरमा शक्ति र बर्कत हुँदा देश विदेश जता गए पनि दुःखमा आफ्नै देशको स्मरण हुन्छ । आफ्नै माटो काम लाग्छ भन्ने भाव कथामा रहेको छ र बिदेसिने परम्पराले सारा जमिन बाँझो हुने अब्बल बारी र तीन बाली लाग्ने खेत समेत बाँझिएर जङ्गलमा परिणत भएको वर्तमान परिस्थितिप्रति कथाले चिन्ता व्यक्त गरेको छ । विदेशमा समस्यै समस्यामा पिल्सिएर बस्नै नसक्ने अवस्था भए पनि अन्त्यमा यहाँको पात्र किरण आफ्नै बारीमा प्लास्टिक र बोराको छाप्रो बनाउँछ । गाउँलेहरूले छाप्रो भत्काएपछि मात्र उनीहरूले कथाको पात्र किरणलाई चिन्छन् र सहानुभूति देखाउँछन् । कथामा देशप्रेमको पवित्र भावनामा मुखरित भएको देखिन्छ ।
‘सपनाको प्रवेशद्वार’ पनि अमेरिका परिवेशको कथा हो । अमेरिकी जीवन सोचे जस्तो नभएको, यहाँ मिसिन जस्तै काममा जोतिनु पर्ने यथार्थ नै कथाको उद्देश्य हो । संसारकै मानिसहरूको मिश्रित सभ्यता र संस्कृतिले बनेको अमेरिका सबैको जीवनको सपना हुँदैछ । अमेरिका पुगेपछि काममा आएका व्यक्तिहरू कसैमा भाषिक समस्या, कसैमा प्राविधिक समस्याले गर्दा धेरैले काममा रहन नसकेको र उनीहरूले बीचमा काम छोडेको घटनाले कथाले यथार्थ बोलिरहेको छ ।
‘कुशे औंशी’ सन्तान भएर पनि सन्तान विहीन वा सहाराविहीन बन्न विवश व्यक्तिको यथार्थ कथा हो । छोरा छोरी युरोप, अमेरिका अस्ट्रेलियामा रमाएका छन् । तर यहाँ बाबु एक्लै छन् । सन्तानको भविष्य निर्माणमा कति काममा जोतियो, सुखद सपना देखियो तर आज एक्लोपन छ । बाबुको मुख हेर्ने दिनमा एक कल फोन पनि कतैबाट आउँदैन । आमाको कुरा सुनेर छोराछोरीले बाबुलाई वास्ता नगरेको सन्दर्भ यहाँ छ । कथामा पुरुष हिंसाका कुरा छन् । महाभारत, रामायण तथा अन्य धार्मिक ग्रन्थदेखि अहिलेसम्म पनि महिलाकै कारण पुरुष समस्यामा परेका छन् भन्ने कथाको भनाइ रहेको छ । लोग्नेलाई घुस खुवाउन उक्साएर जेल पठाउने, नाठो लिएर बस्ने आदि जस्ता अनेक पुरुष हिंसाका कुराहरूले कथामा पुरुष अधिकार नभएकोप्रति चिन्ता व्यक्त गरिएको छ ।
‘दुई सुटकेस पनि’ सन्तान भएर एक्लै बाँचिरहेकी आमाको मार्मिक कथा हो । सन्तानको भविष्य निर्माणमा आफ्ना सबै सम्पत्ति लगाएर सुन्दर भविष्यको सपना देखेकी एकल महिलालाई छोरीले सम्पत्तिको माग गर्दा आफूसँग केही नभएको बताएपछि छोरी साथीकोमा गएर बसेकीले उनको हृदय रुन्छ । सम्पत्तिको नाममा आफ्ना दुई सुटकेस मात्र भएकोले जीवनसित भाग्नु नै उत्तम उपाय सोच्दै उनी आत्महत्या गर्न विवश हुन्छिन् ।
यसरी कथाकारले समाजमा फैलिंदै गएको विकृति, विसङ्गति, असहयोगी भाव, आत्मकेन्द्रित हुँदै गएको परिवार, बाबु आमालाई गर्नुपर्ने कर्तव्यबाट पर पुगेको अहिलेको यथार्थलाई उजागर गरेका छन् । नेपालमा नीति निर्माताहरूको अकर्मण्यता, व्यक्तिगत स्वार्थमा हिंडिरहेका राजनीतिज्ञहरूको चरित्र, बिदेसिन बाध्य नेपाली युवाहरूको अवस्था, सपनाको देश अमेरिकामा बाँच्न गर्नुपर्ने सङ्घर्षको कथा, सामाजिक असमानता, जसरी पनि अमेरिकामा जाने र गैसकेपछि दलदलमा फस्ने यथार्थ छ । मानव अधिकारको वकालत गर्ने, अमेरिकामा समेत श्वेत र अश्वेतको सामाजिक विभेद पनि देखाइएको छ ।
बर्षौंदेखि जरा गाडेको नेपाली समाजको छुवाछुत प्रथा र त्यसमा सुधार हुनुपर्ने, मानिसले मानिसलाई कुनै पनि किसिमले हेप्न हुँदैन भन्ने सन्देश पनि कथाले प्रभावित गरेको छ । विवाह कुनै जातमा होइन आफ्नो रोजाइमा हुनुपर्ने भन्ने भनाई पनि यसमा रहेको छ । नेपालमा हुर्कंदै गएको भ्रष्टाचारको पनि कडा विरोध गरिएको छ । उनका कथामा प्रगतिवादी सोचाइ पनि देखा पर्छ । त्यस्तै देशप्रेमको पवित्र भावना पनि कथाले विषय बनाएको छ । स्वैरकल्पनाको सुन्दर चित्रण पनि रहेको छ ।
यति हुँदा हुँदै पनि कतिपय कथामा कथाकार स्वयम् बोलिरहेको देखिन्छ । कथा बुन्दा धेरै कुरामा सचेत हुनुपर्ने हुन्छ । उनका केही कथाहरू कथाको मर्म र धर्मको सीमामा देखिंदैनन् । कुनै कथा समसामयिक लेख जस्तो पनि देखिन्छ । कथामा वर्णन चाहिन्छ तर वर्णनले मात्र कथा हुँदैन । कुनै कथामा उनले व्यक्तिगत नाम समेत उल्लेख गरेको हुँदा कथामा धर्मको निर्वाह भएको देखिंदैन । एउटै कथाले दिइसकेको सन्देश धेरै कथामा आएर भावको पुनरावृत्ति भएको स्पष्ट रूपमा देख्न सकिन्छ । एउटै पात्र किरण धेरै कथामा मुख्य पात्रको रूपमा आउनु त्यत्ति स्वाभाविक देखिंदैन । कथा कलात्मक र काव्यात्मक भएमा कथाले अरू व्यापकता लिन पुग्छ ।
यस दृष्टिबाट हेर्दा कथाले त्यो उचाइ कायम गर्न भने सकेको छैन । यस्ता केही कमी कमजोरी देखिए पनि कथासङ्ग्रहले देखाएको देश काल, परिस्थिति र युगिन चेतनाका दृष्टिकोणबाट भने कथा उल्लेखनीय रहेको भने छंदै छ । नेपाली परिवेशमा मितिको प्रयोग गर्दा सन्लाई प्रयोग नगरेर ‘विसं’ को प्रयोग गरिएको भए बेस हुन्थ्यो । यसतर्फ कथाकारले ध्यान दिएको देखिंदैन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










