नेपाली साहित्यका विविध विधामा कलम चलाइरहनुहुने  बहुआयामिक स्रष्टा हुनुहुन्छ रुकु कार्की  । उहाँका कथा, कविता, बालसाहित्य, नियात्रा र निबन्धका हालसम्म १७ पुस्तक प्रकाशित छन् । उहाँका सिर्जना विभिन्न विधामा हुने गरेका भए पनि मूलतः संस्मरणात्मक निबन्ध लेखनमा उहाँको विशेष परिचय र प्रतिष्ठा स्थापित भएको छ ।

यस पूर्व उहाँको संस्मरणात्मक निबन्धमा ‘आफ्नै जीवन र अनुभूति’-२०६२ र ‘बन्धनबाट मुक्ति’ -२०७३ प्रकाशित छन् । ‘बन्धनबाट मुक्ति’ उहाँको चर्चित र पुरस्कृत निबन्धसङ्ग्रह हो । साहित्यकार रुकु कार्की साहित्यिक सिर्जना मात्र गर्नुहुन्न । उहाँले सर्जक, समाजसेवी र विद्यार्थीहरूलाई उत्प्रेरित गर्ने काम पनि गर्दै आइरहनुभएको छ ।

उहाँले साहित्य र समाजसेवाका अग्रणी नारीलाई प्रदान गर्ने गरी स्थापना गर्नुभएको आमाको नाममा स्थापित मायादेवी मातृभूमि पुरस्कार वि.सं.२०६६ देखि प्रदान गर्दै आउनुभएको छ । त्यस्तै बुवाआमाको नाममा स्थापना गर्नुभएको टीकादत्त- मायादेवी – कुलकुमारी साहित्यिक पुरस्कार वि.सं. २०७६ देखि प्रदान गर्दै आउनुभएको छ । त्यस्तै वि.सं.२०६८ देखि मकवानपुर जिल्लाका १२ वर्षसम्मका गरिब तथा जेहेन्दार चारजना विद्यार्थीहरूलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आउनुभएको छ । ललितपुरको बागडोलवासीमध्ये एसइइमा सर्वोकृष्ट अङ्क ल्याउने एकजना छात्र र एकजना छात्रालाई पनि पुरस्कार प्रदान गर्दै आउनुभएको छ ।

यसरी भाषा, साहित्य, शिक्षा र समाजसेवाका क्षेत्रमा निरन्तर सेवा गर्दै आउनुभएका साहित्यकार रुकु कार्कीको ‘जीवनका विविध आयाम’ निबन्धसङ्ग्रह प्रकाशित भएको छ । यसभित्र जीवन, सामाजिक परिवेश र आजको परिस्थितिका यथार्थपरक १८ वटा निबन्धहरू रहेका छन् ।

‘त्रिशूलीको कलकल र जन्मभूमिको माया’ निबन्धमा बाल्यकालीन रमाइला स्मृतिहरूमा रमाएको र अहिले गाउँघरमा विकासका नाममा हुने गरेका डोजर आतङ्कले दुःखी भएको सन्दर्भ छन् । नदीमा हुने गरेका दोहन र विसङ्गतिले गर्दा अहिले गाउँ जाँदा गाउँजस्तो नलाग्ने गरेको अनुभूति यस निबन्धमा रहेको छ । ‘युद्ध र युद्धकालीन अन्तर्पीडा’ ले द्वन्द्वकालमा भएका हत्या, हिंसा, अपहरण, चन्दा आतङ्क, सुरक्षाकर्मीहरूले बाटोबाटोमा चेकजाँचको नाममा दिने गरेको दुःखलाई यस निबन्धमा सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ ।

‘जीवन र मृत्युको सन्दर्भ’ निबन्धले बौद्धिक दर्शनलाई आत्मपरक शैलीमा प्रस्तुत गरिएको छ । निबन्धले जीवन, मृत्यु, आत्मा र पुनर्जन्मको बारेमा लेखकको विचार रहेको छ । ‘जीवन र साहित्य’ ले निबन्धकारको अतीतको ग्रामीण जीवनका दुखद दिनहरूको स्मरण गर्दै साहित्यले सुख र सन्तुष्टिले दिएको उल्लेख गरिएको छ ।

‘पशुपक्षीको जीवनलीला’ मा सुत्केरी बिरालोको मातृस्नेह, पीडा र घरमा आएका भँगेरासँगका अनुभूतिलाई यस निबन्धमा प्रकट गरिएको छ । ‘वरपीपल आलाप’ निबन्ध आफ्नो जीवनसँग तुलना गरिएको छ । ‘नारी अस्मिताकी उद्बोधक योगमाया’ मा समाज सुधारका लागि सामूहिक रूपमा प्राणाहुति दिने साहसिक विद्रोही योगमायाको जीवनी रहेको छ । राणा शासनको बेला भोजपुरकी निरक्षर योगमायाले समाजमा भएका विकृति र विसङ्गतिको अन्त्य गर्नका लागि राखिएका कुनै पनि माग पूरा नभएपछि आफूसहित ६८ जनाले अरुण नदीमा हामफालेर जलसमाधि लिएको बारेमा रहेको छ ।

‘थाहा चिन्तनका अभियन्ता : रुपचन्द्र’ ले ‘थाहा’ अभियानको व्याख्या गर्नुका साथै रुपचन्द्र विष्टको निर्भीक स्वभावको बारेमा जानकारी गराइएको छ । विष्टले सधैँ ठूला र सम्पन्नहरूको विरुद्धमा लागेर गरिब र मजदुरहरूको पक्षमा लागेको अभियान र आफूसँग भएका केही रोचक संस्मरण यस निबन्धमा रहेको छ ।

‘त्यो कालो दिन’मा वि.सं.२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प  र त्यसले पुर्‍याएको क्षति र स्थितिलाई तथ्य र अनुभूतिमा उतारिएको छ ।

‘मातृदेवो भव : पितृदेवो भव :’ ले आमाबाबुको आदर्श र महत्त्वलाई दर्शाएको छ । उनीहरूले आफ्ना सन्तानको उज्यालो सपनाका लागि दुःख कष्ट सहन्छन् । तर सन्तान सक्षम भएपछि वृद्धाश्रममा बाँकी दिन गनेर बस्नुपरेको दयनीय स्थितिको व्याख्याले निबन्ध मार्मिक बनेको छ ।

‘छाउपडी पीडा’ निबन्धमा परम्परा र संस्कारको नाममा हुने गरेको छाउपडीलाई घरेलु हिंसाको पराकाष्ठा भनिएको छ । महिलाको प्राकृतिक महिनावारी हुँदा एक्लै एकान्तमा बस्नुपर्ने कुसंस्कृति बनाइएको थियो र अहिले पनि कायमै छ । यही कारण निसास्सिएर मृत्यु हुने, सर्पले डसेर मृत्यु हुने, बलात्कारजस्ता घटना हुने गरेका छन् । यस्तो अमानवीय व्यवहारको विरोध गर्दै जागरणका लागि चेतना प्रवाह गर्ने प्रयास यस निबन्धमा रहेको छ ।

‘विभेदको भुमरीमा रुमल्लिएको समाज’ले यस्ता विभेदका परम्परा लिच्छवि कालमा सुरु भएको र मल्ल कालमा बढेको जानकारी निबन्धमा रहेको छ । समाजमा हेपिएका तल्लो जातका भनिएकालाई बस्ने व्यवस्था पनि अप्ठेरो ठाउँमा, काम पनि जोखिमयुक्त हुने गरेको उल्लेख रहेको छ । निबन्धकार आफैले आफ्नो घरपरिवारमा भोग्नुपरेको विभेदलाई पनि यस निबन्धमा समेटिएको छ ।

‘स्रष्टा, सिर्जना र मूल्याङ्कन’ निबन्धले स्रष्टाहरूको योगदानअनुसारको मूल्याङ्कन हुन नसकेको विषयलाई उठाएको छ । सिर्जनामार्फत समाजमा समानता र सचेतताको अभियानमा लाग्ने गरेको भए पनि पुस्तक प्रकाशनमा हुने गरेको समस्या र पुरस्कारमा हुने गरेको विकृतिलाई निबन्धले उजागर गरेको छ ।

‘वैदेशिक रोजगारीमा जानेहरूको पीडा’ले गरिबी र अभावका कारण वैदेशिक रोजगारीमा जान बाध्य भएकाहरूको पीडालाई निबन्धले तथ्यसहित उल्लेख गरिएको छ । विदेशमा काम गर्न जाने गरिब नेपालीहरूलाई पहिला देशमा र पछि विदेशमा कसरी शोषण गरिन्छ भन्ने जानकारी रहेको छ ।

‘धरापमा अस्मिता’मा पौराणिक कालदेखि महिलाहरू पीडित हुने गरेको उल्लेख छ । यौन हिंसा, लैङ्गिक विभेद, बालविवाह, बेचबिखन, घरेलुहिंसा, बलात्कारजस्ता अन्याय महिलाले भोग्नुपरेको दुखद स्थितिलाई निबन्धले प्रस्ट पारेको छ ।

‘असहनीय नारीपीडा : यौनहिंसा र दाइजो प्रथा’मा नारी भएकै कारण भोग्नुपरेका नियति, दाइजो प्रथाको विकृतिले हिंसा, जघन्य हत्या हुने गरेको विषमा निबन्ध रहेको छ ।

‘काठमाडौँ बसाइका दुईदशक’ निबन्धमा काठमाडौँमा घडेरी जोड्दादेखि घर बनाउँदासम्मको आर्थिक समस्याका साथै आफ्नो दैनिकी व्यवहारलाई समेटिएको छ ।

‘कोरोनाको सन्त्रास : मृत्युको उच्छवास’ वैश्विक महामारी कोरोनाका कारण संसारभरिका मानिसले पाएको दुःखलाई यसमा प्रकट गरिएको छ । लकडाउन, सङ्कटकालले गर्दा जनजीवन र अर्थतन्त्र अस्तव्यस्त भएको थियो । सङ्क्रमित र मृत्यु हुनेहरूको समाचारले गर्दा कोरोनामा मानिसहरूले निःशस्त्र युद्ध लड्नुपरेजस्तै भएको निबन्धको विषय बनेको छ ।

यस निबन्धसङ्ग्रहका निबन्धहरू विविध विषय र सन्दर्भका छन् । अधिकांश निबन्धहरू यथार्थ घटनामाथि आफ्नै शैलीमा संस्मरण गरिएका छन् । कतिपय निबन्धहरू साहित्यिक पत्रिकामा र केही विषयगत निबन्धहरू अखबारमा प्रकाशित भएका छन् ।

फलतः केही निबन्धहरू घटना, जानकारी र तथ्याङ्कपरक बनेका छन् । केही निबन्धले महिलामाथि हुने गरेका विभेद र शोषणका विपक्षमा वकालत गरेका छन् । कतिपय निबन्धका शीर्षक निकै लामा बनेका छन् । रत्न पुस्तक भण्डारले वि.सं.२०७९मा प्रकाशित गरेको यस निबन्धसङ्ग्रह २१६ पृष्ठको र रु ३९५ मूल्य राखिएको छ ।

निबन्धकार रुकु कार्कीले ‘जीवनका विविध आयाम’ निबन्धसङ्ग्रहमा आफू र आफ्नो जीवनका महत्त्वपूर्ण सन्दर्भलाई उठाउनुभएको छ । त्यस्तै उहाँले समाजमा भएका विभेद, छुवाछूत, अन्याय, शोषणका विरुद्धमा निबन्धमार्फत चर्को आवाज उठाउनुभएको छ ।

समानता र न्यायमुखी समाजको परिकल्पना गर्नुहुने निबन्धकार रुकु कार्कीको यस निबन्धसङ्ग्रहले समाज सुधारको सार्थक अभियानमा सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।