हरिकृष्ण प्राधिकरणको अध्यक्ष बने । यो बन्नुको कारण बताइरहनु पर्दै परेन । मेहनत पो सारो परेको थियो । चन्दा उठानदेखि फन्दाको चतुर्‍याइँ केके मात्र गरेनन् उनले । आजदेखि साँवा र ब्याज उठाउन पाउने भएका छन् ।

दुई वर्ष बित्यो । अचानक सरकार अविश्वासको प्रस्तावबाट गिर्‍यो । हरिकृष्ण पनि राजीनामा दिन बाध्य भए तर यति अवधिमै यति अचल सम्पत्ति चलायमान गर्न पाए त्यो जोडाइ पनि जाँचिने भयो । त्यसपछि हरिकृष्णले पर खेतमा ठड्याइएको आकृति बरोबर आफूलाई सम्झन थाले ।