कहिलेकाहीँ मनमा एकदम कठिन उत्सुकताहरू आइरहन्छन् । सोच्छु सृष्टिका यति धेरै मानिसहरू कसरी एक अर्कामा भिन्न भइरहेका छन् ? आखिर दैहिक संरचना त सप्पैको उस्तै छ नि ! त्यस्तै संवेदना पनि ! तर कसरी भिन्न भइरहेका छन् प्रत्येक मान्छेहरू ? किन कोही कसैसँग दुरुस्त हुँदैनन् ? त्यही दुरुस्त नहुनु, एक अर्काबाट भिन्न हुनु नै त उसको पहिचान रहेछ । भनेपछि पहिचान कायम गर्न जतिसक्दो भिन्न हुनुपर्ने रहेछ ।
अनि त म एउटा निष्कर्षमा पुग्छु । अस्तित्व निर्माणको लागि हर व्यक्तिमा पृथकता बोध चाहिने रहेछ । जब हामी दोस्रो व्यक्तिबाट भिन्न हुन सक्दैनौँ भने ऊबाट कसरी आफू अलग हुनुको परिचय रहन्छ ? जतिखेर आफ्नो परिचय हराउनेछ । त्यसरी आफ्नो परिचय नहराउन अर्थात् आफ्नो अस्तित्व सिर्जना गर्न बेग्लै प्रयास रच्नु पर्ने रहेछ । आफूजस्तै हुने चेष्टा गर्नु पर्ने रहेछ ।
कला साहित्यमा पनि ठीक यही मान्यताले काम गर्दो रहेछ । पृथकताको सिद्धान्तले मात्र उसलाई अरूदेखि भिन्न गराई जगतसामु टड्कारो बनाउँदो रहेछ । कुनै पनि स्रष्टा कलाकारको जीवनभरको उपलब्धि भन्नु त केवल त्यही भिन्नता रहेछ । त्यसो त भिन्न देखिएर मात्र उसको उपलब्धि आर्जन हुन सक्दैन नै । उसको अस्तित्व त्यतिले मात्रै कायम हुन सक्दैन । उसको त्यस भिन्नतामा अर्थपूर्ण प्रभाव हुनुपर्छ, समय सान्दर्भिक तथा परिवर्तनकामी चेत हुनुपर्छ । किनकि सिर्जनाले नित्य परिवर्तन चाहन्छ । सिर्जनाले नित्य गतिशीलताको आह्वान गर्छ, रूपान्तरणको माग राख्छ, त्यस्तै कलात्मकतालाई सम्बोधन गर्छ ।
शायद हुनसक्छ यही पृथकताको सिद्धान्त अनुरूप सिक्किमका स्रष्टा अशोक रोकाले ‘सुनयना’ (कथासङ्ग्रह) रचेका हुनुपर्छ । त्यसो त उनले अघि कहिल्यै नलेखिएको कुरा लेखेका होइनन् । ती लेखिँदै आएका हुन् तर पनि मलाई उनको कृति केही भिन्न लाग्यो । उनका कथामा मानव मनोविज्ञान केन्द्रमा रहेको छ, त्यस्तै समाज मनोविज्ञान पनि उतिकै केन्द्रमा रहेको छ । उनका कथाका पृष्ठभूमि र त्यसमा मञ्चित पात्रहरू तिनै समाजका छन् जहाँ उनी जन्मिए, हुर्किए, शिक्षा हासिल गरे र पेशामा आबद्ध भए । त्यस हिसाबले हेर्दा चरित्र निर्माण गरिएको परिवेश ठूलो छ जस्तो डुर्वस, सिक्किम, सिलगढी, दार्जीलिङ । त्यस्तै कलकत्ता पनि बेला बेला आइरहन्छ ।
भारतीय नेपाली साहित्यमा आफ्नो बलियो परिचय स्थापित गरेका, विभिन्न सम्मान तथा पुरस्कारले प्रतिष्ठित स्रष्टा—जो कवि तथा कथाकार व्यक्तित्व थामेर पछिल्लो समय सिर्जनामा सक्रिय रहेका छन् । साहित्यमा उनले पु¥याएको योगदान कदरयोग्य छ । अहिलेसम्म उनका चार कृतिहरू पाठकमाझ आइसकेका छन्— ‘विसर्जन’ (सन् १९९७), ‘सुनयाना’ (२०२०), ‘छोडीजाने माया सम्झिरहने मन’ (२०२२) जस्ता कथा सङ्ग्रह अनि ‘नखोज्नू उसलाई सहरहरूमा’ (२०१९) कवितासङ्ग्रह ।
उनका यी सबै कृतिको आआफ्नो मूल्य छ । उनको पछिल्लो कथा कृतिले अरू बढी पाठक प्रियता आर्जन गरेको देखिन्छ । परन्तु म अहिले ‘सुनयना’ कथासङ्ग्रहमा छु, जसका विविध अभिप्रायहरू रहेका छन् । कथाले वर्षौंवर्ष पहिलेदेखि उतै जीवन सम्हालेका भारतीय नेपालीको मार्मिकता बोलेका छन् । सँगै त्यस जीवनमा अन्तर्निहित सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक तथा सांस्कृतिक स्थितिलाई देखाएका छन् ।
यी कथामा पाठकलाई उत्सुक बनाइराख्न सक्ने सबलता राम्रो छ । जसमा मनोजगत् तथा मानवीय सम्बन्धका विषयहरू, रहस्यहरू अनि जीवनमा अचानक अचानक आउने घटनाहरूको प्रभावकारिता सफल छ । लेखकले भरिसक्य कथालाई कृत्रिमताबाट जोगाउने प्रयास गरेका छन् । मानिसको जीवनमा आइपर्ने सम्भावित घटनालाई उनले लेखेका छन् । कति यथार्थ जीवनलाई नै कथाको रूप दिएका छन् । प्रथम तथा तृतीय पुरुषमा रचिएका यी कथा जसमा मध्यम, निम्न मध्यम वर्गका चरित्र मार्फत उनले आफ्ना विचारहरू व्यक्त गरेका छन् । प्राचीन तथा आधुनिक दुवै युगलाई प्रतिनिधित्व गर्ने पात्रहरूको प्राप्ति, अप्राप्ति, सङ्घर्ष तथा चुनौती, हताशा र निराशा जस्ता कुराले कथालाई सजीवता दिएका छन् ।
अहिले बोल्दै गरेको यस ‘सुनयना’ मा बाह्र वटा कथा समाविष्ट छन् । तीमध्ये कति लामा छन्, कति मध्यम आयामका छन् । आरम्भमै शीर्षकथा सुनयना रहेको छ भाग एक र भाग दुईमा सुनयनाको खोजी रहेको छ । पहिलो खण्डमा व्यक्त गर्न बाँकी घटनाक्रम र आशयलाई दोस्रो भागले पूर्णता दिएको छ ।
यसै सिलसिलामा कहिलेकाहीँ जीवनमा यस्तो घटना पनि घट्दो रहेछ, जुन एकदमै अप्रत्याशित लाग्छ । कति कारणले त्यसो भयो ? ठम्याउन निकै मुश्किल पर्छ । बडो दुरूह तथा अस्पष्ट हुन जान्छ त्यसको कारण । सुनयनामा ठीक त्यही भइरहेको छ । म पात्रको पेशा (मास्टरी) प्रति घरका मानिस कत्ति पनि खुशी छैनन् । परन्तु उसलाई शिक्षण पेशा राम्रो लाग्छ । हुन त उसले इन्जिनियर डिप्लोमा पनि गरेको छ । बाबु आमाको इच्छा थियो उसले प्रशस्त समृद्धि आर्जन गर्ने खालको पेशा व्यवसाय गरोस् ।
यतिखेर उसलाई घरबाट बिहेको दबाब आएको छ । त्यो दबाब स्वीकार्न ऊ सक्दैन । आखिर किन सक्दैन ? यसको गहिरो मनोविज्ञान छ । मेरो बुझाइमा ऊ शिक्षक भएकै कारण त्यसो भएको छ । किनकि शिक्षक वृत्ति लिएको पुरुषले सुविधा सम्पन्न जीवन बाँच्न सक्दैन भन्ने मानसिकता निर्माण गरिदिएको छ समाजले । थोरै कमाइ भएको पुरुषसँग छोरी चेली बिहे गर्न मान्दैनन् भन्ने धारणाले उसलाई नराम्रो असर पारेको छ । त्यही असरले उत्पन्न गरेको हीनता बोधको कारण उसले बिहे नगरेको हुनुपर्छ । त्यसो त कथामा हीनता बोधको स्थिति देखाइएको छैन ।
हेर्नु त कति कठीन छ उसको मनोविज्ञान ! प्रधान अध्यापकको जिम्मेवारी भएको उसको व्यक्तित्व आकर्षक छ । उसप्रति आकृष्ट हुने युवतीहरूको कमी छैन । आफ्नै स्टाफहरू पनि उसँग सम्बन्ध बढाउन चाहन्छन् । तर पनि ऊ कुनै युवतीसँग हेलमेल हुन सक्दैन । ऊ बरु वाक्य विहीन एउटी परित्यक्ता युवतीप्रति आकृष्ट हुँदै जान्छ, जसले उपेक्षित जीवन बाँच्नु परेको छ । उसलाई प्रायः ‘लाटी’ भनेर हीन व्यवहार गरिन्छ । यद्यपि म पात्रलाई त्यसो गरेको राम्रो लाग्दैन । प्रतिरोध गर्छ । हेर्दाकी सुन्दर तर वाणी नभएकी उसलाई ‘सुनयना’ नाम राखिदिन्छ ।
वाक्य विहीनताकै कारण सुनयनाको सौन्दर्य उपेक्षित भएको उसलाई ठीक लाग्दैन । आखिर वाक्य नहुँदैमा ऊ सुन्दर छैन भन्न कसरी सकिन्छ ? युवक आफैँलाई प्रश्न गर्छ । मेरो दृष्टिकोणमा यदि युवक सुनयनाप्रति आकर्षित नहुँदो हो उसको बुझाई पनि अरूको जस्तै हुने थियो । सुनयनाप्रति उसको हेराई पनि उपेक्षात्मक हुने थियो ।
त्यस कथाको युवकलाई पढ्दै गर्दा लाग्यो । प्रेममा खोट पनि कसरी दबिँदो रहेछ अर्थात् स्वीकार्य हुँदो रहेछ ! कथालाई दुरूह मनोविज्ञानले केही जटिल बनाइदिएको छ । उत्सुकता पनि जटिल भएको छ । अब के हुन्छ अनुमान लगाउन नसकिने छ । एक दिन अचानक सुनयना अनुपस्थित रहन्छे, कहीँ हराउँछे । यस घटनाले युवकमा सन्ताप बढ्छ । मानसिक रूपमा क्लान्त हुँदै जान्छ । आफ्नो पद प्रतिष्ठा भुलेर सुनयनाप्रति ऊ किन यसरी सम्मोहित हुन्छ ? त्यसो त उसलाई प्रेम गर्दैमा प्रतिष्ठा विहीन हुन्छ भन्नुको पनि कुनै अर्थ रहँदैन । आखिर उसमा पनि त नारी सुलभता छ नि ! भलै उसको वाणी छैन, त्यति न हो । उसलाई हेर्ने परित्यक्त दृष्टि हाम्रो समाजले निर्माण गरेको विचारदेखि अरू के नै हो र ?
लेखकले यसरी कथामा निम्छरो, किनारीकृत चरित्रलाई प्रमुखता दिनु आफैँमा एउटा चुनौतीपूर्ण प्रयास रहेको छ ।
आखिर प्रेम के हो ? प्रेम भन्नु त मनभित्र उब्जिने एउटा भावनात्मक संवेग त रहेछ नि ! जसमा कुनै दैहिक प्रभाव आवश्यक नहुँदो रहेछ । सुनयना कथाले यही बताएको छ । कसैप्रति प्रेम बस्नुको कुनै कारण नहुँदो रहेछ । उसले किन प्रेम गर्यो भन्नुको तर्क नहुँदो रहेछ । यदि कुनै कारण नभई प्रेम बस्छ भने त्यो नै वास्तविक प्रेम रहेछ । निस्वार्थ प्रेम रहेछ । कथाले यस्तै केही आशय बोलेको छ । तर पनि सोध्न मन लाग्छ युवक कसरी सुनयनाप्रति स्नेही हुन पुग्यो ? लाग्यो भावनाको, संवेदनाको स्पष्टीकरण माग्नु नै परम मूर्खता रहेछ । बिरलै घट्न सक्ने यस्तो कथामा केही अस्वाभाविकता देखिँदैन । कुनै विकृत मनोविज्ञान तथा यौन मनोविज्ञानको दृष्टिले यो कथा लेखिएको लाग्दैन । सामान्यतः कथावस्तु अस्वाभाविक लागे पनि युवकको मनोविज्ञानले अस्वाभाविकताको महसूस हुन दिँदैन । यसो हुनु भनेको कथाले सार्थकता पाउनु हो ।
मेरो विचारमा मास्टरी पेशाप्रति निर्मित धारणाको प्रतिफल स्वरूप युवकले त्यसरी सुनयनालाई स्वीकारेको हुनसक्छ । किनकि सुनयनाले शिक्षकप्रति जय विजय कुनै दृष्टिकोण बनाएर उसलाई अपमानित गर्नेछैन । ऊबाट आफू अमर्यादित नहुने मनोविज्ञानले यो सब भएको हुनुपर्छ । एउटी स्त्रीबाट आफू सम्मानित भएर बाँच्न शायद उसले सुनयनालाई वरण गरेको हुनसक्छ । मानिस कहिल्यै अपमान भोग्न चाहँदैन । त्यही नभोग्नलाई उसले अप्रत्याशित मोड लिएको हुनुपर्छ । उसको मनोविज्ञान त्यसरी निर्माण भएको हुनुपर्छ ।
लेखक स्वयं लामो अवधिसम्म शिक्षण पेशामा कार्यरत हुँदा, उनका केही कथा त्यही परिवेशमा अर्थात् शैक्षिक परिवेशमा रचिएका छन् । उनका कथामा मानव मनको स्थितिसँगै त्यस समाजको अवस्था पनि साथसाथै प्रस्तुत भएका छन् । यसरी मनको अवस्था देखाउँदा त्यस पात्रको आन्तरिकतासँगै उसले समाजलाई हेर्ने दृष्टिकोण कहीँ छुटाउँछु भने पनि नछुट्दो रहेछ । थाहै नपाई यसरी समाज विज्ञान र मनोविज्ञान आपसमा मिसिँदा रहेछन् । अनि त्यस समाजले नै व्यक्तिको मनोविज्ञान निर्माण गर्ने हुँदा ऊभित्र सिङ्गो समाज अटेको हुने रहेछ । एउटा मानिसको मन ऊ बाँचेको समाजभन्दा ज्यादै शक्तिशाली हुँदो रहेछ । जब कि ऊ त्यस समाजको मान्यता बहिष्कार गर्न समेत पछि नहट्दो रहेछ । विशेषतः प्रेम र यौनका सम्बन्धमा मान्छेले त्यसरी समाजको अवज्ञा तोड्दो रहेछ । मनको साइनो कथामा यस्तै केही देखाइएको छ ।
सर्जक रोकाका कथामा मर्महरू धेरै छन् । लेखन तात्पर्यलाई आख्यानीकरण गर्न उनी सफल छन् । जिन्दगीका पाटाहरू कथा पनि उस्तै सशक्त छ । एउटी नारीभित्र मातृत्व चेत कति शक्तिशाली हुँदो रहेछ । आमा नहुँदासम्म ऊ कहिल्यै शान्त हुन नसक्दी रहिछे । आफूलाई पूर्ण ऊ कहिल्यै नदेख्दी रहिछे । सन्तान सुखभन्दा ठूलो उसको लागि अरू कुनै सुख हुन नसक्दो रहेछ । कथाले यही मनोविज्ञानलाई चित्रण गरेको छ । एउटा सिङ्गो उपन्यास पढ्दाको अनुभूति हुने या त चलचित्र हेरेझैं भान हुने गरी नारी मनको अवस्था कति सूक्ष्म ढङ्गले दृश्याङ्कन गरिएको छ । सन्तान प्राप्ति नहुँदा यहाँ दुई जोडी दाम्पत्य जीवन कसरी विघटित भएका छन् । पारिवारिक जीवन कसरी क्षतविक्षत भएको छ, माया, प्रेम, समर्पण कसरी काँच फुटे जसरी झ¥यामझुरुम भएको छ । उक्त कथाको व्यस्त शहरमा शालिनी र समीरको एउटा फ्ल्याट छ । सँगै उनीहरूको साथी उषा र दिनेशको पनि । यी दुई दम्पतिको पीडा उस्तै छ । निसन्तान हुँदाको उद्विग्नताले उतिकै बिथोलिएका छन् ।
कोही पनि मानिससँग सधैँ उस्तै सम्बन्ध रहन्छ भन्न नसकिने रहेछ । मानवीय संवेदनाहरू समय र परिस्थिति अनुरूप छिनछिनमा बदलिरहने हुँदा—त्यसैको प्रतिरूप उसका विचार, भावना र सम्बन्धहरू उतारचढाव हुँदा रहेछन् । विचलित हुँदा रहेछन् । त्यस्तैले त अचेल शालिनी छिमेकी दिनेशसँग निकट हुन थालेकी छ । अनि उषा चाहिँ समीरसँग । आफ्नै साथीका श्रीमान्सँग उनीहरू यसरी नजिक भएका छन् । मानौँ उनीहरूले आपसमा आआफ्ना श्रीमान् साटेका छन् । तर होइन एकदम गोपनीय छन् ती अवैध सम्बन्धहरू । यसो हुनुको एउटै कारण के हो भने उनीहरू सन्तानवती हुन चाहन्छन् । आफ्ना पुरुषबाट ऋतुदान हुन नसकेपछि यसरी विकृत परिस्थिति सिर्जना हुँदै गएको छ । तब शुरु हुन्छन् अप्रत्याशित तथा अमर्यादित दृश्यहरू । परन्तु यी दृश्यहरूलाई यौन मनोविज्ञानका दृष्टिले अथ्र्याउन भने सकिँदैन । यौन आकाङ्क्षाले यसो भइरहेको छैन । मातृत्व इच्छाले नै यो सब घटिरहेको छ ।
उनीहरूबीच साथित्वबीचको सम्बन्ध कति कठीन हुँदै गएको छ । शालिनी स्वयं दाम्पत्य जीवनको नैतिकता विघटन गर्न उद्धत छे र पनि फेरि समीरलाई इङ्गित गर्दै भन्छे, ‘अचेल तपाईंलाई घरको चिया मनपर्छ र ? टूर जाने दिन त तपाईं आकाशको जून तारा टिप्न पाउँलाझैं गरेर कतिबेला फुत्कूँ भनेर हतारिनु हुन्छ । अहिले घरको तातो चियाको याद आयो (प–४८) ?’
उता समीर उषासँग घनिष्ट हुँदै गएको छ र पनि लाचार हुँदै भन्छ, ‘शालु आजकल तिमीलाई के भएको छ ? किन यस्तो कुरामा अल्झिरहन्छौ ? यहाँ आफूलाई चैं टे«निङमा बिहान नौ बजेदेखि पाँच बजेसम्म हत्तु भइरहन्छ यो पालिको टे«निङ पनि कस्तो बोरिङ ठाउँमा प¥यो (पृ–४९) ।’ शालिनी पनि कम लाचार छैन र पनि भन्छे, ‘केको बोरिङ ? उषा थिई त !’
यता आमा बन्नको लागि शालिनी कत्रो चुनौती उठाउँछे । आउँदो रात दिनेशलाई आह्वान गर्दै भन्छे, ‘=== समीर बाबु हुन सक्दैन, उसमा इनफर्टीलिटी छ । बाबु हुने क्षमता समीरमा छैन । ऊ अद्र्धपुरुष हो । यसकारण तपाईं भोलिदेखि वास बस्दै आउनुहोस् । मलाई ऋतुदान दिनोस् । यो मेरो जैविक भोक होइन, यो मेरो आवश्यकता हो । पहिलाको हाम्रो मिलनमा म चुकेको छु । योपालि फरक पर्दैन (पृ–५०) ।’
साहित्यकार रोकाका कथाले शुष्क हुँदै गएको मानव समाजप्रति पनि केही सङ्केत गरेका छन् । भन्न त मानिसलाई सामाजिक प्राणी भन्ने गरिन्छ तर विद्यमान समयमा मानिस असामाजिक हुँदै गएको छ । उषा आफ्नो पार्टनरलाई इनफर्टीलिटी भएको आरोप गर्छे, शालिनी पनि समीरलाई त्यही आरोप गर्छे ।
यस्तै चरम उदासीनताबीच उषाको लागि एउटा चमत्कार घट्छ । ऊ गर्भवती हुन्छे । उसको गर्भमा समीरको भ्रूण हुर्किन लाग्छ । हो यहीँनेर कति जटिल अवस्था घट्छ । दिनेशको भ्रम छ त्यो गर्भको बाबु म आफैँ हुँ । उता शालिनीलाई त्यही भ्रम छ । उसलाई थाहा छैन उषाले बोकेको गर्भ आफ्नै श्रीमान् समीरको हो भनेर । ऊ विश्वस्त छे दिनेशले अब मलाई पनि गर्भवती बनाउने छ । त्यही अपेक्षामा ऊ दिनेशसँग रात बिताउने गर्छे सुन्दर भविष्यको परिकल्पना गरेर ।
एउटी महिला सन्तानवती हुनु कति स्वाभाविक तथा प्राकृतिक कुरा हो । तथापि कतिलाई त्यही कुरा किन यति अप्राप्य हुनेगर्छ ? जीवनमा कुनै पनि थोक महत्त्व या महत्त्वहीन भन्ने सन्दर्भ त त्यसको उपस्थिति या अनुपस्थितिले निर्धारण गर्ने कुरा रहेछ । अनुपस्थिति जहिल्यै महङ्गो हुने रहेछ त्यो साधारण कुरा नै किन नहोस् । ती दम्पतिको अवस्थाले यही कुरा देखाउँछ । विचरा ! तिनीहरूले कस्तो नाटकीय जीवन बाँच्नु परेको छ ! दुवै पुरुष पात्र ऋतुदानको उद्योगमा तल्लीन छन् ।
त्यस दिन समीर उषालाई उपहार लिएर दिनेशलाई बाबु भएको बधाई दिन जान्छ । हेर्नू न नियतिले कति ठूलो व्यङ्ग्य गरेको छ । दिनेश आफू खूबै गौरवशाली भएको अनुभव गर्दैछ । उता शालिनीलाई पनि सन्तान सुख दिने धूनमा सुत्केरी श्रीमतीलाई घरमा एक्लै छोडेर कहाँकहाँ गएको छ । यता समीर सुत्केरी उषालाई भेट्न आइरहन्छ । नवजात शिशुलाई दूध चुसाइरहेकी उषालाई देखेर ऊ केही रोमाञ्चित हुँदै भन्छ, ‘केही ओड्नेले छोपेर खुवाउनोस् न ।’
त्यतिखेर उषालाई कम्ती आनन्द लाग्दैन । ऊ भन्छे, ‘किन अहिले तपाईंलाई शरम लाग्यो ? शरम लागेको भए यो छोरो हुने थिएन । बरु छेउमा आएर आफ्नो छोरालाई हेर्नुस् न (पृ–५७) !’
यसरी घटनाले एकपछि अर्को गरी सोच्दै नसोचेको मोड लिन्छ । कथाकार अनपेक्षित आकस्मिकता रचाउँदै जान्छन् जुन पाठकको कल्पनामै हुँदैन । कहिलेकाहीँ त नियति पनि कति उग्र हुँदो रहेछ ! लेखक किन यति क्रूर भएर आफ्ना पात्रप्रति दया राख्दैनन् ! अन्त्यमा उनले उषालाई मारिदिए । समीरलाई मार्न तयार हुँदैछन् । यी दुवै दम्पतिको जीवन नमज्जाले उथलपुथल हुन्छ, सम्बन्धहरू नमज्जाले चोइटिन्छन् ।
अन्ततः लेखकले उषाको छोरो सौरभ र शालिनीलाई मात्र जीवित राख्ने धृष्टता गरेका छन् । यसरी यी दुई पात्रलाई बचाई राख्नुको कथामा गहिरो प्रभाव छ, सँगै गहिरो अर्थ पनि । मातृत्व चेत र प्रेमको नासोलाई जीवित राख्न यसो गरिएको छ । हुन त अन्त्यमा त्यो प्रेम धमिलिएको छ । त्यसो हुनुको पनि त कारण छ; सन्तान सुख नमिल्दाको परिणामले यो सब भएको छ ।
कथाले अन्त्यसम्म पाठकलाई जिज्ञासु बनाइरहन्छ । यी आकस्मिक घटना, परिघटनाहरू केही नाटकीय तरिकाले र अरू यथार्थ जीवन जसरी घट्दै अघि बढेका छन् । लेखनको प्राप्ति भन्नु नै आखिर यही त हो, एउटा प्रभाव सिर्जना गर्न सक्नु ।
आज आएर समय कति डरलाग्दो हुँदैछ । मानिस एकातिर सुखी जीवन बाँच्दै छ अर्कोतिर उति नै दुरूह, शुष्क जीवन पनि । ऊ प्रतिदिन उद्यम विहीन हुँदैछ । उसको प्रतिकृति भएर यन्त्रले उसको काम खोस्न थालेको छ । नियुक्ति पत्र कथाले यस्तै केही र अरू आशय बोलेको छ । पकेट खर्च जोहो गर्न मोहनराज आफ्नो हाकिमसँग ओभर टाइम मिलाइदिन अनुरोध गर्छ । यद्यपि त्यसो गर्न नसक्ने कुरा हाकिम बताउँछन्, ‘मिस्टर मोहन, पहिलाको जस्तो ओभरटाइम गर्ने जमाना गयो । कम्युटरको जमानामा पाँचजनाले गर्ने काम एउटै मेशिनले गर्छ । अब तपाईंलाई खोई के ओभरटाइम दिनु ? फेरि तपार्इं कम्प्युटर नलेजमा वेलभस्र्ड पनि हुनुहुन्न (पृ. ६५–६६) ।’
‘सुनयाना’का कथाले यसरी आधुनिक र प्राचीन दुवै जीवनलाई समेटेका छन् । ती पात्रहरूमा पूर्वीय मूल्य मान्यता र पश्चिमी प्रभाव बराबरी परेका छन् । साहित्यकार रोकाका केही पात्रहरू बहुराष्ट्रिय कम्पनीबाट उत्पादित सामानको प्रयोक्ता भएर आफूलाई जतिसक्दो आधुनिक बनाउन चाहन्छन् । सम्पन्न जीवन बाँचेको देखाउन चाहन्छन् । मोहनराजको घरको अवस्था त्यस्तै छ । उसकी श्रीमतीलाई आफ्नो पतिभन्दा टमी (कुकुर)को निकटता धेरै मनपर्छ । उसलाई पतिको सामिप्य किन हो कुन्नि मन पर्दैन । बडो उदेकले छोप्छ, आजको मानिस कस्तो जीवन बाँच्दैछ ! स्वयं मानिस रोबोटको समकक्षी हुन लागेको छ । रोबोटको सहसर्जक भएको छ । त्यसैले संवेदना क्षीण हुँदै गएको छ । मानिस पैसा कमाउने मेशिन हुन लागेको छ ।
मोहनराजले बुझ्न सकिरहेको छैन । श्रीमतीले आफूलाई साँच्चै माया गरेकी हुन् या आफ्नो कमाइलाई ? ऊ एक मधुमेहको रोगी । उसले रुखोसुखो खानुपर्छ । ‘मोहन तिमी सुगरको बिरामीले क्याण्टिनमा बनाएको केही पनि नखानू है ।’ श्रीमतीको यस भनाइप्रति उसलाई बडो सन्देह छ । लोग्नेको स्वास्थ्यप्रति ख्याल राखेर यसो भनिएको हो या त उसलाई फुर्मासी हुनबाट रोक्न त्यसो भनिएको हो ?
आजको मानिस कस्तो विडम्बनामा बाँचेको छ ! बाटामा हिँड्दा खानाको मीठो बास्नाले मोहनराजको मन कल्पिन्छ । मासु खाने उसलाई धेरै इच्छा तर खानु हुँदैन । मनमा अनेक अतृप्ति बोकेर सन्ध्यामा ऊ घर फर्किन्छ । उसले टमीलाई मासु किनेर लानुपर्छ । कति अपरिभाष्य जीवन भोग्दैछ उसले !
मोहनराजलाई टमी आफूभन्दा धेरै भाग्यमानी भएको लाग्छ । उसलाई टमीप्रति एक किसिमको ईष्र्या हुन्छ । घरमा टमीको जति पनि मर्यादा उसको छैन । भान्छाको बेला भएको छ । कल्पना हाइनिङ हलबाट बोलाउँछे, ‘मोहन खाना खान आऊ, टमी पनि आऊ माम खान ।’
मोहनराजलाई आफू मानिस भएकोमा पश्चात्तापजस्तो केही हुन खोज्छ । बरु आफू टमी हुन पाएको भए ! ऊ फेरि पनि कल्पिन्छ । उता छोराछोरी बाबुप्रति कत्ति हार्दिक हुन सक्दैनन् । उनीहरूलाई बाबुप्रति होइन बाबुको आयस्रोतप्रति सद्भाव छ । मोहनराजले कस्तो निरीहता बाँच्नु परेको छ, ‘आमा छोरा–छोरी मासु र परिकारसँग जिब्रो पड्काउँदै खाँदा मोहनराज आँखा चिम्म गरेर दलियाको गाँस मुखमा कोचार्छ । छवैमा खसीको खुट्टा टोकिरहेको टमीलाई नजानिँदो पाराले एक लात कस्छ (पृ–६९) ।’
उसलाई टमीले समेत मर्यादा राख्दैन । ऊ बिरामी हुँदा कसैले वास्ता गर्दैन उता टमीको हेल्थकार्ड बनाइएको छ । हेर्दाहेर्दै उसलाई आफू एकदमै निर्धो लाग्छ ।
लेखक वर्तमान अवस्थाप्रति एकदम सचेत छन् । कथामा उनले समाजको विकृति, विसङ्गतिलाई टड्कारो दृष्टि दिएका छन् । अनियमितता तथा भ्रष्टाचारको दिक्क लाग्दो स्थिति पनि देखाएका छन् । प्रशासनिक अवस्था उस्तै भ्रष्ट छ । सरकारी नोकरीको लागि लाखलाखको घुस खुवाउनु पर्ने स्थिति बडो विकराल छ । यी यस्तै अनेक अव्यवस्थाले, विषमताले जीवन निकै जटिल भएको छ । उता मानसिक स्वाथ्य नियन्त्रण बाहिर गई डरलाग्दो परिस्थिति उत्पन्न हुँदैछ ।
आखिर मानिसले के चाहिरहेको छ ? भौतिक सम्पन्नतामा ऊ कति खुशी हुनुपर्ने हो तर हुन सकिरहेको छैन । बरु झन् दुःखी हुँदै गइरहेको छ । अतृप्तिले, अप्राप्तिले गलाउँदै लगेको छ । जीवन एकदमै अपरिभाष्य हुँदै गएको छ । त्यस्तै प्रतिदिन विकृत संस्कार निर्माण भइरहेको छ ।
हेर्नू त हाम्रो समाजले कस्तो रूप लिँदैछ ? एउटा परित्यक्त बाबु मोहनराज अन्त्यमा आत्मघाती उपाय रचेर पात्रत्वबाट छुट्कारा लिन्छ । त्यसो गर्नुमा अत्यन्तै दुःख लाग्दो आशय सिर्जिएको छ । अवकास लिनु अघि नै इहलीला उठाएपछि, आफ्नो पदमा छोरो बहाली हुन पाउँछ भन्ने अभिप्रायले त्यसो गरिएको छ । जुन घटनालाई अनेक दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ । प्रथमतः यसलाई समाजशास्त्रीय दृष्टिले हेर्न सकिन्छ । पद, प्रतिष्ठा भनौँ समृद्धिको आकाङ्क्षामा आजको मानिस प्राण भएर पनि निष्प्राणजस्तो जीवन बाँचिरहेको छ । निर्जीवता बाँचिरहेको छ । त्यस्तै अर्को के पनि छ भने विज्ञान प्रविधिले आजको मानिसलाई ढाक्रे बनाउँदै लगेको छ । बेरोजगारी बढ्दै गएको छ । त्यसैले त एउटा बाबु छोरालाई जागीर मिलोस् भनेर आफैँलाई अन्त्य गर्न तयार हुन्छ । अहिले हरेक ठाउँमा अनुकूलताहरू कम्ती हुँदै गएको छ । समाजमा स्वस्थ प्रतिस्पर्धा कहीँ छैन । दक्ष जनशक्तिले अवसर पाउने सम्भावना पनि अब बाँकी छैन । न्याय प्रशासन जताततै घुसखोरीले चलेको छ ।
साहित्यकार रोकाका कतिपय पात्रहरू बडो दीनतामा छन् । मानिस स्वयं आफैँमा अस्तित्वपूर्ण कहिल्यै नहुँदो रहेछ । ऊ अस्तित्ववान् हुन कसै न कसैको उपस्थिति चाहिने रहेछ । सहअस्तित्वमा मात्रै अस्तित्व निर्माण सम्भव रहेछ । समाज भन्नु त सहअस्तित्वपूर्ण व्यवहार चलाउने एउटा इकाइ रहेछ ।
‘सुनयना’का प्रयाः कथाले मानिसको जटिल अवस्थालाई देखाएका छन् । बाघवीर कथामा बाघवीरले बाँचेको समाज, जसले मलाई अचानक विगतको सम्झना गराउँछ । बाघवीरको जीवन कति कारुणिक छ । उसको असहाय जीवनका माध्यमबाट लेखकले समाजको अवस्था देखाएका छन् । उसको विकलतामा रोइदिने कोही छैन । त्यो अवसादमा उपेक्षा गर्नेहरूको कमी छैन । आखिर उसँग पनि त दुःख सुख अनुभूति गर्ने एउटा मन छ नि !
उता सरकार पाँचतारे होटलमा स्याम्पेनको चुस्की लिँदै राष्ट्रिय नीति निर्माणको लागि खटिन्छ । बाघवीर भने बाँच्नुको सार नदेखेर मृत्यु मन पराउन थाल्छ । उसले कथामा आफ्नो चरित्र मात्रै बाँचेको छैन । सम्पूर्ण नागरिकको प्रतिनिधि जीवन उसले बाँच्नु परेको छ ।
हाम्रा कथाहरू शीर्षकमा पनि स्थिति डरलाग्दो छ । सामाजिक यथार्थवादी यी कथाहरू प्रायः दुःखका छन् । निराशाका छन्, व्याकुलताका छन्, अप्राप्तिका छन् । आजको मानिस यान्त्रिकतामा रमाउँदै गएको छ । माया, प्रेम तथा सद्भाव हराउँदै गएको हाम्रो समाज एकलकाँटे हुँदैछ । आफ्ना सन्तान पनि आफ्ना हुन छोडेका छन् । दीर्घमान र सुकरानीले कति शासना भोगेर छोराहरूलाई शिक्षित बनाए । अफिसर हुने योग्यतामा पु¥याए । अन्ततः तिनै सन्तान आफ्ना बा आमाको नामले चिनिन समेत रुचाउँदैनन् । आमाको मृत्युमा शोक मनाउन समेत उनीहरूलाई फुर्सद हुँदैन ।
कथाका भावहरूले, शब्दहरूले कस्तो हृदयविदारक दृश्य बोकेका छन् ! त्यस्तै यी कथाहरूले समाज परिवर्तनको तीव्रतालाई पनि इङ्गित गरेका छन् । ‘हाम्रा कथाहरू’मा लिम्बू संस्कृतिका छोराहरू कोही बङ्गाली परिवारका ज्वाइँ भएका छन् । त्यस्तै कोही क्रिस्तानी परिवारसँग त कोही लाप्चा परिवारसँग नाता जोडेका छन् । यसरी विजातीय धर्म, संस्कृति, परम्पराका पात्रहरू आपसमा सहअस्तित्व गर्दैछन् ।
साहित्य भन्नु त भरे इतिहासकै अर्को रूप रहेछ । जब कि कति कुराहरू इतिहासले पनि बिर्सिने गर्छ । भुइँ मान्छेको जीवन र ऊ बाँचेको समाजलाई इतिहास कहिल्यै सम्झिने गर्दैन । त्यसरी नसम्झिएका कुरालाई साहित्यले सम्झिने गर्छ अर्थात् स्रष्टाले सम्झिने गर्छन्, जस्तो यहाँ कथाकार रोकाले सम्झिएका छन् । उनको कथामा कति इतिहास भइसकेको समाज छ । जुन कि अहिले विश्वास गर्न मुश्किल पर्छ जस्तो हेड सर कथामा मुश्किल परेको छ । सरकारले थाहा नपाउने गरी अध्ययनको लागि बाहिर गएको आरोपमा प्रतापसिंह कारबाहीमा पर्छन् । सरकारी जागीर खान नपाउने गरी उनलाई फैसला सुनाउँछन् ।
समयसँगै मानिसका बुझाइहरू कति फरक हुँदै जाँदा रहेछन् । धारणाहरू कसरी फेरिँदै जाँदा रहेछन् । इमानदार हुनुको अर्थ अचेल कति नराम्रो लाग्न थालेको छ । कोही व्यक्ति इमानदार छ अर्थात् सोझो छ भन्नुको अर्थ ऊ नादानी छ भनेर बुझ्न थालिएको छ । प्रतापसिंहको असल चरित्रलाई समाजले, परिवारले यसरी नै बुझेको छ । उनको स्वाभिमानी व्यक्तित्वले पुनः पुनः अपमान सहनु परेको छ । स्वाभिमानी हुनाकै कारण उनले अनेक प्रताडना झेल्नु परेको छ । शिक्षक भएर निर्धन जीवन बाँच्नु उनको कमजोरी होइन बरु इमानदार हुनुको प्रतिफल भएको छ । स्वाभिमान बेचेकै कारण उनका मित्रहरू सम्पन्न जीवन बाँच्न सकेका छन् । सँगै प्रतापसिंहले कति ठूलो विवशता सामना गर्नुपरेको छ । त्यस्तै कथाकारले यहाँ दुई पुस्ताबीचको रिक्ततालाई पनि देखाएका छन् । आफ्नी छोरीको पहिरनमा प्रतापसिंह एक झल्को दृष्टि समेत दिन सक्दैनन् । उता छोराहरू मूल्यहीन जीवन बाँच्दैछन् ।
शुरूमा लागेको थियो, आज आएर लेखकले पण्डितको बिहेजस्तो कथा किन लेखे होलान् ? यसमा एउटा यस्तो पात्र छ जो आफ्नै पिताको बिहेको निमन्त्रणा गर्दै हिँडेको छ । पछि थाहा लाग्छ कथाले अर्कै तात्पर्य भन्न खोजेको रहेछ । अघि सधैँ पुरुषको आवाजले समाजलाई जित्ने गरेको थियो । अहिले त्यो दमनकारी स्वरलाई प्रतिकार गर्न नारी कण्ठ समर्थवान् भएका छन् । यसरी लेखकले कथामा नारी सशक्तीकरणलाई प्रधानता दिएका छन् ।
आज हामी बाँचेको जगत् एकदमै विरोधाभासी हुँदैछ । एकातिर किनारीकृतहरू केन्द्रमा आउँदैछन् । आफ्नो जरातिर फर्किंदैछन् । स्थानीयताप्रति सचेत हुँदैछन् । अर्कोतिर स्थानीयताको अनेक रूप अर्थात् बहुरूप मेटिएर सप्पै एकरूप हुँदैछ । भूमण्डलीकरणको प्रभावले यसो हुँदैछ । यस्तो बेला समृद्ध देशको भाषा, धर्म, संस्कृतिले विश्वमा आफ्नो वर्चश्व कायम गर्दैछ । वैचारिकता मार्फत आफ्नो अधीन पार्दैछ । त्यस्तै उपनिवेशको छद्म रूप लिँदैछ ।
ठूला विकसित राष्ट्रहरूले गरीब मुलुकको भाषा, धर्म, संस्कृति लोप गरी आफ्नो अधीनता विस्तार गर्दैछन् । त्यसैको परिणाम स्वरूप हाम्रा बस्ती बस्तीमा पराईले धर्म प्रचारको अभियान गरिरहेका छन् । यसरी कुनै पनि जाति तथा समुदायको भाषा, धर्म, संस्कृतिमाथि आफ्नो प्रभुत्व कायम गर्ने नीतिले व्यापकता लिएको बेला—हामी प्रत्येक नागरिक सचेत हुन जरुरी छ । यदि हामीले आफ्नो भाषा, धर्म, संस्कृति गुमायौँ भने हामी कहीँ अस्तित्वमा रहने छैनौँ । पश्चिामालाई यो कुरा थाहा छ कि कुनै पनि जाति अस्तित्व विहीन भएपछि उसमाथि आधिपत्य गर्न सहज हुनेछ । त्यही रणनीतिमा हामीलाई भाषा, धर्म, संस्कृति तथा इतिहास विहीन गर्ने प्रयास चलिरहेको छ । परन्तु हामीलाई यस्तो रणनीति कत्ति अवगत छैन जस्तो कि हवल्दार ए.डी. लिम्बु कथाको पात्रलाई छैन ।
अहिले हवल्दार जुन मनोविज्ञानले निर्देशित छ, सम्भवतः धेरै मनोविज्ञानहरू यसरी नै निर्देशित भइरहेका छन् । आफ्नो विश्वास र आस्था परिवर्तन गरी यतिखेर हवल्दार झन् उग्र हुँदै गएको छ, ‘गिर्जाघरको पास्टर, एल्डर र विश्वासीहरू बोलाएर घरमा मण्डली राखे, सबैले प्रभुको महिमा भजन गाए … । एकदिन पास्टर, एल्डर र दुई–चारजना विश्वासी घरमा भेला पारेर पुज्दै ल्याएको कुलदेवताको थान भत्काए । पूजाको सरजाम, देवताथानमा पुज्न राखिएका शिव–पार्वती र देवी– देवताका फोटा र मूर्तिहरू आँगनमा थुपारेर मट्टितेल खन्याएर हिन्दू देवी–देवताहरूको दाह–संस्कार गरे, ===(पृ–१२९) ।’
नेपाली जातिको जीवन बडो विचित्र लाग्छ, जसले सपना देख्न पनि मुगलानिनु पर्छ । त्यसै क्रममा कैयन् जीवनहरू मुगलानिएर कहाँ कहाँ पुगे । कतिले त्यहीँ दार्जीलिङमा जीवन खोज्न लागे । पुस्तापुस्ताले त्यहीँ जीवन बिताए । त्यसै मध्येको एउटा पात्र हो डिकबहादुर । चिया कमानको साइरन फेरि बज्ला ? कथामा उसलाई केही पश्चात्तापजस्तो अनुभूति भएको छ । यस कथाले चिया कमानमा आफ्नो अमूल्य जीवन खर्चिएको, नेपाली जातिको मर्मस्पर्शी चित्रण गरेको छ । जहाँ अझै पनि हजारौँ डिकबहादुरहरू जीवन खोजिरहेका छन् ।
अन्त्यमा रहेको कथा ‘ऊ गाउँ फर्कियो’ पनि त्यस्तै मर्मस्पर्शी छ । पछिल्लो समय आधुनिक हुँदै उत्तरआधुनिक युग बाँचेको मान्छे, कति दुरूह मनोभावले निर्देशित छ । मानवीय स्वभाव कसरी कृत्रिम हुँदैछ भनौँ विपथगामी हुँदैछ । यहाँ लेखकले कम्तीमा एउटै पात्रलाई भए पनि प्रकृति उन्मुख गराएका छन् । स्वाभाविकतामा फर्काएका छन् ।
साहित्यकार रोकाका कथाहरूले थिमलाई प्रभावकारी प्रस्तुति दिएका छन् । प्रायः कथाहरूले एकभन्दा बढी तात्पर्यलाई देखाएका छन् । जेहोस् बहु दृष्टिकोणले हेर्न सकिने कथाहरू रहेका छन् । विशेषतः पात्रको मनोजगतसँग कथा नजिक रहेका छन् । त्यस्तै सामाजिक यथार्थवादी दृष्टिका कथा पनि सुन्दर छन् ।
यति हुँदाहुँदै पनि कथामा केही रिक्तताको महसूस भने हुन खोज्छ । वर्णनात्मक शैलीको आभास हुने यी कथामा—लामा अनुच्छेद तथा लामा वाक्य गठनले कलात्मकतामा केही बाधा पुर्याएका हुन् कि लाग्छ । केही व्याकरणिक त्रुटि तथा मुद्राराक्षस आउन खोज्छन् । त्यस्तै केही कथाहरूको पृष्ठभूमि पुनरावृत्ति हुन खोज्छन् । कतिपय पात्रप्रति लेखक आग्रही हुन खोजेका हुन् कि ! त्यस्तो भान हुन खोज्छ, जस्तो सुनयनाप्रति लेखकको नजानिँदो झुकाव रहेको अनुभूति हुन्छ ।
समग्रमा कथा पठनीय छन्, मार्मिक पनि । त्यस्तै लेखनको हेतु प्रभावकारी छ । यी कथाले विशेष अर्थ सम्प्रेषण गरेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
७ मंसिर २०८२, आईतवार 










