सन् २०१४ देखि यताका नोबल लरेटबारे पढ्दै लेख्दै आएको थिएँ । सन् २०२२ की नोबेल पुरस्कार सम्मानित आनी एर्नोको एउटा मास्टरपिस गत वर्ष ऋचा छोरीले उपहार ल्याएकी । साहित्यको युद्ध मैदानमा जर्मनको धावा छस चिताएको कति कुरा पूरा गर्न नपाएर छोड्दै दौडिएको छु । के के छोडिराखेको छु सम्झिने समय पनि छैन । तीमध्ये २०२१ र २०२२ नोबल लरेटले मलाई पर्खिरहेका होलान् भन्ने हुन्छ ।
त्यही चिन्ता र पीरले यसपालि आनी एर्नोको अ उमन्ज स्टोरी (एउटी नारीको कथा) सुटकेसको चोर गोजीमा लुकाएर हिँडेको थिएँ । यात्रामा पढौँला भन्थेँ, उता ता पुस्तक फुकाउने दिएन आएन । आसाम पुगेर एक हप्ते साहित्यिक–सांस्कृतिक महोत्सवबाट फर्किँदा भाङ खाएको साधुझैं भएको रहेछु ।
अब फेरि इलाम, पान्थर, च्याङथापु पुगेर अर्को साहित्यिक सिरियल सम्पन्न गर्नु छ । त्यसैले बीचमा खाली रहेको बेला सात दिन दमकमै आफ्नै रेस्ट हाउसमा व्यतीत गरेँ । यही अवसरमा यो अमर कृति पढेर लेख्ने संयोग मिलाएको हुँ । पढ्न त धेरै समय लागेको होइन, जम्मा ९६ पृष्ठको कृति तर यो महको चाका जस्तो कुरा छिटो नसकिए हुन्थ्यो भन्ने लोभले बिस्तारै बिस्तारै फारु गरेर पढी सिध्याएँ । यो सबै कण्ठ पारौँ जस्तो भएको थियो । त्यसैले यो कृति पढी सक्दा पानाहरूलाई हाइलाइट गरेर रङ्गिन बनाएर अण्डरलाइन गरेर बहुबुट्टे बनाएको रहेछु ।
एउटा कुराले मलाई आश्चर्यमा पारिरहेको छ, स्थापनाको आरम्भदेखि आजसम्ममा वितरित साहित्यिक नोबेल पुरस्कारमध्ये सर्वाधिक ठुलो सङ्ख्या फ्रान्सकै भागमा पुगेछ । सन् २०१४ को प्याट्रिक मोदियानोले प्राप्त गरेको आठ वर्षपश्चात् पुनः फ्रान्सले नै प्राप्त गरेछ । यसको एउटा कारण हो फ्रान्सेली साहित्यको उत्कृष्टता । अङ्ग्रेजी, जर्मन, स्पेनिस, कुनैले सकेन । राम्रा परिवेशका हिन्दी, बङ्गाली, चिनियाँको समेत नाम कतै आउँदैन, नेपालीको त उच्चारण नगरी बस्ता राम्रो हुन्छ ।
फ्रान्सेलीको श्रेष्ठता बारे मैले प्रकाश पारिसकेको छु । उत्तरआधुनिक विमर्श (२०६४) मा समाविष्ट एक विश्वआख्यानमा नयाँ दिशा\लामो यू टर्न (आधुनिक फ्रान्सेली दर्शन, कला र साहित्यले विश्वलाई देखाएको बाटो) शीर्षक रचना छ । त्यसैले बुझाउँछ ।
फ्रान्सेली साहित्यको तुलनात्मक उच्चता एउटा कुरा हो भने अर्काे छ तिनको रूपान्तरणमा उच्च कलाशिल्प बोकेको मर्मज्ञ अनुवादकको हात । अनुवादले सन् २०१४ मा प्याट्रिक मोदियानोलाई सर्वोच्च स्थानमा पुर्यायो । सन् २०१५मा रुसी अलेक्सिएभिच स्वेतलानालाई, सन् २०२२ की आनी एर्नाेलाई । यी तीनका अनुवादहरू क्रमशः मार्क पोलिजोटी, किप गेसेन र चान्या बेडली थिए । त्यसो त आजसम्ममा १७ फ्रान्सेली स्रष्टाले नोबेल पुरस्कार पाए, प्रत्येक कृति कुनै सिद्धहस्त व्यक्तिका अनुदित कर्म थिए । अङ्ग्रेजी बाहेकका अन्य भाषामा लेखक मात्र गतिलो भएर पुग्दैन, समस्तरीय अनुवादक नै चाहिन्छ ।
आनी एर्नाेको जन्म सन् १९४०मा भएको रहेछ । मभन्दा १३ वर्ष जेठी दिदी नोबेल पुरस्कार पाउने प्रथम फ्रान्सेली महिला हुन् । विश्वविद्यालयीय अध्यापनमा संलग्न एर्नोले तीसको उमेरदेखि साहित्यिक जगत्मा प्रवेश गरिन् । उनले आख्यानबाट प्रवेश गरेकी थिइन् तर उनको सिर्जना पूर्ण रूपले आत्मसंस्मरणात्मक शैली र शिल्पले बनिन थाले, यसैमा उत्कृष्टता आर्जन गरिन् ।
उनका कृतिमा पुरुषको स्थान –अ म्यान्ज प्लेस), केवल तृष्णा (सिम्पल प्यासन), एक नारीको कथा (अ उमन्स स्टोरी), म अन्धकारमा रहन्छु (आइ रिमेन अन डार्कनेस), घटना (ह्यापेनिङ), ती वर्षहरू (द इयर्स), हराउँदा (गेटिङ लस्ट), कन्याको कथा (गल्स् स्टोरी), त्यो युवक, (द यङ्ग म्यान) उनका प्रमुख गद्य कृति हुन् ।
विचित्रताले छाएर सरलतम बिम्ब खेल्न निपुण आर्नाेका प्रत्येक कृतिमा मोहनी छ । तर पनि एउटा पुरुषको स्थान (अ म्यान्ज प्लेस) नामक कृतिमा आफ्नो पिताजीसँगको अनुभव छ । जुन संस्मरणात्मक आलेखनको निमित्त उनी प्रसिद्ध छिन् । स्मृतिलाई टिपेर पछिका विभिन्न अवसरमा जोड्दै आफ्नै विधा तयार गरेकी छन् । त्यसैगरी आफ्नी आमाको जीवन कथा र स्मृतिलाई समेट्दै अ उमन्ज लाइफ रचिन् । अप्रिल २०, १९८७ का सन्डे पत्रिकाले प्रस्तुत आमाको जीवनमा आधारित सो कृतिको यस्तो मूल्याङ्कन छपायो । यो जीवनी होइन न त यो आख्यान नै हो । हुनसक्छ, साहित्य समाजशास्त्र र इतिहासको सम्मिश्रण हो । त्यसैले आनीले भनेकी छन् –मेरी आमा एक उत्पीडित दुनियाँमा जन्मेकी थिइन् । जसबाट उनी उम्किन चाहन्थिन् । यही कुरा मेरो इतिहास भयो । तर शब्द र विचारले चल्ने समयमा म हुर्केँ उनी मलाई त्यही संसारमा हुर्काउन चाहन्थिन् ।
यो कृति लेखककी वृद्ध माताको जीवन,कर्म, चेतना सबै वर्गको कथा हो । फ्रान्सको एक निर्धन गाउँमा जन्मेकी आमाको छोरी हुर्काउने दृष्टिकोण, उनले भोगेका अभाव र कष्टको धमिलो छाया अनि अन्त्यका वर्षमा अर्कै बिमारले अशक्त भएपछि छोरीले गरेको आमाको स्याहारको क्रममा मृत्युको चोटले हानेपछिको छोरीको मन एक भयङ्कर रिक्तताले भरिन्छ; तिनै मुर्हूतले निर्मित छ यो कृति ।
त्यो रिक्ततालाई उनले यसरी सम्झेकी छन् – अब उप्रान्त कदापि मैले उनको स्वरलाई सुन्ने छुइनँ । त्यो उनको स्वर साथमा आएका उनका शब्द, उनका हातको हल्लाई , उनको चलफिर गर्ने हाँस्ने तरिकाले मभित्रको नारीलाई जोड्यो, म बालिकाका रूपमा दुवै । म आएको संसार र मेरो बीचको सम्बन्ध अबदेखि चुँडिएको छ ।
आमाको स्वर, गति, लय र कर्म मात्र होइन आमाको जीवन दर्शनको आवृत्ति अनि निर्माण गर्ने सामाजिक परिवेशको गहिरो छाप भएकाले यो समाजशास्त्र र बिस्तारै हुर्किंदै गएको नारी मनोविज्ञान हो आफ्नी आमासित हुर्केको अनुभव, प्रतिदिन आमाले छोरीप्रति गरेका चिन्ता, एक अर्काप्रति गरेका आकर्षण र विकर्षण— बिस्तारै स्वतन्त्रता भोग्दै गरेका नारी मनको जीवन र चेतना बोकेका यो कृति उच्च कल्पनाले बुनेको यथार्थ रहेछ । ब्लूम्स्बेरी पत्रिकाले यसको अन्तिम मूल्याङ्कन गर्दै लेखेको छ “महान् प्रेम र महान् पीडाको सिर्जना (एन याक्स ओब ग्रेट लभ एण्ड अब ग्रेट पेइन) ।
आमा छोरीको सम्बन्ध हरेक सभ्यतामा आफ्नै प्रकारले विशेष हुँदो रहेछ । छोरीलाई आमा नै हुन्छिन् र आमाका द्वारहरू छोरीप्रति नै खुल्दै बन्द गर्दै गर्ने रहेछन् । ती साथी साथी मायालु प्रतिद्वन्द्वी बैरी सबै थोक बन्दा रहेछन् । त्यही मनोविज्ञानले यो कृति निर्मित छ ।
यो कृति पढ्दा मलाई व्यञ्जना शर्माकृत घाम अस्ताएको होइन उपन्यास सम्झना भयो । धनकुटाकी पाँच सन्तानकी माता सरस्वती वस्तीले जेठी छोरी अञ्जनासँगै एस.एल.सी. गर्नुभयो । अनि विद्यालय शिक्षक हुनुभयो । पछि कान्छी छोरी व्यञ्जनासँगै कलेज पढ्न थाल्नुभयो । बी.एड. गरेकी आमाले विद्यालय सेवामा नै जीवन व्यतीत गर्नुभयो र बी.एड. गरेकी छोरीले एम.एड., एम.फिल गरी अस्ट्रेलियाबाट पिएच.डी समेत पूरा गरिन् ।
पिएच.डी. सकेर शोधग्रन्थ लिएर पितामाताको दर्शनमा स्वदेश फिरौँला भन्दाभन्दै अचानक एकदिन माता परलोक भएको खबर पुग्यो । ती पुत्री कति आहत र विक्षिप्त भइन् होला ! कसरी सम्हालिएर टुङ्गामा आइन्, सम्झिँदा मन भरङ्ग हुन्छ । तर उनले एर्नाेको जस्तै एउटा कृति लेखिन् –घाम अस्ताएको होइन आख्यान जस्तो, जीवनी जस्तो, हृदयस्पर्शी त्यो विधालाई हामीले आत्मालाप भन्यौं । आज आर्नाेकी आमाको कथाले मलाई डा. व्यञ्जनाको सिर्जना सम्झायो ।
अल्जाइमरको लामो बिमारले शिथिल र बेहोस भएकी एर्नोकी आमाको केयर सेन्टरमा मृत्यु भयो । भोलिपल्ट उनी पुगिन् । त्यसपछि क्रिस्चियन विधिअनुसार अन्तिम संस्कार गर्ने सामान र प्रक्रियाबाट पुस्तक आरम्भ हुन्छ । कुन काठको कफिन चढाउने, पुष्प कुन, मलामी को को , गर्दै इभ्टर भन्ने ठाउँको चर्चमा पुर्याउँछन् ।
अन्तिम संस्कारको अर्काे हप्तादेखि “अब मेरी आमाका निमित्त केही गर्नु छैन ” भन्ने भावले छोप्यो किनभने यसपछिका कुनै वसन्त उनले देख्ने छैनन् । त्यसपछि उनलाई यस रिक्त क्षणमा लाग्यो, “म अब चाहिँ सामान्य वाक्यमा अन्तर्निहित शक्तिलाई अनुभूत गर्न सम्छु ।” यही शक्तिले सामान्य पद र वाक्यले हृदय छुने उनको सिर्जना शक्ति अद्वितीय रहेछ ।
आमा बितेपछि उनी आमालाई यसरी सम्झन लागिन् ‘ अनि मैले उनका फोटाहरू खोजी हेरेँ । एउटाले उनलाई तीन नदीको तटमा बसिरहेको देखायो । उनले सफा गोडा डिलबाट तल झारेको, उनको बुलबुले रातो केश बतासमा टल्किरहेको जस्तो अनि कालो अल्पका सुट सूर्यमा प्रतिबिम्ब फ्याँकिरहेका ।
म मेरी आमाबारे लेखिरहन चाहन्छु । उनी एक मात्र नारी हुन् जो मलाई अर्थपूर्ण लागिन् । उनी वृद्धावस्थाको स्मृति लोप हुने (डिमेन्सिया) बिमारले दुई वर्षदेखि थला परेकी थिइन् । सायद मैले अझै प्रतीक्षा गर्नु पर्ला—उनको बिमार र मृत्यु एकै ठाउँमा विलय भएर अतीतको रूप धारण नगरुन्जेल मेरा जीवनका अन्य घटना जस्तै—मेरा पिताजीको मृत्यु अनि मेरा पतिसँगको सम्बन्ध विच्छेद जस्तै । त्यसपछि म विच्छेद अथवा नियोजनको अनुभव गर्न सकुँला । त्यसपछि मात्रै स्मृतिलाई मिलाएर व्यक्त गर्न सकुँला ।
मलाई पनि आमा बितेपछि त्यस्तै भयो । सबैलाई त्यस्तै हुन्छ । तर व्यक्त गर्ने यस्तो भाषा र शिल्पको अभावमा ती सम्झनाहरू हावामा राखेका कपुरका डल्ला जसरी उडेर सकिन्छन् । अनि बिस्तारै हामी सहज बन्ने प्रयत्न गर्छौं तर शक्ति हुने यसरी शब्द शब्दको सत्य बोध गरेर ( गराएर ) शान्त हुन्छन् । लेख्नेहरूको संवेग तिनै शब्दले थाम्छन् रोइरहेको नानी फुलिन्छ तर नलेख्नेहरूको पीडा जीवनभरि रुन कराउन भक्कानिन पुग्छ । कति सरल र कति स्पष्ट छ, एक महान् साधकको सोच्ने तरिका । यो कृति तिनै आमाको जीवन हो, कहाँ पुगेर उनीसित आफू जोडियो कहाँ विच्छेदित भइयो । प्रेम र घृणाका वेगहरूले दोहोरी पिङ खेलेको कथा ।
आमाको महत्वपूर्ण परिवेश र अनाम जीवन सम्झेर छोरी भन्छिन् –“मेरा लागि मेरी आमाको कुनै इतिहासै छैन । उनी सधैं त्यहीँ थिइन् ।” हामीलाई पनि आफ्ना पिता माता सम्झिँदा त्यस्तै लाग्छ । “आमा झ्वाँक्की थिइन्, जे गरे पनि दृढतापूर्वक त्यसैमा लाग्ने, एक प्रकारकी फन्तासी नारी, अलग्गै नर्म्यान्डि शहरमा दुःखसित जुधिरहेकी, मेरी आमाको एकदिन जराचिकित्सा (जेरियात्रिक) विभागमा देहान्त भयो ।”
“यो पुस्तक तिनै माताका बारेमा तथ्य खोल्ने प्रयत्न हो, यस्तो सत्य कुनै फोटोग्राफले होइन, न त मेरै सम्झनाले न परिवारको स्मृतिले खोल्न सक्छ, त्यो एउटा सत्य हो, जसलाई केवल सत्यले प्रकट गर्न सक्छ । ”
नर्म्यान्डिको इभ्तोत भन्ने चिसो ठाउँमा लेखकका हजुरबुबा ठेलागाडाको काम गर्थे । हजुरआमा तान बुन्थिन् । ‘म सहरमा जन्मेकी हुँ’ भन्ने उनको अभिमान थियो । लेखककी आमा पच्चीस वर्ष नभइन्जेल एउटा सिङ्गै समुद्र सुकाइदिन सक्ने पिएर यसका माछासमेत सक्ने अर्थात् त्यत्ति भोकी थिइन् । आज उनले भनेका ती कुरा सम्झिन्छिन् ।
उनका छ जना सन्तान एउटा कोठामा खाँदिएका, एउटै ओछ्यानमा पुराना लुगा, जुत्ता लगाई चल्ने गर्थे क्रिस्मसमा झुम्राको खेलौना, दाँत कुँड्याउने स्याउको साइडर पिउँदै । आमाले प्राइमरी स्कुलसम्म पढिन् किनभने स्कुल छोडेर केही बिग्रिन्न थियो तर मास (चर्चको प्रार्थना) छोडेमा समाप्त हुइन्थ्यो ।
आमाले कारखानामा काम गरिन्, पछि एउटा दोगानमा सघाइन् । छोराछोरी कुसङ्गतले बिग्रेलान् कि भन्ने उनलाई ठुलो डर थियो । छोराहरू रक्सीको कारण जेल पर्लान्, छोरी बदमास केटाका पछि लाग्लान् यही मुख्य डर हो । नारीका लागि विवाह भन्ने कुरा जीवन र मरणको प्रश्न थियो—राम्रो भए जीवन चल्ने नराम्रो भए जीवन ध्वस्त । गाउँमा बिजुली आएको थिएन । बाबु–छोरी नै कारखानामा काम गर्थे । आमाले दोगान थापेकी थिइन् । त्यसको अर्को दशकदेखि दोस्रो विश्वयुद्ध मडारिन थाल्यो । आमा शक्तिशाली थिइन् र बाबुले मान्थे । त्यसबेला कटन मिलहरूले जन्मदेखि मृत्युपर्यन्त छोड्दैनथे । त्यसबेला त्यो उपत्यकामा सर्वत्र रक्स्याहा र अविवाहित महिला हुन्थे । त्यो औद्योगिक उपत्यकामा गरिबीले जीवन समाप्त थियो ।
“आज म ती दिन भोग्ने आफ्नी आमाको बारेमा लेख्दैछु किनभने मैले आज पुनः उनलाई यो संसारमा ल्याउनु छ ।” यसरी आमालाई कसरी लेखौँ भनी कति समयदेखि उनी चिन्तामा थिइन् । त्यो अनुभव आज फेरि सुनाउँछिन् ।
दोस्रो विश्वयुद्धको विनाश सुरु भयो । शहरमा बमबारी चल्यो । पहाडको फेदमा लुक्ने टहरा बनाएका थिए । तर आमाले भनिन् –‘म आफ्नै घरमा मर्न चाहन्छु ।’बरु त्यसबेला सानी आनीलाई स्ट्रोलरमा राखेर घुमाउने गर्थिन् । पछि आमा त्यो युद्धको कथा बताउने आख्यान गन विथ दि द विण्ड (नारी स्रष्टा मार्गरेट मिचेलले लेखेको एक काव्यिक शक्तिले युक्त युद्ध उपन्यास) हत्ते गरेर पढ्थिन् ।
उनको शिरमा सुन्दर केश थियो । रङ्गाएर झन् राम्रो पार्थिन् । उनको दृढ स्वर थियो, गर्जन छुटे जसरी बोल्थिन् । कस्तो गहिरो गरी, घाँटी भित्रको हाँसो निकाल्थिन्, मिठो स्वरमा गीत गाउँथिन् । तिनी पाउडर घस्थिन्, अत्तर छर्किन्थिन्, लिपिस्टिक दल्थिन् । मलाई लाग्थ्यो हुर्किए पछि म पनि आमा नै हुन्छु ।
युद्ध पश्चात् त्यो ठाउँ छोडियो अनि जीवन कठिनतर हुँदै गयो । सारा भत्केको डङ्गुरमाथि मलाई लिएर नयाँ ठाउँमा काम खोज्न डुल्थिन आमा । मेरा बाले बमले टोड्का पारेका प्वाल टाल्ने जागिर पाए । आमा एउटा दोगान र क्याफे चलाउँथिन् ।
एकपल्ट रिसेप्सनमा पिएर आमा मातिन् । मेरा सामु उनी बिरामी परिन् । त्यसपछि जुनसुकै पार्टीमा टेबलमाथि अडिएको पाखुरातिर च्याउँथेँ, आँखा लाउँथेँ, त्यो ग्लास पक्रिने हाततिर आँखा लाउँथेँ अनि सम्पूर्ण शक्तिले प्रार्थना गर्थेँ—परमेश्वर ! आमाले त्यो गिलास ओठसम्म नपुर्याउन् ।
कहिले क्रुद्ध भएर मलाई मनपरी गाली गर्थिन् – “तँलाई हामीले सर्वस्व लगाएर हुर्कायौँ , अझ तँ खुसी छैनस् !” कामकाजी महिला मेरी आमा मलाई दोगानको संस्कार सिकाउँथिन्– “मान्छे आउँदा प्रस्ट स्वरमा ‘हेलो’ भन्नू, कसैको आलोचना नगर्नू, दोकानमा चनाखो भएर आँखा लगाउनू ।”
कति छिटी, फुर्तिली, कति व्यस्त मेरी आमा, शुद्ध भाषामा शब्द छानेर बोल्थिन् । आत्मोन्नति ठुलो कुरा हो, ज्ञानभन्दा मूल्यवान् के नै छ र भन्थिन । मेरी आमाले तिनै पुस्तक पढिन् जुन आज म पढ्दै छु । सुसंस्कृत मानिससँग मेरो सम्पर्क बढोस् भन्ने चाहन्थिन् ।
पचास पुग्दा मेरी आमा झर्किने कसैलाई नटेर्ने जस्ती जब्बर नारी बनिन् । तरुणावस्थामा पुगेपछि म पनि आमासँग बाझेर अलग्गिएँ । त्यसपछि हाम्राबीचमा सङ्घर्ष मात्र बाँकी रह्यो । उनी हुर्केको समयमा युवती कन्याहरूले स्वतन्त्र रूपले यौन सम्पर्क गर्ने कुरा मेरा आमाहरूको कल्पनामा पनि थिएन । त्यस्तो गर्ने आचरण भएकाहरू आजीवन अभिशप्त हुन्थे ।
मेरी आमा म हुर्केर ठुली भएको हेर्न चाहन्थिन् । मैले कपडा फुकालेका बेला मेरा स्तन र नितम्ब देखेर उनलाई खतराले छोपेको जस्तो लाग्दो रहेछ, अब यो केटी कुनै केटाको पछि लागेर पढाइमा लद्दु हुने हो कि भन्ने पीर हुन्थ्यो होला । त्यसैले चौधौं जन्मदिन आउने बेलादेखि मलाई ‘प्लिटेड’स्कर्टस् (मुजा मुजा परेको जामा) माथिसम्म आउने मोजा अनि हिल विनाका जुत्ता ल्याइदिइन् । अलिकति राम्री भएर केश बनाएर बाहिर जान नदिने । कतिबेला लाग्थ्यो –मेरी आमा मरे पनि केही फरक पर्दैन होला ।
अर्थोक सोच्नै नदिने पढाइ बाहेक, कोही (केटा)सँग हिँडेको देख्नै नहुने, फेरि हामी गरिब छौँ भन्ने पनि देखाउन नहुने– उनी मलाई आफ्नो प्रतिद्वन्द्वी ठान्थिन्, मेरो किशोरावस्था आनन्दरहित थियो ।
त्यसपछि लेखिकाले आमा छोडेर रुएन शहरमा हाइस्कुलमा पढ्न बसिन् अनि लण्डन सरिन् । अनि चाहिँ आमालाई ‘मिस’ गरेजस्तो भयो । घर आउँदा कस्तो आनन्दकर मिलन हुन्थ्यो । पितामाता घरमा एक्लिए । तर माता अझै सुन्दरी बनेर रहन्थिन् । विवाह नहुन्जेल म आमाकै थिएँ । मेरो विवाह बोर्डाे भन्ने ठाउँको युवकसँग भयो । हामी दुईको शैक्षिक योग्यता समान थियो । हामी जाँ पौल सार्त्रको स्वतन्त्रताको बारेमा छलफल गर्थ्यौं । मेरी सासू र आमा एकै उमेरका थिए ।
म छिट्टै नै एक महिला भएँ । घर व्यवहार आइलाग्यो फुर्सदै भएन । आमा र मेराबीच पत्राचारले मात्र भेट हुन लाग्यो । अब यो कृति लेख्दा कति ती पत्रबाट पनि सम्झना लिएकी छु । त्यसपछि मेरा पिताजीको मृत्यु भयो । आमा अत्यन्तै उदास र एक्ली भइन् । अलिक पछि आमा पनि परलोक भइन् । मैले त्यसबेला एक पत्रिकामा पढेकी थिएँ –निराशा पनि एउटा सुख हो । आज तिनै कुरा सम्झिँदै यो पुस्तक लेखिरहेकी छु ।
अस्पतालमा बसेदेखि नै आमा विक्षुब्ध थिइन् । परित्यक्त भावमा तिनी भन्थिन्, –यो ठाउँ मेरो होइन । त्यसबेला मेरा दुई सन्तान हुर्किँदै थिए ।
त्यसपछि स्रष्टा फेरि अतीतमा फर्किन्छिन् –आमा कहाँ बसिन्, कुन भावले जीवन बिताइन्, समाज कस्तो थियो । उनका बिर्सिनसक्ने बोली र कर्म कस्ता थिए आदि कुराको सम्झनामा ।
इम्टट भन्ने ठाउँको फ्ल्याट घरमा उनको बसाइ अन्तिम लेखिएको रहेछ । मेरी एक्ली आमा अदृश्य सङ्कट विरुद्ध जुध्न लागिन् । डाक्टरलाई देखायौँ ओल्ड एज होममा लानोस् भने । लग्यौँ तर आमाको विस्मृति बढ्दै गयो ।
आमाको यो अवस्था देखेर छोरीले लेखिन्, ‘अल्जाइमर (वृद्धावस्थामा उत्पन्न हुने एक प्रकारको विस्मृतिको रोगलाई डाक्टरले नाम दिएका) । विगतका केही वर्षदेखि मलाई लेख्न भनेपछि झनझन कठिन लाग्दैछ किनभने म कदापि त्यो स्थितिमा पुग्न चाहन्नँ । तर पनि मेरो मनमा भएकी ती शक्तिशाली, झर्झराउँदी नारीसित आजकी विक्षिप्त (बौलाएकी) नारीलाई जोड्ने शब्द नपाएसम्म म सङ्घर्षमा रहन्छु (पृष्ठ ४०) ।’
आमा पूरै विभ्रान्त थिइन्, कोठा बिर्सिन्, सामान बिर्सिन्, थर्थराउँछिन्, चञ्चलता बढ्यो । एक बिहान कोठामा बसेर प्याडमा लेख्न थालिन् । बिहानभरि हत्ते गर्दा पनि केही लेखिएनछ । उनले लेखेकी थिइन् –‘प्यारा पेलेट (पति) म पनि मेरै अन्धकार संसारमा हराएकी छु ।’
अब लुगा कपडा बिर्सिन् । अब दुइटा मात्र संवेदना बाँकी थिए—क्रोध र सन्देह । अब केहीले उनको खुसी राख्न सक्दैनथ्यो । अनि मान्छेका नाम बिर्सिन् । जे पायो त्यही गर्न र भन्न लागिन् र यो जगत्मा अल्झेर रहने मन नभएको उदासीनता देखाउँछिन् । कैले आफैँसित बोल्छिन् । मेरी आमा वृद्धवृद्धा अस्पतालको सिरान तलामा पुगिन् । त्यहाँ अलिक अथवा बिरामी राखिन्थे, बीच तलामा निकै सारा, भुइँ तलामा स्वर्ग जाने बेला भएका । अब क्रोध र भयले मातालाई सिध्याउला जस्तो छ ।
अप्रिल महिनाको एक सन्ध्यामा म अस्पताल पुगेँ । साढे छसम्ममा नै आमा सुतिसकेकी । खजमजिएको तन्नामाथि पल्टेकी आमाका घुँडा उठेका थिए, गुप्ताङ्ग देखिने गरी । कोठा न्यानो थियो । म रुन थालेँ किनकि ती मेरी आमा थिइन्— मैले बाल्यावस्थादेखि चिनेकी तिनै नारी । उनका छातीमा निला नसा देखिन्थे ।
केही समयपश्चात् आमा कुनै ऋतुकाल नभएको संसारतिर पसिन् । त्यो न्यानो, मिठो र सुगन्धित स्थान जहाँ कुनै समयको भाव थिएन, खानु र सुत्नु मात्रै बाँकी रह्यो । त्यसपछि उनमा आत्मसम्मान समाप्त भयो । शरीर पूरै शिथिल, झुम्रो भयो । अब कुप्रो शरीरसँग यताउता गर्छिन् । चस्मा हराइन्, आँखा स्थिर भए, अनुहार फुङ्ग उड्यो, किञ्चित सुन्नियो । उनको अनुहार हेर्दा तर्साउने जस्ती हुँदै गइन् । ( पृष्ठ ८२ )
केही दिनपश्चात् आमा लडिन् र टुइँके भाँचियो । त्यसपछिको बेहाल बयान गर्न नसकिने छ । मान्छे भन्न थाले अब दुःख लुकाएकै राम्रो हुन्थ्यो । अब उनलाई हेर्ने मानिस आउनै छाडे किनभने उनका शरीरका लागि मरिसकेकी थिइन् । तर उनी भने अझै बाँच्नै चाहन्थिन् । करिब एक हिउँद बाँचेर आमा बितिन् । त्यसका एक हप्ता पहिलेको आइतबार मैले सम्झिरहेँ— उनी ती दिनमा जीवित थिइन्, उनका ती खैरा मोजा फोर्सिथिया फूलका गुच्छा अनि सोमबार परलोक भएकी आमा । ओछ्यानमा सुतेकी ती दुई दिनलाई सँगै पार्न सकिन । अब त सबै कुरा एउटै भयो । (पृष्ठ ८७) ।
लेखिकाले सम्झिइन् – अब मैले आमाको स्थान लिएँ । बेलाबेला भ्रान्तिमा आमालाई देखिन्छ मात्रै । धेरैजसो बाल्यकालकी आमालाई देख्छु— एउटा ठुलो श्वेत छाया तैरिँदै मसम्म आइपुग्छ ।
विश्व प्रसिद्ध फ्रान्सेली चिन्तक नारी सिमन दी बुभार भन्दा आठ दिन पहिले (६ अप्रिल १९८६का दिन) मेरी आमा बितिन् । उनी कसैबाट केही लिनभन्दा दिनमै आनन्द मान्थिन् – लेख्नु भनेको पनि कसैलाई केही दिने तरिका होइन र ? (पृष्ठ ८९)
= = = =
अन्त्यमा
स्वाभाविकै छ, यो कुनै जीवनी होइन, न त यो एक आख्यान नै हो । हुनसक्छ यो साहित्य समाजशास्त्र र इतिहासका बीचको एक ठिमाहा उत्पादन हो । मेरी आमा एक उत्पीडित समयमा जन्मेकी थिइन्, जसबाट उम्किन चाहन्थिन् । त्यो कुरा—यस संसारमा आज इतिहास भएको छ । त्यस इतिहासलाई आजको शब्दले र विचारले साबित दुनियाँमा त्यति तीव्रतासाथ अनुभव गर्दिनँ । यो दुनियाँ नै आमालाई बसोस् भन्ने चाहेको ठाउँ हो ।
म ती स्वरलाई कदापि सुन्ने छुइनँ । यो उनको स्वर थियो । उनैका शब्दसँगको, उनका हात, उनको घुम्ने चाला, हाँस्ने चाला जसले त्यो नारीलाई जोडेको छ, जुन मै हुँ एकदिन म बालिकै थिएँ । म जुन संसारबाट आएँ त्यो संसार र मलाई जोड्ने डोरी सदाका लागि चुँडिएको छ (पृष्ठ ९०) ।
यो मास्टरपीस पढेपछि आफैँमा घटाएँ। हाम्रा पिताजी बितेपछि उहाँको स्मृति ग्रन्थ तयार पार्ने प्रतिज्ञा गर्यौं र कर्म थाल्यौँ । निकै वर्ष पछि मात्र स्मृतिबिम्ब : पण्डित टेकनाथ भट्टराई प्रकाशित ग¥यौँ । आजीवन लेख्ने नै कर्ममा रमाए पनि यस्तो विषयमा कठिन हुँदो रहेछ ।
सम्पूर्ण देहमा मन प्राण आत्मामा पिताजी नै हुनहुन्छ के लेख्नु जस्तो हुँदो रहेछ । पछि आमा बित्नुभो । उहाँको त्यस्तै होला भनी तत्काल वर्षदिन भित्र प्रकाशित गर्यौं । त्यसभन्दा पहिले आनी एर्नोको यो कृति पढ्न पाएको भए म पनि कति गहिरिएर आमालाई छोएर लेख्थेँ होला । एर्नोकी आमाले बिताएभन्दा हाम्री आमाको जीवनकाल झन् कति कति कठोर थियो । उहाँकी आमाले एकदिन सानैमा साथीसँग मागेर कपालमा किलिप लगाएको देख्नु भएछ। अनि घरदेखि खेदाएर आहालेको धारासम्म पुर्याई किलिप फुकाल्दिनु भएछ। यो ताप्लेजुङ हाङ्गदेवाको कुरा । जहाँका जहिलेका आमाको मनमा छोरी बिग्रेलान् भन्ने पीर । त्यसैले हाम्रा पनि ठुली बैनी पद्मा पाँच कक्षामा पढ्दै माग्न आए । बा आमाले दिनु भो । अरू बहिनी अलिक माथिसम्म पुगे । समय काल पड्के थियो । अपठित सबैका आमा नै बा भन्दा शक्तिशाली हुन्थे । अझै हाम्रो समाजमा नारीइच्छाले नै घर व्यवहार चल्छ । पुरुष बाहिर डुक्रिने मात्र हो । आनी एर्नो सानी हुँदै गोन विथ द विन्ड जस्तो आख्यान पढ्न सक्तिरहिछन्, हाम्रा निरक्षर माताहरूले समाजले सिकाएभन्दा पर केही देखेनन् । हाम्री आमा भने बाको स्वरलाई ढाकेर मधुरो पार्दै भजन कीर्तन गाउनु हुन्थ्यो । उहाँको सिरानमा गुणरत्नमाला हुन्थ्यो पढेको ता देखिनँ । अब मलाई आनी एर्नोका सबै कृति पढौँ भएको छ ।
सुकर्म टोल, कीर्तिपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।