जर्मनी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी च्याप्टरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको अवसरमा भर्चुअल साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ। जुममार्फत आयोजित कार्यक्रममा जर्मनीभरि रहेका नेपाली साहित्य सर्जकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य परदेशमा बसोबास गर्ने नेपाली साहित्यकार र कविहरूबीच अनौपचारिक साहित्यिक साझा मंच निर्माण गर्नु र महाकवि देवकोटाको साहित्यिक योगदानलाई स्मरण गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रमलाई  नीरज सोडारीले सन्चालन गर्नुभएकाे थियाे । सहभागी सर्जकहरूले देवकोटाका चर्चित कविता वाचनका साथै आफ्ना मौलिक कविता, गजल र मुक्तक प्रस्तुत गर्नुभएकाे थियाे, जसले कार्यक्रमलाई थप साहित्यिक र जीवन्त बनाएको थियो।

कार्यक्रमको विशेष आकर्षण अनेसास जर्मनीका वरिष्ठ उपाध्यक्ष लीलाराज कार्कीको प्रस्तुति रहेको थियो। कार्कीले महाकवि देवकोटाका सुपुत्र पद्मप्रसाद देवकोटाद्वारा लिखित पुस्तकबाट महाकविको जीवनका अन्तिम क्षणसम्बन्धी शब्दहरू वाचन गर्दै श्रव्य–भावनात्मक वातावरण सिर्जना गर्नुभएकाे थियाे ।
अनेसास जर्मनी च्याप्टरकी अध्यक्ष सुजाता घिमिरे राउतले समापन मन्तव्य दिँदै परदेशमा नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्न अनेसासले खेलेको भूमिकामाथि प्रकाश पार्नुभयाे । उहाँले साहित्यिक क्रियाकलापमा सक्रिय सहभागिताका लागि सबैलाई धन्यवाद दिँदै नयाँ पुस्तालाई पनि संस्थासँग जोडिन आह्वान गर्नुभयाे।
नेपाली भाषा, साहित्य र कलाको प्रवर्द्धनमा सक्रिय अनेसास जर्मनीले प्रत्येक तीन महिनामा भर्चुअल वा प्रत्यक्ष माध्यमबाट साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसपटकको कार्यक्रम पनि भर्चुअल माध्यममै सम्पन्न गरिएको संस्थाले जनाएको छ।