
लेखनको उत्प्रेरणाः
काठमाडौँको चावहिल, सिफलस्थित डियरवाक सिफल स्कुलमा म प्रत्येक महिना नयाँ नयाँ किताबहरू (विशेषतः आख्यान) अध्यापन गराउँछु । त्यसैले पनि होला, मलाई अध्यापनमा कत्ति पनि मोनोटोनस भन्ने कुरा कदापि हुँदैन तर कहिलेकाहीँ योजनानुसार लगाइएका किताबहरू त्यो तहका लागि उपयुक्त नभएको अवस्था वा यो पुस्तक चाहिँ विद्यार्थीहरूका लागि स्तरानुसार खासै रुचिकर नभएको, नमिलेको अवस्थामा चाहिँ अलिक सोच्न बाध्य बनाउँछ नै ।
कार्तिक महिनामा ‘पायल पढ्न जान्छे’ भन्ने कृति कक्षा ५ र ६ मा पढ्ने विद्यार्थीहरूका लागि लगायौँ र पढायाैँ पनि । पुस्तक पठनकै सन्दर्भमा विद्यार्थीहरूलाई पठनसँगै पुस्तक समीक्षा लेखनका लागि उत्प्रेरित गर्दैगर्दा मेरो मनमा पनि पुस्तकका बारेमा लेख्ने हुटहुटी पैदा भयो ।
विषय प्रवेश:
साङ्ग्रिला बुक्स प्रा.लि. ले प्रकाशनमा ल्याएको ‘पायल पढ्न जान्छे’ कृति विधाका दृष्टिकोणले किशोर उपन्यास भनिएको छ । पुस्तककी लेखिका आन्विका गिरी हुनुहुन्छ । पुस्तक १३ इन्च चौडाइ र २० इन्च लम्बाइको आकारका निर्माण गरिएको साथै वेटलेस पेपरको प्रयोग गरिएको छ । किताबको बाह्य गाता रङ्गीन छ । भित्र चाहिँ श्यामश्वेत चित्रहरू पनि राखिएका छन् ।
किताबको आवरण संयोजन टाइम्स क्रिएसनले गरेको छ भने चित्रहरू बनाउने काम डुडल आर्टस् प्रा.लि. ले गरेको छ । बजारमा यसको पहिलो संस्करण २०७८ फागुनमा आएको छ । पुस्तकको अन्तिम बाह्य पानामा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको मन्तव्य पनि राखिएको छ । १३१ पाना र १३ वटा उपशीर्षक (अध्याय) दिएर लेखिका आन्विका गिरीले कथानकलाई एकअर्को उपशीर्षकसँग मज्जासँग जोडिदिनु पनि भएको छ ।
कथावस्तु/कथानक :
उपशीर्षकहरूः
सपना
पायलको गाउँमा पैनीको विषयलाई लिएर सधैँ झगडा हुने गर्दथ्यो । गाउँकी एक महिला पवनी यादवले पैनीको विषयमा व्यापक योजना बनाइन् । उनले सबै गाउँलेहरूलाई झगडा गर्नुभन्दा बरू सबै मिलेर पैनी भनेर आग्रह गरिन् । त्यहाँका पुरूषहरूले त्यो कुरालाई हावामा उडाए । पवनीले गाउँका महिलाहरूलाई पनि पैनीका खन्ने विषयमा पटकपटक भनिन् । सुरूमा त कसैलै पनि मानेनन् । स्वयम् पवनीका श्रीमान्ले पनि यो कुरा स्वीकार गरेनन् । पवनीले हार मानिनन् । समस्या के थियो भने पैनी खन्ने ठाउँ नै तिनै जमिनका मालिकको थियो, उनीहरू पैनी खन्ने कुराको विरुद्धमा थियो ।
विभिन्न बाधा अड्चनका बाबजुद पवनीले पैनी खन्नका लागि कानुनी प्रक्रिया पनि पूरा गरिन् । अझै पनि कोही खन्नका लागि तयार थिएनन् । पवनीले एक्लै खन्न थालिन् । खन्दै गइन् । लगभग आधा जति पैनी खन्दै गर्दा पवनी ज्वरोले सुतिन् तर पैनी खन्ने काम रोकिएन । यो कुरा सारा गाउँभरि परालको आगोसरि फैलियो । पुरुषहरूले जासुस गरे ।
अन्ततः रातको २/३ बजेदेखि नै गाउँका महिलाहरू नै पैनी खन्नका लागि गएको कुरा सावित भयो । पवनीको सपना साकार हुँदै थियो । अन्ततः पवनी गाउँकै वडा अध्यक्ष बनिन् । पवनी यादवको साहसको यो वास्तविक कथा पायलकी हजुरआमाले पायललाई सुनाउँदै थिइन् । र भनेकी थिइन्, “तिमी पनि ठुली भएपछि नेता बन्नुपर्छ ।” त्यो कुराले पायललाई निकै नै प्रभावित बनाएको थियो ।
खुसी
त्यो समयमा पायल भर्खरै कक्षा ६ मा पढ्दै थिइन् । हजुरआमासहित पायलको परिवारमा ७ जना थिए । पायलका बुबाआमा, दुई बहिनी अमृता र रञ्जना अनि भाइ अमित । हजुरआमाको मृत्युपश्चात् पायलको पहिलो साहारा टुटेको हुन्छ ।
पायलका आमाबुबा ७/८ किलोमिटर टाढा रहेको फ्याक्ट्रीमा काम गर्छन् । पायल र माहिली बहिनी अमृता लगभग एक घन्टा हिँडेर स्कुलमा पुग्छन् भने कान्छी बहिनी रन्जना र भाइ अमित घरनजिकैको प्राथमिक विद्यालयमा पढ्छन् ।
पायल घरकी जेठी सन्तान भएकाले घरको सबै दायित्व उनकै काँधमा हुन्छ । स्कुल टाढा भएका कारण उनीहरूले साइकल किन्ने योजना त बनाएका हुन्छन् तर पैसा अभावका कारण उनीहरूको सपना सपनामा नै सीमित भएको हुन्छ । त्यही माैकामा कक्षा ८ मा पढ्ने छात्राहरूलाई प्रदेश सरकारले साइकल दिने योजना ल्याउँछ । पायल कक्षा ८ मा पढ्ने भएका कारण उनले साइकल पनि पाउँछिन् ।
रानो मरी नि !
पायलकी साथी रानोको बालविवाह भएको हुन्छ अनि कम उमेरमा नै गर्भवती भएका कारण मृत्यु पनि भएको हुन्छ । यो कुराले पायललाई निकै नै विक्षिप्त पारेको हुन्छ ।
कविता भागी
पायलकी अर्की साथी कविताको पनि बिहे हुने कुरा चलेको थियो । त्यही माैकामा कविता अर्कै केटासँग भागेकी हुन्छिन् । यो कुराले समाज ठुलो तरङ्ग ल्याएको हुन्छ । यही विषयमा पायलको घरमा कुरा भएको हुन्छ ।
बिहे त हुन्छ, हुन्छ
एकदिन परको नाता पर्ने काकाले पायलको बिहेको कुरा लिएर आएका हुन्छन् । साँझ खानपिनपश्चात् बिहेकै प्रसङ्गमा बिहेमा दहेजको रूपमा मोटरसाइकल र नगद पैसाको मोलमोलाइ हुन्छ। पायलले आफूले अहिले नै बिहे गर्ने चाहना आमाबुबासँग प्रकट गरिन्। उनले आम केटीले गर्ने खालको कुनै पनि व्यवहार त्यहाँ दर्शाइनन्। उनले खाना पनि खाइनन्।
रिस उठे पनि रिसाएको जस्तो व्यवहार देखाइनन् । पायलले बडो सुझबुझका साथ कामहरू गर्दै थिइन् । भोलिपल्ट आमासँग पायलले आफूले बिहे नगर्ने कुरा बताइन् । प्रतिक्रियास्वरूप आमाले कविता जसरी भाग्न खोजेकी छस् भनी झपारिन् । पायलले न म रानो जसरी मर्छु, न म कविता जसरी नै भाग्छु । म ठुलो भएपछि नेता बनेर सानैमा बिहे गरिदिने कसैलाई पनि नछाड्ने कुरा कड्केर भन्छिन् । आमाले पायललाई स्कुल पनि जान दिइनन् ।
दहेज कसले लिँदैन र !
त्यो दिन त आमाका कारण पायन स्कुल जान पाइनन् । मेरा चाहना नहुँदानहुँदै पनि बुबाआमालाई मेरो बिहे गरिदिन लागेको, यो कुरा मलाई कत्ति पनि चित्त नबुझेको, मेरा बुबाआमालाई यो कुरा सम्झाइदिए हुने भन्ने व्यहोराको निवेदन पायलले विद्यालयका प्रधानाध्यापकलाई लेखिन् ।
बहिनी अमृताले त्यो निवेदन हेड सरलाई लगेर दिइन् । गाउँमा बाल विवाह गैरकानुनी काम भन्ने कुरा जान्दाजान्दै पनि विवाह हुन्थ्यो नै । कसैकसैले पुलिसलाई पनि खबर गरिदिन्थे । पुलिसलाई खबर कसले गरेको त्यो चाहिँ गोप्य नै रहन्थ्यो । अल्लि दिन बिहे रोकिन्थ्यो पछि फेरि गरी पनि हाल्थे । विद्यार्थीले नै निवेदन पठाएपछि हेडसर पायलको घरमा गएर सम्झाउने काम गरे तर खासै प्रगति चाहिँ भएन । जति धेरै पढायो उति नै धेरै दाइजो दिनुपर्ने कुरा पायलको बुबाले त्यहाँ गरे ।
वडा अध्यक्षलाई भेट्न जाँदा
हेडसरलाई निवेदन लेखेकोमा बुबा निकै रिसाए, अनि अमृताले त गालामा चड्कन पनि भेटिन् । पायल र अमृताका बिच पुलिसलाई बोलाउने कुरा पनि भयो तर त्यो पनि गरेनन् । हजुरआमा भएको भए पक्कै पनि बिहे रोकिन्थ्यो होला भनी पायलले हजुरआमा सम्झिँदै गहभरि आँसु बनाइन् ।
“घरमा आमाबुबासँग बिहे त गर्छु तर मेरो स्कुल नरोकिदिनुहोस् ।” भनी अनुनय विनय गरिन् । एक दिन स्कुलकै पोसाकमा पायल वडाअध्यक्ष पवनी यादवलाई भेट्न वडा कार्यालय पुगिन् । लेखेर लगेका चिठी र भन्न खोजेको कुरा पनि भन्न सकिनन् । खाली हात फर्किइन् । वडा कार्यालयमा कसैले देख्छ कि भन्ने ठुलो पिर थियो पायललाई । बैझनवाली हजुरआमा देखेपछि त उनको सातोपुत्लो उड्यो । पायल कसरी उनीदेखि टाढा हुन सकिन्छ भनेर जुक्ति लगाइरहेकी थिइन् ।
अमृताको तरकिब
दिदी पायल त्यो दिन स्कुल नआइकन कहाँ गएकी होलिन् भन्ने कुरा बहिनी अमृतालाई पर्यो । खाजा खाने समयमा पायल विद्यालय आएकी हुन्छिन् । अमृतासँग दिदीको भेट हुन्छ । दिदीले सबै कुरा बताउँछिन् । आफू गएर पनि भन्न नसकेकोप्रति पायललाई पछुतो हुन्छ । अमृताले निवेदन लेखेर दिन सुझाउँछिन् । त्यो तरिका पायललाई मन पर्छ ।
जातका कुरा
बिहे रोक्न भनी पायलले विद्यालयका हेडसरलाई निवेदन लेखेकी हुन्छिन् । त्यही कुरालाई मनन गरी हेडसर पायलका घरमा आएर बुबाआमालाई सम्झाएका पनि हुन्छन् । बुबाले उल्टै हेडसरसँग रिसाएर कुरा गरेका हुन्छन् । फर्किँदा पायलले पानी पिएर जान आग्रह गर्दा हेडसर तिमीहरू दलितले छोएको पानी म खान्छु भन्दै उल्टै पायललाई गाली गरेका हुन्छन् ।
त्यो कुराले पायलले हेडसरलाई चिठी बेकारमा लेखिछु भन्ने कुरा लाग्छ । त्यही विषयलाई लिएर पायललाई हेडसरले अफिसमा बोलाए । जातका कुरा निकालेर अरू शिक्षककै अगाडि होच्याउने काम गरे । त्यही कुरामा होमा हो अरू शिक्षकले पनि मिलाए । पायलले डटेर नै त्यो कुराकाे सामाना गरिन् ।
पवनी यादवले बिर्सिन्
बहिनी अमृताले भनेबमोजिम पायलले वडा अध्यक्ष पवनी यादवलाई चिठी दिन्छिन् । तर थुप्रै दिन बित्दा पनि वडा अध्यक्षबाट कुनै पनि किसिमको प्रतिक्रिया आएन । यता बिहेको दिन नजिकै पनि थियो । एक दिन पायलका बुबाआमालाई वडा कार्यालयमा बाेलाइन्छ तर त्यो अर्कै प्रयोजनका लागि हुन्छ । उल्टै वडा अध्यक्षलाई बिहेका निम्तो दिएर आएको कुराले पायल झनै निराश हुन्छिन् । भोलिपल्ट बहिनी र पायल दुवै जना मिलेर बिहे रोक्नका लागि भनेर बिहे गर्ने केटा भेट्न जाने निधो गर्छन् ।
बैझनवाली हजुरआमाले कुरा बुझेकी छन्
भोलिपल्ट बिहान पायल नुन लिन पसलमा जाँदा उनको पहिलो भेट रानोकी आमासँग भयो । रानोकी आमाले गहभरि आँसु पार्दै रानाेले त बिहे गर्दिन पनि भनिनँ, “के तैले पनि बिहे गर्दिन भनिनस्; भनिन् ।” उनी बाख्रा बाँध्न जाँदै थिइन् । पायल केही पनि बोलिनन्, सरासर अगाडि बढिन् । बाटामा उनलाई गाउँमा भाउजू, काकी, दिदी पर्नेहरूले बिहेको विषयलाई लिएर छेडाछाड हाने । उनले जवाफ पनि कडा नै दिइन् । बाटामा दुःखी भएर फर्कंदै गर्दा उनको भेट बैझनवाली हजुरआमासँग भयो । उनले पायललाई वडा कार्यालय जानुको कारण सोधिन् ।
सुरूमा त त्यो कुराले पायल सशङ्कित नै भइन् । जानुको कारण भन्न हिच्किचाइन पनि । घरमा तरकारी डढ्न लाग्यो भन्दै उनी हिडिन् पनि । बैझनबाली हजुरआमाले यो कुरा तिम्रो घरमा नै गएर भनिदिन्छु भनेपछि उनी झनै सशङ्कित भइन् । बैझनवाली हजुरआमाले पायल र अमृतालाई वडा पहिल्यै देखेकी हुन्छिन् । उनी पनि बाल विवाह विरोधी थिइन् । उनले पायलमा बुबाआमालाई यो कुरा पहिल्यै भनेकी पनि रहिछन् । बाल विवाह गरेर उनले पाएको कष्ट पायललाई सुनाउँदै थिइन् । अन्त्यमा पायललाई जसरी हुन्छ बिहे नगर्नू भन्ने खालको सल्लाह दिइन् ।
केटो भेट्न जाँदा
पवनी यादवबाट पनि केही नहुने देखेपछि दुई दिदीबहिनीले बिहे हुने केटासँग नै भेटेर कुरा गर्ने योजना बनाए । अमृतालाई यो योजना मन परे पनि निकै डर लागेको थियो । अन्ततः उनीहरूले बिहे हुन लागेको केटा प्रदीपलाई भेटे । लामो वार्तालाप पनि भयो । पायलले आफ्ना कुरा पनि राखिन् तर केटाले सोचेजस्तो जवाफ दिएन । उनीहरू निराश भएर घर फर्के ।
फिर्ता लिनुस्
दुलाहा केटो प्रदीप कक्षा ९ र पायल कक्षा ८ मा पढ्छन् । उनीहरूको वार्षिक परीक्षा सुरु हुँदै छ । परीक्षा सकिएलगत्तै बिहे पनि हुनेवाला थियो । विवाह रोक्नका लागि पायलले निकालेका विभिन्न उपाय त्यसै खेर गएको अनुभव उनलाई हुँदै छ । उनी निराश देखिन्थिन् ।
एक रात साँझ खाना खाइसकेपछि पायलले आफ्ना स्कुलमा सबै सामान एक ठाउँमा जम्मा गरिन्, जुन पायलका अति प्रिय वस्तुहरू थिए । ती बस्तु देखेर पायलका आँखा भरिएर आए । उनले ती सबै वस्तुहरू बाउका अगाडि राखिदिइन् । ती वस्तुहरू बहिनीलाई दिए भने पनि बहिनीसँग तपाईंहरूले खोस्नुहुनेछ भनी पायलले गहभरि आँसु पारेर भनिन् ।
“मैले पनि छोरी जन्माएछु भने मेरो त सानैमा बिहे भएको थियो तेरो पनि हुँदै छ भनेर म कदापि भन्दिन आमा ।” भनेर आमासँग पनि कुरा राखिन् ।
त्यो कुराले बाबुआमाका आँखा भरिएर आए । भोलिपल्ट पायल पवनी यादवकहाँ पुगिन् । उनले चिनि पनि हालिन् । पायलले प्रदेश सरकारले दिएको साइकल फिर्ता गर्न आएको कुरा बताइन् । उनी साइकल त्यहीँ छोडेर भागिन् । घरमा आएर साइकल सरकारलाई फिर्ता दिएको कुरा पनि बताइन् । उता केटाको बाबुले पायलका बाबुलाई भेट्न बोलाउँछन् ।
खासका केटाले बिहे नगर्ने, जबरजस्ती गरिदिए भाग्नेसम्म भन्ने खालको समाचार आएको थियो । त्यही बेलामा मोटरसाइकलमा चढेर पवनी यादव पनि आइपुग्छिन् । पायलका बुबालाई छोरी पहिले बिहे होइन । पढाउन सल्लाह दिन्छिन् । नमाने पुलिस बोलाउने कुरासमेत गरिन् । पायललाई आएर साइकल लिएर जान पनि भनिन् । जाँदाजाँदै ओसारामा राखिएको पानी पनि पिएर गइन् ।
त्यही मौकामा पुलिसको भ्यान पनि टुप्लुक्कै आइपुग्यो । खासमा बिहे रोक्नका लागि नै आमाले पुलिसलाई उजुरी गरेकी थिइन् । यसरी बिहे रोकियो । नयाँ शैक्षिक सत्र पनि सुरू भयो । पायल कक्षा ९ मा पढ्न पनि जान थालिन् ।
पात्रहरू :
किशोर उपन्यास ‘पायल पढ्न जान्छे’मा नारी पात्रको बाहुल्यता छ । शीर्षकमा नै पायलको नाम दिइएका कारण पायल यस उपन्यासकी प्रमुख पात्र हुन् नै ।
साथमा वडा अध्यक्ष पवनी यादव, पायलका बुबाआमा र हजुरआमा, पायलकी बहिनी अमृता, पायलका साथीहरू कविता र रानो, रानोकी आमा, बैझनवाली हजुरआमा, पायलका स्कुलका हेड सर र अन्य सरहरू, प्रदिपलगायत पात्रहरू कथामा मानवीय पात्रका रूपमा आएका छन् ।
उपन्यासकारले सांस्कृतिक कुप्रथाका रूपमा रहेको बाल विवाह, जातीय छुवाछुत र दाइजो प्रथालाई केन्द्रमा राखेर कथा बुन्दै गर्दा यहाँ पायलकी हजुरआमा, बैझनवाली हजुरआमा पहिलो पुस्ता, पायलका आमाबुबा, रानोकी आमा, पवनी यादव, विद्यालयका हेडसर, अन्य शिक्षकहरू दोस्रो पुस्ता अनि स्वयम् पायल, रानो, कविता, प्रदिप तेस्रो पुस्ता बिचको अनुभव, सोचाइ, चिन्तन, बुझाइ, अनि उनीहरूहरूमा देखिएको परिवर्तनलाई चिरफार गर्ने काम गर्नुभएको छ । पात्र चयनका सन्दर्भमा यो उपन्यासको सवल पक्ष पनि हो ।
परिवेश :
उपन्यासमा पायलको घर, समाज, विद्यालय, बाटो, वडा कार्यालय, गाउँ नजिकको पसल, खेत, बारी, कुलो, बजारलगायतका ठाउँहरू उपन्यासमा स्थलगत परिवेशका रूपमा आएका छन् । काम विशेषका लागि साइकलको प्रयोग, बाल्नका लागि गोबरको गुइँठा बनाउने चलन विशेषतः तराई/मधेशमा बढी हुने गर्छ । उपन्यासमा विशेषतः मधेश प्रदेशको वातवरणमा घटनाहरू घटेका छन् त्यसैले पनि यो आञ्चलिकताको छनक दिने उपन्यास हो भन्न सकिन्छ ।
हालसालै अखबारका भित्तामा उल्लिखित विषयमाथि लेखिएका सकारात्मक र नकारात्मक विषयसँग सम्बन्धित आलेखहरूका शीर्षकहरू :
३ वर्षको प्रेमपछि करोड खर्चेर विवाह, घरनिकाला गरेर सम्बन्धविच्छेद मुद्दा (अनलाइन खबर पत्रिका, २०७९ कार्तिक २७)
दाइजोको दलन
पाँच वर्षमा दाइजोका नाममा हिंसाविरूद्ध १९१ उजुरी, सबैभन्दा बढी मधेसमा १४१ (कान्तिपुर दैनिक, २०७९ मङ्सिर १४)
मधेस सरकारले ९ कक्षाका छात्राका लागि झन्डै ५ करोडको झोला किन्दै (रातोपाटी, २०७९, मङ्सिर २०)
जनकपुरधाममा एउटै समारोहमा २६ जोडीको विवाह (उज्यालो अनलाइन, २०७९ मङ्सिर १४)
२० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई वडाले पैसा दिने (सेतोपाटी, २०७९ मङ्सिर २०)
‘तीन वर्ष लडियो, न्याय मरेको रहेनछ’ (सेतोपाटी, २०७९ मङ्सिर १९)
सदियौँदेखि सांस्कृतिक कुप्रथाका रूपमा जरा गाडेका यी सामाजिक समस्याका केही उदाहरण मैले पत्रिकामार्फत् यहाँ राख्ने प्रयास गरेँ ।
विशेष गरेर दाइजो प्रथाका सन्दर्भमा मधेस प्रदेशको प्रतिनिधित्व गर्ने मेरो सहकर्मी साथीहरूको अनुभव
विषयसँग सम्बन्धित यही कुराको जानकारी र काैतूहलताका कारण मैले यो विषयमा मेरा सहकर्मी मित्रहरूसँग (महिला, पुरुष) सोधपुछ पनि गरे । लगभग दुई वर्षअगाडि बिहे गरेका मेरा एकजना मित्र (अहिले उनले छोरी पनि जन्माइसकेका) ले यो विषमा मसँग निकै खुलेर कुरा गरे ।
खासका अहिले साथीले जुन केटीसँग बिहे गरे । बुबाले पटक पटक बिहे नगर नै भन्नु भएको थियो रे ! कारण बाबुले मागेअनुरूपको दाइजो नदिनु नै थियो । यही कारण परिवारले अझै पनि बुहारीलाई हेर्ने नजर राम्रो हुन नसकेको कुरा साथी बताउँदै थिए । मैले सोचेँ, पढेलेखेका आइ टि इन्जिनियर मेरा साथीको घरमा त यस्तो हाल छ भने अरू त परै जाओस् ।
दाइजोका मामलामा सबै मेरा साथीजस्ता पनि हुँदैन । घरमा आफ्नै बहिनी वा दिदीका लागि लाखौँ खर्च गर्यो । आफ्ना पालामा किन छोड्ने भन्ने कुरा पनि एकथरी हुन्छ रे, साथी भन्दै थिए ।
बिहे र दाइजोका मामलामा महिलाहरू निकै कम बोल्ने कुरा पनि साथी गर्दै थिए ।
जति धेरै पढ्यो, उत्ति दाइजो पनि माग पनि उत्ति नै हुने कुरा पनि साथी गर्दै थिए । घरमा एउटा मात्र छोरी भएमा त झन बढी दाइजो दिनुपर्ने वा दिन रूचाउने कुरा पनि साथी गर्दै थिए ।
दाइजो दिने चलन पहाडतिर पनि नहुने चाहिँ होइन तर यसरी ठाडै मोलमोलाइ चाहिँ केही अपवादबाहेक अलिक हुँदैन कि भन्ने मेरा ठम्याइँ हो ।
निष्कर्ष:
उपन्यासले सांस्कृतिक रूपमा नराम्रोसँग जरा गाडेर बसेको छुवाछुत, बाल विवाह अनि दाइजो प्रथाको मुद्दालाई कथानकका रुपमा प्रस्तुत गरेको छ । भलै साहित्यिक विधाअन्तर्गत उपन्यास आख्यान भए तापनि उठान गर्न खोजिएका विषयहरू हाम्रो समाजमा बग्रेल्ती देख्न सकिन्छ । यी विषयहरू संस्कृतिका रूपमा वर्षौंदेखि जरा गाडेर बसेका छन् । जसरी रीति रिवाज र संस्कृति स्थापित हुन सयौँ वर्ष लाग्छ, त्यसरी नै त्यसको समूल अन्त्य हुन पनि त्यति नै समय लाग्छ । चाहे त्यो संस्कृति समाजोपयोगी होस् वा अनुपयोगी होस् ।
उपन्यासका स्वयम् शिक्षकहरू छुवाछुतको पक्षपोषक हुनुले हामी अझै अन्धकारमा नै छौँ है भन्ने कुराको छनक पनि दिएको छ । ‘जति सम्झाए पनि यिनीहरूको जातले कुरै बुझ्दैनन्’ अजय सर प्वाक्क बोले । (पृष्ठ ८१) “सबै जातका मान्छे बराबर हो भनेर पढाउनुहुन्छ तर आफै कुरा बुझ्नुभएको छैन ।” (पृष्ठ ८२) साथै विद्यालयमा कार्यरत् शिक्षक समाज रूपान्तरणका संवाहक हुन् भन्ने कुराको उपहास पनि गरेको छ ।
उपन्यासमा कक्षामा ८ पढ्ने पायल नामकी बाल पात्रलाई प्रमुख पात्र बनाइको छ । त्यस्तै १३/१४ वर्षकी पायलमा भन्दा धेरै साहस, विचार अनि चिन्तन अलिक बढी थाेपरिएको हो कि भन्ने कुरा उपन्यास पढ्दै हुन्छ नै ।
विषयवस्तुलाई प्रस्तुत गर्ने भाषा सरल, सरस हुनु पनि उपन्यासको महत्त्वपूर्ण पक्ष हो ।
१०/१२ उमेर समूहका विद्यार्थीहरूले मन पराएको कारणबाट मैले यो कुरा भन्ने आँट गरेको हुँ । यति हुँदाहुँदै पनि अधिकांश अध्यायमा भाषामा अनादरको प्रयोग चाहिँ घटाएको भए हुने भन्ने कुरा लाग्छ नै ।
कथालाई रोमाञ्चक बनाउन लेखकले हरसम्भव प्रयास गर्नुभएकै छ । कथा पढ्दै गर्दा कौतूहल पनि थपिन्छ नै यो लेखकको खुबीको कुरा पनि हो ।

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

पीडादायी विगतको प्रतिनिधित्व गर्ने राजनीतिक व्यङ्ग्यले भरिपूर्ण ‘नमोनम:’ (नवपुस्ता/समीक्षा)
