‘रणभूमिबाट’ (२०६३) कवि नारायण मरासिनीद्वारा रचित कवितासङ्ग्रह हो । यसमा शास्त्रीय वार्णिक छन्दका कविताहरू सङ्कलित छन् । ३१ वटा कविता रहेको यस सङ्ग्रहमा कविले आफ्ना जीवनभोगाइमा अनुभूत गरेका देखेका विविध विषयवस्तुहरू समावेश छन् । कविले सामाजिक विषमता, विकृति, अन्याय र अत्याचारका विरुद्धमा सरल भाषामा गहन विचार र भाव प्रस्तुत गरेका छन् । दुई दशक लामो काव्य साधनापछि कवितासङ्ग्रहको रूपमा देखा परेको यस सङ्ग्रहले कविको काव्यिक प्रौढता र गाम्भीर्यलाई पनि उजागर गरेको देखिन्छ । कवितासङ्ग्रहमा ‘रणभूमिबाट’ शीर्षकको एउटा कविता समावेश छ । उक्त कविताबाट प्रस्तुत कवितासङ्ग्रहको नाम ‘रणभूमिबाट’ राखिएको देखिन्छ । कवितासङ्ग्रहको शीर्षक कविताबाट नै राखिएकाले शीर्षक औचित्यपूर्ण एवं विषयवस्तुका आधारमा सुहाँउदो देखिन्छ ।

कविले आफ्नो जीवनभोगाइका क्रममा युगीन नेपालको सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक, शैक्षिक आदि क्षेत्रमा देखिएका वर्गभेद, विकृति, विसङ्गति तथा असङ्गत पक्षको समूल अन्त्य र रणभूमिबाट नै भए पनि सामन्ती संस्कार वा वर्गलाई अन्त्य गरी सुसंस्कृत, विभेदमुक्त, सभ्य र सुन्दर समाज निर्माण गर्ने चाहना कविताहरूमा प्रकट गरेका छन् । वर्गयुद्धको सुरुवात हुँदै गर्दा नेपाल साँच्चै रणभूमि बनेको र रणभूमिबाट नै पुनः नेपाललाई शान्तिमय बनाउनुपर्छ भन्ने भाव कवितामा प्रकट गरिएकाले सिङ्गो कवितासङ्ग्रहको शीर्षक ‘रणभूमिबाट’ सफल हुन पुगेको छ । अनुष्टुप छन्दमा संरचित ‘रणभूमिबाट’ शीर्षकको कवितामा ‘रणभूमिबाट’ कवितासङ्ग्रहको उद्देश्यबारे कविले कविभावना यसरी प्रकट गरेका छन्ः

सहन्छ निमुखो मान्छे सकेसम्म बलै गरी ।
उर्लन्छ खेतमा बाढी बाँध फुटिसकेपछि ।।

बुझिराखे कुरो यौटा मृत्यु हुन्न विचारको ।
विचार पो ठुलो हुन्छ भर के छ शरीरको ?

कवि नारायण मरासिनीले आफ्ना कवितामा प्रगतिशील वैचारिक चिन्तन प्रकट गरेका छन् । जसका लागि समाजका काला, नराम्रा विकृतविसङ्गत पक्षहरूको अन्त्य हुन जरूरी छ । कविले कवितारूपी आवाजमार्फत सुन्दर समाज अर्पण गर्ने आकाङ्क्षा राखेका छन् । युद्धभूमिबाट नै भए पनि सामन्ती वर्गको अन्त्य गरी सबैलाई समानताको हक हुनुपर्दछ, धनीहरुद्वारा निर्धनहरूमाथि गरिने विभेद अन्त्य हुनुपर्दछ र आफ्नो मात्रै पेट भर्ने सारा सुख-सुविधा लिएर जनतालाई खोक्रो आस मात्रै देखाउने प्रवृत्तिको अन्त्य हुनुपर्दछ भन्ने भाव यस कवितासङ्ग्रहमा प्रकट गरिएको छ ।

‘रणभूमिबाट’ कवितासङ्ग्रह आकारका दृष्टिले सानो देखिन्छ । कवितासङ्ग्रहको मूलखण्ड पृष्ठ १ देखि ४० पृष्ठमा विस्तरित छ । यस ‘रणभूमिबाट’ कवितासङ्ग्रहको पहिलो कविताको शीर्षक ‘मुगलानबाट’ हो । जसमा कविले सम्पत्तिको लोभमा आफ्नाबाट टाढिएर विदेशिनुको पीडा सुनाएका छन् । यस सङ्ग्रहको अन्तिम कविता ‘रणभूमिबाट’ रहेको देखिन्छ । कविताको आन्तरिक आयाम माध्यम खालको देखिन्छ । यस सङ्ग्रहका कविताहरू शास्त्रीय छन्दमा रचिएका छन् । त्यसमा पनि यस कवितासङ्ग्रहमा शार्दूलविक्रीडित, मन्दाक्रान्ता, शिखरिणी र अनुष्टुप छन्दका मात्रै कविताहरु समाविष्ट छन् । कविताहरू वर्णनात्मक शैलीमा र कतैकतै चित्रात्मक शैलीमा पनि रचिएका छन् । बद्धलयका कविताहरू प्रायः चतुष्पदीका छन् तर केही भने द्विपदीका पनि छन् । ‘रणभूमिबाट’ कवितासङ्ग्रहमा कथ्य भाषालाई पनि स्थान दिइएको देखिन्छ । यस सङ्ग्रहका केही कविताहरू समस्यापूर्ति शैलीका रहेका छन् ।

कवितालाई भावात्मक तथा रागात्मक विधा मनिन्छ । यसले तत्कालै पाठकलाई भावात्मक अवस्थामा लगेर प्रभावित गर्दछ । लघु रूपको कवितामा एक भावको झिल्को पाइन्छ । ‘रणभूमिबाट’ कवितासङ्ग्रहमा विषयगत विविधता पाइन्छ । विषयगत विविधता रहेको ‘रणभूमिबाट’ कवितासङ्ग्रह कवि मानसमा उठेका विविध रसभावले सुगठित देखिन्छ । पूर्वीय संस्कृत काव्यशास्त्रानुसार मानवमनमा संस्कार रूपमा अवस्थित स्थायी भाव नौओटा छन् । ती शृङ्गार, हाँस्य, करुण, रौद्र, वीर, भयानक, वीभत्स, अद्भूत र शान्त हुन् । कसैकसैले भक्ति र वात्सल्यलाई पनि रसका रूपमा स्वीकारेका छन् ।

अस्थायी सञ्चारी भावहरू ग्लानि, हर्ष, निर्वेद आदि गरेका तेत्तिसओटा छन् । आधुनिक विद्वानहरू वैचारिकतालाई महत्त्व दिन्छन् र तिनैलाई रसभावका रूपमा हेर्दछन् । ‘रणभूमिबाट’ कवितासङ्ग्रहमा विविध विषयवस्तुको प्रयोग गरी सुललित भाषामा प्रगतिशील वैचारिकता प्रस्तुत गरिएको छ । सामाजिक, राजनैतिक, सांस्कृतिक, प्राकृतिक आदि विविध क्षेत्रका युगीन विषयवस्तुलाई समेटेर तदनुरूपको भावमा कविले कलात्मक सरल भाषाशैलीले घोलेका छन् ।

यस कवितासङ्ग्रहका कविताहरू मूलतः करुण तथा वीर गर्भमा रहेको शान्त रसले ओतप्रोत देखिन्छन् । ग्लानि, चिन्ता, श्रम, उग्रता, आवेग, उत्साह, विबोध, तर्क, वितर्क आदि सञ्चारी भाव तथा शोक, उत्साह, वात्सल्य, शान्ति आदि स्थायी भावद्वारा यस सङ्ग्रहका कवितामा शान्तरस उदीप्त भएको देखिन्छ ।

१. करुण रस

प्रस्तुत ‘रणभूमिबाट’ कवितासङ्ग्रहका केही कवितामा करण रस उदीप्त भएको पाइन्छ । करुण रसको स्थायी भाव शोकलाई मानिन्छ । मोह, आँसु, चिन्ता, ग्लानि, स्मृति जस्ता सञ्चारी भावहरूले शोक स्थायी भावलाई उद्दीप्त बनाएको देखिन्छ । विदेशिने नेपालीले आफ्नो परिवार, छोराछोरी, धम्की रोगले ग्रस्त बाबु, दोजिया श्रीमतीलाई छोडेकामा गल्ती महसुस गर्दै ‘मुगलानबाट’ शीर्षकको निम्न लिखित पद्यमा आँसु, चिन्ता, ग्लानि आदि सञ्चारीभाव भएको करुण रस यसरी उद्दीप्त भएको पाइन्छः

रोगैले अतिसार बाबु बिचरा ! धम्की पुरानो थियो

सम्झेरै कति रूँ म यो मुलुकमा ढुङ्गा सिरानी भयो ।

साथैमा पनि छैन एक रुपियाँ बाँच्ने गरी के यहाँ ?

रातैमा पनि छैन फुर्सद प्रिया मै–नै बिरामी जहाँ !

मुगलानबाट, पृ.१ ।

जनहितमा आधारित राज्यव्यवस्थाको स्थापना गर्ने लक्ष्य लिएर सुरु गरिएको जनयुद्ध २०५२ सालमा मृत्युवरण गर्न पुगेका सहिद विजय ढकालप्रति उच्च सम्मान प्रकट गर्दै ‘सलाम योद्धालाई !’ शीर्षक कविताको निम्नलिखित पद्यमा शोक स्थायी भावद्वारा करुण रस यसरी उद्दिप्त भएको पाइन्छः

मृत्यु सुखद बन्दैन तर सार्थक मृत्युमा ।

देशको मुक्ति बोल्ने छ मरेर पनि बाँच्नुमा ।।

सलाम योद्धालाई !, पृ.३९ ।

 

२. वीर रस

‘रणभूमिबाट’ कवितासङ्ग्रहका केही कवितामा वीर रस उद्दीप्त भएको पाइन्छ । वीर रसको स्थायी भाव उत्साहलाई मानिन्छ । गर्व, उग्रता, आवेग, तर्क, वितर्क, औत्सुक्य, धृति, मति सञ्चारी भावहरूले उत्साह स्थायी भावलाई उद्दीप्त बनाएको देखिन्छ । देशमा व्याप्त सबै खाले पाखण्डीपनका विरुद्ध ज्यान छाडेर लड्ने र गरिबी, अशिक्षा, अन्धविश्वास, शोषण, दमन, उत्पीडन आदिको अन्त्यका लागि उठ्न आह्वान गरिएको ‘छोरो हराएको सूचना !’ शीर्षकको निम्नलिखित पद्यमा औत्सुक्य, तर्क, मति, विबोध, शङ्का जस्ता सञ्चारी भावद्वारा उत्साह स्थायी भाव जागृत भई वीर रस यसरी उद्दीप्त भएको पाइन्छः

जागौँ–जागौँ भनिकन उही गर्नु भाँती गर्या’थ्यो

मारौँ-मारौँ भनिकन उही बाघ साम्ने पर्या’थ्यो ।

तेरै मर्जी अब अनुभवी तैँ भइस् है भनेर

छाड्ने धोको मनभरि थियो फूलमाला उनेर ।।

छोरो हराएको सूचना !, पृ.१७ ।

सामन्ती व्यवस्थाले निम्त्याएको यो दुर्गति ठीक पार्न र हामी आफ्नो प्यारो देश बचाउन छातीमा गोली थाप्न पनि तयार रहेको, देशको स्वाधीनताका लागि समर्पण पनि आवश्यक रहेको आदि भावले ओतप्रोत भएको ‘सहन्न अब ता धर्ती यही चालले’ शीर्षक कविताको निम्नलिखित पद्यमा तर्क, विरोध, औत्सुक्य, उग्रता, धृति, मति आदि सञ्चारी भावद्वारा उत्साह स्थायी भाव जागृत भई वीर रस यसरी उद्दीप्त भएको छः

छाती थाप्न तयार छौं सब यहाँ नेपालका खातिरी

प्यारो देश बचाउने मन भयो, छालाकलेजा चिरी ।

खाओ मासु मजा लिएर घिचुवा खाने छ तिम्रो मति

त्यै तिम्रो मतिले कठै मुलुकमा छायो नि यो दुर्गति ।।

सहन्न अब ता धर्ती यही चालले, पृ.२३ ।

 

३. शृङ्गार रस

‘रणभूमिबाट’ कवितासङ्ग्रहका केही कवितामा श्लिष्ट शृङ्गार रस उद्दीप्त भएको पाइन्छ । शृङ्गार रसको स्थायी भाव रतिलाई मानिन्छ । यस सङ्ग्रहका केही कवितामा विप्रलम्भ शृङ्गारको प्रयोग पाइन्छ । उग्रता, आवेग, चिन्ता, ग्लानि, औत्सुक्य, विबोध, स्मृति, मति, धृति जस्ता सञ्चारी भावले रति स्थायी भावलाई उद्दीप्त बनाएको देखिन्छ । प्रशस्त पैसा कमाउने चाहना वा बाध्यताले विदेशिनु परेको, आफ्नी दोजिया भएकी प्रेयसीसँग सँगै रहेर मीठा पल बिताउने चाहना हुनु आदि भावले ओतप्रोत भएको ‘मुगलानबाट’ कवितामा चिन्ता, ग्लानि, औत्सुक्य, विबोध, स्मृति जस्ता सञ्चारी भावले रति स्थायी भावलाई जागृत गराउँदा निम्नलिखित पद्यमा श्रृङ्गार रस उत्पन्न भएको पाइन्छः

तिम्रै साथ रहेर दुःखसुखमा बस्ने थियो चाहना

मेलापात जता गए पनि उही एउटै लिई कामना ।

खानू तागतिला कुरा बल दिने प्यारी थियौ दोजिया

गाह्रो काम तिमी कुनै नगर है चिन्ता हुने बोझिला ।।

मुगलानबाट, पृ.१ ।

 

४. शान्त रस

‘रणभूमिबाट’ कवितासङ्ग्रहका कवितामा सुगठित भएका विविध विषयका भावहरू शान्त रसमा गएर परिपाक भएका छन् । शान्तरसको स्थायीभाव शान्तिलाई मानिएको पाइन्छ । जडता, निर्वेद, विबोध, तर्क, वितर्क, धृति, मति जस्ता सञ्चारी भावले शान्ति स्थायी भावलाई उद्दीप्त बनाएको देखिन्छ । शान्त रसको कविता आस्वादनको क्रममा आनन्दमय चरमोत्कर्ष हुने गर्दछ । ‘नेपालीपन’ शीर्षकको कवितामा कविले हामीले आफ्नो अस्तित्वलाई बचाई नेपालमा शान्ति ल्याउनका लागि हामी सबै मिलेर लाग्नु पर्दछ भन्ने भाव बोकेको निम्नलिखित पद्यमा धृति, मति, निर्वेद, विबोध जस्ता सञ्चारी भावद्वारा शान्ति स्थायीभाव उद्दीप्त भई शान्त रस यसरी परिपाक भएको पाइन्छः

समातेर कुटा हामी थालौँ शान्ति फुलाउन ।

अस्तित्वको चुली टेक्दै कान्ति–बाला झुलाउन ।।

नेपालपन, पृ.७ ।

 

५. रौद्र रस

‘रणभूमिबाट’ कवितासङ्ग्रहका केही कवितामा रौद्र रस उद्दीप्त भएको पाइन्छ । क्रोध वा आक्रोश नै रौद्र रसको स्थायी भाव मानिन्छ । जडता, आक्रोश, उग्रता, आवेग, चिन्ता, मद, आदि सञ्चारी भावले क्रोध स्थायी भाव उद्दीप्त बनाएको देखिन्छ । देशविरोधी, जनभावना विरोधी गतिविधि गर्ने, बेतिथिहरुको अन्त्य गर्ने, धर्तीलाई सुन्दर बनाउने र गोमनरुपी सामन्तीहरुको अन्त्यको चाहनाले कवि मनमा उठेको उग्रता, आवेग, चिन्ता आदि सञ्चारी भावद्वारा क्रोध स्थायीभाव जागृत भई ‘रणभूमिबाट’ शीर्षकको निम्नलिखित पद्यमा यसरी रौद्ररस उद्दीप्त भएको पाइन्छः

देऊ बग्न म बाढी हुँ भत्काउँछु ठुला गरा ।

मार्न–मर्न सकूँ राम्रो बन्छिन् भने बसुन्धरा ।।

प्यूँदैन अग्नि मान्छेले चिन्ता ठूलो नभैकन ।

यौटा ज्यान गए जाओस्– समरको कडा मन ।।

‘रणभूमिबाट’, पृ.४० ।

कवि मरासिनीले यसरी विविध रस भावको सुगठित संयोजन ‘रणभूमिबाट’ कवितासङ्ग्रहमा गरेका छन् । विविध विषयवस्तुका भावहरू रसरूपमा परिणत भएका छन् । रस भावका दृष्टिले करुण तथा वीर रस गर्भमा रहेको ‘रणभूमिबाट’ कवितासङ्ग्रहमा विभिन्न रसहरुको संयोजनले यस कवितासङ्ग्रह अत्यन्त उत्कृष्ट बनेको छ । यस कवितासङ्ग्रहमा शान्त रस, वीर रस तथा करुण रसले भरिएका कविताहरु प्रशस्त मात्रामा प्राप्त गर्न सकिन्छ ।