हुने बिरुवाको चिल्लो पात भनेझैँ तीष्ण बुद्धि भएकी प्रतीक्षा रिजाल नेपाली साहित्यमा बाल्यकालदेखि नै प्रवेश गरेकी हुन् । पारिवारिक वातावरणमा पठनीय कृतिको कुनै अभाव नझेलेकी उनी आफैँ पनि पुस्तक पढ्न निकै रुचि राख्दछिन् । बाबु नेपाली साहित्यका धुरन्धर विद्वान् भएकाले पनि उनमा त्यसको प्रभाव नपर्ने कुरै भएन । बालसाहित्यदेखि प्रौढ साहित्यसम्मको रसस्वादन गर्न पुगेकी प्रतीक्षाले पुस्तक समीक्षादेखि काल्पनिक उडानमा कावा खाँदै रसात्मक बान्कीका कथा सिर्जना गरेर कथाकारका रूपमा आफूलाई चिनाउन पछि परेकी छैनन् ।

यी उदीयमान स्रष्टाले आफ्नो नाम एक कथाकार, एक नियात्राकार, एक समीक्षक, एक गीतकार, एक गजलकार आदि विधा उपविधाभित्र बहुआयामिकता र बहुमुखी प्रतिभाको आभास प्रतीत गराएकी छन् । काल्पनिक उडानभित्र यथार्थताको पुट अभिव्यञ्जित गराउने उनका रचनाले आदर्शवादितालाई पनि उत्तिकै प्रश्रय दिएको हो कि भन्ने ज्ञात हुन्छ । अझ द्रष्टा चेत हुने बौद्धिक जमातले त थाहा नपाउने कुरै भएन । यी विदुषीमा स्रष्टाद्रष्टा दुवै चेत दर्बिलो रूपमा प्रकट भएको बोध कृतिको आस्वादनपश्चात् प्राप्त गर्न सकिन्छ ।

समयको पावन्दीलाई राम्ररी मनन गरेकी प्रतीक्षाले सिर्जनामा लागिपर्ने लागिरहने प्रेरणा आफ्नै जीवनदाताबाट प्राप्त गरेकी छन् । मूल्यावान् समयलाई राम्ररी बुझेकी उनले साहित्यिक गुणले पोखिएका रचनाहरुको सङ्ग्रह प्रकाशित गरेर नेपाली भाषा साहित्यलाई गुन लगाएकी छन् । उनका रचनाले स्वाभाविकताभित्र काल्पनिकतालाई दर्ज गराउन पछि परेको छैनन् ।

विद्यालय वा महाविद्यालयमा औपचारिक अध्ययन गर्ने क्रममा होस् उनी मिहिनेती, अनुशासित र कर्तव्य परायण सांस्कारिक सुपुत्री मात्रै नभई त्यसभित्र पनि जिम्मेवार बोध गरी पारिवारिक परिस्थितिलाई नजिकैबाट नियाल्न सक्ने द्रष्टाचेत भएकी बुझ्झक यौवना पनि हुन् । त्यसैले उनी प्रवेश गरेका क्षेत्र अब्बल साबित भएका छन् । देखेका भोगेका अनुभूत गरेका काम गर्दै गर्दा चेतेका कुराहरूलाई सिर्जनाको विषयवस्तु बनाई पात्रका माध्यमबाट अनुभूतिलाई घोप्ट्याएकी छन् ।

अभिव्यक्तिको नयाँपनले प्रयोगधर्मितालाई स्थान दिएको छनक पाउन पनि सकिन्छ । उनका काव्यिक साहित्यिक रचनामा यसको बुँद छिटपुट रूपमा देखा पर्दछ । अतः किन ‘रोकिँदै हिँड्दै’ गरिन् प्रतीक्षा भन्ने कुरा बोध प्रबोध पाठकले कृतिमाथि दृष्टि लगाएपछि अवश्य थाहा पाउन सक्ने छन् ।

प्रतीक्षाले २०६५ सालबाट लेख्न सुरु गरेकी हुन् । कथा विधा उनको प्रिय विधा हो । लेखनको सुरु पनि यसैबाट गरेको देखिन्छ । “रोकिँदै हिँड्दै” पुस्तक उनको पहिलो कृतिका रूपमा दर्ज भएको छ । कथाखण्ड, नियात्राखण्ड, समीक्षाखण्ड, लेखखण्ड र कविताखण्ड गरी पाँच खण्डमा पुस्तकलाई विभक्त गरेकी उनले कथालाई पहिलो प्राथमिकतामा राखेकी छन् । सोह्रओटा कथाहरू विशेष गरेर सामाजिक विषयवस्तुमा केन्द्रित छ ।

समाजमा देखा परेका विकृति, विसङ्गति र कुरीतिलाई नजर अन्दाज नगरी प्रत्यक्ष देखे भोगेजस्तो तरिकाले प्रस्तुत गर्न सक्नु प्रतीक्षाको लेखनगत वैशिष्ट्य नै हो । बालसुलभ गुणले युक्त उनका कथाले सचेत, जागरुक र विषम परिस्थितिलाई सामना गर्न सक्ने खालका देखिन्छन् । उनका कथा समसामयिकतालाई पस्कन सफल छन् ।

१५ ओटा  गतिला कथामा प्रतीक्षाका सिर्जना सामाजिक जीवनका दुःखकष्ट झेलेका तमाम विपनोन्मुख समुदायप्रति केन्द्रित छ । साना नानीहरू मेलापात जाँदाका अवस्था होस् वा सडकका पेटीमा बसेर नाङ्लोमा सामान राखेर व्यापार गर्ने पीडितहरू होऊन्, यी र यस्तै विपन्न वर्ग र आम नागरिकले व्यहोरेका कष्टका घेराहरू धेरैजसो वा समान प्रकृतिका अवशेष उनका कथामा अटाएका छन् । सुखको मानो खान र छोराछारीलाई राम्रो स्कुलमा पढाउन सहर पसेका गाउँले मनुवा दुःखको जञ्जिरमा पस्न बाध्य छन् । दिनभरि दुःख गर्यो बेलुकी कहाँ बास कहाँ गासको केही ठेगान नभएका समस्याग्रस्त तमास उत्पीडनको विषयलाई प्राथमिकतामा राखेर कथा सिर्जना गर्नु गरिबप्रतिको सहानुभूतिका रूपमा हेर्न सकिन्छ ।

अझ नेपाली माटोमा जीवनको आधार नपाएर मुग्लानिएका नेपाली चेलीको दुःखान्तका गाथा कथामा भेटिन्छन् । विदेशी भूमिमा जीवनको अस्तित्वलाई हत्केलामा राखेर क्लेसमा जीवन खोज्न बाध्य भएका तमाम नेपाली चेलीहरूको नलेखिएको इतिहासलाई उखेल्न निकाब कथा सफल छ । प्रेमिल आकाशमा हाम फाल्दा भोगेको पीडा अनि सबैलाई त्यागेर पराइ मुलुकमा भासिन पुग्दाका कथाव्यथा निकाब कथामा पाउन सकिन्छ । परिवार, कुटुम्ब, साथीसङ्गी छाडेर विदेश भासिएका नेपाली नारीको मर्मान्त नहुने पीडा कथामा उजागर छ ।

नेपाली चेली शरीर, श्रम र पसिना बेच्दै पैसा साट्दा पाएका कष्ट कथामा निर्दिष्ट छ । जन्मदाता र जन्मथलो छाड्दा एक चेलीले ओकलेका वाणी “माइती छोडेँ, मावली छोडेँ, आफन्त छोडेँ । … नाम, थर, गोत्र, सबै छोडेँ । यतिसम्म कि अस्तित्व नै मेटाउन पनि पछि परिनँ । …त्यसपछि पुगेँ कुवेत” (पृ. ५१) । यी कारुणिकताले देश र जनताप्रति राज्य कति निर्मोही रहेछ भन्ने कुरा प्रस्ट हुन्छ । युवाजनशक्ति आफ्नै भूमिको समृद्धिका लागि खटाउन नसक्नु राज्य कति निरिह रहेछ ।

प्रतीक्षाले दोस्रो खण्डमा ६ओटा नियात्रालाई स्थान दिएकी छन् । विद्यालय जीवनमा शैक्षिक भ्रमण जाँदा देखे भोगेका र अनुभवले पोतिएका संस्मरण आहा त्यो यात्रामा समेटिएका छन् । ऐतिहासिक, सांस्कृतिक, भाषिक, प्राकृतिक आदि सम्पदाले भरिएको समृद्ध मुलुक नेपालका तमाम ठाउँहरू कति मनमोहक छन् । त्यसमा आन्तरिक पर्यटनको विकास गर्न र नेपाली जनजीवनको बारेमा बुझ्न समेत आग्रह गरिएको छ । सम्झनामा त्यो दिनमा पोखराको सुन्दर नगरीका बारेमा शब्द चित्र उतारिएको छ ।

अझ प्राकृतिक तथा सांस्कृतिक दृष्टिले पूर्ण सहर पोखरा त माछापुच्छ्रे फेवातालमा पौडी खेलेको प्रतीत हुन्छ । काठमाडौँ सहरमा रहेको नारायणहिटी दरबार सङ्ग्राहलयले राजदरबारमा भए गरेका कुरालाई प्रतिबिम्बित गर्दो रहेछ । यी र यस्ता संस्मरणको आस्वादन गर्दा जो कोहीलाई जाऊँ जाऊँ जस्तो लाग्न सक्छ । संस्मरणको आस्वादन गर्दा आफैँ स्वयम् भ्रमण गरे जस्तो आभास हुन्छ । छोटा छरिता नियात्राले पाठकलाई सँगसँगै डुलाउन सफल छन् । संस्मरणले नलेख्नेहरूलाई पनि लेखौँ लेखौँ बनाएका छन् ।

प्रस्तुत कृतिमा प्रतीक्षाका १० ओटा समीक्षा समेटिएका छन् । यस अर्थमा उनी साहित्यिक कृति मात्रै अध्ययन गर्दिनन् र समीक्षा गरेर कृतिको मूल्य निरूपण गर्न पनि पछि पर्दिनन् । पढेपछि लेख्नुपर्छ भन्ने मान्यता उनी राख्दछिन् । यस कार्यले पढेपछि लेख्नुपर्छ भन्ने बोध पाठकलाई गराउँदछिन् । बाल साहित्यदेखि प्रौढ साहित्यको पठनबोध गरेकी प्रतीक्षाले गीतसङ्ग्रह, उपन्यास, संस्मरण, लघुकथा सङ्ग्रह, नियात्रालगायत साहित्यका अनेक विधा पढेर समीक्षा लेख्न सक्नु उनको समीक्षात्मक कलाकौशल बौद्धिक क्षमता हो । उनमा रहेको समालोचनात्मक चेतले स्रष्टालाई लुतो आएको ठाउँमा कन्याएजस्तो, जुम्राले टोकेको ठाउँमा ठुग हानेको आभास दिलाउँछ ।

प्रतीक्षाले लेख खण्डमा बालबालिकाहरूको स्वास्थ्यमा खेलवाड गरिएको प्रसङ्ग बढो मार्मिक ढङ्गले उठाएकी छन् । उनले मूल्यहीन नर्सिङ पेसा शीर्षक राखेर नर्स पढ्ने युवतीहरूलाई नराम्रो पेसाका रूपमा हेर्नेहरू अल्पज्ञानी हुन् । अझ उदाहरण दिएर विकसित मुलुकमा मर्यादित र सम्मानित पेसाका रूपमा हेरिँदा नेपालजस्तो अर्धविकसित मुलुकमा नर्सलाई अपमानित र हेयका पाराले हेरिनु अज्ञानताको पराकाष्टा हो । यस कुराको प्रतिवाद पनि प्रतीक्षाले गरेकी छन् । खरो र वस्तुतथ्यमा आधारित भएर लेख्ने उनले अज्ञानता र अशिक्षाका कारण नर्स पेसालाई हेय दृष्टिमा हेरिएको भन्ने अभिमत जाहेर गरेकी छन् ।

प्रतीक्षाले अन्तिम खण्डमा कविता विधालाई स्थान दिएकी छन् । यसमा १४ ओटा कविताले प्रभुत्व जमाएका छन् । सिकारु अवस्थाका कवितामा पनि परिपक्वता भएर आएको देखिन्छ । शब्दचयन र भावबोधमा कविता उच्चस्तरका नै देखिन्छन् । सबै मिलौँ कवितामा महिला र पुरुषमा देखिएको लैंगिक विभेदका विरुद्ध एकता, समता र समानतामा जोड दिइएको छ । अभावै अभावमा राज्यपक्षको निरीहतालाई उजागर गरिएको छ ।

सामान्यभन्दा सामान्य दैनन्दिनीमा उपभोग गरिने वस्तुबाट नेपालीहरूले राहत नभएर आहत पाएको कुरालाई बढो जीवन्त रूपमा विचार सम्प्रेषण गरिएको छ । उनमा भएको देशभक्तिको भावना पनि ओचप्रोत भएर आएको छ । नेपाल र नेपालीले स्वर्गजस्तो भूमिलाई नर्कजस्तो बनाएको देख्दा आगो ओकल्न मन लाग्नु देशभक्तिपूर्ण अभिव्यक्ति नै हो । अतः विद्रोहको ज्वाला दन्काउन मन लाग्नु रूपान्तरणको सङ्केत हो । भिल्लको देशमा फ्याँकिएको मणिजस्तो हालत देश बनेको देख्दा आँधी बनेर आऊँजस्तो लाग्नु कविका लागि परिवर्तनगामी मानसको नेतृत्व गर्नु हो । भन्छिन्–

“यो देशलाई अँध्यारोबाट मुक्त गर्नुपर्छ
विकासको कलम खुबै चलाउनुपर्छ ।” (उज्यालो राख्नलाई, पृ. १३१)

प्रतीक्षाका सम्पूर्ण फुटकर रचनाहरूको सङ्गालोका रूपमा देखिएको यस कृति जम्माजम्मी १३४ पृष्ठमा आवद्ध छ । रोकिँदै हिँड्दै पुस्तकको मूल्य रु.३०० तोकिएको छ भने प्रकाशनको अभिभारा भुँडीपुराण, काठमाडौँले लिएको छ । २०७८ सालमा प्रकाशन भएको यस पुस्तक बालक, वयस्क र अध्येताका लागि पठनीय र सङ्ग्रहणीय देखिन्छ ।