पृष्ठभूमि
भानुभक्तको जन्मजयन्ती पारेर प्रज्ञा प्रतिष्ठानको लेखनाथ सदनमा एउटा पुस्तक विमोचन कार्यक्रम आयोजना गरियो । त्यहाँ देवी र सज्जनहरूले हल खचाखच भरिएको थियो । समाजका प्रतिष्ठित साहित्यकारहरू मात्र होइन विश्वविद्यालयका प्रोफेसरहरूको अनौठो जमघट थियो । आउने जाने क्रम पनि चलिरहेको थियो । साहित्यमा रुचि राख्ने सन्तोष बन्जाडे सर, म अनि छोरी नाओमीले सुटुक्क पछाडिका कुर्चीहरूलाई आसन बनायौं ।
लेख्ने, विमोचन गर्ने अनि कार्यक्रम चलाउने सबै नारीहरू थिए । त्यसमा पनि तीन पुस्ताको अनौठो सङ्गम । छोरी लेखक, आमाहरू विमोचक अनि नातिनी कार्यक्रम सञ्चालक । सायद नेपालको इतिहासमा यो ऐतिहासिक समन्वय हो जस्तो लाग्छ । यस्तो अनौठो सङ्गम न कहीँ कतै भएको देखियो, न सुनियो न त पढियो नै । जन्म दिने र कर्म दिने आमाहरू मञ्चमा विमोचनका लागि तयार हुनुहुन्थ्यो । लेखक हँसिलो मुखमुद्रामा साहित्यानुरागीले भरिएको टनाटन हल नियालिरहनुभएको थियो । कर्णप्रिय आवाजमा एउटी नातिनीले उद्घोषण गर्दै सबैलाई मन्त्रमुग्ध पारेकी थिइन् भने अर्की नातिनीले विमोचनको चाँजोपाँजो मिलाउँदै थिइन् । पुस्तकमाथिको टीकाका लागि केही नारीहरू तम्तयार थिए ।
कार्यक्रम चल्दै थियो । पछिल्लो कर्नरमा सहुलियत दरमा पुस्तकहरू बिक्रीका लागि राखिएका थिए । मैले पनि दुई पुस्तक सुरक्षित गरेँ । शीर्षक अचम्मको थियो, ‘उज्यालो औँसी !’ औँसी पनि उज्यालो हुन्छ र ! मनमा एक किसिमको तर्कना पैदा भए । पक्कै पुस्तकभित्र केही छ भन्ने लोभ पनि जाग्यो । ‘एक नवीन प्राप्ति’ शीर्षकमा पाण्डुलिपिका अध्येता साहित्यकार प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईको मन्तव्य नियालेँ । वास्तविकता र स्वैरकल्पनाको सङ्गमको रूपमा ‘उज्यालो औँसी’माथि प्रारम्भिक धारणा बनाएँ । कार्यक्रमका टीकाकारहरूका मन्तव्यले त्यसमा थप मल मिल्यो ।
०० ०० ०० ००
‘उज्यालो औँसी’ सरसर्ती निकाल्दा
अरूको विश्लेषणभन्दा आफैँले पढेर धारणा बनाउने निश्चय गरेँ । स्वैरकल्पनाको अनौठो प्रयोग भएको मोहनराज शर्माको ‘वैकुण्ठ एक्सप्रेस’ उपन्यास पढेको पूर्व स्मृति भयो । सोसँगै लेखकको मन्तव्य अर्थात् रचनागर्भ सरसर्ती हेरेँ । जहाँ लेखकलाई लेख्नको निम्ति कुतकुत्याउने कुराहरूको चर्चा गरिएको रहेछ । गर्भमै छँदा षड्यन्त्रपूर्वक पिताको हत्या भएपछि समाजले दिने उपमाले घेरिनुपर्दा लेखकका मनमा परेको अमिट छाप उपन्यास भित्रको मूल कथ्य रहेको महसुस भयो ।
एकातिर यस उपन्यासमा छोरीहरूमाथि पुरुषहरूले मात्र होइन महिलाहरूले पनि भेदभाव गर्ने गरेको यथार्थलाई प्रस्ट्याइएको छ भने अर्कोतिर अप्ठ्यारो समयमा असल मार्गदर्शक फेला पार्न सके जीवन सहज हुने तथ्यलाई पनि अगाडि सारिएको छ । त्यसै गरी मानिसले स्नेह पाएन भने उसको मन मस्तिष्कमा भयङ्कर उतारचढाव आउने र प्रेम तथा सकारात्मक सोच भयो भने असम्भवलाई पनि सम्भव बनाउन सकिने कुराको रहस्योद्घाटन यस उपन्यासमा गरिएको छ ।
नेपाली समाजमा आफ्नो प्रभुत्व देखाउनका लागि समाजका अगुवा तथा राजनीतिज्ञले हिंसाको बाटो अख्तियार गर्दा समाजसेवी रघुले ज्यान गुमाउनु परेको यथार्थ ‘भ्रूणको क्रन्दन’ उपशीर्षकमा चर्चा गरिएको छ । यसमा आफ्नो वैयक्तिक स्वार्थ सिद्धिका निम्ति समाजका केही तत्त्वहरूले जनपक्षीय कार्य गर्नेहरूलाई सामन्तीको दर्जा दिई भौतिक रूपमा किनारा लगाउने कुत्सित परिपाटीको पर्दाफास गरिएको छ । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराहरूमा जनताको पक्षमा उभिने उदार, परोपकारी तथा विकास प्रेमीहरू समाजका खलनायकको सिकार बनेको यथार्थले नेपालको राजनीतिको हिजो र आजलाई राम्रोसँग जोडेको छ ।
जनताका बीचमा रहेर सुखदुःख साटफेर गर्ने जनपक्षीय युवाहरूलाई नसिध्याएसम्म आफ्नो अभीष्ट पूरा नहुने आपराधिक सोचले रघुलाई षड्यन्त्रपूर्वक मारिएको छ । समाजका लागि केही गर्छु भन्ने विचार र सोच भएका अगुवाहरू दानवीय चरित्र भएका मानिसहरूको सिकार बनेको यथार्थलाई यस भागमा देखाइएको छ । न्यायले हारेको र अन्यायले जितेको वास्तविकतालाई स्वैरकल्पनाका माध्यमबाट निकै राम्ररी प्रस्तुत गरिएको यो भागमा मानिसमा मानवीय भावना ह्रास हुँदै गएकोले दैवी शक्तिमाथि समेत प्रश्न उठाइएको छ ।
समाजमा आतङ्क सिर्जना गरी आफ्नो प्रभुत्व स्थापित गराउन खोज्ने मानवीय संवेदनाहीन दानवहरूले खुकुरी र भाला प्रहार गरी रघुको हत्या गरेर एउटा परिवारको भरोसा र समाजको स्तम्भ भाँचिदिए । यसबाट रघुकी गर्भवती श्रीमती बिलखबन्धमा परिन् । कुराको खेती गर्न अभ्यस्त भएकाहरू पीडामा परेकालाई सान्त्वना दिनुको सट्टा गर्भपतनको सल्लाह दिन पछि परेनन् । आमाले आफ्नो गर्भमा रहेको शिशुलाई आफ्नो पतिको अन्तिम नासो सम्झेर जन्म दिन र हुर्काउन तयार भएको नारी साहसको चर्चा ‘युगको शङ्खघोष’ उपशीर्षकमा गरिएको छ ।
यसले नारीभित्रको मातृवात्सल्य एकातिर देखाएको छ भने अर्कोतिर परिआए नारीले जस्तोसुकै कठिन परिस्थितिको पनि सामना गर्न सक्ने सामर्थ्य राख्न सक्ने कुराको बोध गराएको छ । ससुराे घर छोडी पलायन भए पनि अर्थात् पतिले मृत्युवरण गरी छाडेर गए पनि आफ्ना सन्तानहरूको पालनपोषण शिक्षादीक्षा, संस्कार र रेखदेखको अभिभारा अनुकी आमाले लिएको सन्दर्भ यस भागमा देखिन्छ । यसबाट नारीशक्तिमाथि दैवीशक्तिको आशीर्वाद रहेको अनुमान लगाउन सकिन्छ ।
प्रायः प्राणी जगतमा सजातीयहरूका बीच मतैक्यता हुँदैन । यो प्रवृत्ति मानवमा छर्लङ्ग देखिन्छ । घरमा छोरी जन्मिँदा सबैभन्दा निराश हुने नारी नै हुन्छन् । नवजात शिशुलाई बाबु टोकुवा, अलच्छिनी, पिराहा जस्ता तुच्छ वाक्यले सम्बोधन गर्न पछि पर्दैनन् । एउटा अबोध शिशु अनुलाई विवेक शून्य मानिसहरूको भिडमा जीवन बिताउनु पर्दाको छटपटीको कहाली लाग्दो कथा ‘बुबा ! आमालाई हाँस्न भन्नु न’ भन्ने उपशीर्षकमा देखिन्छ । जन्मेकै दिन हजुरआमाले ए ! फेरि छोरी नै भनेर दैवमाथि गरेको प्रश्नले अनुको मनमा गम्भीर छाप पारेको देखिन्छ ।
यद्यपि घरभित्र र बाहिर जताततैबाट तिरस्कृत भए पनि महान् आमाले अनुलाई जन्म दिएर हुर्काउँदै गइन् । यद्यपि पारिवारिक दायित्व बोध र पतिको अभावमा उनमा हाँस्न सक्ने परिस्थिति रहेन । आमाको यस्तो अवस्था देखेर बालहृदयमा चोट परेको कुरा यस उपशीर्षकमा हृदय स्पर्शी तरिकाले आएको छ । पिताको अभाव र माताको मलिनताले अनुको बालमस्तिष्कमा असर परेको कुरा देखाइएको छ । आमा हाँस्न सके मात्र बालबालिका हाँस्न र सहज रूपमा बाँच्न सक्ने यथार्थ अगाडि सारिएको छ ।
नेपाली समाज जातीय तथा सांस्कृतिक हिसाबले विविधतायुक्त मात्र होइन परस्परको अन्तर्घुलनले शोभायुक्त बनेको छ । यही सुन्दरतामा अनुको बाल्यकाल बितेको प्रसङ्ग ‘भ्रान्तिको कोलाज’ उपशीर्षकमा उल्लेख भएको छ । झुङ्गेली बाजेको झारफुक, रहनसहन र खानपिनको प्रभाव अनुमा परेको छ ।
पिताको अभाव टार्नका लागि झुङ्गेली बाजेको आश्रम जाने गरेकी अनु खानपिनका कारण बालावस्थामै मदहोस भएको देखिन्छ । पिताको स्मृति कारण पढाइलेखाइले गति लिन नसक्दा अनुले पीडाबोध गरेकी छिन् । बालबालिकाहरू बाबुआमाको सान्निध्यबाट मात्रै सांस्कारिक बन्न सक्छन् । कुनै एकको अभावमा तिनीहरूमा उद्दण्डता छाउँछ अर्थात् बालबालिकाहरू आमा या बुबा कुनै एकको अभावमा उनीहरूले आनन्द महसुस गर्न सक्दैनन् । बरु उनीहरू उद्दण्ड बनेर प्रस्तुत हुन्छन् भन्ने कुरा यस उपशीर्षकमा देखाइएको छ ।
पारिवारिक सङ्ख्या र अवस्थालाई लिएर घरकाको भन्दा बाहिरकाको टाउको बढी दुख्ने, छोरी पूर्वजन्मको पापले जन्मने अनि छोरीलाई दुःखको भकारी सम्झने भ्रमप्रति अनुको पूर्ण असहमति रहेको छ । छोरा र छोरीमा गरिने विभेदले अनुलाई आफ्नो दाजुप्रति नकारात्मक भाव जागृत भएको त्यसैको परिणाम स्वरूप दाजुमाथि ढुङ्गा प्रहार गरेको सन्दर्भ एकातिर छ भने अर्कोतिर दाजुले बहिनीलाई माफी दिएको र बहिनीले दाजुलाई अँगालो हालेर क्वाँ क्वाँ रोएको रङ्गिन पारिवारिक पृष्ठभूमिले उपन्यासलाई सुन्दर बनाएको छ ।
पारिजातको फूलसँग बुबाको जीवनलाई दाँज्ने अनि बुबाकै स्मृतिमा आफूलाई पागल बनाएकी अनु बिरामी भएर मृत्युको नजिक पुगेको सन्दर्भ ‘मृत्युसँग साक्षात्कार’ खण्डमा आएको छ । एकातिर सिकिस्त बिरामी भएर बेहोस भएको अवस्थामा छोटो आयु लिएर आएकी रहिछे, दुःख छोटियो भनेर समाजका केही मान्छेहरू खुसी भएको र अर्कोतिर अनुको होस् खुल्दा अझ कति दुःख पाउनु छ, यति सजिलै प्राण कहाँ जान्थ्यो भनेर तिनै मानिसहरूले कानेखुसी गरेको कुराले अनुको हृदय छिया छिया भएको छ । यसमा समाजले छोरीप्रति गर्ने निकृष्ट व्यवहारमाथि प्रश्न गरिएको छ ।
दिदी माइती आएको बेला विक्षिप्त भएकी अनुले गरेको अनौठो व्यवहार, उनको उपचारका लागि गरिएका विभिन्न असफल प्रयास, विज्ञान र स्वास्थ्य विषय शिक्षक यादव सरसँगको सान्निध्यले अनुमा देखा परेको वैज्ञानिक जिज्ञासा आदि ‘सम्भ्रमको सुरुङ’ उपशीर्षकमा आएका छन् । यसमा मानिस सामाजिक प्राणी भए पनि उसलाई गति दिने आधार तत्त्व चाहिँ भित्री मन हो भन्ने कुराको विश्लेषण पाइन्छ ।
नेपाली समाज धनी र गरिब गरी दुई वर्गमा बाँडिएको छ । धनी वर्गका मानिसहरूबाट ऋण सापटी लिएर गरिबहरूले जीवन जिउनु पर्ने अवस्था छ । धनीहरू पनि दुई किसिमका छन् । एक थरीले गरिबको दुःखलाई आफ्नो दुःख ठानेर उनीहरूको चहराइरहेको घाउमा मलमपट्टी लगाएका छन् भने अर्का थरी विभिन्न बहाना गरेर गरिबहरूलाई सताइरहेका छन् ।
रघु गरिबको पीडा बुझ्ने र उनीहरूको समस्यालाई आफ्नो समस्या ठान्ने प्रवृत्तिका छन् भने रङ्गनाथ चाहिँ गरिबहरूलाई विभिन्न बहानामा सताएर सास्ती दिने प्रवृत्तिका छन् । रघुले गरिबप्रति देखाएको सद्भावबाट रकमी रङ्गनाथ असन्तुष्ट भएको र उसले आफ्नो सामाजिक प्रभुत्व र राजनीतिक अभीष्ट पूरा गर्नका खातिर रघुलाई षड्यन्त्रपूर्वक हत्या गरेको आशय ‘म पनि सामन्ती हुन्छु’ खण्डमा व्यक्त गरिएको छ । रङ्गनाथले रघुप्रति गरेको व्यवहार छिमेकीबाट बुझेपछि अनुमा समाजका दुःखी पीडितहरूप्रति सकारात्मक भाव सञ्चार भएको र आफू पनि बुबा जस्तै सामन्ती बन्न चाहेको विचार व्यक्त गरिएको छ । षड्यन्त्रको सिकार भएका रघु जस्ता सामन्तीहरू समाजमा आवश्यक रहेको निष्कर्ष यस खण्डले दिएको छ ।
बुबालाई सामन्तीको उपमा दिएर षड्यन्त्रपूर्वक हत्या गरेको कुराले अनुको मस्तिष्कमा गर्भदेखि नै तरङ्ग पैदा गरेको र जन्मपश्चात् पनि उनमा विभिन्न विशृङ्खल व्यवहारहरू देखा परेको कुरा ‘अँध्यारो घाम’ उपशीर्षकमा चर्चा गरिएको छ । यसमा सत्ता, शक्ति र सम्पत्तिका लागि जत्था बनाएर व्यक्ति हत्याको बाटो रोज्ने शृङ्खला शेष नभएकोप्रति गम्भीर आपत्ति जनाइएको छ ।
सामन्तीको हौवा दिएर समाजसेवीहरूलाई कत्लेआम गर्ने संस्थागत प्रयासलाई ‘राँके भूतका पाइला’मार्फत व्यङ्ग्य गरिएको छ । सर्वसाधारण तथा गरी खाने वर्गका मानिसहरू विद्रोही र राज्यपक्ष दुवैबाट पीडित भएको चर्चा यस खण्डमा गरिएको छ । यहाँ गरिबलाई भजाएर गरिने राजनीतिप्रति घोर असहमति देखिन्छ ।
समय परिस्थिति बदलिए पनि अनुलाई अतीतका यादले अत्त्याउन नछोडेको कुरा ‘मसानको ढ्याङ्ग्रो’ उपखण्डमा आएको छ । उनलाई प्राकृतिक, मानसिक, राजनीतिक र सामाजिक डरले डोर्याइरहेको छ । गर्भमै छँदा बीभत्स हत्याको कहाली लाग्दो औँसी देखेकी अनुलाई वर्तमानमा पनि उस्तै परिस्थितिले बारम्बार चिमोटिरहेको छ ।
अनुका बुबा रघु एक कुशल समाजसेवी थिए । उनको षड्यन्त्रपूर्वक हत्या भएपछि पारिवारिक जिम्मेवारी सबै अनुकी आमामा आयो । उनले गर्भमा रहेकी शिशुलाई पतिको नासो सम्झेर कसैका कुरा नसुनी जन्माइन् । पतिको अभावमा पनि सतिसाल बनेर आफ्ना सन्तानको पालनपोषण, शिक्षादीक्षा र संस्कारको प्रबन्ध गरिन् । त्यतिले मात्र पतिको आत्माले शान्ति नपाउने ठानी पतिले मार्गनिर्देश गरेको समाजसेवाको कार्यलाई आफू सक्दो निरन्तरता दिइरहिन् । कृषि कर्म गरी त्यसबाट उत्पादन भएको वस्तुलाई समाजका मानिसहरूका निम्ति साझा बनाइन् । उनले अभावमा बाँचेकाहरूलाई कहिले निराश बनाइनन् । आफ्ना छोराछोरीहरूलाई सकारात्मक ज्ञान, सिप र धारणा हस्तान्तरण गरिन् । यी सबै कुरा ‘बुबाको मार्गमा आमा’मा पढ्न पाइन्छ ।
चिने अनुकी बालसखा हुन् । अनु अन्तर्मुखी छन् भने चिने बहिर्मुखी छन् । चिनेको निधारमा जन्मसिद्ध कालो दाग छ । अनुहारमा सुन्दरता खोज्ने हाम्रो समाजमा चिनेको दागले घात गरेको छ । छाला कालो त्यसमा पनि भुत्लैभुत्ला जसले गर्दा चिनेलाई बिक्न र टिक्न गाह्रो हुने कुरा परिवार र समाजले खुट्क्याएको छ । नभन्दै चिनेको विवाह भएको छ र विवाहपश्चात् पतिसँगको सम्बन्ध परसम्म पुग्न सकेको छैन । यी सबै कुरा ‘चिनेको चिनो’ उपशीर्षकमा देख्न सकिन्छ । यसले हाम्रो समाज जतिसुकै आधुनिक तथा विकसित भए पनि महिलालाई बाह्य सौन्दर्यको कसीमा मात्र हेर्ने व्यवहारप्रति असहमति व्यक्त गरिएको छ ।
विभेद र अन्धविश्वास नेपाली समाजको खास विशेषता हो । मूल रूपमा अधिकांश नेपाली महिलाहरू सामाजिक विभेदको सिकार भएका छन् । समयको पदचापले एक्काइसौँ शताब्दीमा पाइला टेके पनि नेपाली समाज रूढि मान्यताले थिलोथिलो भएको छ । नेपाली नारीहरू घरपरिवार र समाजबाट तिरस्कृत भएका छन् । उनीहरूमाथि बोक्सीको आरोप लगाएर मलमूत्र खुवाउने सम्मका निकृष्ट व्यवहार भइरहेका छन् । यी विषयको उत्खनन ‘दृष्टिभ्रम’ खण्डमा चर्चा गरिएको छ । यसमा स्वास्नी प्राप्तिपछि सन्तानले जिम्मेवारीबाट अलग हुने र जो होचो उसैका मुखमा घोचो भनेजस्तै सहारा विहीनहरूलाई समाजले सास्ती दिने परिपाटीको अन्त्य हुनुपर्ने विचार अभिव्यक्त भएको छ ।
गर्भेटुहुरी, बाउ टोकुइ, मन्दबुद्धिकी, बौलाई जस्ता आक्षेपहरू भोगेर हुर्किएकी अनुलाई असल शिक्षकको परामर्शले निर्भीक बनाएको सन्दर्भ ‘आकाङ्क्षाको दीप’ खण्डमा उल्लेख गरिएको छ । समयक्रममा समाज सिर्जनशील बन्नुपर्ने हो तर हाम्रो समाज पुरानै ढर्रामा गतिमय भइराखेको कुराले अनुलाई पिरलेको छ । मानिसको विचार र संसार बदल्ने तागत कलमजीवी शिक्षकमा हुन्छ न कि बन्दुकधारीमा । असल शिक्षकले विद्यार्थीहरूको वैयक्तिक भावनाको केस्रा केस्रा अन्वेषण गरी उपयुक्त मार्गदर्शन गर्दछन् । यस खण्डमा क्याम्पसका शिक्षक विमल सरप्रति आभार व्यक्त गरिएको छ ।
क्याम्पसमा पाइला टेकेपछि गुरुसँगको निकटताले अनुलाई पानी परेपछि आकाश खुलेझैँ भयो । गुरुले नै अनुको निभ्न लागेको दीपमा सम्भावनाको तेल थपिदिए अनि उनका आलाकाँचा विचारमा परिष्कार ल्याइदिए । आशाको दीप जागेपछि मनमा शान्ति र अनुहारमा कान्ति अवश्य आउँछ । त्यसलाई सबैले मन पराउँछन् ।
यसै मेसोमा क्याम्पसमा कालो हेल्मेट लगाएको केटाले अनुलाई एकोहोरो प्रेम गरी बारम्बार पछ्याएको र प्रेमपत्र पठाएको प्रसङ्ग ‘कालो हेल्मेटको प्रेमपत्र’ खण्डमा आएको छ । स्कुल पढ्दाको साथी सुमिरनसँग अनुको जम्काभेट भएको, सुमिरनले स्पर्श गर्दा अनुलाई आनन्द महसुस भएको प्रेमिल प्रसङ्ग पनि यसै खण्डमा आएको छ । त्यस्तै क्याम्पसको परीक्षा उत्तीर्ण भएपछि अनुमा भविष्यप्रति आशा पलाएको छ । । आशावादी भएर प्रयासलाई निरन्तरता दिने हो भने त्रासबाट केही हदसम्म साहस मिल्ने र खास बन्न सकिने विचार अभिव्यक्त भएको छ ।
मानिस विवेकशील सामाजिक प्राणी हो । उसमा बदलिँदो परिवेशले विभिन्न तरहले ठेस पुर्याइरहेको हुन्छ । मानिसले जीवनमा अध्यात्म चेत समावेश गर्न सके परी राहतको महसुस गर्न सक्ने कुरा ‘उज्यालो पोखिएको दोभान’मा सम्प्रेषित छ । बाह्र बिघामा भएको प्रकाण्ड विद्वानहरूको मर्मस्पर्शी वाणी र रोचक कथाहरूले उनमा सकारात्मक भाव सञ्चार गराएका छन् । अध्यात्मसँगको निकटताले मरुभूमि भएको मानव हृदयमा ज्ञान रूपी जल सिञ्चित हुने विश्वास गरिएको छ । अध्यात्म नै परमात्मासम्म पुग्ने बाटो हो भन्ने निष्कर्ष यस खण्डबाट निकाल्न सकिन्छ ।
अज्ञान र अन्योलमा रुमलिएको व्यक्तिलाई ज्ञानको बाटामा हिँड्न सिकाउने व्यक्ति गुरु हो । प्राप्त ज्ञानलाई परीक्षण गरेर समय अवस्था हेरी प्रयोगमा ल्याउनका लागि संस्कारको आवश्यकता पर्छ । यसर्थ ‘गुरु’ ज्ञान र संस्कार हुन् । गुरुको सुरु घरबाट हुन्छ । विद्यालय तथा महाविद्यालयले त्यसलाई परिष्कार गर्छन् । यद्यपि जीवनमा परेका चोट र नखुलेको होसलाई सकारात्मक सोचले मात्र ठोस निष्कर्षमा पुर्याउँछ । यसका लागि लागि आदर्श गुरुको आवश्यकता पर्छ ।
हिंसाले दिएको चोटका कारण हजारौँ नकारात्मक सोचले घेरिएकी अनुको जीवनमा बुबाको समाजसेवा, आमाको संस्कार, शिक्षकको सकारात्मक परामर्श र महात्मा काशीरामका अलौकिक वाणीले नयाँ मोड ल्याएको कुरा ‘महात्मा अन्तरसंवाद’ खण्डमा चर्चा गरिएको छ । यसमा असल सङ्गतले मानिसलाई पारङ्गत बनाउने सत्य अभिव्यक्त भएको छ ।
यस खण्डमा पौराणिक महाभारतको कथामा उल्लेख भएअनुसार निषेधराज नलले वैदर्भी दमयन्तीलाई बिना जानकारी छोडेर बेपत्ता भएजस्तै अनुका हजुरबुबाले हजुरआमा र परिवारलाई जानकारी नदिई बेपत्ता भएको सन्दर्भ पनि औँल्याएको पाइन्छ । तात्कालिक शासक माधव शमशेरले सम्पत्ति हडप्ने षड्यन्त्र गरेको, त्यसले परिवारमा कलहको बिउ रोपिदिएको अनि त्यसबाट विरक्त भएका हजुरबुबाले घर छाडेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ ।
परिवर्तनका लागि व्यक्ति हत्याको शृङ्खला अन्त्य हुनुपर्छ । शिक्षामा शान्ति जोडिनुपर्छ । त्यसमा महिलाहरूको सक्रियता आवश्यक छ भन्ने आशय ‘शान्तिको सन्देश’ उपशीर्षकमा चर्चा गरिएको छ । यसबाट शिक्षा र चेतना विकासको पूर्वाधार हो भने महिला सशक्तीकरण समृद्धिको आधार हो भन्ने सन्देश ग्रहण गर्न सकिन्छ ।
बेपत्ता भएका हजुरबुवा र हत्या गरिएका बुबाको अभावले अनु र उनको परिवारलाई कालो औँसी जस्तै अन्धकार बनाएको र हिन्दु नारीहरूले पाएको संस्कारका कारण हजुरआमा र आमाले परिवारको पालनपोषण, शिक्षादीक्षा र संस्कारको अभिभारा बहन गरेर अग्घोर महान् र अनुकरणीय कार्य गरेको प्रसङ्ग ‘उज्यालो औँसी’ खण्डमा आएको छ र यो नै उपन्यासको शीर्ष पनि बनेको छ । यस उपन्यासले नारीमा हार्दिकता मात्र होइन बहादुरी पनि हुन्छ भन्ने विचार अभिव्यक्त गरेको छ । असल ज्ञान र संस्कारले नारीलाई सुसंस्कृत बनाउने हो भने हरेक किसिमका समस्याहरूको समाधान सम्भव छ । नारी ब्रह्मा, विष्णु र महेश्वरकी आमा हुन् । उनमा सृष्टि गर्ने, पालन गर्ने र मार्गदर्शन गर्ने अद्भुत क्षमता छ ।
यद्यपि नारीले त्रेतायुगदेखि अग्निपरीक्षा दिँदै आउनुपरेको छ । अरूलाई जान्ने मामलामा आफूलाई बिर्सिनु नै अशान्तिको जग हो । हरेक नारीले आफ्नो क्षमता पहिचान गरी होसियारीपूर्वक अगाडि बढ्न सकेमा मात्र नारी अस्मिता बाँच्छ । नारीले परिवार, समाज र राष्ट्रलाई अँध्यारोबाट उज्यालोतर्फ लैजान सक्छन् भन्ने आशय यस खण्डबाट बुझ्न सकिन्छ ।
अतीतलाई सँगालेर वर्तमानमा रमाउनु अनुको बाध्यता हो । प्रारब्धले उनको जीवनमा धेरै त्यस्ता कष्टकर यात्राहरू तय गर्यो जसलाई उनले नभोगी धरै थिएन । पिताप्रतिको मोह र प्रेमीको स्मृति केवल स्मृतिका पानामा सजिए । मातृ संस्कार र गुरुको सान्निध्यले शैक्षिक गतिलाई निरन्तरता दिँदै जाँदा अनुलाई शैक्षिक सफलताका साथै आफूले पढेको विद्यालयको प्रधानाध्यापक बन्ने सौभाग्य मिल्यो । आफ्नो खुट्टामा आफैँ उभिई ग्रामीण विद्यालय शिक्षाको गुणस्तर सुधार्दै ग्रामीण चेलीहरूलाई पशुपालन, कृषिलगायत विभिन्न सिपमूलक तालिमहरूको आयोजना गरेर र शिक्षाको उज्यालो घामबाट वञ्चित भएकाहरूको लागि अक्षय कोष खडा गरेर अनुले पिताले खनेको मार्गलाई प्रशस्त गर्ने प्रयास गरेको प्रसङ्ग ‘वर्षौंपछि उघ्रिएको घाम’ खण्डमा उल्लेख छ । क्याम्पस पढ्दा एकोहोरो प्रेम गर्ने कालो हेल्मेट लगाउने केटाले अनुसँगै विद्यालय तहदेखि पढ्दै आएको सुमिरनलाई षड्यन्त्रपूर्वक मारेको र आफू स्वयं पागल भएको प्रसङ्ग यस खण्डमा आएको छ ।
प्रेमले मूल्य नपाउँदा हुने दुर्घटनाले पाठकलाई निराश बनाएको छ । यसले अनुको तङ्ग्रिएको मनमा पुनः केही समयका लागि अशान्ति पैदा गराएको देखिन्छ । आफूले सहयोग गरेकी रुबीले युनिभर्सिटी टप गरेको समाचार सरस्वती मिसबाट सुन्दा अनु हर्षले गद्गद हुँदै आफूलाई पितृको आशीर्वाद मिलेको महसुस गर्छिन् । पीडा र पश्चात्तापलाई निरूपण गर्न सत्कर्मको बिउ रोप्नुपर्छ । संस्कार, शिक्षा र सत्सङ्गले मानिसलाई परिपक्व बनाउँछ । जीवन समस्याहरूको अर्को रूप हो । तिनीहरूलाई सहज रूपमा लिनुपर्छ । कर्मको कसीमा अविराम घोटे मात्र जीवनको धर्म पूरा हुन्छ भन्ने मर्म यस खण्डबाट बुझ्न सकिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।