काठमाडौँ / टुक्का साहित्य समाजकाे आयाेजनामा प्रयाेगवादी लघुत्तम काव्यिक उपविधा टुक्का कविताकाे कार्यक्रम अनन्त टुक्का यात्रा-११ “बालबालिकाकाे संरक्षण गराैँ ” भन्ने आह्वान गर्दै टुक्का कविताहरू सिर्जना गरेर सम्पन्न भएकाे छ ।

टुक्का कविताका परिकल्पनाकार तथा टुक्का अभियन्ता ताराप्रसाद चापागाईँ र वरिष्ठ टुक्काकार/ टुक्का अभियन्ता राजेशराज गड्ताैलाकाे प्रशिक्षणमा २०७९ माघ १० गते सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न स्थानहरूबाट ४७ टुक्का यात्रीहरूले भाग लिएका थिए ।

कार्यक्रममा हराएका बालबालिका खाेजतलास समन्वय केन्द्रमा विगत लामाे समयदेखि कार्यरत सामाजिक कार्यकर्ता/ साहित्यकार / टुक्काकार पुष्पा राईले बालबालिकाहरूले आज पनि उचित किसिमकाे पालन पाेषण शिक्षा, स्वास्थ्य पाइरहेका छैनन् । उनीहरूले घरमा बस्नकाे लागि राम्रो वातावरण पाइरहेका छैनन् । यस कारण कुलतमा फस्ने, घर छाेडेर सडकमा आउने जस्ता समस्या देखा परेकाे पाइन्छ । यसले सिंगाे समाजलाई असर पारेको छ । बालबालिकाहरू सडकमा आएर बेवारिसे बन्नु, हराउनु यी सबै अभिभावकहरूकाे लापरवाही वा बालबच्चाप्रति बेवास्ताकाे कारण हुन्छ । बालबालिका के गर्छन्, कस्ताकाे संगतमा छन्, जस्ता कुरा कतिपय अभिभावकहरूलाई थाहा हुँदैन यसले गर्दा बच्चा कुलतमा फँसिसकेकाे पत्ताे पाउँदैनन् । अन्ततः बालबालिका सडकमा आइसकेपछि मात्र थाहा हुन्छ र उनीहरू बच्चा हराएको निवेदन दिँदै प्रहरी चौकी धाउँनकाे विकल्प हुँदैन । यसरी बालबालिकाहरू हराउने, बेवारिसे अवस्थामा फेला पर्ने र कतिपय अवस्थामा बालबालिकाहरू अपहरणमा पर्ने जस्ता समस्यासमेत देखा परेपछि नेपाल सरकार समेत यस विषयमा गम्भीरताका साथ लागिपरेकाे कुरा जानकारी गराउनु भएकाे थियाे ।

साथै एकजना बालक विवेक लुइटेलकाे अपहरणपछि हत्या भएपश्चात नेपाल सरकार तथा विभिन्न गैह्र सरकारी संघ संस्थाहरूकाे ध्यान आकृष्ट भएर नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, बालकल्याण समिति, हाल रुपान्तरित बालअधिकार परिषद,गैरसरकारी संघ संस्था र नागरिक समाजकाे पहलमा २०६३ मंसिर २२ गते बालबालिका खाेजतलास समन्वय केन्द्र निःशुल्क टेलिफोन नं.(१०४) काे स्थापना २४ सै घन्टा सेवा दिने गरी नेपाल प्रहरी र निजामती कर्मचारी संयुक्त रहने गरी स्थापना भएकाे थियाे । जसकाे पहिलो प्राथमिकता हराएका र बेवारिसे अवस्थामा फेला परेका बालबालिकालाई दिने गरी काठमाडौँ उपत्यकामा सेवा सुचारु भएकाे थियाे । हाल उपत्यका बाहिर ७४ वटै जिल्लाहरुकाे प्रहरी कार्यालयहरुमा (१०४) निःशुल्क टेलिफोनकाे जडान गरिएको छ । हरेक स्थानीय निकायहरूमा बालकल्याण अधिकारीकाे व्यवस्था गरिएकाे छ । पछिल्लो समय नेपाल सरकारले सडक बालबालिका उद्दार, संरक्षण तथा व्यवस्थापन मार्गदर्शन, २०७२ जारी गरी आर्थिक वर्ष २०७३/०७४ देखि काठमाडौँ उपत्यकामा “बालबालिका सडकमा बस्नु पर्दैन, सडकमा बस्न हुँदैन” उद्घाेषका साथ सञ्चालन गरिएको कार्यक्रमबाट हालसम्म हराएका हजाराैँ बालकालिकाहरू खाेजतलास, उद्दार तथा व्यवस्थापन गरिएकाे जानकारी गराउनुकाे साथै बालबालिकाहरू सम्वेदनशील हुन्छन्, उनीहरू अभिभावकका साना-साना गल्तीको कारण ठुला-ठुला समस्याकाे सिकार हुन पुग्छन् ।
बालबालिका समस्यामा फस्नुकाे कारण आफ्नै अभिभावक हुन् । त्यस कारण कतै आफ्नो कारण आफ्नाे बालबालिकाले गलतबाटाे राेज्दै छन् कि भन्ने कुरामा अभिभावकहरू चनाखाे रहनु पर्दछ र आफ्नो छाेरा छाेरी कस्ताकाे संगतमा छन्,भन्ने जानकारी पनि राख्नु पर्दछ । बालबालिका सडकमा आउन नदिनकाे लागि पहिलो त हरेक परिवारका सदस्यहरुले आफ्ना बालबालिकाहरुकाे राम्रोसँग ख्याल् राख्नुका साथै उनीहरूकाे क्रियाकलाप र उनीहरुकाे संगतकाे बारेमा जानकारी राख्नु पर्दछ । यदि बालबालिकाहरुकाे गलत क्रियाकलापबारे थाहा हुन आएमा छिमेकीहरूले तत्काल अभिभावक समक्ष खबर गर्नु पर्दछ ।
बालबालिकाहरू यदि सडकमा देखिएमा वा भेटिएमा सर्वसाधारणकाे हकमा नेपाल प्रहरीकाे जिम्मा लगाउनु पर्दछ भनेर जानकारी गराउनु भएकाे थियाे ।

कार्यक्रमकाे समापन गर्दै टुक्का अभियन्ता/ प्रशिक्षकद्वय चापागाईं तथा गड्ताैलाले अनन्त टुक्का यात्रा भाग ११ मा विश्वभरिबाट सहभागी भई हाम्राे टाेल, छिमेक, समाज, देश र विश्वलाई नै सु-सूचित, सचेत र खबरदारी गर्दै बालबालिका संरक्षण गराैँ भन्ने सचेतना छर्दै न्यायपूर्ण, सभ्य र समुन्‍नत समाज निर्माणकाे अाह्वानका साथ नव काव्यिक उपविधा टुक्का कविता (दुई हरफका कविता) काे अनन्त टुक्का यात्रा कार्यक्रममा सहभागी भई चाेटिला टुक्का कविताहरू सिर्जना गर्ने सम्पूर्ण टुक्का यात्रीहरू प्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

टुक्का यात्रीहरूले “बालबालिकाकाे संरक्षण गराैँ ” भन्ने आह्वानका साथ सिर्जना गर्नु भएका केही टुक्का कविताहरू

[१]
१.
घर भित्रकाे अशान्तिले दुख्छ बाल मन,
हास्न खेल्न नसकेर झुक्छ त्याे शिर झन।
२.
संगत बढ्छ खराबकाे खान थाल्छन् ट्याप
सडककाे बास, कठै नसामा हुन्छन् झ्याप।
•पुष्पा राई
बादेल, खाेटाङ।
[२]
१.
भोगटेका बोक्रा ताछ्दा पक्कै त्यहॅा देखिन्छ भित्र रातो
गाली नगरॅौ कसैले केटाकेटीको जाने गरी सातो ।
२.
बालबालिका देशका कर्णधार, गरॅौ यिनलाई माया
पाउने छैन देशले चाहे जति, हराए यिनको छाया ।
•राजेशराज गड्तौला
रतुवामाई- १०, मोरंग
हाल- प्रवास
[३]
१.
कर्णधार हुन् भोलिका, साना साना बालक,
देश हाक्दै गन्तव्यमा, पुर्‍याउने चालक ।
२.
मीठो बोलौँ सदैव, बालकसँग गर्दै प्यार,
हनन नहोस् ख्याल गरौँ है बालअधिकार ।
•वसन्त अनुभव
घोराही, दाङ
[४]
प्रकृति देव सम्झ,सृष्टिको दिब्य बालक,
आशाको रथ हाँक्ने,यिनै हुन् मुख्य चालक।
•होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[५]
मनोविज्ञान बुझौं बालकको बुझौं अतित
सुरक्षा दिन नसक्ने बाबु आमा हुन् पतित ।
•प्रेम थापा “मन”
बागलुङ
[६]
१.
बालकलाई देशका सुन्दर गहना बनाउनुपर्छ ,
जस्को नाउमा डलर आउछन् कसरी उस्कै कर्म हर्छ।
२.
बढेपछि बन्नेछन् देशका कर्णधार,
अब नबेच उनकै नाम बारबार।
•दुर्गा आचार्य
मोरङ
[७]
१.
हाम्रो देश समृद्ध जागरुक बनोस् समाजको परिकल्पना ,
टुक्का कविता बाटनै हामी राम्रो साहित्य फैलाउँ सचेतना।
२.
भविष्यका हाम्रा देशका सम्पत्ति कर्णधार यिनै नानी बालक,
ज्ञान शिक्षा दिँदै हुर्काउँ भोलिका देश हाँक्ने हुन्छन् मुख्य चालक ।
•बेदु न्यौपाने
काठमाडौ
[८]
बच्चा भनी नगर हेय खुनी विचार
भावी त हुन् मुलुकका प्रिय कर्णधार।
•रामशरण न्यौपाने
भक्तपुर
[९]
आजका हाम्रा बालबालिका हौ भोलि ठुला बन्नुपर्छ
बाच्न कै लागि भएपनि स्वदेशको माटो खन्नुपर्छ ।
•अम्विका अधिकारी
झापा विर्तामोड
[१०]
सिकाउदै सत्य बोल्न र सत्यको दिन साथ
बालकलाई हुर्काऊँ पढाउदै आफ्नै गाथ ।
•पुष्पा सुवेदी
नेपालगञ्ज, बाँके ।
[११]
प्रकृतिको हुन् बालक अमुल्य उपहार
यिनै छन् फेरि देशमा भोलिका कर्णधार ।
•दुर्गा भट्टराई
मोरङ
[१२]
बच्चालाई चर्को स्वरले नकराऔं साथी
कुट्नु पिट्नु खराब हुन्छ अझ त्यसमाथि ।
•रचना शर्मा प्रतीक्षा
इमाडोल, ललितपुर ।
[१३]
छाेरीलाई कहिल्यै पनि नभन्नु पृथ्वीको भार,
आजका साना बालबच्चा भविष्यका कर्णधार ।
•सहयात्री शाेभा अर्याल
बुटवल, रुपन्देही
[१४]
बालकका क्रियाकलापमा हाम्राे ध्यान जाओस्
पछुताए केही हुदैन बेलामा बुद्वि आओस् ।
•धन कुमारी रेग्मी
भरतपुर
[१५]
भविष्य उज्वल होस् आमाले दिने,
बाल बालिकाले शिक्षा दीक्षा लिने ।
•भगवती दवाडी
झापा
[१६]
आजका साना बालबालिका
भोलिका राना तालतालिका।
•टिकाराम पुन टिपु
सल्यान
[१७]
बालक सबैले भन्नु पर्येा ‘अन्त हैन है स्कूल नै जाउँ’
कसैले पनि भन्न नै नपरेास ‘ यो उमेरमा के खाँउ’ !
•पवन कुमार बुढाथेाकी
काठमाडौं
[१८]
गर्नुपर्छ बाल बच्चाको राम्रो हेर चाह
यिनै देशको सम्पति हुन् हुनुपर्छ थाह।
•ईशहाक हुसैन
जीतपुर सिमरा १४ बारा
[१९]
१.
माया बालकमा दिएर हँसिला राख्ने गरौं वासमा
प्यारा यी घरका अमूल्य गहना रम्दै बसुन् पासमा ।
२.
गाँजा वा धतुरो चुरोट मदिरा खाने नहोस् पालक
साह्रै सभ्य बनेर पाल्न कसिऊ आफ्ना दुधे बालक ।
•चूडा निर्भिक
[२०]
१.
भविष्यका कर्णधार हुन् हाम्रा साना यी बालक,
राम्रो लालनपालनले बन्छन् असल चालक।
•शाेभा आचार्य गाैतम
काठमाडौँ
[२१]
१.
सम्बन्ध र सम्पत्ति हुन बालक,
भविष्यमा देशका हुन चालक।
२.
बालबालिकाको अधिकार नलुकाई,
हुर्काउन पर्छ शिरलाई नझुकाई।
•अच्युत घिमिरे
भुटानबाट
[२२]
सानै देखी सहि गलत बुझाउदै जानू पर्छ
जस्तो बुझ्छ बालमस्तिस्कले तेस्तै गर्ने गर्छ ।
•सागर आँसु
डोटी
[२३]
१.
बालबालिका हुन् साँच्चै काँचाे माटाे ,
सुयाेग्य बनाउन डाेर्याउ बाटाे ।
२.
माया ममता सद्भाव राख्नु अति ,
भविष्यका तारा हुन् बालक जति ।
•प्रद्युम्न चालिसे
भक्तपुर
[२४]
१.
किन पुजेछौत, छोरी दुर्गा भन्दै
गई निमोठ्छौ, कलिला मुना गन्दै।
२.
गई छोरी स्कुल , मन भएन थीर
घर नफर्के सम्म, भयो उस्कै पिर।
•सन्जना शर्मा
दाङ लमही
[२५]
राम्रो शिक्षा दिक्षा दिनु कर्तव्य हो हाम्रो
असल पाठ पढाए अझधेरै राम्रो ।
•सरिता सेढाइ
धादिङ
[२६]
१.
मन नलाग्ने रैछ पिडाका टुक्का कविता लेख्न
भौतारीदै हिडेका बालबालिका नपरोस् देख्न ।
२.
सधै माया गरौ उनीहरूको पनि बुझौं बिचार
भोलि बन्नेछन् यो देशका लागि बलिया कर्णधार ।
•हिमा रोका
मेहेलकुना सुर्खेत
[२७]
१.
बालापनको कुरालाई बुझौ सबैजनाले यहाँ
हाँस्ने,खेल्ने अधिकारलाई कुण्ठित नगरौं जहाँ।
२.
खराबको संगतले भविष्य नै होला धरापमा
विचार नपुर्याए पछुताउँनु पर्ला जीवनमा।
•अर्जुन चाैलागाईँ
[२८]
शिक्षासंस्कार मायादेउ स साना नानीलाई,
धुनुपर्छ कुलतका सबै आनीबानीलाई ।
•बिबस पारदर्शी
[२९]
मौलिक हकको प्रत्याभूति मिल्यो भने बा आमा र पालिकाबाट
देशको मुहार स्वत: फेरिने छ भोलि हाम्रै बालबालिकाबाट ।
•बाबुराम गौतम
गुल्मी
[३०]
१.
बालबालिका हाम्रा रक्षक नमान्नु कोही बोझ घरीका,
पाएमा ज्ञान सरलतामा उठाउँछन् पहाड थरीका ।
२.
गहना भोलिका देशका चालक सृजनाका खानी,
स्वास्थ्य सुरक्षा माया पोषण दिउँ उपहार ठानी ।
•जमुना आचार्य
सिन्धुपाल्चोक
[३१]
१.
बाल बालिकालाई दिनुपर्छ ज्ञान,
कुलतमा फस्न सक्छ्न् है गरौ ध्यान ।
२.
गरौं सबैले बालबालिकाको हेरचाह ,
भविस्यका प्रधानमन्त्री पो हुन् कि के थाह ।
•बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई नगरपालिका ४ झापा
[३२]
बालबालिकालाई माया गरौं सोचौं हामी सारा,
बालबालिका हुन् चम्किला हाम्रा भविष्यका तारा ।
•डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[३३]
बालक हुन् समाजका श्रृजनाका मुना ,
हुर्काउन दिउँ ध्यान ठ्याक्कै दुईगुना ।
•रामकृष्ण दुवाडी
पाेखरा ।
[३४]
भनेको नमाने पछि आफ्नै भाग्यले दिन्छ लात
बुबा आमाबाट बच्चालाई कहिल्यै हुन्न घात ।
•प्रेम सुनार
दैलेख
[३५]
१.
यी हुन्छन् राम्रा भोलिका हाम्रा बालक कलिला
बोलिका मिठा सप्रिदै गए बन्नेछन् मलिला।
२.
बोलेर तोते मस्किदा लाग्छ चन्द्रमा हाँसेको
अधुरो इच्छा गर्न नै पूरा जिन्दगी साँचेको।
•दस्ता कौशिक
पाँचथर।
[३६]
१.
बालबालिका काचो माटो आकार दिनुपर्छ,
भोली उसले देशका लागी राम्रो काम गर्छ।
२.
दुर्ब्यहवार हिसा बाट जोगाउ बच्चालाई,
बाल अधिकार रक्षा गरौ चेतना बढाइ।
•नवशिला
बेलबारी-२,लालभित्ती,मोरङ।
[३७]
जीवन यो लौ! सफल पारौं बाल हित गरी
आखिर लानु के छ र केही लाने हैन मरी।
•परिक्रमा श्रेस्ठ
धरान- १५, सुनसरी ।
[३८]
१.
भविष्यका ती कर्णधारहरुको संरक्षण गरौँ
राम्राराम्रा शिक्षा दिक्षा र ज्ञानगुणहरुले भरौँ ।
२.
अरू केही गर्न नसकेपनि यत्ति गर्न त सरौँ
देशको लागि राम्रो कामहरू गरेर मात्र मरौँ ।
•मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार, बिर्तामोड झापा
[३९]
१.
साना भनी नहेप्नु मलाई भाेलि ठूलाे हुन्छु
माया सबकाे पाएँ भने सगरमाथा छुन्छु ।
२.
अधिकार चाहिन्न स्वतन्त्र बाँच्न पाऊँ
लेख्न पढ्न झाेला बाेकी बिद्यालय धाऊँ ।
•निरज कोइराला
बेलका १ उदयपुर, हालः इटहरी
[४०]
१.
शिक्षा स्वास्थ्य राम्रो गरे भोलि बालक नै असल बन्छन्,
देश समाज संसारले यही कुरा सबैलाई भन्छन् ।
२.
आज राम्रो स्याहारेमा भोलि राम्रो फल दिन्छ,
असल शिक्षा दिएपछि त सही बाटो लिन्छ।
•रामप्रसाद पुरी
बादेल खोटाङ।
[४१]
बाल बालिका भविष्यका देश चालक
संरक्षण गर्ने गराै ती साना बालक ।
•तारा घिमिरे
सङ्खुवासभा
[४२]
जस्तो वातावरण दियो त्यस्तैमा हुर्कने बिरुवा हुँदा
बालबालिका निमाेठिन सक्छन् ती विषालु हातले छुँदा ।
•पुस्पशायरा
[४३]
कोमल हुन्छ हृदय ती मिठो बोल्ने बच्चा सँग,
विकासको क्रममै हुन्छन् उनको प्रत्येक अंग।
•सुरेशकुमार पान्डे
दाङ घोराही १८
[४४]
पहिलो गुरु अभिभावक पाठशाला नै घर
हजुरहरुकाे शिक्षामा पर्दछन् बालक भर ।
•काेपिला अधिकारी
[४५]
बालबालिका देशको सुखद भविष्य हुन्छन्
सुसंस्कारको जग बसालाैँ तारा जून छुन्छन् ।
•चन्द्र खत्री
इमाडोल, ललितपुर!
[४६]
हाम्रो समाजमा भएका कू संस्कारलाई भगाआैँ
भविष्यका कर्णधार बालबालिकालाई जगाआैँ ।
•केसर बाेहरा (सङ्घर्ष )
सुदुरपश्चिम अछाम ।
[४७]
बालबालिका कर्णधार हुन् संसार हाँक्छन् भाेलि
अन्याय र कुसंस्कारकाे नभरिदिऊँ है झाेली ।
•ताराप्रसाद चापागाईँ
धुनिबेसी ।