टुक्का साहित्य समाज, काठमाडौँको आयोजनामा मिति २०७८ असार १२ गते “अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस”को अवसरमा अभ्यास श्रृङखला ११ सम्पन्न भयो । सो अभ्यासमा विश्वभरिका नेपालीभाषी ४६ जना सर्जकहरूले टुक्का कविताको अभ्यास गर्नु भएको थियो । उक्त समयमा अभ्यास गरिएका केही राम्रा टुक्काहरूः

✍️✍️✍️

१/
लाग्न त लागेका छौँ हामी वर्षौंदेखि यो लागु पदार्थ तस्करी विरुद्ध,
कानुन र गतिलो सरकार नहुँदा सकेका छैनौँ उन्मूलन शुद्ध ।
२/
लुकिलुकी तस्करी गर्छन् पहुँचवालाले सडक पेटीसम्म लागु पदार्थ,
निर्मूल गर्न सकिन्थ्यो र नि भागको लोभमा वास्ता गर्दैनन् यही हो यथार्थ।
३/
लागु पदार्थ तस्करलाई कानुन सबल पारी लाउनु पर्छ हतकडी,
पहुँचवाला नभनी निगरानीको व्यवस्था कडा हुनुपर्छ है ! हरघडी ।
४/
लागु पदार्थ सेवनबाट बचाउन पहल गर्नुपर्छ घरबस्तीबाट,
कुलतमा फँसी भविष्यका कर्णधार बालबालिका नपुगून् कहिल्यै घाट।
५/
आफैँ पनि बचौँ अरुलाई पनि बचाउँ यही फैलाउन सकौँ सन्देश,
अनि मात्र बच्न सक्नेछन् सर्वसाधारण शहरदेखि गाउँ परिवेश ।

शर्मिला श्रेष्ठ
ललितपुर

✍️✍️✍️

लागु पदार्थहरू नखाऊ
कुसंगतमा कहिल्यै नगाऊ ।

अरूण नदी खत्री
काठमाडौँ


लागु औषध तस्करी र दुव्यर्सनमा नलागौँ,
अपराध अनि कुबाटोदेखि सधैँ टाढा भागौँ ।

कुसंस्कार अपराध बढ्ने लागु औषध छुन्न,
सुनौलो भविष्य कोर्छु तर दुर्व्यसनी भई रुन्न ।

लागु औषध ओसारपसार तस्करलाई नछोडौँ,
अल्लारे हाम्रा बालबालिकाहरूको ध्यान अन्तै मोडौँ ।

ताराप्रासाद चापागाईं
धुनिबेशी न.पा.-९ धादिङ
हालः काठमाडौँ

✍️✍️✍️

डुबिरहेछु आज जीवन मरणको दशामा
कसरी म फँसेछु यो लागु पदार्थको नशामा ?

रक्सी खाएर घरभित्र आउँछौ
श्रीमती कुटेर भन के पाउँछौ ?

लागु पदार्थले मानसिक रोगी बनाउँछ
जान्छ इज्जत समाजमा निर्घिनी गनाउँछ ।

लागु पदार्थको सेवनले सर्छ डरलाग्दो रोग
ल्याउँछ घरमा सबैको अनि मनमा हुन्छ शोक ।

बालबालिकाहरू छन् लागु पदार्थको कारोबारमा
कानुन कहाँ छ खै ? सरकार देखियोस् व्यवहारमा ।

के मन छैन तिमीलाई हाँस्न ?
ती राता ओठमा गुराँस टाँस्न ।

चाहन्छु म सधैँ रम्दै जीवनमा नाच्न
लागु औषधले नपरोस् सडेर बाँच्न ।

बुझ एकैछिनको मजाले अन्त्य के डाक्छ
फसेँ दुर्व्यसनमा आफ्नै देह घीन लाग्छ ।

मादकताले हुँदैन तनाव केही कम
जस्तो पीडामा पनि नखाने खाऊ कसम ।
१०
हरेक टोलमा अब यौटा नियम बनाऔँ
लागु पदार्थमुक्त समाजको खुसी मनाऔँ ।

श्रीकृष्ण शर्मा
पोखरा

✍️✍️✍️

सानासाना केटाकेटी खसाखुसु गर्छन्
भित्रभित्रै लागु औषध सेवनमा पर्छन्।

खोजी गरौँ दुर्गतिमा लाग्ने बालबच्चा
जोगाउनु पर्छ अब बन्नु हुन्न कच्चा।

लामो थियो जिन्दगानी छोटो बन्न पुग्यो
समाज भाँड्ने जाली किरो किन कता लुक्यो?

हुँदै हुन्न दोषीलाई लुकाउन फेरि
जाग उठ दैत्य को हुन् सोध केरी केरी ।

भविष्यका कर्णधार रहून् स्वस्थ चङ्गा
जागरुक बनौँ सबै नफैलियोस् दङ्गा।

पौडेल विमुन्स
पोखरा

✍️✍️✍️

नुहाएर मात्र बाहिर सफ़ा हुन्छ तन
खानपानको शुद्धताले चोखो हुन्छ मन

नबगाऊ जिन्दगीलाई बोतलको पानीमा
नसिध्याऊ जिन्दगी रोग नै रोग को खानीमा

पदमा शर्मा आँचल
कालाचिनी, भारत ।

✍️✍️✍️

टाठाबाठाको ललिपपमा झुम्मिएका कैयौं युवाशक्ति,
बेरोजगारले थन्किए छन् कति लागु पदार्थको भक्ति!

अगुवा नै चरूवा भएपछि कसरी हुन्छ विकास,
लागु पदार्थमा अल्झिएपछि कसरी हुन्छ निकास!

देशले छैन हारेको तर तस्करले मारेको,
लागु पदार्थ दुर्व्यसनले कस्तो रोग सारेको!

शरद प्रधानाङ्ग
विराटनगर-७

✍️✍️✍️

भोक लागे अन्न खाऊ नपिउनू है नशा,
यो नशाले लेराउँछ साँढे सातको दशा।

लागु पदार्थ ओसारपसार गर्न लगाऊँ रोक,
राम्रो काम गर्नेलाई दिऊँ पुरस्कार सबैथोक।

सीप भए काम गरे खान पाइन्छ बस्दा,
अकालमै मर्नुपर्छ दुर्ब्यसनमा फस्दा।

चेतनाको दियो बाली युवा जगाऊँ,
कुलतबाट छुटाउँदै काममा लगाऊँ।

दुर्ब्यसनले समाजलाई पछि पार्ने गर्छ,
सबै मिली आजैबाट छिटो हटाउनु पर्छ॥

पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३, काभ्रे

✍️✍️✍️

मादक खानेले बिस्तारै कम गर्दै छोडौँ,
खाँदै नखानेले सज्जन साथी मात्र जोडौँ।

ऊ, तिमी, म मिली नखाऔँ सुर्तीजन्य पदार्थ,
स्वस्थ हुँदा रमाउँदै बाँचिने कुरा यथार्थ।

जाँड-रक्सी सेवन गर्दा गाँजा, भाङ, धतुरो,
जोस आउँछ होस गुमाई ठोकिन्छ पुर्पुरो ।

म्यामराज राई
हतुवागढी-६, होम्ताङ्, भोजपुर
हाल: जापान

✍️✍️✍️

जो नशामा जीवन खोज्दछ,
उही छिटो मृत्युमा पुग्दछ ।

अमृत समान जिन्दगीमा विष नरोपौँ
जिउमा नशा चढाएर मुहार नछोपौँ ।

अवैध हो लागू औषध त्यो सबै कारोबार,
जीवन मरण सवाल छ राखौँ सरोकार ।

त्रिलोचन भण्डारी
मेचीनगर, झापा

✍️✍️✍️

गरेर धुम्रपान,
यहाँ हुँदैन सान।

जस्ले धुम्रपान गर्छ,
ऊ अकालमै मर्छ।

धूमपान सेवन नगरौँ,
जताततै चेतना छरौँ।

जगत ‌थापा
सुदुरपश्चिम, बझाङ

✍️✍️✍️

कहिले सुन तस्कर त कहिले नुन तस्कर
हुन्छ चैँ के हाम्रो देशमा घातीको मात्रै लस्कर ।

दुर्व्यसन अति बढ्यो है आधा पिँढीले गर्ने नशा
यो क्रम चलिरहे देशमा लाग्नेछ शनिको दशा।

कानुन मात्र लेखेर हुन्न व्यवहारमा लागु गरौँ
लौन सरकार खोक्रो बन्दैछ देश सचेतना छरौँ।

बाबा आए साहुसँग घर खेत बैना राखी
छोराछोरी मस्ती गर्ने अफिम चुरोट चाखी।

ईश्वरी अधिकारी
लमजुङ

✍️✍️✍️

नगर खिसी दुर्व्यसनीको देखेर हाल,
उसले सुधार्ने छ पक्कै पनि अर्को साल ।

लागु पदार्थले गर्दैन कसैलाई हित,
टाढै रहन सक्यौ भन्ने हुन सक्छ जीत ।
३.
चाहेर पनि सकिन्न देख्न बादल भित्रको घाम
लौ त्यागौँ अपराध हो कुलत र दुर्व्यसनी काम ।
४.
दुर्व्यसनीमा फस्दा तिमी फस्छौ एक्लै
तिम्रो चिन्तामा बा-आमा पीरमा बेग्लै

लागू पदार्थ सेवन गर्नेहरु जता पायो उतै झर्छन्
चिन्तै चिन्तामा आमा-बाबा आफन्त अनि साथीभाइ पर्छन्।

रचना मोक्तान यात्री
काभ्रेपलाञ्चोक

✍️✍️✍️

यति राम्रो युवाको जमात,
कुलतमा लागेर नमात।

धनको नाश कुलतले जेलको बास,
त्यो तस्करी छोराको आमालाई के आस

तिमी नजानी कुलतमा फँसेछौ कसरी,
जिन्दगीलाई धुवाँमा नउडाऊ यसरी।

नानीबाबा अधिकारी,
कलंकी, काठमाडौँ

✍️✍️✍️

सचेत नागरिक र समाज सधैँ अघि सर्नु,
लागू पदार्थ ओसार-पसार पूरै बन्द गर्नु।

कुलतमा फसेपछि निस्कनै गाह्रो,
चेतना जगाउने काम अझ साह्रो।

गाँजा र अफिम हेरोइन र चरेस,
छोरो तँ यसको अघिपछि नपरेस्।

न त मान सम्मान, न त छ पुष्ट ज्यान,
दुर्व्यसनी राम्रो हैन लिनुपर्छ ज्ञान।

सम्पत्तिसँगै शरीरको नास,
ड्रग्सले पार्छ यस्तै उठिबास।

अरूण कुमार भुजेल
गोरूबथान, कालेबुङ्ग,
पश्चिम बंगाल

✍️✍️✍️

पिउने बानी नगरौँ सराब
यस्ले गर्छ जीवनमा खराब ।

राम्रो होइन गर्नु कसैले धूमपान
लिन सक्छ फ़ेरि अकालमा ज्यान ।

धूमपान गर्दा हुन्छ फोक्सोमा हानि
आजैबाट छोड्नु होस् है खराब बानी ।

धूमपान सम्झिनूस् यो हो जहर
कसैले पिउने नगर्नुस् रहर ।

धूमपान किन्ने पैसा होस् बचत
यस्तै असल सिकाउनुस् आदत ।

तारा घिमिरे
संखुवासभा

✍️✍️✍️

लागुऔषध खान्न भने शुरूवातमा मत,
करै गरे साथीभाइले नखाऊँ भने खत ।

चुरोट तान्यो बियर पिइयो देखाउन हिरो,
थाहा थेन त्यतिबेला बन्दैछु पटमुर्ख जिरो ।

अलिअलि गर्दागर्दै पुरै फसेँ लतमा,
दुर्व्यसनी बनाई छाडे साथी मुफतमा ।

चुरोट खाइयो सुर्ती खाइयो तानियो नि गाँजा,
जाँड र रक्सी सेवन गर्दा लाग्दथ्यो आफैँ राजा ।

लागुऔषध सबै ल्याउँथे बोक्दै तस्कर दुई,
चट्ट खायो नाकमा सुँघ्यो अनि लगाउने सुई ।

निर्भरता यति बढ्यो ड्रग नभई हुन्न,
ओभर डोज नभएर रत्ति छुँदै छुन्न ।

सुरुमा त पैसा माग्यो नपाएमा चोरी,
लुटपाट् गरेर नि भर्यो मनको बोरी ।

बिस्तारै पछिपछि बनियो नि तस्कर,
विश्वास छैन अरुको हेर रत्तिभर ।

नखाऊ साथी लागुऔषध नगरौँ है तस्कर,
फसेपछि पछुतोले सताउँछ जीवनभर ।
१०
विचार गरौँ आफ्नो स्वास्थ्य आफैँ अघि सरी,
जाडँरक्सी सुर्ती ड्रग नछोऊँ केही गरी ।

वसन्त अनुभव
घोराही – १४, दाङ

✍️✍️✍️

दिनोदिन युवा वर्गको नैतिकस्तर खस्दैछन्,
लागुपदार्थको कुलतमा नानीहरु फस्दैछन् ।

जो जो फँस्यो दुर्व्यसनको नराम्रो नशामा,
निश्चय नै हुन्छ उसको जीवन दशामा ।

लागुपदार्थको विरूद्ध सचेत भई जागौँ,
परिवार र समाजको उन्नतितिर लागौँ ।

नशाले गर्छ घर अनि सम्बन्धमा खति,
अकालैमा गर्छ यसले शरीरको क्षति ।

लागुपदार्थको बेचबिखनले समाजलाई भित्रभित्रै खाँदैछ,
भविष्यको कर्णधारहरूको भने जिन्दगी नाश भएर जाँदैछ।

राजेन्द्र प्रधान पासा
दार्जिलिङ

✍️✍️✍️

बिरानो थियो नजिकिँदै आयो,
जो मनमा बस्यो कलेजी खायो।

छ जिन्दगी चुरोटमै अडेको,
धूवाँसँगै जान्छ पीडा गडेको।

अनिल खग्रास

✍️✍️✍️

धूर्त अवैध धन्दा गर्नु हुन्न राति,
खान लाउनलाई छन् कामका ताँती ।

हाम्रा जंगलका गैंडा, बाघ, मृग हुन् धन,
तिनका खाग छालाका लागि मार्ने छन् जन।

भगवती दवाडी
झापा

✍️✍️✍️

म जे लेख्छु यिनै आँखाले देखेको लेख्छु,
छन् वरिपरि नै यिनकै कहानी देख्छु।

जन्मियो, हुर्कियो, ठूलो भयो छोरा,
कुलतमा लागेर फँसेछ मोरा।

नानाथरी खादै पिउँदै थालेको हिँड्न,
नसाको तालमा लाग्यो मान्छेहरू गिँड्न।

चोरी डकैती पाकेटमार भयो,
घरको सामानहरु बेच्दै गयो।

रक्सी जाँड गाँजा छोडेर चरेस खान थाल्यो,
कुसंगतका साथीभाइ सहजै यहाँ पाल्यो।

पैसा नहुँदा बाआमालाई घुर्क्याउने,
एक दुई चोटिमा त मीठो फुर्क्याउने।

हरे शिव यो कस्तो छोरा जन्मियो,
आज आएर उल्टै किन सन्कियो।

धुरु धुरु रुँदै परिवार आज,
कुलतको संगतले गर्छ राज।

चरेस खाने सुई हान्ने इज्जत लुट्न थाल्यो,
वरपर दिदी बैहिनी आफ्नु बशमा गाल्यो।
१०
अन्तिम भयो ओछ्यान लाग्यो बिहोसीको चालमा,
मर्ने दिन आयो अब यसको नि यही सालमा।
११
सुन्नु दाजु भाइ बन्धु तपाईं हामी मिलेर,
लागू पदार्थविरुद्ध कुरा गरुम छिनेर।

कमला पाण्डे पराजुली
झापा

✍️✍️✍️

जाँड, रक्सी, चुरोट, बिँडी आएर आफैँ बिमार,
आफू नखाउँ घर परिवारको राखौँ विचार।

कति नराम्रो बानी रहेछ खराब,
राति दिन पिएर आउँछौ सराब।

हिँड्छौ जताततै साथमा गाँजा भाङ लिएर,
दिनहुँ घरमा झगडा गर्ने रक्सी पिएर।

धनजनको हुन्छ सत्यनाश,
नगर रक्सी चुरोटको आश।

शौभा अर्याल
बुटवल

✍️✍️✍️

अहिले नै लागु पदार्थ, जाँड र रक्सी त्यागौँ,
देह-शक्ति कमजोर हुन्छ सचेतामा लागौँ।

नशामुक्त देशको निर्माणमा लागौँ
समय रहँदै लौ अब सबै जागौँ ।

नशाको विरोधमा गाउँ-घरलाई सचेत गराऊँ
आफ्नो कर्तव्य ठानेर एक सुन्दर समाज बनाऊँ।

जुन दिन रित्तिने छ हाम्रो समाजबाट नशा,
हट्ने छ नि:सन्देह देशको शिरबाट दुर्दशा।

निरुविन्दु परियार
भारत

✍️✍️✍️

जानीजानी नगरौँ धूमपान,
ख्याल ख्यालैमा यस्ले लिन्छ ज्यान ।

जिन्दगीभर पर्नेछ मार,
आफैँलाई पर्ने त हो भार।

कसैले पनि नखेल्नु जुवा र तास,
धनको नाश जीवनको बनिबास ।

न त तिमीलाई न मलाई काइदा,
खाएको भन्दा नखाएकै भो फाइदा ।

ललिता अभागी
सिन्धुली

✍️✍️✍️
लागू पदार्थ र अवैध तस्करी कसैले पनि नगरुन्,
पापको घैटो देखेर वैतरणी बाटो दैवले नहरुन्।

रतन पाण्डे ‘पारतन’
दार्जीलिङ

✍️✍️✍️

नगर्नु नशा सेवन रोगले पार्छ बसमा,
सकिन्छ सम्पत्ति साथी नाता रहन्न उसमा ।

लागु पदार्थ दुर्ब्यसनी ओसार पसार नगर्नु,
नैतिक काम होईन यस्ता काममा अघि नसर्नु ।

पुष्पा सायरा
विराटनगर

✍️✍️✍️
१.
नपिउनु भन्दै डाक्टर चुरोट आफैँ पिउँछन्
यिनीहरू लौ कसरी अब धेरै दिन जिउँछन् ।
२.
दुर्व्यशनी बढ्दै गए युवा खतम भए
सम्झाइबुझाइ गर्ने जमात कता गए ।
३.
प्रयोग नगरौँ लागुपदार्थ कसैले पनि
विकास गर्न सकिन्छ हेर लौ देशको अनि ।
४.
नशाभित्र झुलेर नै यहाँ युवा जति नाश भए
समाज अनि आफू बिर्सिएर पतित हुँदै गए ।
५.
सल्लाह दिन सजिलो छ कार्यान्वयन गाह्रो
नशेडीलाई नशा छोड्न किन भएको साह्रो ।

राजेशराज गड्तौला
हालः युएई

✍️✍️✍️

खराब हो लागु औषध जीवन नै सडाउँछ
अमूल्य यो शरीर पनि बिगारेर गलाउँछ।

खानु हुन्न भन्दाभन्दै आफैँ खायो उसले जानीजानी
छुटाउनलाई समस्या भो गर्छ अहिले आनाकानी ।

कडा कानून बुझ्दाबुझ्दै गलत काम गर्यो उसले
चेत थियो तर पनि आज बिर्सेछ कि सम्झी जसले ।

माधव पोखरेल गोज्याङ्ग्रे
उदयपुर, गाईघाट
हालः ताप्लेजुङ

✍️✍️✍️

लागू औषध जीवनलाई हानि
यसबाट रहौं सदा सावधानी।

कालो कर्तुत कानुनको दृष्टिमा
लागू औषध ख़राब हो सृष्टिमा।

अवैध ओसार-पसार नगरौं,
नशालु वस्तुमा अगाडि नसरौं ।

मानिस नै हो सबभन्दा ज्ञानी
नशामा नउडाऔं जिन्दगानी।

ओसार-पसार नगरौं ड्रग पनि
अरू नै काम गरे हुन्छ है आम्दानी।

परिवारलाई पीर पारी शासना,
नपरोस्,यही आजको शुभकामना।

भूषण जंग, ललितपुर
हालः अस्ट्रेलिया

✍️✍️✍️

अब नगरौँ भन्छु मान्दैन यो मन,
भाङ खाएर भएको छु रन वन।

मदिरा पिएर जथाभावी नबोल,
दुई दिनको जीवन हो अनमोल!

बस्छु सधैँ रुखको छायामा,
बाँच्ने चाह छ तिम्रो मायामा।

भित्री मुटुमा छुरा हानी बाहिर राम
निष्ठुरीले जति सम्झे पनि छैन काम।

अन्तै बुनेपछि तिमीले माया जाल,
मर्नु बाँच्नु भएर सम्झेको छु काल।

चुरोट पिएर ज्यानलाई धोका
नफालौँ है सधैँ जताततै खोका।

रक्सी पिएर आमा बहिनी नभन्ने,
जथाभावी आरोप लगाएर खन्ने।

प्रेम सुनार
दैलेख

✍️✍️✍️
१.
लागुपदार्थ ऒसारपसार बढ्दै छ गएको,
यस्ता विकृतिलाई नै फ्याँक्दै जानुपर्छ भएको ।

गैरकानुन कार्य हो लागुपदार्थ ओसारपसार,
नगरौँ है कसैले पनि विकृतिको प्रचारप्रसार ।

ज्यानै जान सक्छ गैरकानुनी कामले,
सचेत रहौँ लोभमा नफसौँ दामले ।

लागुपदार्थ ओसारपसार मिलेर रोक्नुपर्छ,
विश्वमा भएका यी विकृति फाल्ने सोच बोक्नुपर्छ ।

पैसाको लोभमा कसैले नि गैरकानुनी काम नगरौँ,
लागुपदार्थको ओसारपसार विरुद्ध आवाज भरौँ ।

रीता खराल
रुपन्देही

✍️✍️✍️

सान देखाउँछ खाई ठूला र ठालु,
हुन्छ लागू पदार्थ नशालु, बिषालु ।

गाँजा, भाङ त्यही दिमागी भार,
मनैदेखि गरौँ है प्रतिकार ।

लागू पदार्थले गर्छ स्वास्थ्यलाई हानि,
हुन सक्छ ठूलै जीवनभर कहानी।

पीडामा त धूमपान काइदा,
सेवन गरे हुन्छ बेफाइदा ।

केही छिनलाई आनन्द दिन्छ,
धूमपानले हाम्रो ज्यान लिन्छ।

खाएपछि मच्चाउँछ हङ्गामा,
धावा गर्छ शरीरको अङ्गमा।

महेश तामाङ,
बेल्कोट्गढी-६, नुवाकोट

✍️✍️✍️

मदिरा पिएर जथाभावी नबोल,
दुई दिनको जीवन हो अनमोल।

हिँउकला खतिवडा,
कैलाली

✍️✍️✍️
नगरौं सेवन लागू औषध र धूमपान,
भित्रभित्रै खोक्रो पारी यसले लिन्छ ज्यान।

विशाल सुवेदी

✍️✍️✍️

शरीरमा असन्तुष्ट रोग भर्छ,
नशा पिउनु हुन्न है घात गर्छ।

युवा बिग्रियो है नशामा झुलेर,
रातो दिन रेष्टुरेण्टमा भुलेर।

हजुर हाम्रो गाउँका बिरे,चामे अनि काले,
अलि-अलि गर्दै बच्चाले पनि पिउन थाले।

दिन रात टोलाउँछन् सुनसानमा बसेर,
बेकार भए युवाहरू कुलतमा फसेर।

प्रकाश बुढाथोकी
असम, भारत

✍️✍️✍️

छोडौँ सबै रक्सी जुवा तास,
हुन्छ जीवनको सत्यनाश।

भ्रष्टाचारी बसेका छ्न् देशैभरि
कमाए छ्न् धन गरेर तस्करी।

हरिश चन्द
बैतडी

✍️✍️✍️

शिक्षाको कमी धेरै भयो समाजमा,
धूमपान मूल्य बढाऊँ बजारमा ।

सबै शिक्षित भए समाजमा हट्छ
लागू औषध विरुद्धमा मन बड्छ।

साधना पौडेल
ओेखलढुंगा

✍️✍️✍️

छोडौँ सबैले धूमपान,
जोगिन्छ अनि हाम्रो ज्यान ।

बनायौ कुलतरहित समाज
छरेर जनचेतनाका आवाज ।

लागुपदार्थ ओसारपसारमा लगाउनुपर्छ रोक,
जसले समाजमा राम्रो काम गर्छ हुनेछ सबै थोक ।

दुर्गा भट्टराई
मोरङ

✍️✍️✍️

लेखेर पठाए मायाको उपहार,
त्यसमा थियो देशभक्तलाई प्यार।

भोलि भेट हौँला मसाल बालेर,
आउँछु यो व्यवस्थालाई फालेर।

आऊ मिलेर बनाऔँ सुन्दर देशलाई,
प्रगतिशील विचार ल्याऊँ है दाजुभाइ।

विचारमा मिठास अनि विवेक हुनैपर्छ,
त्यसैले त घर समाजको राम्रो हित गर्छ।

सुरेशकुमार पाण्डे
घोराही उपमहानगर पालिका १८, दाङ

✍️✍️✍️
१.
हानिकारक हुन्छ लागूपदार्थ,
यसको सेवन नगर्नु किमार्थ।
२.
नआउनु अब कहिल्यै पिएर,
बस्दैछु फाटेको यो मन सिएर।
३.
नफँस्नु लागू पदार्थको नशामा,
जिन्दगी जाकिन्छ फेरि दुर्दशामा।
४.
नखानु कसैले रक्सी भाङ चरेस,
खाएसरी हुन्छ जिन्दगीमा हरेस।
५.
लागू पदार्थविरुद्ध सक्रिय बनौँ,
समस्या आयो भने अरुलाई भनौँ ।

थापा रुद्र
भानु – ११, तनहुँ

✍️✍️✍️

नगर्नु दुई नम्बरी धन्दा कसैले,
यस्तो काम आजै गरौँ बन्द सबैले।

खगिन रिदम लामा
खोटाङ, ईन्द्रेणी पोखरी

✍️✍️✍️

जसले खान्छ सधैँ नशा,
उसले लिन्छ सबै दशा ।

लागू पदार्थको सेवनले लिन्छ हाम्रो ज्यान,
यसलाई नछोएकै एकदम राम्रो झन्।

आजैदेखि सबैले दुर्व्यसनमा नफस्ने प्रण गरौँ,
समाजबाटै हटाउन जागृतिका स्वरहरु भरौँ ।

आउ अब समाजबाट दुर्व्यसनलाई बनाउँ सधैँ टाढा,
धूम्रपान बिनाको जीवन हुन्छ उत्तम र हरपल गाढा ।

शिक्षा छरौँ समाजमा चेतनाको दियो बालौँ,
दुर्व्यसनको विरुद्धमा सबले पुञ्ज फालौँ ।

उखेलेर जरैदेखि दुर्व्यसनलाई फाल्नुपर्छ,
कच्याककुचुक सबै ती जरा यसका गाल्नुपर्छ ।

नशा पिउने साना हुन्छन् कोही सारै बच्चा,
कुलतले जीवन बन्छ अति साह्रै कच्चा।

नपिउनु जीवनमा नशा,
पियौ भने लाग्छ ठूलो दशा।

लक्ष्मी घिमिरे
झापा

✍️✍️✍️

लागू औषधका धन्दा रोकेर अब देशमा,
चेतना छर्नुपर्नेछ नयाँ यो सुस्त भेषमा ।

बेरोजगार ती युवायुवती जनता सब,
लागुऔषध ओसारपसार बन्द होस् अब ।

जहाँ ती घर भाँडिन्छन् लागुऔषधले सुन,
सप्रिन्छ घर साराका सुनिदे मुरली धुन ।

ऋषिराम खनाल
मध्यविन्दु ६, नवलपुर

✍️✍️✍️
जीर्ण बन्छ शरीर परदिन लागू पदार्थको नसाले,
रहन्न इज्जत अनि अस्थिर मन घुमाउँछ दशाले ।

मिसु श्रेष्ठ
काठमाडौँ

✍️✍️✍️
१.
लागुपदार्थ सेवन गर्ने तिम्रो बानी,
पुर्याउँछ स्वास्थ्यलाई बुझौँ निकै हानि।
२.
बनिन्छ खराब,
नछुनु सराब।
३.
सोचेर नै कुरा दिनुपर्छ ध्यान,
लागुपदार्थले लिनसक्छ ज्यान।

रविन भण्डारी

✍️✍️✍️
आफ्नो अनि सन्ततिको सधैँ उज्ज्वल भविष्य सोचौँ,
लागु पदार्थ र तस्करीलाई घृणा भावले घोचौँ।

नवीन जोशी
कैलाली