‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।

यसैक्रममा ‘साताका पुस्तक’मा यो साता पाँच पुस्तक । नेम खड्गेको ‘इट अल बिगिन्स विद यु’देखि एक बागीको ‘साधना र सङ्घर्ष’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

====

१. इट अल बिगिन्स विद यु – नेम खड्गे

नेपालमा सेल्फ हेल्प विधाको पुस्तक त्यति धेरै निस्कदैन । विदेशमा भने यो एउटा नियमित पढ्न रूचाइने विधा भएकाले प्रायः बजारमा आइरहेका हुन्छन् । अमेरिकामा लामो समय जीवन जिउने तरिका सिकाइरहेका नेम खड्गेले दुई वर्षअघि अमेरिकी बजारमा ल्याएको इट अल बिगिन्स विद यु पुस्तक नेपालमा साहित्यपोस्टको मातृसंस्था शब्दमिडिया प्रा.लि.ले बजारमा ल्याएको छ ।

‘हाउ टु अचिभ एनिथिङ यु वान्ट इन लाइफः इट अल बिगिन्स विद यु’ले शान्तिपूर्ण, खुसियालीले भरिपूर्ण र स्वस्थ जीवन बाँच्न सिकाउँछ ।

पुस्तकमा १५ च्याप्टर छन् । जसमा मानवीय आवश्यकता के हो, मानवले खोज्ने आफ्नो पहिचान, पहिचान प्राप्तिका लागि मान्छेले साँध्ने लक्ष्यजस्ता कुरासँगै सफलताका लागि आवश्यक पर्ने सुन्ने कला, सकारात्मक प्रवृत्ति, आत्मानुशासनजस्ता कुराहरूमाथि विस्तारसँग चर्चा गरिएको छ ।

परिवर्तन र सफलताका लागि परिवर्तन गर्न सकिने र नसकिने कुराहरूलाई सोही रूपमा स्वीकार्ने, आफूलाई उत्साही बनाइराख्न आवश्यक कुराहरूमा ध्यान दिने, समाजका विविधता र समावेशिताका कुरालाई स्वीकार्ने, अरूसँगै आफैँलाई पनि सम्मान गर्ने, हरेक दिन तनाव व्यवस्थापनमा ध्यान दिने, खुसी आफैँले सिर्जना गर्न सकिन्छ र अरूका लागि पनि खुसी हासिल गर्न सघाउने, मानसिकता परिवर्तन गरेर वास्तविकता परिवर्तन गर्न सकिनेजस्ता अनेक कुरा यहाँ विस्तारपूर्वक बताइएको छ ।

जम्माजम्मी १०० पृष्ठको एक बसाइमा नै पढ्न र प्रेरित हुन सकिने यो पुस्तकको मूल्य भने ४९९ रूपैयाँ रहेको छ । हाललाई आधा मूल्यमा नै प्राप्त गर्न सकिने गरी लेखक र प्रकाशकले यसलाई बजारीकरण गरिरहेका छन् ।

 

२. नेपाली नाट्य परम्परामा नाटककार माधव घिमिरेको योगदान र मूल्याङ्कन – डा. बाबुराम आचार्य

डा. बाबुराम आचार्यकृत अनुसन्धानमूलक समालोचना कृति हो, ‘नेपाली नाट्य परम्परामा नाटककार माधव घिमिरेको योगदान र मूल्याङ्कन’ । आचार्यले कृतिमा नाट्य परम्परामा माधव घिमिरेको योगदान र मूल्याङ्कनलाई विभिन्न सात अध्यायमा अध्ययन गरेका छन् ।

‘भुँडीपुराण प्रकाशनले साहित्य तथा गैह्रसाहित्य क्षेत्रका पुस्तक प्रकाशन गर्दै आएको छ ।’, प्रकाशकीय लेखिएको छ, ‘नेपाली साहित्यको उत्थानका निम्ति साहित्यिक कृति प्रकाशन हाम्रो एउटा उदेश्य पनि हो । यसै सन्दर्भमा नेपाली नाट्य परम्परा र साहित्यकार माधव घिमिरेको यसमा रहेको योगदानका बारेमा समीक्षा गर्दै सहप्रा. डा. बाबुराम आचार्यको ‘नेपाली नाट्य परम्परामा नाटककार माधव घिमिरेको योगदान र मूल्याङ्कन नामक कृति पाठकसामु ल्याएका छौं ।’

पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । १ सय २ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय रुपियाँ रहेको छ ।

 

३. मृतसागरको उचाइबाट – सिन्धु पौडेल

कवि सिन्धु पौडेलको पहिलो कविताकृति हो, ‘मृतसागरको उचाइबाट’ । हाल वैदेशिक रोजगारीको सिलसिलामा इजरायल रहेकी पौडेलको यो कविताकृतिमा विभिन्न ३५ शीर्षकमा कविताहरु सङ्ग्रहित छन् ।

‘विभिन्न सिलसिलामा विदेशमा जाने प्रत्येक नेपालीले आफूसँगै नेपाल पनि बोकेर लगेका हुन्छन् । पानी त्यहाँको पिए पनि तीर्खा नेपालकै हुन्छ ।’, पुस्तकको भूमिकामा वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी लेख्छन्, ‘वैदेशिक रोजगारी एक किसिमले हाम्रो बाध्यता हो । त्यही बाध्यतालाई कहिले सुन्दर भविष्यको आँखा त कहिले आफ्नो संस्कृति, गाउँघर र आफन्तको माया चिहाइरहेको हुन्छ । कवि सिन्धु पौडेलको कवितासङ्ग्रह मृतसागरको उचाइबाटमा समेटिएका कविताहरुले यही सत्यलाई नजिकबाट आत्मसात गरेका छन् ।’

पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो । १ सय २२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।

 

४. अमेरिकामा ९० दिन – राम विनय

प्रगतिवादी साहित्य लेखनमा सक्रिय स्रष्टा राम विनयको नियात्रा कृति हो, ‘अमेरिकामा ९० दिन’ । पुस्तकमा राम विनयले अमेरिकाको ९० दिने यात्रा–संस्मरणलाई तेह्र शीर्षकमा समेटेका छन् ।

‘राम विनयको यो नियात्रासङ्ग्रहमा यथार्थता र निजात्मकताको राम्रो सम्मिश्रण रहेको छ । उनले यात्राका क्रममा अनुभव गरेका विषय र सन्दर्भलाई आफ्नो दृष्टिकोणका साथ निजात्मक रुपमा प्रस्तुत गरेका छन् ।’, पुस्तकको भूमिकामा प्रा.डा. हेमनाथ पौडेल लेख्छन्, ‘यसमा उनले बाह्य आँखाले देखेका र भित्री आँखाले अनुभूत गरेका दुवैको राम्रो संयोजन गरेका छन् । नियात्रामा सूचनाको तथ्यात्मकता र प्रस्तुतिमा कलात्मकता दुवैको आवश्यकता पर्दछ । विनयले यस नियात्रामा त्यसको निर्वाह राम्ररी गरेका छन् । विषयको चित्रात्मक प्रस्तुति र रोचक वर्णनले गर्दा यो नियात्रासङ्ग्रहले पाठकको मन सहज रुपमा तान्छ र वर्णनीय विषयको आस्वादन पनि गराउँछ ।’

पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । ७८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य १ सय ८० रुपियाँ रहेको छ ।

 

५. एक बागीः खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष – उज्ज्वल प्रसाईं

नेपाली राजनीतिमा सधैं प्रतिपक्षको भूमिकामा रहने लेखक तथा विचारक खगेन्द्र संग्रौताको जीवनी हो, ‘एक बागीः खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष’ । पुस्तकलाई उज्ज्वल प्रसाईंले लेखेका हुन् ।

पुस्तकको अन्तिम कभर पृष्ठमा लेखक मेरी डेशेन लेख्छन् , “विद्यार्थी र शिक्षकको हैसियतले अमेरिकाका विभिन्न विश्वविद्यालयमा मिसेल फुकोदेखि ज्याक्स डेरिडासम्मका प्रवचन सुनेकी छु । तथापि, चाबहिलको पिंडीमा एउटा जीवित विद्यालयमा बसेर मात्रै बल्लतल्ल साहित्यको सत्य अर्थ र सामाजिक सम्भावनाबारे अलिकता बुझ्न पाएकी छु ।”

त्यस्तै, सिके लाल लेख्छन्, “विचारधाराका दृष्टिकोणबाट हेर्दा खगेन्द्र दाइ आस्थाका पहरेदार हुन्, बन्दी होइनन् ।”

४ सय ७६ पृष्ठको संग्रौलाको जीवनी बेला पब्लिकेशनले प्रकाशित गरेको हो । किताबको मूल्य ९ सय ४५ रुपैयाँ राखिएको छ ।