‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरुलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौं – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटून् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरु सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरु साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसैक्रममा ‘साताका पुस्तक’मा यो साता पाँच पुस्तक । पाैड्यालकाे ‘तादी किनारको गीत’देखि सुदिप अर्यालको ‘क्रान्ति’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

===

१. क्रान्ति — डा. सुदिप अर्याल

मनोचिकित्सक डा. सुदिप अर्यालको नवीनत उपन्यास हो— “क्रान्ति” । २३ भागमा तयार पारिएको यस उपन्यासमा युवाहरूको जीवन्त कथा पाइन्छ ।

“अचम्म लाग्छ, सधैँ व्यस्त रहने एउटा डाक्टरले कहिले समय निकाल्यो र यो कृतिको रचना गर्यो । एमबीबीएस गरुञ्जेलसम्म पनि ऊ पढि नै रहन्थ्यो एमडी गरुञ्जेल पनि पढि नै रह्यो । दुवै समयमा ऊ यति व्यस्त हुन्थ्यो कि खाना खुवाउनका लागि पनि म आमा उसलाई कुरिरहेकी हुन्थेँ ।” भूमिकामा सरस्वती अर्याल लेख्छिन्, “कसरी समय मिलायो थाहा छैन, तर यो उपन्यास लेखेछ । लेख्न पनि आफ्नै विषयसँग मिल्ने यस्तो अद्भुत कथा लेखेछ । कथा पढेर मन फेरि मग्न भयो । हृदयमा भित्तामा लागेका घाउका पाप्राहरू फेरि उक्किए र म फेरि अर्कै प्रकारले घाइते भएँ । … अब मेरो छोरो एक चिकित्सक भएर होइन, एक उपन्यास बनेर बाँच्ने भयो । शहीदको सन्दर्भको कुरा गर्दा अरूहरूले भनेको सुन्थेँ- मर्नेहरू अमर हुन्छन् ।”

पुस्तकको पछिल्लो कभर पृष्ठमा लेखिएको छ, “किशोरावस्था र मनोविज्ञानमा चासो राख्ने सम्पूर्ण पाठकका लागि एउटा रोमाञ्चक सिर्जना हो क्रान्ति । किशोर मनको आवेग, त्यसमाथि अभिभावकहरूको अवरोध, र त्यसले पार्ने गहिरो कुप्रभाव मानव समाजको एउता सर्वकालिक तर कटु यथार्थ हो । बाबुआमाले किशोरवस्थामा प्रवेश गरेका छोराछोरीको मनोविज्ञानलाई संवेदनशील भई बुझेर कदम चाल्ने हो भने त्यो आफैँमा एउटा क्रान्ति हुनेछ र छोराछोरीले आफूले इच्छ्याएका सफलताका मुकामहरू चुम्नेछन् भन्ने सन्देश उपन्यासले पाठकमाझ प्रस्तुत गरेको छ । चिकित्सा शास्त्र, विशेष गरी मनोचिकित्साका कतिपय प्रसङ्गहरू विशुद्ध साहित्यिक परम्परा अभ्यस्त पाठकहरूका लागि नयाँ चाखका विषय पनि बन्नेछन् ।”

पुस्तकलाई पेज टर्नरले प्रकाशनमा ल्याएको हो । १ सय ९४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय ५० रुपियाँ रहेको छ ।

२. प्रजातान्त्रिक समाजवादका महर्षि आचार्य नरेन्द्रदेव र उनको समाजवादी विचार — प्रा. डा. राजेश गौतम

प्रा. डा. राजेश गौतमकृत पुस्तक हो — “प्रजातान्त्रिक समाजवादमा महर्षि आचार्य नरेन्द्रदेव र उनको समाजवादी विचार” । पुस्तकमा ‘जन्म र बाल्यकाल’, ‘नरेन्द्रदेवको अन्तिम वर्ष’लगायत १४ वटा शीर्षक, आचार्य नरेन्द्रेवको प्रजातान्त्रिक समाजवादमा ११ वटा शीर्षक र ‘आचार्य नरेन्द्रदेवले विभिन्न समयमा विभिन्न माध्यमबाट व्यक्त गरेका विचारहरू’ समावेश छन् ।

मेरो भन्नुमा प्रा. डा. राजेश गौतम लेख्छन्, “यस पुस्तकमा आचार्यको जीवनीका साथै व्यक्ति, समाज, शिक्षा, संस्कृति, राष्ट्रियता, मानवता, समाजवाद, जनतन्त्र, धर्म निरपेक्षता आदि महत्त्वपूर्ण विषयहरूमा पनि आचार्यजीको विचार के थियो, सिद्धान्त के थियो भन्ने बारे चर्चा गरेको छु । यसका साथै मार्क्सवादलाई मार्क्सवादी नरेन्द्रदेवको के देन थियो भन्नेबारे पनि प्रस्ट हुनेछ । यिनै विषयका बारेमा उल्लेख गर्दा ‘नरेन्द्रदेवजी’द्वारा प्रतिपादित ‘जनतान्त्रिक समाजवाद’, जनतान्त्रिक शिक्षा पद्धति तथा अन्य सामाजिक सिद्धान्तका साथै अन्य कुराहरूको पनि समुचित जानकारी हुनेछ । यथार्थमा यो पुस्तक ‘प्रजातान्त्रिक समाजवाद’को नै एक परिचयात्मक पुस्तक हुन गएको छ ।”

पछिल्लो कभर पृष्ठमा लेखिएको छ, “भारतीय संस्कृति र वर्तमान युगको बौद्धिकताको यस्तो समन्वय भएको थियो, जसको कारण उनको व्यक्तित्व पाश्चात्य विचारहरूको दोहन गर्दै भारतीय भूमिमा दृढतापूर्वक उभ्भिएको थियो । यो सायद पटक-पटक दोहोर्याउँदा पनि अप्रासङ्गिक मानिँदैन कि उनी एक स्वतन्त्र विचारक थिए र जसको पनि विचारहरूलाई अपनाउँदथे चाहे त्यो पश्चिमबाट आइरहेको होस् अथवा देशको नै होस्, त्यसलाई एक नयाँ रूप दिन्थे, नयाँ व्याख्या गर्दथे ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । २ सय ५७ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय ९० रुपियाँ रहेको छ ।

३. पञ्चतन्त्रका कथा —  कृष्णकुमारी देवी

अनुवादक कृष्णकुमारी देवीको धार्मिक पुस्तक हो — “पञ्चतन्त्रका कथा” । यसमा मित्रभेद (प्रथमतन्त्र)मा ‘मूर्ख बाँदरका कथा’लगायत २३ वटा, मित्रसम्प्राप्ति (द्वितीयतन्त्र)मा ‘हिरण्य-ताम्रचूडको कथा’लगायत ६ वटा, काकोंलूकीयम् (तृतीयतन्त्र)मा ‘चतुर्दन्त हात्ती र लम्बकर्ण खरायोको कथा’लगायत १६ वटा, लब्धप्रणाशम् (चतुर्थतन्त्र)मा ‘रक्तमुख बाँदर र करामुख गोहीको कथा’लगायत १२ वटा, अपरीक्षितकारकम् (पञ्चतन्त्र)मा ‘मणिभद्र सेठको कथा’लगायत १५ वटा कथाहरू सङ्ग्रहित छन् ।

ब्रह्मदत्त र गँगटोको कथामा लेखिएको छ, “ब्राह्मणले बिउँझेर देख्यो कि नजिकै सर्प कपूरको पुरियामाथि मरेको छ । गँगटाले नै यसलाई मारेको हो । यस्तो विचार गरेर ऊ प्रसन्नतापूर्वक बोल्यो- अहो ! मेरी आमाले साँच्चै कुरा भनेकी रहिछन् । मानिसले कुनै साथी साथ राख्नुपर्छ । एक्लै जानुहुँदैन । मैले श्रद्धापूर्ण चित्तले उनको वचन मानेँ । यसैले सर्पद्वारा मर्नबाट बचेँ । विपत्तिमा सहयोग गर्ने अरू हुन्छन्, सम्पत्तिका सुखको अनुभव गर्ने अरू नै हुन्छन् । जसरी सूर्यका सहायताले बढेर चन्द्रमा क्षीण हुँदा पनि अमृतको वर्षा गर्छन् र समुद्रलाई चढाउँछन् ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । ३ सय ५८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय ९० रहेको छ ।

४. तादी किनारको गीत — महेश पौड्याल

गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार प्राप्त “तादी किनारको गीत” उपन्यास दोस्रो संस्करण हालै बजरमा आएको छ ।

कवि, समालोचक, अनुवादक महेश पौड्यालकृत किशोर उपन्यास हो— “तादी किनारको गीत” । पुस्तकलाई १. समना घरभित्रका, २. सपना अज्ञात क्षितिजतिरका, ३. सपना घरआँगनका, ४. सपना आकाशका गरी  विभाजन गरिएको छ ।

पछिल्लो कभर पृष्ठमा लेखिएको छ, “पहिलो पल्ट वि. सं. २०७२ सालमा प्रकाशित ‘तादी किनारको गीत’ माझी समुदायका व्याप्त कलिलो उमेरमा बिहेको बोल बोल्ने र बिहे गरिदिने प्रचलनमाथि लेखिएको किशोर उपन्यास हो । यसले माझी समुदायको चालचलन, रीति-रिवाज, पेसा-व्यवसाय र पछिल्लो समय उनीहरूमा देखिएको विस्थापनको समस्यालाई पनि सरल र पाठकमैत्री भाषामा उतारेको छ । बालबालिका र किशोर-किशोरीलाई विशेषतः ध्यानमा राखेर लेखिएको यो उपन्यास सबै उमेर समूहका पाठकका लागि पठनीय छ ।”

पुस्तकलाई पेज टर्नर प्रा. लि. ले बजारमा ल्याएको हो । १ सय २० पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ७५ रुपियाँ रहेको छ ।

५. चेस खेलको परिचय — गोपीरमण उपाध्याय

‘बालबालिकाका लागि चेस (२०६४)’का लेखक गोपीरमण उपाध्यायकृत पुस्तक हो— “चेस खेलको परिचय” । यसमा ‘प्रस्तुत लेखनका प्रमुख उद्देश्य’, ‘चेस जगतका ऐतिहासिक व्यक्तित्वहरू’लगायत १४ वटा शीर्षकहरूबाट चेस साहित्यको नमुना विषयवस्तुको सङ्कलन पाइन्छ ।

“चेस साहित्य अन्य साहित्य जस्तो एकल रूपमा लेखिने साहित्य नभएर अरूले गरेको कामबाट निर्माण हुने साहित्य हो । खास गरेर अरू खेलाडीहरू खेल्छन्, लेखकहरूले उनीहरूले खेलेका खेलहरू सङ्कलन एवम् विश्लेषण गरेर त्यसलाई साहित्यको रूप दिन्छन्, जसको अध्ययन गर्न पनि गोटी र बोर्ड नभई हुँदैन ।” लेखकीय मन्तव्यमा लेखिएको छ, “विश्वमा जति पनि चेस साहित्यको भण्डार छ, त्यसको निर्माण प्रक्रिया पनि यही हो । खेलको माध्यमबाट नै यस साहित्यको उत्कृष्टता एवम् साधारण स्तरको पहिचान गर्न सकिन्छ । यसको उच्चता र न्यूनतालाई पनि गोटी र बोर्डहरूको परिस्थितिबाट निर्धारित गर्न सकिन्छ । एउटा खेलाडीले कस्तो परिस्थितिमा कस्तो निर्णायक चाल चलेर विजयी भयो, कुन खेलाडी कसरी गलत चाल चल्दा राम्रो पोजिशनमा भएर ऊ पराजित भयो भन्ने कुरा नै सम्भवतः यस साहित्यको मुख्य अन्तर्वस्तु हो ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । १ सय २२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।