पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेका हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रूचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन साहित्यपोस्टले यो स्तम्भलाइ निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न ४ वटा पुस्तक प्राप्त भएका छन् ।
===
१. छन्द उपासना– रोहिणी रसिक
इन्द्रेणी जब रङ्ग उत्सवहरू पोतेर आकाशमा
नाच्छिन् छम्छम रङ्गभेद नगरी चैतन्य ज्योत्स्नासँग
सीमाहीन उडान भर्छ पुतली संसारमा हेर न !
सीमाभित्र बसेर द्वन्द्व झगडा हामी गरेका किन ? (किन ?, पृ. १५)
कवि रोहिणी रसिकको नयाँ कविता सङ्ग्रह हो, छन्द उपासना । कविले सङ्ग्रहका कवितामा विभिन्न छन्दको प्रयोग गरी प्रकृतिप्रेम, देशभक्ति, विश्वशान्ति, मानविय चरित्र, वर्तमान यर्थाथ प्रस्तुत गर्नुभएको छ ।
”जीवनको व्याख्या गर्नेहरूले भिन्नभिन्न तरिकाले गरेका छन् । जीवन के हो ? जगत् के हो ? यो व्याख्या गर्ने दर्शनको काम हो । दार्शनिक पक्षबाट यहाँ पर्गेल्न नखोजे तापनि सामाजिक परिवेशभित्र रहेर जिन्दगीलाई बुझ्ने प्रयास कविले गरेका छन् ।”, संग्रहको भूमिकामा बाबुराम पोखरेल लेख्नुहुन्छ, ”कला लहड होइन । कलामा धर्म, दर्शन, जीवनपद्धति सम्मिश्रण हुन्छ । कला मानव कल्याण, आनन्द र खुशीका लागि हुनसक्छ । भावमा मानव कल्याण र समग्रतामा आनन्द र खुशी निहित हुन्छ । आदिम संवेगका प्रतिकमय अभिव्यञ्जनाले जब फस्टाउने अवसर प्राप्त गर्दछन् तब साहित्य कोमल मानवतावादी बन्दछ । लोकसंस्कृति बिम्ब संयोजनका दृष्टिले साहित्यलाई हेरिएन भने साहित्य जीवन र जगतको असल प्रतिच्छाया बन्न सक्दैन । प्राकृतिक बिम्बहरूले साहित्यलाई जीवन्तता प्रदान गर्दछन् । कविभित्रको यो सचेतनाले छन्द उपासना साहित्य पूजक तथा चिन्तकका लागि असल सामाग्री बनेको छ ।”
लेखकीय मन्तव्यमा कवि रसिक लेख्नुहुन्छ, ”आमाले अनिकाल जोरेर पकाएको विगत र बुबाले पसिना फुटाएर सनैःसनैः उठाउँदै गरेका भुतकालीन सपनाहरू तत्परिवेशका सामन्ती हुङ्कार तथा अधिनायकवादी स्थानीय उपनिवेशका सङ्घारहरू नाघेर फराकिलो आकाश हेर्न चाहना गर्दागर्दै सकिएका मेरा पुर्खाहरूका आशीवार्दको पोको हो छन्द उपासना । वैयक्तिक जिन्दगीका पाटाहरू केलाइ बचेखुचेका समयहरूलाई संश्लेषण गरेर राखिएको अक्षरालय हो यो छन्द उपासना । जताततै देखिएका स्खलित सामाजिक सूचाकाङ्कहरूलाई निस्तेज पार्न कम्मर कसेर लागेको सिपाहीको रूप हो छन्द उपासना । सत्मार्गमा सप्रेम हातेमालो गरेर हिँड्न सिकाउने, हिँड्दै गरेकालाई दौडाउने सञ्चेतनाको प्रकार हो छन्द उपासना । अन्याय, अत्याचार, विभेदको अन्त्यका लागि सामूहिक ऐक्यबद्धता, मानवीय मूल्यमान्यताका आधारहरूको सिर्जना, जगेर्ना र जोहो गर्न सिकाउने, उत्प्रेरणा दिने, अन्धाकारमा पनि उज्यालो दिने प्रकाश हो छन्द उपासना ।”
पुस्तकलाई शब्द मिडिया प्रा.लिले प्रकाशनमा ल्याएको हो । ५९ थान कविता सम्मिलित संग्रहको मूल्य ३ सय ५० रुपैयाँ रहेको छ ।
…
२. कल्पनाको क्षितिजमा – प्रा.डा. अर्जुनदेव भट्ट
वरिष्ठ न्युरो सर्जन प्रा.डा. अर्जुनदेव भट्टको कथासंग्रह हो, कल्पनाको क्षितिजमा । संग्रहमा कथाकारले चिकित्सा पेशामा देखेका, भोगेका दृश्य तथा घटनाहरूलाई कथाको माध्यमबाट सुन्दर तरिकाले प्रस्तुत गर्नुभएको छ ।
”पुरानोलाई पूर्ण रूपमा फेर्न वा आवश्यक परिमार्जन गरेर युग सुहाउँदो पार्न निकै सबल र सक्षम हुँदो रहेछ समय । अति जब्बर जग गाडेर बसेको धर्म, सामाजिक रीतिरिवाज, दार्शनि समेतलाई समयले अनुहारै फेरिने गरेर परिमार्जित गर्दो रहेछ । जो परिमार्जित भएर पनि बिनासङ्कोच जीवनपद्धति स्वीकार गर्छन् ती अस्तित्वमा रहँदा रहेछन् । पुस्तक लेखेर मानिसको जीवनमा केही मात्रामा भने पनि परिवर्तन गर्न सहयोग पुर्याउन सकिन्छ भन्ने विश्वास गरेर मलाई पनि केही लेखेर परिवर्तनको संवाहक भई योगदान गरुँ भन्ने भावना पलायो ।”, लेखकीय मन्तव्यमा कथाकार भट्ट लेख्नुहुन्छ, ”अहिलेको नेपाली समाज निकै क्रूर, जातपातको पक्षपाती, गरीबलाई अपहेलित गर्ने, अभावग्रस्तलाई आदरभाव र मानवीय व्यवहार गर्न कन्जुस्याइँ गर्ने छ तर यस्तै समाजमा पनि कहीँ कतै मानवताको आदर नभएको भने होइन रहेछ । अझै पनि मानिसका मनमा छन्ः जो समानता, इमानदारीता, कर्म र अनुशासनको आदर गदर्छन् । समाजमा अदृश्य भएर रहेका ती एक्लादोक्ला तर उदाहरणीय व्यवहारलाई लेखनमा उतार्ने जमर्को गर्ने हिम्मत गर्न प्रायः थोरै नै अगाडि सर्दा रहेछन् । यस कथासंग्रहमा रहेको यो अभावलाई छानेर प्रस्तुत गर्ने जमर्को मैले गरेको छु, कल्पनाको क्षितिजमा ।”
त्यस्तै, पुस्तकको प्रकाशकीयमा लेखिएको छ, ”प्रस्तुत कृतिमा वरिष्ठ न्युरो सर्जनले आफ्ना पेशावरी जीवनमा भोगेका दुःखका पहाडहरूलाई कलात्मक बान्कीमा शब्दहरूमा उनेर कथाका माध्यमबाट देशका कुनाकन्दराको यथार्थलाई पस्कन सफल भएका छन् । दुःखपीडा, मायाप्रेम, डरत्रास, जीवनमरण, रोगव्याधि आदिको सूत्रात्मक वर्णनका साथै यथार्थलाई सिद्धहस्त रूपमा चिरफार गरिएको छ ।
पुस्तकलाई साझा प्रकाशनले बजारमा ल्याएको छ । १९ थान कथाहरू सङ्ग्रहित पुस्तकको मूल्य ३ सय ९५ रुपैँया रहेको छ ।
…
३. काँचको पोखरी – टीका भाइ
‘बाँझो माटोको गर्भमा
झरी पर्खिरहेका लाखौँ बीजहरू छन्
एउटा खडेरी
अन्त्य होइन जीवनको ।‘
टीका भाइको नवीनतम कवितासङ्ग्रह हो, काँचको पोखरी । भारतको कालेबुङ्ग निवासी कवि टीका भाइ शब्दहरूसँग खेल्न माहिर हुनुहुन्छ, उहाँको यो कवितासंग्रहमा पनि त्यस्तै काव्यिक बिम्बहरू प्रयोग गरी विगत, वर्तमान र भविष्यलाई सुन्दर रूपमा प्रस्तुत गर्नुभएको छ ।
”कवितात्मक लयलाई केवल रागात्मकता वा सामान्य संवेग वा अतिभावुकतासित जोडेर हेर्नाका साटो समकालीन कवितामा पुनः लयको सम्मानजन्य आगमन र स्थापन भइरहेछ । लय भरेर कविता लेख्नु कवि टीका भाइको पनि वैशिष्टय हो । तीव्र लयहरूका माध्यमबाट असाध्य जीवनानुभव र बोधहरू उकासिएर बाहिर निस्कन्छन्, जसरी ‘लाखौँ बीजहरू’ले एक दिन ‘खडेरी’ छेडेर जीवनलाई उत्सवमय बनाउँछन् ।”, भूमिकामा सुधीर क्षेत्री लेख्नुहुन्छ, ”प्रस्तुत कविताहरूमा लय बगेका छ, बाह्र शाब्दिक लय अनि आन्तरिक अर्थगत लय । यी लयहरूले अनुभूतिलाई अभिव्यक्क्त गर्न सघाउ पुर्याउँछन् । गीतमा कथा भनेजस्तो । गीतिमयताको आवरणले छोपिएको आख्यान भनौँ ।”
कवि टीका भाइ आफ्नो कुरामा लेख्नुहुन्छ, ”उमेरका धेरै खण्ड कविता सिर्जनाका अभ्याससित बिते । कवितासितको आकर्षण, लगाव, प्रेमसितै बेला बखतको विकर्षण अनि त्यससितका सङ्घर्षको चक्रीय निरन्तरता जस्तै भावहरू अनुभूत भए अनि भइरहने रहेछन् । वास्तवमै भन्नु हो भने, लेखिसकेर पनि खास चाहे जस्तै लेख्न नसकिरहेको वा आफूबाट मुक्त बन्न खोजिरहेका भावले ठीक अभिव्यक्ति नपाइरहेको जस्तो असहजता र असन्तुष्टिहरू आउँदै जाँदै गरिरहन्छन् । कहिले कविता मेरो क्षमताको कुरो होइन कि भन्ने नकारात्मकताले भरिएँ पनि । वास्तवमा मभित्र ठीक हिसाबले अभिव्यक्त हुन नसकिरहेका सांवेगिक भारीहरू धेरै होलान् जसलाई अन्य कसैले बोक्न वा बोकिदिन सक्ने पनि त होइनन् । मैले अभिव्यक्तिको त्यस विशिष्ट रूपको खोजी गर्नु र असन्तुष्ट नै रहनु भनेको वा मेरो सिर्जनक्षमता कमजोर रहनु हो वा मेरो महत्वाकाङ्क्षा हो वा त एकजना कविले भोग्ने आत्म–सङ्घर्षको स्वाभाविक प्रक्रिया हो । जे होस्, मेरो कमजोरीले होस्, मेरो महत्वाकांक्षाले होस्, वा आत्म– सङ्घर्षले, मलाई सधैँ कविताकै अझ नजिक लिएर गएको छ ।”
कवितासंग्रहलाई उपमा पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । ३७ थान कविता रहेको संग्रहको मूल्य भारु. २ सय र नेरु. ३ सय रूपियाँ रहेको छ ।
…
४. पवित्र क्रान्तिमाथि एक सय एक हाइकु – अभिश्री
सुराही तिमी
मौसम नै पिउँला
बैंशालु वाचा ।
युवा हाइजिन अभिश्रीको हाइकुसंग्रह हो, पवित्र क्रान्तिमाथि एक सय एक हाइकु । हाइजिन अभिश्रीले हाइकुको सत्र अक्षरको संरचनामा रहेर प्राणी र प्रकृतिको सम्बन्धलाई धेरै कोणबाट संग्रहमा प्रस्तुत गर्नुभएको छ ।
”नेपाली साहित्यमा अहिले जापानी शैलीको सानो कविता अर्थात् हाइकु लेखनको क्रमले निरन्तरता पाइरहेको छ । विशेष गरी स्थापित साहित्यकारदेखि नवोदित लेखककहरू पनि हाइकु लेखनमा लागिपरेका छन् । यस सन्दर्भमा सानै उमेरमा हाइजिन अभिश्रीको ‘पवित्र क्रान्तिमाथि एक सय एक हाइकु’ संग्रह नेपाली हाइकु इतिहासमा एउटा उपहारको रूपमा आएको छ ।”, पुस्तकमा दिव्य गिरी लेख्नुहुन्छ, ”हाइकुको सामान्य सिद्धान्तभित्र रही ‘पवित्र क्रान्ति’को भाव र महत्त्वलाई पूर्णतः आत्मसात गर्दै सिर्जना गरिएका सबै हाइकुहरूको विशेषता अति महत्त्वका छन् र एउटै विम्बलाई पनि पृथक–पृथक भावमा अभिव्यक्त गर्न सक्ने खुबी अभिश्रीमा पाइन्छ, जसले गर्दा उनका हाइकुहरू मननीय, पठनीय र प्रशंसनीय छन् ।”
हाइजिन अभिश्री आफ्नो कुरामा लेख्नुहुन्छ, ”घरमा साहित्यिक वातावरण थियो । मेरो ड्याडी (महेश प्रसाईं) केही नलेखी वा केही नपढी बस्न नसक्ने । खुब लेख्नुहुन्थ्यो । लेखिरहनुहुन्थ्यो । उहाँका कविताहरूले झकझकाइरहेको अनुभव हुन्थ्यो मलाई पनि । ड्याडीले आदरणीय पवन चाम्लिङ र पवित्र क्रान्तिमाथि लेख्नुभएको थाहा छ मलाई । पवन चाम्लिङ र पवित्र क्रान्ति मैले बराबर सुन्दै आइरहेका शब्दहरू हुन् । मैले यसअघि ‘बितेका दिनका हाइकु’हरू लेखिसकेकी थिएँ । त्यसको पनि संग्रह नै बनाइसकेकी छु मैले । यतिले चित्त बुझेन । पवित्र क्रान्ति जे बुझेँ, जति बुझेँ त्यसैमा डुबेर लेख्न पुगेकी थिएँ । अब यसमाथि नै केन्द्रित भएर अघि बढ्न मन लाग्यो । मैले यसबारे ड्याडीलाई चुनौती दिएकी थिएँ । त्यसैले यी पनि लेख्दालेख्दै ‘एक सय एक’ भएछन् ।”
पुस्तकलाई छाया प्रकाशनले बजारमा ल्याएको छ । एक सय एक ओटा हाइकु समेटिएको पुस्तकको मूल्य १ सय ५० रुपैयाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
साताका पुस्तक : ‘मायाका मसिना अक्षर’देखि ‘नचिनेको मान्छेसँग जाँदिनँ’सम्म
२९ मंसिर २०८२, सोमबार 








