‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।

हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरुलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौं – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटून् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरु सम्भव भएसम्म आफ्ना नवीनतम साहिृियक कृतिहरु साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसैक्रममा ‘साताका पुस्तक’मा यो साता पाँच पुस्तक । ‘समकालीन नेपाली कथामा मनोविज्ञान’देखि ‘यशोधरा’सम्म; पुस्तकको छोटो परिचयसहित ।

===

१. लक्ष्मण राजवंशी स्मृतिग्रन्थ

लक्ष्मण राजवंशी – एक विराट् प्रतिभा लेखक, शिक्षक, समाजसेवी, राजनीतिकर्मी लक्ष्मण राजवंशीको स्मृतिग्रन्थ हो । पुस्तकमा संस्मरण तथा समीक्षा भन्ने शीर्षकमा ८५ थान समीक्षा तथा समीक्षाहरू, विभिन्न पुस्तकका मन्तव्य भन्ने शीर्षकमा २५ थान मन्तव्यहरू तथा उहाँका कृतिका तस्वीहरू सङ्ग्रहित छन् । कृतिमा सत्यमोहन जोशीदेखि सिद्धिचरण श्रेष्ठसम्मका लेखहरू सङ्ग्रहित छन् ।

पुस्तकमा सम्पादकीयमा अमृता स्मृति लेख्छिन्, “यस ग्रन्थमा सङ्ग्रहित स्मृतिहरू अडियो रेकर्ड गरेर उतारिएको हो । कतिपय लेख भने स्रष्टा आफैँले लेख्नुभएको छ । यस ग्रन्थमा नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित पछिल्लो शब्दकोशअनुसार शुद्धाशुद्धि मिलाउने प्रयास गरिएको छ । लक्ष्मण राजवंशीका किताबहरूबाट साभार गरिएका भूमिकाहरूमा भने सम्पादन गरिएको छैन । नेपाल भाषामा लेखिएका स्मृतिहरू र नेपाल भाषामा लेखिएका भूमिकाहरू पनि जस्ताको तस्तै साभार गरिएको छ ।”

जयदेव भट्टराईको संयोजन तथा अमृता स्मृतिको सङ्कलन र सम्पादनमा प्रकाशनमा आएको स्मृति ग्रन्थलाई राजवंशी परिवारले प्रकाशनमा ल्याएको हो ।

 

२. समकालीन नेपाली कथामा मनोविज्ञान – प्रेमनारायण भुसाल

साहित्यकार तथा समालोचक प्रेमनारायण भुसाल अनुसन्धानात्मक कृति हो, समकालीन नेपाली कथामा मनोविज्ञान । यस किताबमा चिकित्सा क्षेत्रमा विकसित मनोविज्ञानका आधुनिक सिद्धान्तहरूलाई प्रयोग गरी मनोवैज्ञानिक कथाको विश्लेषण गरिएको छ ।

चार परिच्छेदमा संरचित पुस्तकको पहिलो खण्डमा मनोविज्ञानको सैद्धान्तिक अवधारणा दिइएको छ । यसै खण्डमा मनोविज्ञानका क्षेत्रमा देखा परेका विभिन्न सम्प्रदायहरूको परिचयसमेत दिएको छ । कृतिमा मनोविज्ञानका सामान्य र असामान्य दुवै धारको विस्तृत वर्णन गरिएको छ । दोस्रो परिच्छेदमा नेपाली कथामा मनोविज्ञानको निरूपण गरिएको छ । यसै खण्डमा नेपाली कथाको समकालीनताअन्तर्गत समकालीन नेपाली कथाको समयावधि निर्धारण गरिएको छ । कृतिको तेस्रो परिच्छेद नमूनाको अध्ययन गरी प्रवृत्तिगत रूपमा प्रतिनिधित्व गर्ने कथाकारहरूका कथाका सामान्य र असामान्य मनोविज्ञानका पक्षहरूमाथि गहन अध्ययन गरिएको छ ।

त्यस्तै, चौथो परिच्छेद पुस्तकको निष्कर्ष र सारांशका रूपमा रहेको छ । कृतिहरूको अध्ययनपछि प्राप्त भएको निष्कर्ष र नेपाली साहित्यमा देखा परेको मनोवैज्ञानिक प्रवृत्तिको सूक्ष्म विश्लेषण यस खण्डमा गरिएको छ । परम्परागत रूपमा गरिँदै आएको अध्ययनभन्दा यस किताबमा फरक किसिमले कथाको विश्लेषण गरिएको कुरा उपकुलपति डा जगमान गुरुङले प्रकाशकीयमा व्यक्त गरेका छन् ।

पुस्तकलाई प्रज्ञा प्रतिष्ठानले प्रकाशनमा ल्याए ।

 

३. मोहनी मादलको – रञ्जित गजमेर

नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा, विशेषगरी भारतमा मादलको देश भनेर चिनाउने सङ्गीतकार रञ्जित गजमेरको आत्मकथा हो, मोहनी मादलको । गजमेरको सङ्गीतमा सजिएका नेपाली फिल्मी गीतहरु नेपाली स्रोताको पहिलो रोजाइमा पर्ने गीत हुन् । पुस्तकमा गजमेरको दार्जीलिङ, काठमाडौं र मुम्बईसम्मको संगीत यात्रा तथा संघर्षलाई प्रस्तुत गरिएको छ।

पुस्तकको अन्तिम पृष्ठमा आशा भोसले लेख्छिन्, “कान्छाको ‘हरे राम हरे कृष्ण’ फिल्मको पहिलो गीत ‘कान्छा रे, कान्छा रे’बाट पञ्चमजी (आरडी बर्मन) ले उसको नाम पनि ‘कान्छा’ राखिदिए । उसको पहाडी गीत र मादलले पञ्चमजीका गीतहरूमा दुई गुणा रस भरिदिए । आरडी बर्मनका प्रत्येक गीतमा मादल गुञ्जन थाल्यो ।”

त्यस्तै, नीर शाह लेख्छन्, “रञ्जित दाइले सङ्गीतको रणमैदानमा विजयको ध्वजा गाडिसक्नुभएको छ । किनकि, उहाँले आजसम्म चिनेजाने सबैलाई साङ्गीतिक उपहार मात्र बाँड्नुभएको छ । र, ती एकएक उपहार आणविक शक्ति लिएर प्रक्षेपित भएको मैले महसुस गरेको छु ।”

पुस्तकलाई शेखर खरेलले लेखेका हुन् । वी-रिड प्रकाशनले बजारमा ल्याएको पुस्तकको मूल्य ५ सय ५० रूपियाँ रहेको छ ।

 

४. यशोधरा – हरिबोल काफ्ले

हरिबोल काफ्लेद्वारा लिखित उपन्यास हो, ‘यशोधरा’ । सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा उपन्यासले समेटेको छ ।

गौतम बुद्धसँगै पुस्तकले २५ सय देखि ३ हजार वर्षअघिको सामाजिक अवस्था तथा द्वन्द्वको पनि चित्रण गरेको छ । सिद्धार्थ गौतम र यशोधराले सँगै बिताएको समयमा केन्द्रित भएर यशोधराको कोणबाट कथा बुनिएको छ । पुस्तकमा हिन्दु र वैद्यिक सभ्यताका साथै सांख्य दर्शन, तत्कालीन समाजको चित्रण गर्ने प्रयाससमेत गरिएको छ ।

यो पुस्तकको विमोचन पोखरामा सम्पन्न राष्ट्रिय साहित्य महोत्सवको सिलसिलामा गरिएको थियो । पुस्तकबारे बोल्दै समीक्षक तथा चिकित्सक जीवन क्षेत्रीले पुस्तकले गौतम बुद्धका बारेमा भनिँदै र सुनिँदै आएका कथामा खाली रहेका ठाउँहरू भरेको बताएका थिए । उनले भनेका थिए, “यो पुस्तक हातमा परेपछि पहिलेका खाली ठाउँ भरिएला भन्ने अपेक्षा थियो । जसमा लेखक सफल पनि हुनुभएको छ । सधैँ गौतम बुद्धको कोणबाट सुन्दै पढ्दै आएको कथा लेखकले यशोधराको कोणबाट लेख्नुभएको छ ।”

 

५. यालमाया – पूर्ण ओली

लामो समयसम्म शिक्षण पेशामा आबद्ध, र हाल सरकारी सेवामा रहेका लेखक पूर्ण ओलीको पहिलो प्रकाशित सङ्ग्रह हो, “यालमाया” । यसमा प्रेम प्रस्तावदेखि लिएर माईसारा, ज्यानमाया, यालमायालगायत १५ थान रोचकिला कथाहरू समावेश छन् ।

“नवोदित कथाकार पूर्ण ओलीको यो कथासङ्ग्रह दूरदाजको दोबाटोमा ठड्याएर दर्शनढुङ्गा जस्तै हो ।” पुस्तकको अन्तिम पृष्ठमा लेखिएको छ, “यसलाई पुछेर हेर्ने हो भने मुख्यगरी कर्णाली प्रदेशको जनजीवनको जीवन्त अनुहारहरू प्रष्ट देख्न सकिन्छ । ती अनेकन अनुहारहरूलाई कथाकारले ग्रामीण मायापिरतीका विविध डोरीमा उनेका छन् ।”

पुस्तकलाई शब्द मिडियाले प्रकाशनमा ल्याएको हो । २ सय २१ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ५० रुपियाँ हो ।