हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता ५ वटा पुस्तक प्राप्त भएको छ ।
यो स्तम्भ राख्नुको कारण पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । सबै पुस्तक किन्न र पढ्न सकिँदैन । तर बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन यो स्तम्भमा गरिरहेका छौँ ।
===
१. अस्तित्व – रेजिना पाण्डे
कथाकार रेजिना पाण्डेको कथासङ्ग्रह हो, ‘अस्तित्व’ । सङ्ग्रहमा प्रेम, अभाव र पुरुष मनोविज्ञानमा आधारित छोटा आयतनका १७ कथाहरू सङ्ग्रहित छन् ।
‘रेजिनाका कथाहरू पढिरहँदा म झनझनाएको छु । एउटी स्वास्नीमानिसभित्रका चाहना र रहरहरूलाई हुबहु शब्दहरूमा उतार्नु त्यति सहज हुँदै होइन । नारीको मनका भावलाई कथाहरूमा लेखिरहँदा उनले पुरुष मनोविज्ञानलाई गज्जबसँग उतारेकी छिन् । पुरुषभित्रको खालीपन र महिलाका बाध्यता एकसाथ कथामा आएका छन् ।’, पुस्तकको भूमिकामा मणि लोहनी लेख्छन्, ‘हरेक कथामा महिला पात्र छन् – हेपिएका र सधैं दमन र पीडामा परेका । त्यसो त हरेक कथामा महिलाका दमित इच्छाहरू छन् । सपना र चाहनाहरू छन् । रेजिनाले आफ्ना कथाहरूमा निकै सजिलोसँग स्वास्नीमानिसका असहजतालाई केलाएकी छिन् । जिन्दगी बाँच्ने क्रममा एउटी महिलाले भोग्ने हरेक दुर्दशालाई उनका कथामा पढ्न सकिन्छ ।’
त्यस्तै, लेखकीयमा कथाकार पाण्डे लेख्छिन्, ‘रहरै रहरमा फेरि एउटा पुस्तक निकाल्ने सोच बनाएँ तर पुस्तक निकाल्नु सहज कुरा भने थिएन । यसैक्रममा मैले दुई दशकदेखि चिन्दै र सम्मान गर्दै आएको वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकार जयदेव भट्टराई सरले मेरा कथा, कविता गोरखापत्रको शनिवारमा, मधुपर्कमा बेला बखत प्रकाशित गरेर मलाई प्रोत्साहित गर्दै आइरहनुभएको थियो । एकदिन उहाँलाई पाण्डुलिपि देखाएँ । केही दिनपछि उहाँले ‘यत्तिको कथा छाप्दा फरक पर्दैन’ भन्दै हौसला दिनुभयो र कथासङ्ग्रह प्रकाशनमा ल्याउन तम्सिएँ ।’
पुस्तकलाई कथाकार स्वयंले प्रकाशनमा ल्याएकी हुन् । ९२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
…
२. कविता–प्रभा – प्रभा भट्टराई आचार्य
‘राम्रै लक्षणकी बुझेर यिनको नामै प्रभा राखियो
उस्तै उज्ज्वल बुद्धिकी भइदिँदा शब्दार्थ मिल्दै गयो
साँवा अक्षर यी घरतिरै पढिन् भर्ना भइन् तीनमा
कक्षामा पनि यी पुरस्कृत भइन् दोस्रो हुँद जाँचमा ।
…
आफ्ना ती बहिनी दुवैतिर बसी दिन्थे निकै हौसला
आमा प्रेरक भै खडा भइदिँदा बढ्थ्यो गलामा कला ।
आर्शीवाद पियो कि आदिकविको आफ्नै हुँदा वशंज !
रच्थे काव्य यदाकदा जब पिता रोजिन् पिताकै पथ !
(नारायणदत्त शास्त्री)
कवि प्रभा भट्टराई आचार्यको छन्दोबद्ध कविताहरूको सङ्ग्रह हो ‘कविता–प्रभाव’ । सरल शब्द संरचनामा लेखिएका आचार्यका कविताहरू श्रुतिमधुर, गेयात्मक, बोधगम्य, सम्प्रेषणीय र समसामयिक सन्दर्भलाई समेट्ने किसिमका छन् ।
‘मेरो सृष्टि छ यो, म मालिक यहाँ संसार मेरै घर
आफ्नै सिर्जनवागका मखमली बुट्टाहरू सुन्दर ।
हेर्दै दङ्ग परी तरङ्गित हुँदै तैरन्छु रातोदिन
भन्नेले अब जे भनून् थरीथरी राम्रो मलाई छु म ।
(कवि भन्छ, पृ. २३)
‘कवितासितको सङ्गतले साढे चार दशक पार गरिसकेको छ, तर संवाद कहिलेकाहीं मात्रै हुन्छ । कविता आफ्नै धूनमा अनि म पनि आफ्नै धूनमा ! अत्यन्तै मन्द कछुवा गतिमा भए पनि कवितासितको यात्रा कायमै छ ।’, पुस्तकमा कवि आचार्य लेख्छिन्, ‘बेलाबखत झुल्कने फुटकर कविताहरूलृ पनि प्रिय पाठक–स्रोतासँग अटूट र आत्मीय सम्बन्ध बनाएका छन् । ससाना नानीबाबुदेखि प्रौढ परिपक्क भावकहरूसमेतले कवितालाई चासो लिएर मन पराइदिनुहुन्छ र मलाई यो यात्रा निरन्तर अघि बढाउन प्रेरणा मिलेको छ, जसका लागि म सबैप्रति आभारी छु ।’
पुस्तकलाई कोकगोष्ठी परिवारले प्रकाशनमा ल्याएको हो । १ सय २० पृष्ठमा फैलिएको कवितासङ्ग्रहको मूल्य ३ सय रुपियाँ रहेको छ ।
===
३. भूगोल र भोगाइ – केतुस खतिवडा
अमेरिकामा रहेर नेपाली भाषा साहित्यमा कलम चलाइरहेका स्रष्टा केतुस खतिवडाको संस्मरणहरूको सङ्ग्रह हो, ‘भूगोल र भोगाइ’ । पुस्तकमा खतिवडाले आफ्नो मन–मस्तिष्कमा भरिएर रहेको नेपालको भूगोल, समाज, सामाजिक गतिविधि तथा विविध घटना र भोगाइहरू यसमा कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् ।
‘जननी र जन्मभूमि स्वर्गभन्दा पनि महत्त्वपूर्ण हुन्छन् । स्वर्गले आँखा मात्र लोभ्याउँछ तर जन्मधर्तीले मन र मस्तिष्कलाई पनि लोभ्याउँछ,’ भूमिकामा प्राडा. बद्री विशाल भट्टराई लेख्छन्, ‘जन्मधर्तीको मायाको स्पर्श हिउँ जस्तो चस्स चिसो, आगो जस्तो झस्स छुने तातो र अतल्याउने बिजुलीको झड्का जस्तो आफैं रन्थनाउने हुन्छ, जसले छुना साथ मन र मस्तिष्कलाई अन्य विषयबाट हठात् फर्काउँछ । यो कुरा यस कृतिमा जताततै देख्न पाइन्छ । अविस्मरणीय क्षणको संस्मरणात्मक आलेखन गरिएको छ ।’
कृतिमा सम्बन्धमा लेखक केतुस खतिवडा लेख्छन्, ‘यो कृतिमा आफ्नो जन्मभूमि छाडेर विदेशमा सङ्घर्षरत हामीजस्ता पहिलो पिँढीको मनमा चल्ने आँधी र तुफान समेटिएको छ । भौतिक, सामाजिक, आर्थिक र साँस्कृतिक अन्तरद्वन्द्वले पारेको प्रभाव समेटिएको छ । र, हामी आप्रवासीबीचको आत्मीयता सँगालिएको छ ।’
तुलसी खतिवडा प्रकाशक रहेको पुस्तकको प्रमुख वितरक साङ्ग्रीला बुक्स, बागबजार रहेको छ । ३ सय ७२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय रुपियाँ रहेको छ ।
===
४. अजम्बरी – विमल गिरी
‘पश्चात्तापले परेली धोएका छन् परदेशमा
अनेकन् शङ्काहरूले छोएका छन् परदेशमा
सम्पूर्ण कागजी रूपमा यताका भए पनि ती
थोरै हाँसेर धेरै मान्छे रोएका छन् परदेशमा । (पृ. २७)
लामो समयदेखि बेल्जियमको ब्रसेल्स रहँदै आएका स्रष्टा विमल गिरीको नवीनतम मुक्तसङ्ग्रह हो ‘अजम्बरी’ । गिरीले सङ्ग्रहमा विविध भावलाई सरल भाषाका माध्यमबाट मुक्तकीय ढाँचामा प्रस्तुत गरेका छन् ।
‘मृत्युवोध, अतीतमोह र उमेरले मानिसमा क्रमशः लगाउँदै गएको भय र कमजोरीको जलप पनि गिरीका मुक्तकहरूका महत्त्वपूर्ण विषय हुन् ।’, पुस्तकको भूमिकामा समालोचक महेश पौड्याल लेख्छन्, ‘जीवनसँग गाँसिएको मृत्यु अपरिहार्य छ र मान्छे जस्तोसुकै भए पनि उसको अन्तिम गन्तव्य घाट हो । त्यसैले, कुनै पनि आधारमा अभिमान, लोभ वा ईष्र्या गर्नु उचित होइन भन्ने सन्देश यी मुक्तकहरूले पाठकमाझ पस्केका छन् साथै समय रहँदै मान्छेले जिन्दगीको खेत खन्नुपर्छ र बाली उठाउनुपर्छ भन्ने अङ्ग्रेजी कविता शैली ‘कार्पे डाइम’को भाव गिरीको कतिपय मुक्तकहरूमा पाइन्छ ।’
‘हाम्रो यात्रा पूरा गर्न नसकिने घेरो न हो
लोभ, घमण्ड, ईष्र्या सबै तेरो मेरो न हो
आऊ एकैछिन मन साटी खुलेर रमाऊँ
जिन्दगी मात्र एक घुम्ती एक फेरो न हो ।
त्यस्तै, मुक्तककार गिरी लेख्छन्, ‘मानिसका सबैभन्दा नजिकका आफ्ना दुःख पीरहरू रहेछन् र तिनलाई फुल्याउने ‘वाणयन्त्र’ शब्दहरू रहेछन् । म दुख्दा मलाई फुल्याउने, म खुसी हुँदा मेरो खुसीमा खुसीको हार मिलाउने यिनै अक्षरहरू हुन् । अझ यसो भनूँ – यो जिन्दगीलाई एउटा सुन्तला मान्ने हो भने, त्यसको एक केस्रा हो यो मुक्तकसङ्ग्रह अजम्बरी ।’
पुस्तकलाई शब्दार्थ प्रकाशनले बजारमा ल्याएको हो । २ सय ६५ थान मुक्तक सङ्ग्रहित पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।’
===
५. हावामा अल्झिएको स्वर – सिजन श्रेष्ठ
‘फुल्दाफुल्दै फूल जरामा फुलिसक्यो
हिँड्दाहिँड्दै जून पातालमा पुगिसक्यो
र, पनि फूल फुलेकै छ उसैगरी
र, पनि जून चम्केकै छ उसैगरी
निर्धक्कसँग
किन हो ? – स्वयम् फूललाई थाहा छैन
किन हो ? – स्वयम् जूनलाई थाहा छैन
बरु
फूलविहीन हाँगो
र, जूनविहीन आकाश भने
बाल्दैछन् –
एउटै चिन्तामा बारम्बार
अब जरामा फूलको
र, पातालमा जूनको सुरक्षा
कसले गर्छ हँ ?’
(पातालमा जून, पृ. १२)
कवि सिर्जन श्रेष्ठको पहिलो कविताकृति हो ‘हावामा अल्झिएको स्वर’ । कृतिमा सङ्ग्रहित कविताहरूबाट श्रेष्ठले प्रकृति, सम्बन्ध, गाउँ तथा समाजका विविध प्रवृत्तिहरू चियाउने प्रयास गरेका छन् ।
‘मानिसहरू एकअर्कालाई माया गर्छन् । गरिरहन मन गर्छन् । सधैं सँगै बस्न पाइयोस्, कहिल्यै छुट्टिन नपरोस् भन्ने चाहन्छन् ।’, कृतिका बारेमा कवि मञ्जुल लेख्छन्, ‘तर जिन्दगी त्यस्तै हुँदैन । विभिन्न कारणले छुट्टिनुपर्ने पनि हुन सक्छ । यस्तो बेला छुटेको साथीले भनेका कुराहरू सम्झँदा जीवन अर्थपूर्ण हुन्छ । कवि सिजन श्रेष्ठ आफ्ना कवितामा आफ्ना प्रिय पाठकलाई यो कुरातिर औंल्याउँछन् ।’
त्यस्तै, कवि श्रेष्ठ लेख्छन्, ‘कविता मेरा लागि थेरापी हो । तनावको बेला सधैं म सुन्दर कविताहरू पढ्ने पर्छु । र, तनावबाट दूर हुन्छ । माया गर्ने मानिसहरूको माया नपाउँदा, साथ नपाउँदा कविता पढ्ने र लेख्न गर्छु । र, प्रेमको अनुभूति गर्ने गर्छु । प्रिय साथीहरूको अनुपस्थितिमा उनीहरूलाई सम्झिएर कविता पढ्छु–लेख्छु । र, साथी बनाउँछु तिनै कविताहरूलाई ।’
कविताकृतिलाई इटर्नल पब्लिकेशन प्रा.लि.ले प्रकाशनमा ल्याएको हो । ५२ थान कविताहरू सङ्ग्रहित पुस्तकको मूल्य ४ सय ५ रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।