
पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेका हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रूचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन साहित्यपोस्टले यो स्तम्भलाइ निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न ५ वटा पुस्तक प्राप्त भएका छन् ।
===
१. नयाँ मुगलान – गोविन्दराज भट्टराई
बहुचर्चित मुगलान उपन्यासबाट आख्यान लेख शुरू गर्नुभएका साहित्यकार गोविन्दराज भट्टराईको पछिल्लो उपन्यास हो ‘नयाँ मुग्लान’ । उपन्यासमा साहित्यकार भट्टराईले वर्तमान नेपाली युवाहरूलाई सत्ताले कसरी नयाँ नयाँ मुगलान जान बाध्य पार्दैछ, देश कसरी रित्तो हुँदैछ भन्ने कुरा विभिन्न पात्रको माध्यमबाट प्रस्तुत गर्नुभएको छ ।
‘म नयाँ मुगलानको कथानकमा डुबेकी छु या यर्थाथतामा भुलिएकी छु भन्ने थाहै नपाई यो लघुउपन्यास टुङ्गियो । करिब पाँच दशकअगाडि दुःखको भूमरीबाट उम्किएको मुगलान उपन्यासको सुतार कार्कीले समयको दुष्चक्र भोग्नै बाँकी रहेछ ।’, उपन्यासको पहिलो पाठक प्रतिक्रियामा डा. व्यन्जना शर्मा लेख्नुहुन्छ, ‘यस आख्यानले आदिकालदेखि चलिआएको मुगलान मोह अनि त्यसका विविध स्वरुपले मानव भ्रम, आसक्ति, लोभ, माया, बन्धन, मृत्यु, तृष्णा, भय आदि जस्ता अनन्त कथाहरू उजागर गरेको रहेछ । पठनका विविध तहहरू यसमा लुकेका छन् । भयानक यर्थाथताभित्र लुकेको अन्तिम मुगलान मात्र हाम्रो विश्रान्ति धाम हो भन्ने चरम सत्यले मलाई झस्काइदियो । हो पनि, यो निर्मोही दुनियाँबाट मुक्ति अन्तिम मुगलान यात्रापछि मात्र मिल्ला ।’
उपन्यासकार भट्टराई आफ्नो कुरामा लेख्नुहुन्छ, ‘२०३१ सालमा मुगलान लेख्दा मेरो मनलाई उदासीनताले ढाकेको थियो । भुटानमा सुनेको, देखेको र भोगेको दुःख छ्याङ्छ्याङ्ती भएर आयो र छ दिन छ रातमा त्यो उपन्यास लेखेँ । काठमाडौँको भीनसेनस्थानको डेरामा एक्लै, घर फर्किन खर्च नपुगेर विरक्त भएर रोइरहेको थिएँ । आज पचास वर्षपछि सम्झन्छु, उपन्यास लेख्न नभ्याएर जुनी बित्नै आँट्यो । दिनका दिन पात्र, परिवेश र घटनाहरू पुतलीझैँ उडेर मनको बत्तीमा ठोकिँदै मर्दै जान्छन् ।… सिर्जना गर्नुभनेको अभुतपूर्व काम गर्नु हो । कसैले नसोचेको जस्तो आकारमा, सारमा कुनै नयाँ करुाको सृष्टि । धेरै ठान्छन् आख्यान वा फिल्म प्रेम र रोमान्सको वरिपरि घुम्छ, यौवन, यौन वा त्यससित जोडिएका रोमान्स, हिंसा, अपराध, वियोगमा टुङ्गिन्छ तर यर्थाथ एउटा अमर सृष्टि गर्नु हो । त्यस्तोबाहेक अर्को पनि अभिमत छ – आख्यान भनेको समाजमा भेटिने अन्याय, अत्याचार र वर्गभेद देखाउनु हो । अरु अरु पनि छन् । यर्थाथ यर्थाथ नै हुन्छ । तर यर्थाथ चल्ने, यर्थाथ खोल्न आँट नभएर कल्पनातिर खिचिन्छौँ, त्यसैले युटोपिया पूजक हुन्छौँ ।’
उपन्यासलाई पेज टर्नरले प्रकाशनमा ल्याएको हो । १ सय ३८ पृष्ठमा फैलिएको उपन्यासको मूल्य ३ सय ७५ रूपियाँ रहेको छ ।
===
२. दृश्य प्रलेख – गोपालचन्द्र भट्टराई
साहित्यकार गोपालचन्द्र भट्टराईको नयाँ कथासङ्ग्रह हो ‘दृश्य प्रलेख’ । संग्रहमा लेखक भट्टराईले नेपाली समाजमा विद्यमान विसङ्गतिप्रति वैचारिक विद्रोह प्रस्तुत गर्नुभएको छ ।
‘सामान्यझैँ लाग्ने विषयको उठानसँगै अघि बढ्ने गोपालचन्द्र भट्टराईका कथाहरूले समाजका हरकुनामा विद्यमान् विसङ्गतिपूर्ण प्रवृत्तिमाथि चनाखो दृष्टिकोण प्रस्तुत गर्नुका साथै मानिसभित्रका अनेक विकारमय वैचारिकीको रौंचिरा विश्लेषण गर्दछन् ।’, समालोचक कुमारी लामा पुस्तकका बारेमा लेख्नुहुन्छ, ‘डण्डीफोर कथाले भण्डाफोर गरेको पुरुष मानसिकतादेखि ‘चञ्चली’भित्र उजागर भएको जसबिरेपना सर्वत्र व्याप्त छ । तथापि लेखक आशायुक्त आगतको कामनासहित महिला पात्रभित्रको जोधाहपन अघि सार्दछन् । जरुरी त्यसैको छ । उनी मानिसभित्र लिसोजस्तै टाँसिएको दुष्प्रवृत्तिमाथि जबरजस्त प्रहार गर्छन् । पुरुष मनोविज्ञानका केही पाटाहरू उजागर भएका उनका कथाहरूमा युद्धकालीन त्रासदीका केही बाछिटा पनि परेका छन् । सामयिक चेहरा रङहरुले पोतिएका भट्टराईका कथाहरू हाम्रै सामाजिक र मानसिक पर्यावरणका प्रलेख हुन् ।’
त्यस्तै, आख्यानकार नयनराज पाण्डे पुस्तकको बारे यस्तो लेख्नुहुन्छ, ‘गोपालचन्द्र भट्टराई नेपाली साहित्यमा अत्यन्त उत्साहसाथ संलग्न हुनुहुन्छ । वैचारिक, भाषिक, शैलीगत परिपक्कताको ठ्याक्कै दैलोमा उभिनु भएको छ उहाँ । उहाँको उत्साह देख्दा लाग्छ, उहाँले यो दैलो कुनै पनि बेला नाघ्नु हुनेछ । केही रुमानी र केही समाज– चेतनाको जगमा उभिने प्रयासरत् उहाँका कथामा त्यो छनक स्पष्टतः देखिन थालेको छ ।’
त्यसैगरी, कथाकार भट्टराई आफ्नो कुरामा लेख्नुहुन्छ, ‘दृश्य प्रलेख मैले केही वर्षको अन्तरालमा लेखेका कथाहरूको सङ्ग्रह हो । अधिकांश कथाहरू मैले देशविदेशमा आफैँले देखे, भोगे वा सुनेका घटनाक्रमहरूलाई थोरै काल्पनिकताको रङ भरेर प्रस्तुत गरिएका छन् । कतै पात्र प्रधान भएका छन्, कतै घटनाहरूले बढी महत्त्व पाएका छन् तर समग्र कोशिश भने मानिसहरूका अन्तवैयक्तिक सम्बन्धहरूलाई आख्यानका न्यूनतम संरचनाभित्र पर्ने गरी अभिव्यक्त गर्नेतर्फ केन्द्रित छ ।’
पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको हो । १७ वटा कथाहरु सङ्ग्रहित पुस्तकको मूल्य ५ सय ५५ रुपैयाँ रहेको छ ।
…
३. धीमहि – जयराम तिमल्सिना
जयराम तिमल्सिनाको पहिलो कृति हो उपन्यास ‘धीमहि’ । लेखक तिमल्सिनाले यो आख्यानमार्फत् आत्माद्वन्द्व व्यवस्थापनका विकल्पहरूको खोजी गर्दै नयाँ विमर्शका लागि प्रशस्तै ठाउँहरू छोड्नुभएको छ । आत्मद्वन्द्वका आयाम र परिणामहरूले उपन्यासकारले मिहीन र कलात्मक तवरले प्रस्तुत गर्नुभएको छ ।
‘मान्छेभित्र आत्मद्वन्द्वका कारक कति छन् त्यसको सूची बनाउन सम्भव छैन, सायद । तर, त्यस्ता द्वन्द्वका स्थायी निकास छन् वा छैनन् यो बहसको विषय हो ।’, पुस्तकको अन्तिम पृष्ठमा लेखिएको छ, ‘द्वन्द्व व्यवस्थापनका सूत्रबद्ध उपकरणले समस्याको शमन गरेको देखिए तापनि तिनले केही दाग, इख वा असन्तुष्टि छोडेकै हुन्छन् भन्ने अनुभव जताततै छ । आत्मद्वन्द्वको हकमा पनि यसको व्यवस्थापन त्यति सहज देखिएको छैन । अति प्रतिभाशाली भनिएका र संसारका धेरै क्लिष्ट रहस्य बुझेका कतिपयले मानसिक द्वन्द्वलाई व्यवस्थापन गर्न नसकेर आत्माहत्याको बाटो पनि रोजेका छन् । कतिपय भने मौन मौन गहन साधनाको बाटो रोज्दछन् र द्वन्द्वका सांसारिक कारणबाट आफूलाई पुर्णतः असंलग्न राख्ने बाटोतिर लाग्छन् । एक कर्मशील एवम् अन्तर्जगत्को मन्थनमा रमाउने जयराम तिमल्सिनाको पहिलो कृति धीमहि आत्माद्वन्द्व व्यवस्थापनका यिनै विकल्पहरूको आख्यानिक खोज हो ।’
त्यस्तै, पुस्तकको स्वकथनमा उपन्यासकार तिमल्सिना लेख्नुहुन्छ, ‘…त्यसो त म नदीको एक किनारको यात्री हुँ । नदीमा अर्को पनि किनार छ । मबाट थोरै टाढा । मेरो विपरीत भएर बसिरहने किनार । अझ भनुँ मेरो समानान्तर तर म सँगसँगै रहिरहने । जीवन र नदीको लय उस्तै लाग्छ अचेल । जुन विन्दुमा हेर्यो त्यही विन्दु महत्त्वपूर्ण लाग्ने … । मेरो यात्रा एउटा किनार हुँदै बढिरहेको छ । म हिँडिरहेको यो किनारा जसलाई मैले राम्रोसँग देखेको छु । हरेक पल भोगेको पनि छु र जान्दछु पनि । मसँगै मेरो समानान्तर हिँडिरहेको अर्को किनार जसलाई मैले समानान्तर रूपमा देखिरहेको हुँ, देखेका आधारमा केही जानेँ तर भोगेको भने छैन । त्यसका आरोह–अवरोह अनुमान लगाउँछु र तिनै अनुमानका रङ जीवनमा भर्छु । तिनै रङ, म नहिँडेको किनार, मेरा आँखाअगाडिबाट बगिजाने मुख्य नदी यो उपन्यासको मूल भङ्गालो हो ।’
पुस्तकलाई पेज टर्नरले प्रकाशन गरेको छ । १ सय ८१ पृष्ठमा फैलिएको उपन्यासको मूल्य ४ सय ५५ रुपैयाँ रहेको छ ।
….
४. भक्त गाथा (योगदानमा आधारित जीवनी)– शिवप्रसाद ढकाल
लेखक शिवप्रसाद ढकालको नयाँ किताब हो ‘भक्त गाथा : योगदानमा आधारित जीवनी’ । लेखक ढकालले पुस्तकमा विभिन्न धार्मिक गुरुहरू र उहाँहरूले गर्नुभएको सत्कर्मको बारेमा लेख्नुभएको छ ।
‘सनातन धर्मका प्रतिपादक ऋषि महर्षिदेखि अनेक धर्म, सम्प्रदायका प्रवर्तक, व्याख्याता सिद्धसाधकदेखि लिएर नेपालको ऐतिहासिक परम्परामा योगदान गर्ने विशिष्ट व्यक्तित्वहरू र साहित्यकारहरू समेतको परिचय, विशेषता र योगदानको चर्चा गरिएको यो पुस्तक हरक्षेत्रका पाठकहरूका लागि उपयोगी छ । यस्तो महत्त्वपुर्ण पुस्तक तयार गरी प्रकाशनको तर्जुमा गर्न लाग्नुभएकोमा यसका लेखक शिवप्रसाद ढकालजीलाई बधाई दिन चाहान्छु ।’, प्रा.डा माधव भट्टराई लेख्नुहुन्छ, ‘यस पुस्तकमा लेखकले उपलब्ध भएसम्म नेपालमा प्रचलित सबै सम्प्रदायका आचार्यहरूको जीवनी समेट्नु भएको छ । उहाँले कसैलाई पनि कित्ताकाट गरेको अनुभव हुँदैन । सामग्री उपलब्ध नभएर वा विशेष कारणवश छुट्नु नपर्ने कोही छुट्नुभएको भए आगामी संस्करणमा समावेश गर्नुहुनेछ । अतः पाठकहरूबाट लेखकलाई सकारात्मक सुझाव दिनु उचित हुने म ठान्दछु ।’
पुस्तकको आफ्नो कुरामा लेखक ढकाल लेख्नुहुन्छ, ‘बनिबनाउ कुनै योजना थिएन । दार्शनिक चिन्तन र ज्ञान–विज्ञानका दृष्टिले नेपालको के कस्तो योगदान रह्यो, यही माटोबाट प्राचीन सभ्यताको उद्बोध कसरी भयो भन्ने जिज्ञासा नै भक्त गाथा लेखनको पृष्ठभूमि हो । यसका लागि सुदूर–विगततिर नगई सुखै थिएन, विगतको आलोकतिर आफूलाई नलगी नेपालको गर्वगर्नलायक इतिहाको स्वरुप जान्न सकिदैन । पछिल्लो समयतिर आएर मुलुकको इतिहासमा महत्त्वपूर्ण स्थान राख्ने व्यक्तित्वहरूप्रति सिर्जना गरिएको भ्रम, नेपालको इतिहासप्रति देखापरेको अनास्था पनि यो अध्ययनको प्रेरक कडी हुनगयो । यसैले ज्ञानको उज्यालोबाट यो सुन्दर हिमाली मुलुकलाई प्रकाश दिने महर्षि–तपसीका बारेमात्रै खोजी गरौं भन्ने थियो । तर सीमित भएर मन अडिएन ।’
पुस्तकलाई मन ढकालले प्रकाशन गर्नुभएको हो । ८ सय ७६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य १ हजार १ रुपैयाँ रहेको छ ।
…
५. देउता बनाउने कारखाना – रबिन शर्मा
यो पैतालाले आगो टेक्नेहरुको ठाउँ हो
मलम आफ्नै आँशु हो
भोक पनि आफ्नै आँशुले मेटिन्छ
तर कसैले बताएनन्
याद आँशुले मात्र नमेटिँदोरहेछ ।
कवि रबिन शर्माको नवीन कवितासंग्रह हो ‘देउता बनाउने कारखाना’ । कवि शर्माले कवितामा गाउँ, देश र परदेशका कथाव्यथा लेख्नुभएको छ ।
‘जीवनमा गरीबी र अथाह सङ्घर्षका उल्झनहरू त छँदैछन् । तीभन्दा पनि भयावह सामाजिक विभेदका अभेद्य पर्खालहरू देशोन्नतिका विपक्षमा तैनाथ छन् । आजको एक्काइसौँ शताब्दीमा यात्रा गरिरहँदा पनि छोइछिटो र उँचनीच यथावत् नै छ । सबैले खाने रोटी पनि उस्तै हो । सबैले खाने भात पनि उस्तै हो । किन त्यसमा पनि उँचनीचको भावना ? यस्तै सामयिक प्रश्नहरूको दस्तावेज पनि हो यो कवितासंग्रह ।’, भूमिकामा लालगोपाल सुवेदी लेख्नुहुन्छ, ‘साँचो बोल्न र लेख्न नडराउने स्वभाव छ उनमा । यही स्वभावले उनलाई सत्यको नजिक लैजानेछ भन्ने मेरो विश्वास छ । धेरै युवाकविमा प्रशस्तै बासीपना भेटिन्छ तर रबिनमा केही नौलो वा नयाँ शैलीमा कविता बनून् भन्ने चाह राख्छन् । यही नवीनता र भिन्नपनको आभास उनका कविताले दिएका छन् । आध्यात्मिक जगत्मा साधना शब्द प्रचलनमा रहेको पाइन्छ । सिद्धिका लागि साधना त गर्नैपर्छ । शिखरमा पुग्न उकालो त चढ्नैपर्छ । शब्दहरूलाई ठीकठीक तवरले उन्न र बुन्न लामै अभ्यास गर्नुपर्छ । अरुभन्दा भिन्न देखिनका लागि जसलाई पनि साधना जरुरी हुन्छ । यस्तो अपेक्षा रबिनका सन्दर्भमा पनि लागू हुन्छ ।’
कवि शर्मा आफ्नो कुरामा लेख्नुहुन्छ, ‘मैले पहिलोपटक टेकेको धर्ती नेपाल हो, देखेको धर्ती नेपाल हो । नेपाल रहे कपालसँगै, कपालसँगै बर्मा गए कर्मसँगै भनेझैँ हिँडेर, गुडेर, उडेर चार चौरास चहारे पनि मैले छाम्ने आफ्नै कपाल हो, सम्झने आफ्नै नेपाल हो । आफ्नै हात, पाउ, दिमाग र मनले गर्ने कर्म पनि मेरै मर्ममुताविक हुन्छ । हिमाल, पहाड, जंगल र आकाशले पठाएको बतासले मैले प्रथम पटक श्वास फेरेँ । त्यही बतासको सहाराले आमा भनेँ, अ, आ गर्दै कदेखि ज्ञसम्मका अक्षरले बनेको नेपाली भाषा नै मेरो प्रथम भाषा हो । माता र मातृभूमि नै मेरो चेतनातन्तुका आधार हुन् । यही चेतनातन्तुका जगमा गीत गुन्गुनाउन र कविता लेख्न सिकेँ । हिँड्ने, गुड्ने, उड्ने क्रममा नेपाल, भारत, जापान, र अमेरिकी माटो र बाटोमा मेरा पाइलाका डोबहरू परेका छन् ।’
पुस्तकलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसीले प्रकाशन गरेको छ । ३९ वटा कविताहरुले बनेको संग्रहको मूल्य ३ सय रुपैयाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

