साताका पुस्तकका रुपमा साहित्यपोस्टलाई समालोचना तथा भाषा–व्याकरणका फाँटका क्रियाशील, निबन्धकार तथा कवि हेम अधिकारीकृत “जीवनका गौँडागल्छेँडाहरू” पुस्तक प्राप्त भएकाे छ ।

गैरआख्यानात्मक यस संग्रहमा ‘तितेफापरको स्वाद’, ‘खालीगोजीको कमाल’, ‘विश्वविद्यालयको ढोका उघ्रेन’, ‘घ्वाइँको मज्जा र निगालाको स्वाद’, ‘श्रद्धा पिता दर्शन’, ‘बाख्राको ओलनको खिर’, ‘त्यो बेला फुङ्सिङ मेला’, ‘कुरीकुरी पनि लाग्छ’, ‘गंगा सरसँगको सल्लाह’ आदि २७ वटा शीर्षकबाट अधिकारीले आफ्नो जीवनयात्राका संस्मरणहरू प्रस्तुत गरेका छन् ।

भूमिकामा प्रा‍. डा. गंगाप्रसाद अधिकारी लेख्छन्, “उहाँले आजको आँखाबाट जीवनको त्यो सुदूर सुन्दर अतीतलाई मनमौजी ढङ्गले नियाल्नुभएको छ । ऊ बेलाको सामाजिक, आर्थिक, सांस्कृतिक परिवेशको भुमरीभित्र के कसरी भङ्ग्रालिँदै जीवन अघि बढ्यो त्यसका सुन्दर-असुन्दर झल्काहरू यहाँ छन् । लेखकले यी सम्झौटाहरू मार्फत आफ्नो बाल्यकालको आफू हुर्के बढेको सम्पूर्ण परिवेशलाई जस्ताको तस्तै देखाउनु भएको छ । कतै परिस्थितिवश, कतै अज्ञानतावश, कतै मुर्ख्याइँ र कतै फटाइँका कारण भोग्नुपरेका कठिनाइलाई धक नमानी नलुकाई सम्झौटाहरूमा समेट्नुभएको छ । यी सम्झौटाहरूले कतै हँसाउँछन्, कतै थक्कथक्क बनाउँछन्, कतै रोमाञ्चित पार्छन्, कतै ऊ वेलाको समाजबारे घोरिन लगाउँछन् अनि कतै धुरुधुरु रुवाउँछन् पनि । उहाँका यी बाल्यजीवनका अनुभूतिहरू त्यति खेरको अभाव, अशिक्षा, असुविधा अनि रूढिवादले ग्रस्त समाज भोग्नेहरूका साझा अनुभूति हुन् ।”

बिन्ती बिसाइमा हेम अधिकारी उल्लेख गर्छन्, “यो कुनै जीवनी वा पूरै आत्मवृत्तान्त होइन । सम्झौटो भन्ने शब्दबारेमा म क्यानडामा भएका बेला चूडामणि रेग्मी गुरु र गंगाप्रसाद अधिकारी सरसँग नेटमा केही कुरा भए। गंगा सरसँगको सल्लाह शीर्षकमा यसबारे सबै बताइएको छ । त्यसपछि क्यानडामै भएका बेला केही सम्झौटाहरू लेख्ने प्रयास गरें । केही भने पहिले नै डायारीमा लेखेर राखिएका थिए । यस्ता सम्झौटाहरूले धेरै वटा डायरीका पानाहरू भरिएका रहेछन् । मेरो दैनिकी लेख्ने बानीले पनि स्वाभाविक रूपमा जीवनका ऊहापोहहरू, ओराली उकालीहरू, अनेकन् भोगाइहरू सम्झनाका तरेली बनेर शब्दमा खेल्दै खेल्दै डायरीका पानाहरूमा कैद भएका छन् । तिनमध्ये केही पानाहरूलाई छानछुन गरेर यहाँ राख्ने प्रयत्न गरेको छु ।”

१ सय २० मा आबद्ध यस पुस्तकलाई विष्णुप्रसाद -विपिन_ अधिकारीले प्रकाशनमा ल्याएका हुन् । पुस्तकको मूल्य ५ सय रुपियाँ रहेको छ ।