‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरुलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौं – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटून् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरु सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरु साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।
यसैक्रममा ‘साताका पुस्तक’मा यो साता सात पुस्तक । ‘मणि’थापाको ‘मेयर’देखि काफ्लेको ‘जाहिरा’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।
===
१. अजस्र – नानीमाया सुनुवार ‘नमासु’
बाछिटा लेखनमा सक्रिय रूपमा संलग्न सर्जक नानीमाया सुनुवार ‘नमासु’को बाछिटासङ्ग्रह हो_ “अजस्र” ।
भूमिकामा चेतनाथ धमला लेख्छन्, “हाल बाछिटा लेखन अभियान फुल्दै फल्दै गइरहेको छ । यस अभियानमा सर्जक नानीमाया सुनुवारको पनि प्रमुख भूमिका रहेको तथ्य उनको यस ‘अजस्र’ बाछिटा कृति प्रकाशनले पुष्टि गरेको छ । यिनका बाछिटामा प्राकृतिक संवेदनशीलता प्रकट भएको छ । अझ श्रमसौन्दर्य, कृषिजन्य उत्पादन, जनजीविका र सांस्कृतिक परिदृश्य गज्जब रूपमा चित्रित छन् । यसले नानीमायामा समाजलाई गतिशील रूपमा बुझ्ने तीव्र अन्तर्चेतना रहेको तथ्य पुष्टि हुन्छ । स्वार्थअनुकूल मोडिएको राजनैतिक विद्रुपीकरण जन्माएको वितृष्णा यिनको बाछिटामा अभिव्यक्त छन् । साथै यिनले यथास्थितिको विरोध र नयाँ चेतनाको आमन्त्रण पनि गरेका छन् । राजनैतिक प्रदूषण र सामाजिक विकृतिको बिम्ब पनि बाछिटामा प्रतिबिम्बित छन् ।”
भूमिकामा अमर त्यागी लेख्छन्, “बाछिटा लेखनमा शब्द टिप्ने र त्यसलाई अर्थपूर्ण र प्रतीकात्मक रूपमा संयोजन गर्ने कलाको सशक्तता चाहिन्छ । नामासुको बाछिटामा यस कलाको सक्षमता साथ संयोजन भएको पाइएको छ । उनले समाज, संस्कृति, परम्परा, रीतिरिवाज, जीवन भोगाइ र प्रकृतिजन्य परिदृश्यहरूबाट शब्दहरू टिपेर त्यसलाई प्रतिकको माध्यमबाट तीन पाँच तीन आक्षरिक संरचनामा सरल, सहज, सम्प्रेष्य र भावपूर्ण रूपमा संयोजन गरेर बाछिटा सिर्जना गरेकी छिन् । उनको यो सिर्जनकला प्रशंसनीय रहेको छ ।”
पुस्तकलाई कौशिकी साहित्य प्रतिष्ठानले बजारमा ल्याएको हो । ९६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
===
२. जाहिरा – माधव काफ्ले
लेखक माधव काफ्लेको उपन्यास हो_ “जाहिरा” । पुस्तकलाई अठ्ठाईस भागमा विभाजन गरिएको छ ।
“औसत स्तरको अध्यापन पेशा र आर्थिक दृष्टिले कमजोर गृहस्थीको डुङ्गा सँगसँगै चलाउँदै साहित्यलाई अनवरत स्तरीय योगदान दिनु लरतरो काम होइन । हलुका खाले हल्लाखल्लाबाट टाढै रहन रुचाउने यो नामले नेपाली साहित्यको मूल गाह्रोमा चुपचाप-चुपचाप एकपछि अर्को पृथक् इँटा थपिरहेको छ ।” पछिल्लो बाहिरी पृष्ठमा प्रोल्लास सिन्धुलीय लेख्छन्, “काफ्ले विशेषगरी गम्भीर अध्येताहरूले रुचाउने लेखक हुन् । कमजोर आर्थिक-सामाजिक धरातलको संवेदनाको पक्षमा मिहीन ढङ्गले वकालत गर्न यिनी अभ्यस्त छन् । आफ्नो मूल विधा निबन्धमा समेत आख्यानात्मक रौनक ल्याउन सिपालु काफ्लेको फरक सांस्कृतिक पृष्ठभूमिको, विशेषगरी मिहला-संवेदनामाथिको यो आख्यान-कृतिले उनलाई उपन्यास-यात्रामा पनि उत्तिकै वजनदार महसुस गराउनेछ । त्यसमाथि लेखनकार्य सकेर सम्पादनको क्रममा रहेका काफ्लेको ताजमहलमाथिको गहन खोजपरक आख्यानको त सिङ्गो आख्यानक्षेत्र नै अधीर प्रतीक्षित हुँदा अन्यथा हुनेछैन ।”
पुस्तकलाई गजलगुँड नेपालले प्रकाशनमा ल्याएको हो । १ सय ६३ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
===
३. कथा परिशीलन – प्रा. डा. गोपीन्द्र पौडेल
साहित्यकार प्रा. डा. गोपीन्द्र पौडेलको समालोचना कृति हो – “कथा परिशीलन” । यसमा ‘नेपाली कथामा समाजवादी यथार्थवादः प्रभाव र विकास’, ‘घनश्याम ढकालको कथाकारिता’लगायत १२ थान शीर्षकहरू समावेश छन् । पाँचओटा लेखहरू कथापरम्परा र प्रवृत्तिसँग सम्बन्धित छन् भने सातओटा लेखहरू व्यक्ति स्रष्टा वा तिनको कथाकारितासँग सम्बन्धित छन् ।
“यसमा सङ्कलित समालोचनामध्ये चारओटा समालोचनाहरू जनयुद्धको विषयप्रसङ्गमा आधारित छन् । तिनमा जनयुद्धको प्रसङ्ग नै केन्द्रीय विषय बनेर आएको छ । त्यसो त अन्य केही समालोचनामा पनि प्रसङ्गवश जनयुद्धको विषयले प्रवेश भएको छ । समकालीन समयको मेरो वैचारिक आस्थाको मियो भन्नु जनयुद्धको प्रक्रिया हो र त्यस प्रक्रियाको सौन्दर्यलाई उपस्थापन गर्नु हो ।” आमुखमा प्रा. डा. गोपीन्द्र पौडेल लेख्छन्, “जनयुद्ध सिर्जित नयाँ यथार्थको व्याख्या, जनयुद्धको सौन्दर्यलाई पर्गेल्ने चेष्टा, जनयुद्धसिर्जित आतङ्क र आनन्दसम्बन्धी व्याख्याबाट मेरो समकालीन कथासमालोचना निर्देशित रहेको छ । त्यसक्रममा जनयुद्धप्रति वैचारिक सम्मति जनाउने जनयुद्ध समार्थित कथाधारा, जनयुद्धप्रति पूर्णतः विमति जनाउने जनयुद्धविरोधी कथाधाराका कथा मेरो समीक्षा कार्यका आधार सामग्री रहेका छन् । त्यसो त समानान्तर धाराका विश्वेश्वरप्रसाद कोइरालाका कथालाई मार्क्सवादको आँखीझ्यालबाट नियाल्ने नयाँ खालको प्रयोग पिन यसमा भएको छ ।”
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । २ सय ७४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।
===
४. छाउगोठकी आमा- जानु धिताल
जानु धितालको नवीनतम कृति हो – “छाउगोठकी आमा” । यसमा ‘छाउगोठकी आमा’, ‘पल पलको साथी’, ‘पञ्चम सोच’लगायत २६ कविताहरू नेपाली, अङ्ग्रेजी दुवै भाषामा सङ्ग्रहित छन् ।
“जानु धितालका कविता सरल छन्, न शब्दको धेरै जञ्जाल, न भावमा जटिलता । पढ्दै गएपछि एक यस्तो अवस्थामा पुगेर कविताको अन्त हुन्छ, जहाँ पाठकलाई केही बाँकी रहेको तर सामयिक र वास्तविक स्थितिमा आएजस्तो अनुभूति हुन्छ ।” प्रकाशकीयमा विधान आचार्य लेख्छन्, “जानुका कविता लामा हुँदैनन् । छोटा, तर त्यत्तिकैमा पनि जीवनको एउटा पाटो छर्लङ्ग हुने गरी कविताको संरचना बनेको हुन्छ । ‘छाउगोठका आमा’हरूले रोएर आफ्ना जिन्दगीलाई दाउमा राख्दै अर्को पुस्ता र वंश तयार पारेका छन् । ‘ईर्ष्या पर्खेर’ समाजको व्यवहारको एक कस्तो विम्ब हो भने यसले आफ्नो असफलतामा भन्दा अरूको सफलतामा विह्वल हुने वर्तमान समाज बोल्छ । ‘कसको आँगनी र जूनको प्रेम’जस्ता कविता पर्यावरण र मानवबीचका सम्बन्धमा जेलिएका छन् । ‘म नदी’, ‘सपना र विपाना’, ‘दिदी सुख’,’उडेको मन’, ‘म पागल आज’ कविताले भने प्रेमको मनोवैज्ञानिक विश्लेषण गरेका छन् । ‘दासी पुत्र ?’, ‘पुरुष पीडा’, ‘प्रेमः एक व्यवसाय’, ‘रोजाइहरू’जस्ता कविताहरू चाहिँ मानवको अन्तर्वैयक्तिक सम्बन्धका नालीबेली केलाउन तत्पर छन् । तर, ‘दशैँ चङ्गा चेट’, ‘मैले नाघेको सगरमाथा’, ‘समृद्धिको बाटोमा’जस्ता कविता चाहिँ राजनीतिक सहमति र असहमतिका बिचमा रुमलिएझैँ लाग्छ ।”
पुस्तकलाई सोसल एन्ड एकेडेमिक इन्नोभेसन्स प्रा. लि. (साइपल)ले प्रकाशनमा ल्याएको हो । १ सय ८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।
===
५. अक्कर – योगेन्द्र तिमिल्सिना
‘अन्त्यहीन’ उपन्यासका लेखक योगेन्द्र तिमील्सिनाकृत उपन्यास हो – “अक्कर” । पुस्तकलाई ‘धनवीर’, ‘दोस्रो पाइला’, ‘विवाह’, ‘नारी दिवस’, ‘अक्कर’लगायत ३८ उपशीर्षकबाट तयार पारिएको छ ।
पछिल्लो बाहिरी पृष्ठमा लेखिएको छ, “विषम सामाजिक परिस्थितिका बिच एउटा सङ्घर्षशील पात्रको भोगाइ र अनुभूतिको चेतबाट यस उपन्यासको कथावस्तु उनिएको छ । पूर्वी पहाडबाट तराईका उर्बर भूभाग तथा सुगम शहर हुँदै मानिस कसरी राजधानी ओइरिन्छन्, निरन्तर हुने बसाइँ सराइबाट काठमाडौँ शहर वरिपरि भैरहेको जनसङ्ख्याको चाप, नदी अतिक्रमण र प्राकृतिक दोहनले कृषियोग्य उर्वर भूमि कङ्क्रिटका घरैघरले भरिएको आधुनिक शहरमा परिणत भई कुरुप हुँदै गएको दृष्टान्त उपन्यासमा छ । प्रेम, यौन र सामाजिक विचलनका प्रसङ्गहरू बाहेक उपन्यासमा विश्वव्यापीकरण, आयातित डिजिटल संस्कृति र छाडापनले समाजलाई गिजोलेको यथार्थ, ह्रासोन्मुख, नैतिकता, नारी अधिकार र पितृसत्ता, शिक्षित युवाहरूको विदेश पलायन हुने प्रवृत्ति र त्यसबाट उत्पन्न पारिवारिक पीडाबारे बहस चलाइएको छ ।”
पुस्तकलाई ओरिएन्टल पब्लिकेशन हाउस प्रा. लि. ले बजारमा ल्याएको हो । १ सय ५१ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
===
६. अस्मिता – सुधा बाँस्कोटा ढकाल
लेखक सुधा बाँस्कोटा ढकालकृत नवीनतम बाछिटासङ्ग्रह हो – “अस्मिता” ।
“अस्मिताभित्र जीवन चलमलाएको छ, भोगाइ सगबगएको छ र अनुभूति छलछलाएको छ । यसभित्र प्रकृति मुजुराएको छ, संस्कृति जगमगाएको छ । हो, यसभित्र समय सुसाएको छ, राष्ट्रप्रेम टुसाएको छ र अन्तर्चेत माौलाएको छ ।” भूमिकामा अमर त्यागी लेख्छन्, “संसारमा दिन मात्र हुँदैन, रात पनि हुन्छ । प्रकृतिमा पूर्णिमा मात्र हुँदैन, औँसी पनि हुन्छ । जीवनमा हर्ष मात्र हुँदैन, पीडा पनि हुन्छ । यात्रामा समथर मात्र हुँदैन, भिरालो पनि हुन्छ । त्यस्तै कुनै पनि कृतिमा भावनाको उच्चता पनि हुन्छ, तुच्छता पनि हुन्छ । भावको उत्कृष्टता पनि हुन्छ, निकृष्टता पनि हुन्छ । संरचनामा सबलता पनि हुन्छ, दुर्बलता पनि हुन्छ । अभिव्यक्तिमा कोमलता पनि हुन्छ, कठोरता पनि हुन्छ । त्यस्तै ‘अस्मिता’मा पनि उज्याला र अँध्यारा दुवै पक्ष हुन सक्छ । सिद्धान्तगत, संरचनागत र सिर्जनागत उज्याला र अँध्यारा पक्षको चिरफार विज्ञ समालोचनाहरूबाट हुने नै छ । म यत्ति भन्न सक्छु, सुधा बाँस्कोटा ढकालको बाछिटाकारिता सुरम्य रहेको छ र उनको बाछिटा लेखनको भविष्य पनि सुन्दर रहेको छ ।”
पुस्तकलाई कौशिकी साहित्य प्रतिष्ठानले बजारमा ल्याएको हो । ९६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
===
७. मेयर – सागर ‘मणि’ थापा
बालसाहित्यका अथक साधक सागर ‘मणि’ थापाकृत उपन्यास हो – “मेयर” । पुस्तकमा ‘रिट्ठे दमाईको टेलर’, ‘गार्डेन पार्कमा मस्ती’, ‘मेयर र इन्स्पेक्टरको विवाद’, फेसबुक लभ’, ‘मन्त्री भाग्दा घाइते’लगायत ३८ थान शीर्षकहरू समावेश छन् ।
“यसै भीडमा देखापरेका छन् सागर मणिको मेयर उपन्यास । विकासप्रेमको चिन्तनबाट अभिप्रेरित व्यक्ति हुन् सागर ‘मणि’ थापा । प्रेमपक्षमा खासै उत्साह नबोके पनि पढ्दा कतै नरोक्किने, नठोक्किने, झर्को वा अल्छी नलाग्ने बनेको छ प्रस्तुत उपन्यास । विवरण वा निबन्ध बनाउने योग्य संरचनामा यति मीठो र सरल उपन्यास लेख्नु सागर ‘मणि’ थापाको विशेषता हो ।” भूमिकामा विनयकुमार शर्मा नेपाल लेख्छन्, “विकास र विकास गर्दा देखापरेको द्वन्द्व नै उपन्यासको मूल विषय बनेको छ भने छेउ छेउ नै कुदेको छ नायिकाको व्यक्तिगत जीवन यात्रा । सहायक विषय बनेर देखापरेको छ विदेश पलायनको कथा र व्यथा । यो मूलतः नायिका प्रधान उपन्यास हो । पात्रहरू प्रायः सबै कर्तव्यनिष्ठ र सकारात्मक देखापरेका छन् मि. शर्मा र मिक्कीबाहेक । नेपालको गणतान्त्रिक व्यवस्था अन्तर्गत आएको नगर पालिका वा वडाको संरचनाभित्र कथानक बुनिएको यस उपन्यासले निक्कै पाठ सिकाउँछ जनप्रतिनिधिहरूलाई । एउटा सुन्दर देश, प्रान्त र पालिकाको परिकल्पनाको सम्भावना र उद्देश्य छ यसमा । फरक शैली, फरक संरचना, फरक विषय, फरक चिन्तनका रूपमा एउटा सफल उपन्यास लेख्न सकेकोमा बधाइ सागरजीलाई ।”
पुस्तकलाई शब्दार्थ प्रकाशनले बजारमा ल्याएको हो । ३ सय १ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ६ सय रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।