कोहलपुर, जेठ २८ / पत्रकार तथा आख्यानकार वसन्त पराजुलीको मोम्चो कथासङ्ग्रह माथि कोहलपुरमा परिचर्चा गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेले शनिबार कोहलपुरमा पुस्तकमाथि छलफल कार्यक्रम राख्दै पुस्तक परिचर्चा गरेको हो ।
प्रतिष्ठानकी उपाध्यक्ष एवम् आख्यान विभाग प्रमुख सुमित्रा न्यौपानेले सङ्ग्रहका सबै कथालाई व्याख्या गर्नुभएको थियो । वक्ररेखा शीर्षकको कथा श्रुति र सभ्य भएको बताउँदै कथामा विदेश जाने केटो भनेपछि हुरुक्क हुने हाम्रो समाजको चरित्र चित्रण गरिएको बताउनुभयो । `उसको बानी व्यहोरा र पढाइको समेत वास्ता नगरी हचुवामा क्षमतावान व्यक्तिको रुपमा विश्वास गर्ने हाम्रो स्वभाव छ,´ न्यौपानेले भन्नुभयो, `वैवाहिक जीवनको कौतुहलता र अनुमानको बारेमा केटीले गरेको मनोविश्लेषणलाई कथामा उनिएको छ ।´ यौनको उन्मादमा आफन्त पनि नभन्ने सामाजिक अपराधी पुरुष पात्रलाई पीडक देखाएर मात्रै नारी माथिको अत्याचार र भेदभाव नमेटिने न्यौपानेको धारणा थियो ।
`नारीपात्रलाई कोमल हृदयको रूपमा चित्रण गरिएको छ,´ न्यौपानेले अगाडि भन्नुभयो, `प्रकृतिले मानिसलाई सर्वगुणसम्पन्न बनाएर पठाएको हुँदैन । नारीहरू आफ्नो हकहितका लागि सदैव लडेर मात्रै हुँदैन, दाजुभाइले उनीहरूलाई साथ र सहयोग दिनुपर्छ ।´ पैसा कमाउन विदेश गएका महिलालाई पैसा कमाउने नाममा विभिन्न गल्ती गरेका लान्छना लगाएका प्रसङ्गलाई कथामा जोड्नु शोभनीय नभएको पनि न्यौपानेले बताउनुभयो ।
परिचर्चा कार्यक्रममा बाँकेका विभिन्न स्रष्टाले ‘मोम्चो’ पुस्तकका बारेमा टिप्पणी राख्नुभएको थियो । पुस्तकमाथि बोल्दै अर्का टिप्पणीकार विष्णु पादुकाले ‘मोम्चो’ कथासङ्ग्रहका अधिकांश कथा नारीका विषयमा केन्द्रित रहेको बताउनुभयो । पादुकाले सङ्ग्रहमा रहेका ११ वटै कथाको बारेमा संक्षेपमा टिप्पणी राख्नुभएको थियो । `पराजुलीका कथामा सीमान्तकृत समुदायका नारीका जीवन र भोगाइलाई समेटिएको छ,´ पादुकाले भन्नुभयो, `कथामार्फत नारीका समस्यालाई मात्रै उठाइएको छैन, तीनका समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ, यसमा समाज र राज्यको दायित्व के हुन्छ भन्ने कुरालाई पनि उठान गरिएको छ ।´
पुस्तकमाथि बोल्दै टिप्पणीकार सागर गैरेले चितवनको सीमान्तकृत चेपाङ समुदायको भाषा, जीवनशैली, परम्परा र रहनसहनलाई ‘मोम्चो’ कथामा समेटिएको बताउनुभयो । `शीर्ष कथा र समग्र कथामा नारीका सुखदुःखलाई उजागर गरिएकाले ‘मोम्चो’ नारी प्रधान कृति हो,´ टिप्पणीकार गैरेले भन्नुभयो, `कथामा घटनाले प्राथमिकता पाएको छ र कथाकारले त्यसलाई आफ्नो लेखनशिल्पमार्फत व्याख्या गरेका छन् ।´
लेखक वसन्त पराजुलीले ‘मोम्चो’ सीमान्तीकृत चेपाङ समुदायको धर्म, रीतिरिवाज र परम्परामा आधारित भएर लेखिएको कथा भएकोले यी समुदायसँगसँगै आम पाठकले मन पराएको बताउनुभयो । कोहलपुरमा आएर ‘मोम्चो’को कार्यक्रम गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै यस कार्यक्रमले चितवन र बाँकेको साहित्य अझ सम्बन्ध बलियो भएको जनाउनुभयो ।
परिचर्चा कार्यक्रममा विशिष्ट अतिथिका रूपमा आमन्त्रित लेखक नरेन्द्रजंग पिटरले स्वाभिमानी चेपाङको कथाव्यथालाई किताबको रूपमा प्रकाशन गरेर लेखक पराजुलीले ठूलो गुन लगाएको बताउनुभयो । पिटरले आफू चितवन रहँदा चेपाङ समुदायको अवस्थालाई नजिकबाट नियाल्ने मौका पाएको पनि स्मरण गर्नुभयो ।
कार्यक्रममा पत्रकारहरू मणि अर्याल र सूर्यप्रकाश कँडेलले पनि आफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रमको सुरुवातमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका सचिव बद्री ढकाल हिरामणिले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमलाई पुष्कर रिजालले सहजीकरण गर्नुभएको थियो ।
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । पराजुलीको यसअघि ‘कुमाता’ कथासंग्रह प्रकाशित छ । पत्रकार पराजुली गोरखापत्र दैनिकका चितवन जिल्ला संवाददाता पनि हुनुहुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।