भरतपुर, चैत ३० / पत्रकार तथा कथाकार वसन्त पराजुलीले आफ्नो जन्मदिनमा चेपाङ समुदायका बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउनु भएको छ ।

चैत ३० गते बुधबार जन्मदिन परेका पराजुलीले रत्ननगरस्थित गामबेशी चेपाङ छात्रावासमा रहेका विद्यार्थीलाई कापी, कलमसहित बालपत्रिका मुना उपलब्ध गराउनु भएको हो ।

गोरखापत्र दैनिकका पत्रकार पराजुलीलाई अघिल्लो साता मात्रै नेपाल ह्याचरी संघ बागमती प्रदेश समितिले सम्मान गरेको थियो । सम्मानस्वरुप प्राप्त नगद ७ हजार ५०० रुपैयाँमा थप रकम जोडी सोही रकमले कापी, कलमलगायतका शैक्षिक सामग्री छात्रावासलाई उपलब्ध गराउनु भएको हो ।

पराजुलीले ‘कुमाता’ र ‘मोम्चो’ गरी दुई वटा पुस्तक प्रकाशन गर्नु भएको छ । दुवै कथासङ्ग्रहमा पराजुलीले चेपाङ समुदायको अवस्थालाई पनि चित्रण गर्नु भएको छ ।

सीमान्तकृत समुदायको अवस्थालाई नजिकबाट नियालिरहनु भएका पत्रकार पराजुलीले सो समुदायलाई सहयोग गर्ने इच्छाअनुरुप जन्मदिनको अवसर पारेर सहयोग उपलब्ध गराएको बताउनुभयो । `यी समुदायका बालबालिकालाई शिक्षादीक्षाको अवसरबाट वञ्चित गरिनु हुन्न,´ पराजुलीले भन्नुभयो, `छात्रावासमा रहेका यी कलिला भाइबहिनीलाई लेख्न पढ्नमा सहजीकरण होस् भनेर सानो सहयोग गरेको हुँ ।´

गामबेशीको चेपाङ छात्रावासका सञ्चालक केपी किरण शर्माले छात्रावासका बाबुनानीलाई सम्झेर सहयोग उपलब्ध गराएकोमा पत्रकार पराजुलीलाई धन्यवाद दिनुभयो । छात्रावासमा चेपाङ समुदायका करिव १५० जना बालबालिका अध्ययनरत छन् ।