साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

‘कुमाता’माथि पाठक अन्तर्क्रिया

Chovar Blues Mobile Size

पत्रकार तथा कथाकार वसन्त पराजुलीको ‘कुमाता’ कथा संग्रहमाथि शनिबार चितवनको भरतपुरमा एक कार्यक्रम गरी पाठक समीक्षा गरियो ।

कार्यक्रममा वक्ताहरुले कृतिमाथि समीक्षा गर्दै ‘कुमाता’ कथासंग्रहले समाजमा हुने यौनजन्य विकृतिहरु उजागर गरेको धारणा व्यक्त गरे । महिलाको यौन मनोविज्ञानमा आधारित रहेर प्रकाशित यस कथासंग्रह सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानमा केन्द्रित रहेको वक्ताहरुले औँल्याए ।

कार्यक्रममा बोल्दै साहित्यकार तथा चितवन साहित्य परिषदका पूर्व अध्यक्ष गायत्री श्रेष्ठले नारी प्रेम, करुणा र शक्तिसँगै उग्रचण्डी पनि भएको बताउँदै संग्रह भित्रका कथाहरु भाषागत रूपमा सरल, नारी संवेदनशीलताको पक्षमा जोडका साथ उठेको बताइन् ।

महिला अधिकारकर्मी मीना खरेलले पछिल्लो समय समाजमा देखिएका विकृति-विसंगतिलाई कथाका रुपमा आएको बताइन् ।

चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र अस्तफलले कथाहरुमा समावेश भएका आन्चलिकताले कथा मार्मिक र सुन्दर बनेको बताए ।

यस्तै समीक्षक तथा विश्लेषक रमेश प्रभातले कथामा विषयवस्तुसँगै साहित्यिक बन्नुपर्ने कुरामा जोड दिए भने समीक्षक प्राध्यापक शान्ति शर्मा तथा प्राध्यापक कपिल अज्ञात, साहित्यकार केदार खनाल लगायतले कथाभित्र नाटकीय तत्त्व थप्नुपर्नेमा जोड दिए ।

रामेश्वर पुस्तकालयको आयोजनामा सम्पन्न सो कार्यक्रममा कुमाताका सर्जक वसन्त पराजुलीले कुमाता कुनै पनि कथाका सिद्धान्त, मान्यता र कुनै पनि दर्शनलाई नपच्छाएकाले मौलिक बनेको धारणा राखे । कथा संग्रहलाई काठमाडौँस्थित भुँडी पुराण प्रकाशनले बजारमा ल्याएको हो ।

कार्यक्रम पुस्तकालयका अध्यक्ष बालकृष्ण थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
Loading...