पत्रकार तथा कथाकार वसन्त पराजुलीको ‘मोम्चो’ कथासंग्रहको दोस्रो संस्करण प्रकाशित भएको छ ।

गत वर्षको मंसिरमा पहिलो संस्करण प्रकाशन भएको सात महिनामै दोस्रो संस्करण बजारमा आएको कृति प्रकाशन संस्था भुँडीपुराण प्रकाशन प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले जानकारी दिनुभयो ।

नेपाली साहित्यका पाठकहरूमाझ ‘मोम्चो’ कथासंग्रहको माग बढ्दो भएकाले यसलाई दोस्रो संस्करण छाप्नुपर्ने अवस्था भएको प्रबन्ध निर्देशक पराजुलीले बताउनुभयो ।

समालोचक प्रा.डा लक्ष्मण प्रसाद गौतमले ‘मोम्चो’ कथा संग्रह छोटो समयमै दोस्रो संस्करण आउनुमा अहिले साहित्यमा पाठक छैनन् र पुस्तक बिक्दैनन् भन्नेहरूका लागि एउटा मीठो जवाफ दिएको बताउनुभयो ।

“चेपाङ समुदायको जीवनशैली र संवेदनाका साथै अन्य विविध यथार्थलाई विषयवस्तु बनाइएको यो कथाकृति आजका नेपाली कथाका प्रवृत्तिलाई प्रतिनिधित्व गर्ने कृतिसमेत हो”, उहाँले भन्नुभयो ।

वरिष्ठ साहित्यकार तथा गोरखापत्रका पूर्व सम्पादक श्रीओम श्रेष्ठ रोदनले पनि मोम्चो कथा संग्रह पाठकहरुको रुचिको कृति भएको बताउनुभयो ।

“कथामा नयाँ विषय वस्तुआयो भने र नयाँ शैली प्रयोग भयो भने पाठकले कृति पठ्छन् भन्ने कुरा मोम्चोको दोस्रो प्रकाशनले पुष्टि गरेको छ”, उहाँले भन्नुभयो ।

‘मोम्चो’ विशेषगरी चेपाङ समुदायमा बढ्दो बालविवाह र त्यसपछि महिलाले भोग्नु परेका समस्यामा केन्द्रित कथा हो भने अन्य प्रायः कथाले महिला हिंसा, हाडनाता करणी लगायतका विषयहरूमा उठान गरेको छ ।

‘मोम्चो’ कथाकार पराजुलीको दोस्रो कथा संग्रह हो । पराजुली दुई वर्षअघि मात्रै ‘कुमाता’ कथासङ्ग्रहका माध्यमबाट नेपाली आख्यान विद्या मार्फत साहित्यमा प्रवेश गर्नु भएको हो ।

नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसत्तात्मक समाजको परिणाम स्वरुप सिर्जित नारी समस्यासग सम्बन्धित नारीवादी विषय उठान गरिएको कथासङ्ग्रह हो, ‘मोम्चो’ । कृतिमा समसामयिक विषयवस्तुमा केन्द्रित ११ वटा कथाहरू समेटिएका छन् ।